सिरियाको सैदनाय जेल जहाँ 'हजारौँ मानिसलाई यातना र मृत्युदण्ड दिइयो'

तस्बिर स्रोत, White Helmets
- Author, म्याट मर्फी
- Role, बीबीसी न्यूज
बशर अल-असदको सत्ता ढलेयता आफ्ना आफन्तको खोजी गरिरहेका सिरियाका सर्वसाधारण नागरिकहरू देशको सबैभन्दा गोप्य र कुख्यात कारागार सैदनायतिर जान थालेका छन्।
सन् १९८० को दशकको प्रारम्भमा राजधानी दमास्कसबाट झन्डै ३० किलोमिटर उत्तरमा पर्ने सानो नगर सैदनायमा यो जेल स्थापना गरिएको थियो। त्यहाँ असद परिवारले दशकौँसम्म आफ्नो सत्ताका विरोधीहरूलाई थुनेर राखेको थियो।
अधिकारकर्मी समूहहरूले त्यसलाई "मानव वधशाला"का रूपमा चित्रित गर्दै आएका छन्। सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता त्यहाँ हजारौँ मानिसहरूलाई बन्दी बनाइएको अनि यातना र मृत्युदण्ड दिइएको बताइन्छ।
उक्त कारागारको संरचना गोप्य राखिएको छ र जेलभित्रका तस्बिरहरू यसअघि कहिल्यै देखिएको थिएन।
त्यहाँ पहिला खटेका सुरक्षाकर्मीहरू र थुनिएका बन्दीहरूसँगको कुराकानीका आधारमा मात्र उक्त गोप्य जेल कस्तो छ भनेर बुझ्न सकिन्छ।
तर अधिकारकर्मी समूहहरू र अमेरिकाको विदेश मन्त्रालयले उक्त भवनबारे भित्री कुराहरू प्रकाशमा ल्याएका छन्। उक्त कारागार असदको क्रूर र दमनकारी शासनको सङ्केतजस्तै बनेको छ।
विशाल 'वधशाला'
सन् १९८० को सुरुमा निर्माण गर्न थालिएको उक्त कारागारको सञ्चालन सिरियाको सैनिक प्रहरी र सैनिक गुप्तचर निकायले गरेको थियो। उक्त कारागार १.४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। त्यहाँ पहिलो पटक सन् १९८७ मा बन्दीहरूलाई राखिएको थियो।
त्य सबेला बशरका पिता हाफज अल-अशदले सत्ता चलाएको १६ वर्ष पुगेको थियो। पूर्ण रूपमा सञ्चालनमा आउँदा उक्त जेलमा दुइटा बन्दीगृह थिए।
अधिकारकर्मी संस्थाहरूका अनुसार सेतो भवन मुख्यतया सत्ताप्रति बफादार नरहेको शङ्का गरिएका सैन्य अधिकारी र सैनिकहरूलाई राख्न बनाइएको थियो। सेतो भवन उक्त परिसरको दक्षिणपूर्वी क्षेत्रमा 'एल' आकारमा बनेको छ।
रातो भवनमा रहेको मुख्य बन्दीगृह सत्ताविरोधीहरूका लागि थियो। सुरुमा इस्लामवादी समूहहरूको सदस्यता लिएको आशङ्का गरिएका व्यक्तिहरूलाई त्यहाँ राखिन्थ्यो। उक्त हाता 'वाई' आकारमा बनेको छ। त्यसलाई मुख्य केन्द्रसँग जोड्ने तीनवटा सीधा मार्गहरू छन्।
रिहा भएका बन्दीहरूसँग कुराकानी गरेका अधिकारवादी समूहहरूका अनुसार दुई भवनमा १०,००० जना देखि २०,००० जनाजतिलाई राखिएको हुन सक्छ।
