बशर अल-असदको पतनपछिको सिरिया : तीन सम्भावित अवस्था यस्ता छन्

तस्बिर स्रोत, EPA
- Author, लुई बरुको
- Role, बीबीसी विश्व सेवा
हायात तहरिर अल–शाम (एचटीएस) विद्रोहीको नेतृत्वमा असद परिवारको दशकौँ लामो क्रूर शासनको अन्त्य भएसँगै सिरियाको भविष्यबारे कैयौँ महत्त्वपूर्ण प्रश्नहरू खडा भएका छन्।
एचटीएसका नेता अबु मोहम्मद अल-जुलानीले सिरियालाई एकजुट बनाउने वाचा गरेका छन् तर उनले आफ्नो लक्ष्य हासिल गर्छन् वा गर्दैनन् भन्न सक्ने अवस्था छैन।
सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गिअर पेडिर्सनले देशका सबै समूहबीच सहयोग र सहकार्यमा जोड दिएका छन्।
उनले भने, "व्यापक रूपमा हामीले एचटीएस र अन्य समूहबाट आश्वस्त पार्ने खालका वक्तव्यहरू आएको देखेका छौँ तर हामीले अहिलेको कानुन र सुव्यवस्थालाई पनि हेरिरहेका छौँ।"
तीव्र रूपमा भइरहेको परिवर्तनका कारण सिरियाको भविष्यको पूर्वानुमान गर्न निकै कठिन छ।
तर बीबीसीसँग कुराकानी गरेका विज्ञहरूका अनुसार त्यहाँ देखिएका मुख्य तीन सम्भावना यस्ता छन् :
१. एकजुट भएको सिरिया

तस्बिर स्रोत, Reuters
सबैभन्दा राम्रो अवस्थामा एचटीएसले अन्य नागरिक तथा राजनीतिक समूहसँग मिलेर काम गर्ने छ र उत्तरदायी ढङ्गले सरकार सञ्चालन गर्ने छ।
सिरियामा वर्षौँ चलेको युद्धको अन्त्य भएर राष्ट्रिय मेलमिलापको स्थिति बन्न सक्छ। त्यसले अन्य कतिपय छिमेकी देशहरूमा देखिएको जस्तो एकअर्काको बदला लिने घटनाहरू हुने छैनन् र देश मेलमिलापको स्थितिमा फर्कने छ।
जुलालीले अहिले सिरियाका सबैखाले समूहहरूलाई एक हुन आह्वान गर्दै उनीहरूको सामूहिक हितका लागि आह्वान गरेका छन्। तर सिरियाका सबै समूहहरूको मत एकै खालको छैन।
यूकेको क्वीन म्यारी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक तथा मध्यपूर्व मामिलाका विज्ञ क्रिस्टोफर फिलिप्स भन्छन्, "वास्तममा हामी अहिले केही पनि थाहा नभएको अवस्थामा छौँ। एचटीएसले आफूलाई खुला, उपयुक्त, शान्तिपूर्ण सङ्क्रमणका लागि तयार राखेको छ तर अवस्था एकदमै उतारचढावपूर्ण छ।"
देशको दक्षिणी भागमा रहेका आदिवासी मिलिशियाहरूले कहिल्यै पनि असद परिवारको सत्तालाई स्वीकार गरेका थिएनन्। उनीहरूले दमास्कसको सरकारलाई मान्छन् भन्ने कुनै निश्चितता छैन।
पूर्वी भागमा कथित इस्लामिक स्टेट समूहले निरन्तर हमला गरिरहेका छन् र त्यहाँ अमेरिकाले समयसमयमा हवाई हमला गरिरहेको छ।
देशको पूर्वोत्तरका केही भागहरू अमेरिकी सहयोग पाएको कुर्दिश फौजले कब्जा गरेको छ।
यी समूहहरूले टर्कीको समर्थन पाएका समूहहरूसँग वर्षौदेखि सिरियाको उत्तरी भागमा लड्दै आएका छन्। हालै पनि ती क्षेत्रहरूमा उस्तै प्रकृतिका लडाइँहरू सुरु भएका छन्।
सन् २०११ मा सिरियाबाहिर पनि कैयौँ विपक्षी राजनीतिक समूहहरू गठन भएका छन्।
ती समूहहरू देशभित्र गएर लड्छन् वा राजनीतिक गतिविधिमा संलग्न हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट छैन।
