विश्वका अन्य मानिसभन्दा बुढ्यौली ढिला आउने चिमानेहरू

    • Author, एलेज्यान्ड्रो मिलान भ्यालेनसिया
    • Role, बीबीसी न्यूज मुन्डो, बोलिभियाबाट

बोलिभियाको जङ्गलमा हिँडिरहँदा मार्टिना क्यान्खी नेटको वरपर राता पुतलीहरू घुमिरहे। उनीसँगै हाम्रो समूह हिँड्न नसकेपछि हामीले उनलाई रोकिन भन्यौँ।

उनको परिचयपत्रमा उनको उमेर ८४ वर्ष छ। १० मिनेटमै उनले युक्का नामक वनस्पतिमा दुई पटक चक्कुले हानेर उखेलिन् ताकि त्यसबाट फल निकाल्न सकियोस्। त्यसरी उखेलिएको ठूलो फल ढाडमा बोकेर उनी च्याकोबाट घरतर्फ लागिन्।

च्याको त्यस्तो समथर भूमि हो जुन मध्य दक्षिण अमेरिकाका अर्जेन्टिना, पाराग्वे र बोलिभियामा फैलिएको छ। त्यहीँ ठूलो भूभागको एउटा सानो क्षेत्रमा मार्टिना तरुल, मकै, युक्काजस्तै वनस्पति र धान फलाउँछिन्।

मार्टिना चिमाने भनिने अर्ध फिरन्ते आदिवासी समुदायमा पर्ने १६,००० मानिस मध्येकी एक हुन्।

बोलिभियाको राजधानी लपासबाट ६०० किलोमिटरको दूरीमा एमजन रेनफरेस्टभित्र उक्त समुदायका मानिसहरू बस्छन्।

दुर्लभ सिकारी

उनको शरीरमा जस्तो बल र फुर्ति देखिन्छ त्यो चिमाने समुदायका त्यो उमेरका मानिसका लागि अस्वाभाविक होइन।

वैज्ञानिकहरूले यो समूहका मानिसको धमनी अहिलेसम्मको अध्ययनमा सबैभन्दा स्वास्थ्यकर रहेको र दक्षिण अमेरिका, युरोप र अन्यत्रभन्दा यहाँका मानिसको मस्तिष्क सुस्त गतिमा बूढो हुँदै जाने पाइएको निष्कर्ष निकालेका छन्।

चिमानेहरू दुर्लभ हुन्। सिकार र खेती गर्ने अनि चारा खोज्दै हिँड्ने यी मानिसहरू यस्तो जीवनशैलीका संसारका अन्तिम मानिसहरूमध्येका हुन्।

अनुसन्धानकर्ता र वैज्ञानिकहरूका लागि नमुना प्रदान गर्न यो समूह ठूलो छ।

युनिभर्सिटी अफ न्यू मेक्सिकोका मानवशास्त्री हिलर्ड क्यापलानको नेतृत्वले यो समुदायमाथि दुई दशकसम्म अध्ययन गरेको छ।

दिनभरि काम

चिमानेहरू जनावरको सिकार गर्ने, खानाका लागि खेती गर्ने र छाना बनाउने काममा निरन्तर रूपमा सक्रिय छन्।

दिउँसोको समयमा उनीहरू १० प्रतिशतभन्दा कम समय मात्रै केही नगरी बस्छन्। जबकि औद्योगिक देशका मानिसहरू ५४ प्रतिशत समय काम नगरी बस्छन्। औसतमा सिकारका लागि चिमानेहरूलाई आठ घण्टाभन्दा बढी समय लाग्छ र उनीहरू १८ किलोमिटर टाढासम्म पुग्छन्।

उनीहरू मनिकुई रिभर क्षेत्रमा बस्छन् जुन नजिकैको नगरबाट डुङ्गामा जानका लागि करिब १०० किलोमिटर टाढा पर्छ। त्यो ठाउँमा प्रशोधित खाना, रक्सी र चुरोट विरलै पुग्छ।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले १४ प्रतिशत क्यालोरी फ्याटबाट पाउँछन् भने अमेरिकामा त्यो प्रतिशत ३४ रहेको छ। उनीहरूले खाने खानामा फाइबर धेरै हुन्छ र उनीहरूले ७२ प्रतिशत क्यालोरी कार्बोहाइड्रेटबाट पाउँछन् जबकि अमेरिकामा ५२ प्रतिशत पाउँछन्।

उनीहरूले प्रोटिन भने आफूले सिकार गरेका चराहरू, बाँदर र माछाबाट पाउँछन्। उनीहरूले खाना परम्परागत रूपमा पकाउँदा भुट्ने वा तार्ने गर्दैनन्।

स्वस्थ मुटु

प्राध्यापक क्यापलान र उनका सहकर्मी युनिभर्सिटी अफ क्यालिफोर्नियाका माइकल गुर्भेनको प्रारम्भिक काम मानवशास्त्रसम्बन्धी थियो। तर उनीहरूले उमेर पुग्दै गएका चिमानेहरूमा त्यो उमेरमा अन्य मानिसमा देखिने रक्तचाप, मधुमेह वा मुटुसम्बन्धी रोगहरूका सङ्केत देखेनन्।