आइतवारबाट सामाजिक सञ्जालमा फैलिएका भिडिओमा एउटा ठूलो निगरानी कक्ष देख्न सकिन्छ। त्यसमा जेलभित्र रहेका दर्जनौँ कोठा कैयौँ सीसीटीभी स्क्रीनमा देखिन्छ। 'बीबीसी भेरिफाई'ले उक्त भिडिओ वास्तविक भएको पुष्टि गरेको छ।

सन् २०१७ मा अधिकारवादी समूह 'एम्नेस्टी इन्टरन्याश्नल'द्वारा प्रकाशित एउटा प्रतिवेदनमा भूतपूर्व सुरक्षागार्डहरूलाई उद्धृत गर्दै सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएपछि सेतो भवन खाली गरिएको र त्यसलाई राष्ट्रपति बशर अल-असदको सत्ताको विरोधमा भएका प्रदर्शनमा सहभागी भएकाहरूलाई थुनामा राख्न प्रयोग गरिएको उल्लेख छ।
एक पूर्वअधिकारीले एम्नेस्टीलाई बताएअनुसार "सन् २०११ पछि सैदनाय सिरियाको प्रमुख राजनीतिक जेल" बनेको थियो।
उक्त समूहले पूर्वबन्दीहरूसँग लिएको अन्तर्वार्ता उद्धृत गर्दै रातो भवनमा रहेका बन्दीहरूलाई विभिन्न विधि प्रयोग गरेर यातना दिइने गरेको जनाएको छ। त्यसमा बलात्कार, चरम कुटपिट र खाना र औषधोपचारबाट विमुख गराउनेसहितको अत्याचार पर्छ।
एम्नेस्टीसँग कुरा गरेकाहरूको अनुसार सेतो भवनको पछाडि "मृत्युदण्ड कक्ष" रहेको बताएका छन्। रातो भवनमा रहेका बन्दीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिन त्यहाँ लैजाने गरिएको उनीहरूले बताएका छन्।
एक पूर्वगार्डले मृत्युदण्ड दिइनेहरूको सूची रातो भवनबाट दिउँसो खानाको समयमा आइपुग्ने जानकारी दिए। त्यसपछि सैनिकहरूले मृत्युदण्ड पाउन लागेका बन्दीलाई भूमिगत सेलमा लैजाने गरेको र कुनैकुनै बेला त्यहाँ १०० जनासम्म हुने गरेको बताइन्छ। त्यहाँ उनीहरूलाई कुटपिट गरिन्थ्यो। एम्नेस्टीसँग कुरा गरेका बन्दीहरूले रातो भवनबाट साधरणतया मध्यरात र बिहान ३ बजेको समयमा बन्दीहरूलाई ठाउँ सार्ने गरिएको बताएका छन्।
आँखामा पट्टी लगाइएका बन्दीहरूलाई सिँढीबाट हिँडाएर सेतो भवनको दक्षिणपूर्वमा अवस्थित फाँसी दिने ठाउँमा पुर्याउने गरिएको उनीहरूले बताएका छन्। त्यसपछि त्यस्ता बन्दीलाई एक मिटर अग्लो र १० वटा पासो रहेको उक्त स्थानमा पुर्याउने गरिएको थियो।
एम्नेस्टीका अनुसार सन् २०१२ मा उक्त कक्षलाई विस्तार गरिएको थियो। त्यहाँ २० वटा पासो थपेर फाँसी दिने अर्को स्थल बनाइएको थियो। विद्रोहीहरूसँग सम्बन्ध भएको सञ्चारमाध्यमले जनाएअनुसार सत्ता ढलेपछि विद्रोहीहरूले सैदनाय परिसरमा फेला परेका मृत्युदण्ड दिन राखिएका दर्जनौँ पासोहरू प्रदर्शन गरेका थिए।

अधिकारकर्मी समूहहरूले अनुमान गरेअनुसार सन् २०११ देखि २०१८ सम्ममा उक्त स्थानमा फाँसी दिएर वा यातना, स्वास्थ्यस्याहारको अभाव वा भोकका कारण ३०,००० जनाभन्दा बढीको ज्यान गएको छ। रिहा भएका केही बन्दीहरूलाई उद्धृत गर्दै सैदनाय कारागारका बन्दी र बेपत्ताहरूको सङ्घले जनाएअनुसार सन् २०१८ देखि २०२१ मा थप ५०० बन्दीलाई फाँसी दिइएको थियो।
सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयले अधिकारीहरूले मारिएका बन्दीहरूको शव व्यवस्थापनका लागि सम्भवतः एउटा शवदाहगृह बनाइएको जनाएको थियो। माथिको तस्बिरमा सेतो भवनको छेउमा एउटा सानो भाग देख्न सकिन्छ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले उक्त भवन "सैदनाय कारागारमा भइरहेका सामूहिक हत्यालाई लुकाउने प्रयासमा" निर्माण गरिएको आरोप लगाएका थिए।
अमेरिकी अनुसन्धानकर्ताहरूले केही स्याटलाइट तस्बिर सार्वजनिक गर्दै तिनमा देखिएको एउटा सानो भवनलाई शवदाहगृह बनाइएको दाबी गरेका थिए। अधिकारीहरूले भवनमा रहेको पग्लिएका हिउँले आफ्नो दाबीलाई प्रमाणित गर्ने भन्दै त्यहाँ उक्त समयमा दैनिक ५०० जनालाई झुन्ड्याइएको उल्लेख गरेका थिए।

कारागार परिसरवरिपरि कडा सुरक्षा
उक्त परिसरमा सुरुदेखि नै कडा सुरक्षा र तारबारको व्यवस्था गरिएको थियो। दुई सय सैनिकको टोलीले त्यहाँ गस्ती गर्थ्यो भने थप २५० सैन्य गुप्तचर र सैनिक प्रहरीको टोलीलाई आन्तरिक सुरक्षाको जिम्मा पाएको सैदनाय कारागारका बन्दी र बेपत्ताहरूको सङ्घले जनाएको छ।
सत्ताप्रति बफादार रहेको 'ट्वेन्टीफर्स्ट बिग्रेड'का सैनिकहरूलाई उक्त जेलको सुरक्षाको जिम्मेवारी दिइएको थियो। अलवाइत अल्पसङ्ख्यक समुदायका अधिकृतले ती सैनिकहरूको नेतृत्व गर्थे। असद पनि सो समुदायका हुन्।
असदको सत्ता ढलेयता उक्त जेल परिसरभित्र हतार गरेर सर्वसाधारणहरूलाई नपस्न अनुरोध गरिएको छ। अधिकारवादी समूहहरूले उक्त परिसरको भित्री भागमा विस्फोटक पदार्थ बिच्छयाइएको जनाएका छन्। उक्त जेलको बाहिरी भागमा ट्याङ्क रोक्नका लागि र मध्यभागमा मानवलक्षित विस्फोटक पदार्थ बिच्छाएर अतिरिक्त सुरक्षाघेरा बनाइएको छ।
सिरियाली नागरिक प्रतिरक्षा सङ्गठन 'ह्वाइट हेल्मेट्स'ले सार्वजनिक गरेको तस्बिरमा अग्ला पर्खालमाथि तरबार गरेर सो परिसरलाई घेरिएको देखिन्छ। त्यसबाहेक त्यहाँ निगरानी गर्न बनाइएका कैयौँ 'गार्ड टावर' पनि छन्।
असदको सत्ताले अन्तर्राष्ट्रिय संस्थाहरूले लगाएका आरोपहरूलाई "आधारहीन" र "भ्रामक" भन्दै अस्वीकार गर्ने गरेको थियो।
सैदनायममा बन्दी बनाइएका आफन्तका परिवारले असदको सत्ता ढलेपछि 'कतिपय अवस्थामा दशकौँसम्म बेपत्ता रहेका आफ्ना प्रियजनहरूलाई फेला पार्ने आशा बढेको' आशा गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