स्विट्जल्यान्डको लुसाना विश्वविद्यालयका प्राध्यापक तथा 'सिरिया आफ्टर द अप्राइजिङ'का लेखक जोसेफ दाहेरका अनुसार एकीकृत तथा संयुक्त सरकार बन्ने सम्भावना कम देखिन्छ।
उनी भन्छन्, "एकदमै राम्रो अवस्थामा त्यहाँ निष्पक्ष निर्वाचन हुने छ र शक्ति बाँडफाट हुने छ अनि विकेन्द्रीकरण हुने छ। त्यसले एकतासहितको सत्तालाई बल दिने छ। तर त्यो देख्न बाँकी नै छ।"
जुलानीको पहिले र अहिलेको भनाइमा मेल नखाने भएकाले त्यस्तो सम्भावना कम देखिएको उनको भनाइ छ।
"जुलानीले सुरुमा असद सरकारका प्रधानमन्त्रीले नै सङ्क्रमणकालीन सरकारको नेतृत्व गर्ने बताएका थिए। तर उनले पछि इद्लिबस्थित एचटीएस सत्ता 'न्याश्नल स्याल्भेशन गभर्मन्ट'का प्रधानमन्त्री मोहम्मद अल-बशिरलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरे," उनी भन्छन्।
उनी एचटीएसको देश चलाउने हुटहुटी भए पनि उसले पूरै देशलाई सम्हाल्न सक्नेमा आशङ्का व्यक्त गर्छन्।
उनका अनुसार पहिले इद्लिबमा सत्ता चलाएको एचटीएसले अब अलेपो, हामा, होम्स र दमास्कसमा पनि सत्ता सञ्चालन गर्नुपर्ने छ र त्यसका लागि उसले ती क्षेत्रमा शक्ति बाँडफाट गर्नुपर्ने हुन्छ।
२. एसटीएसको निरङ्कुश तथा एकछत्र शासन

तस्बिर स्रोत, Reuters
एचटीएसले पनि असद सत्ताले जस्तै शक्ति केन्द्रित गरेर तानाशाह बन्ने खतरा रहेको भन्ने चिन्ताहरू पनि व्यक्त भइरहेका छन्।
जुलानीले इद्लिबमा पहिले नै आफ्नो शक्तिकेन्द्र स्थापना गरिसकेका छन्। देशको पश्चिमोत्तर क्षेत्रमा रहेको उक्त सहरमा विद्रोहीहरूको व्यापक प्रभुत्व छ र त्यहाँ ४० लाख मानिसहरूको बसोबास छ। त्यसमध्ये धेरै सिरियाका विभिन्न प्रान्तबाट विस्थापित भएर आएका मानिसहरू छन्।
उनले त्यहाँ सरकार चलाउनका लागि 'न्याश्नल स्याल्भेशन गभर्मन्ट' स्थापना गरेका छन्। उक्त सरकारले त्यहाँ शिरया कानुनअनुसार शासन चलाउने गर्छ।
जुलानीले सार्वजिनक सेवाहरूलाई प्राथमिकता दिएर स्थिर सरकार चलाउने अवस्था देखाउन कोसिस गरिरहेका छन्।
तर इद्लिबमा कब्जा गरेपछि उनले प्रतिस्पर्धी लडाकु समूहहरूलाई दमन गरेको आलोचकहरू बताउँछन्।
नोभेम्बर २७ मा एचटीएसको नेतृत्वमा लडाइँ सुरु हुँदै गर्दा इद्लिबमा प्रदर्शन पनि सुरु भएको थियो।
कडा इस्लामवादीहरू र सिरियाली अधिकारकर्मीहरूले एचटीएसलाई दमनकारी अभ्यास गर्ने समूहका रूपमा आलोचना गर्ने गर्छन्।
दाहेर भन्छन्, "एचटीएसले आफू शक्तिशाली बन्नका लागि मुख्य रूपमा दमनको साहारा लिएको छ। यद्यपि ऊ शक्तिशाली बन्नका लागि अन्य समूहहरूलाई आफूमा सामेल गर्ने कार्य गर्नुका साथै सेवाहरू दिने कार्यहरूले पनि भूमिका खेलेका छन्।"
"तर उसको शासनमा राजनीतिक विपक्षीहरूलाई कडा सजाय दिने र जेलमा हाल्ने गरिएको भन्ने गरिएको छ।"
ती आलोचनाहरूको प्रतिक्रियास्वरूप एनटीएसले केही सुधारका कार्यहरू सुरु गरेको जनाएको छ। तर आलोचकहरू उसविरुद्ध आवाज नउठोस् भनेर मात्र उक्त समूहले त्यस्ता कार्य गरेको र त्यसको खासै अर्थ नभएको बताउँछन्।
एचटीएसले इद्लिबमा शक्तिशाली नभईकन असद सत्ता हटाउन र सिरियाको प्रगतिका लागि काम गर्न सकिने अवस्था थियो भन्ने तर्क गर्छ।
दाहेर दमास्कसमा आफ्नो शक्ति तन्काउनका लागि उक्त समूहसँग पर्याप्त सैन्य शक्ति र जनशक्ति नरहेको बताउँछन्।
३. सबैतिर फैलिएको गृहयुद्ध
सबैभन्दा खराब अवस्था भनेको 'अरब स्प्रिङ'पछि अन्य देशहरूमा मच्चिएको जस्तै अराजकता फैलिएने सम्भावना देखिन्छ।
लिबियामा मुहम्मर गद्दाफी र इराकमा सद्दाम हुसेनलाई सत्ता सञ्चालनका लागि अन्य कुनै शक्ति वा प्रणाली विकास नगरी हटाउँदा र विदेशी हस्तक्षेपका कारण विध्वंस देखा परेको थियो।
आलोचकहरू उक्त रिक्तताका कारण त्यहाँ लुटपाट मच्चिनुका साथै एकअर्कालाई बदला लिने अवस्था उत्पन्न भयो।
त्यस्तो अवस्था आएमा सिरियामा विभिन्न समूहबीच प्रतिस्पर्धाको अवस्था आउँछ र देश गहिरो गृहयुद्धमा फस्ने छ। त्यसले उक्त देश मात्र होइन, समग्र क्षेत्रलाई नै अशान्त बनाउने छ।
बीबीसीका विशेष संवाददाता फेरस किलानीले अल-बशिरले प्रधानमन्त्रीका रूपमा पहिलो मन्तव्य दिएको स्थानबाट रिपोर्टिङ गरेका थिए। उनलाई त्यस स्थलले धेरैलाई नयाँ सरकार कुन दिशामा जान्छ भन्ने देखाएको लागेको छ।
उनले भने, "नयाँ प्रधानमन्त्रीले भाषण गर्दै गर्दा उनका पछाडि दुईवटा झण्डा थिए। त्यसमा एउटा क्रान्तिकारी झण्डा थियो भने अर्को तालिबानसँग मिल्दोजुल्दो झण्डा थियो। त्यसले नयाँ सरकारले तालिबानको जस्तै प्रणाली अपनाउँछ र त्यो भनेको शरिया कानुनद्वारा निर्देशित इस्लामिक राज्य हुनु हो भन्ने सङ्केत गरेको छ।"
यसले अल्पसङ्ख्यक र नागरिक समाजको भविष्यलाई थप चुनौतीपूर्ण बनाएको उनले बताए।
विदेशी शक्तिबीच सन्तुलन
विज्ञहरू यी कुनै पनि अवस्थाहरू विदेशी शक्तिहरूले सिरियामा अपनाउने उनीहरूका नीति र चाल्ने कदममा पनि निर्भर रहने बताउँछन्।
दशकौँदेखि असद रुस र इरानको सहयोगमा निर्भर रहँदै आएका थिए भने टर्की, पश्चिमा शक्ति र अन्य खाडी देशहरूले सिरियाका विभिन्न समूहहरूलाई सहयोग गर्दै आएका छन्।
पछिल्ला केही दिनहरूमा इजरेलले सिरियाली सैन्य पूर्वाधारहरूमा लगातार हमला गरिरहेको छ।
उसले आफ्ना सैनिकहरू सिरियाली भूमिमा प्रवेश गरेर त्यहाँ तैनाथ रहेको पनि स्वीकार गरेको छ।
इजरेली सैनिकहरू इजरेलले कब्जा गरेको गोलन हाइट्सको असैन्यकृत क्षेत्रभन्दा पर सिरियाली भूमिमा प्रवेश गरेका हुन्।
इजरेलले सिरियाको रणनीतिक अस्त्रभण्डार र पूर्वाधारहरू नष्ट गरिदिएको बताएको छ।
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सिरियाली विद्रोहीहरूलाई इरानलाई "पुनर्स्थापित हुन नदिन" चेतावनी दिएका छन्।
त्यसलाई टर्की र अन्य मध्यपूर्वका देशहरूले इजरेलले असदको सत्ता समाप्तिको फाइदा उठाएको रूपमा अर्थ्याएका छन्।
फिलिप इजरेलको कदमले सिरियामा सरकारलाई कमजोर बनाएर उग्रवादीलाई बलियो बनाउने टिप्पणी गर्छन्।
फिलिप र दाहेर दुवै इजरेललाई आर्थिक रूपमा पुन: उत्थान गर्नका लागि विदेशी शक्तिहरूले उसमाथि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मानवीय सहायता दिनुपर्ने बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