सन् २०१३ मा प्रकाशित एउटा अध्ययनले उनीहरूको ध्यान तान्यो। अमेरिकी मुटु रोग विशेषज्ञ र्‍यान्डल सी टम्पसनको टोलीले इजिप्ट, इन्का र अन्यान्गन सभ्यताका १३७ वटा मम्मीहरूको परीक्षणका लागि सीटी स्क्यान गरे।

मानिसको उमेर बढ्दै जाँदा फ्याट, कोलेस्टेरोल र अन्य पदार्थहरूले धमनीलाई मोटो वा कडा बनाउँछ जसका कारण एथेरोस्क्लेरोसिस हुन्छ। उनीहरूले यही सङ्केत ४७ वटा मम्मीमा पनि पाएका थिए। आधुनिक जीवनशैलीका कारण यस्तो हुन्छ भन्ने धारणालाई यसले चुनौती दियो।

अनुसन्धान गर्ने दुई वटा टोलीले ४० वर्ष उमेर काटेका ७०५ चिमानेहरूमा सिटी स्क्यान गरे र हृदयाघात हुने जोखिम र रक्त नलीमा अवरोध देखिएको छ कि छैन भनेर उनीहरूको कोरोनरी आर्टरी क्याल्सियम सीएसी गरेर हेरे।

सन् २०१७ मा द ल्यान्सेटमा पहिलो पटक प्रकाशित उक्त अध्ययनले ७५ वर्ष उमेर नाघेका ६५ प्रतिशत चिमानेहरूमा सीएसी नभएको देखाएको थियो। जबकि त्यो उमेरका ८० प्रतिशत अमेरिकीहरूमा त्यस्ता सङ्केतहरू देखिन्छन्।

क्याप्लान भन्छन्: “७५ वर्षीय चिमानेको धमनी ५० वर्षीय अमेरिकी मानिसको धमनीजस्तै हुन्छ।”

सन् २०२३ मा न्याश्नल एकेडेमी अफ साइन्सेसमा प्रकाशित दोस्रो चरणको अध्ययनले उमेर पुग्दै गएका चिमानेहरूको मस्तिष्कमा यूके, जापान र अमेरिकाजस्ता औद्योगिक देशका मानिसको तुलनामा ७० प्रतिशत क्षय कम हुने देखाएको छ।

“वयस्क जनसङ्ख्यामध्ये हामीले एक जना पनि मानिसमा अल्जाइमर भेटेनौँ – यो अद्भुत हो,” बोलिभियाका डाक्टर ईद रोड्रिग्युजले भने। उनले अनुसन्धानकर्ताहरूसँग चिकित्सकीय संयोजन गरेका थिए।

चिमानेको उमेर भने यकिन नहुन सक्छ। अङ्क नपढेका कारण उनीहरूलाई गन्नमा समस्या छ। उनीहरूले हामीलाई त्यस क्षेत्रमा भएका क्रिश्चियन मिसनको रेकर्डले निर्देशित गरे अनुसार उमेर भनेका हुन् वा एक अर्कालाई चिनेको भरमा भनेका हुन्। वैज्ञानिकहरूले व्यक्तिको सन्तानको उमेरका आधारमा पनि उमेरको हिसाब गरेका हुन्।

चिमानेहरू के भन्छन्?

उनीहरूको रेकर्ड अनुसार हिल्दा ८१ वर्षकी हुन्। तर उनले हालै आफ्नो परिवारले आफ्नो १०० औँ जन्मदिन वा त्यस्तै केही मनाउनका लागि सुँगुरको सिकार गरेको बताइन्।

आफूलाई ७८ वर्षका बताउने खुवान सिकार गर्न जान्छन्।

उनको कपाल कालो छ, आँखा ऊर्जाशील देखिन्छ र पाखुरा हट्टाकट्टा देखिन्छ। उनले जङ्गली एउटा सुँगुरलाई सिकार गर्न पछ्याइरहँदा हामीले उनलाई नियाल्यौँ। त्यो सुँगुर सिकार हुनुअगावै त्यहाँबाट उम्किएर भाग्यो।

खुवानले आफू बूढो भएको महसुस गर्ने गरेको बताए: “अब सबैभन्दा कठिन भनेको मेरो शरीर हो। म धेरै टाढा हिँड्न सक्दिनँ … हप्तामा धेरैजसो दुई दिन हिँड्छु।”

मार्टिना त्यस कुरामा सहमत छिन्। चिमाने महिलाहरू जङ्गलमा पाइने एउटा बिरुवाबाट छाना टाल्छन्। यो बिरुवा बटुल्न मार्टिनालाई तीन घण्टा जान लाग्छ र तीन घण्टा फर्किन लाग्छ। उनले त्यो आफ्नै पिठ्यूँमा बोकेर फर्किनुपर्छ।

“म महिनामा एक वा दुई पटक त्यसो गर्छु। तर अब भने मलाई कठिन हुन्छ,” उनले भनिन्।

आहार र अभ्यास

चिमानेहरूको उमेर धेरै बूढो हुनै पाउँदैन। यो अध्ययन थाल्दा उनीहरूको औसत आयु मुस्किलले ४५ थियो भने अहिले ५० वर्ष पुगेको छ।

उनीहरूको परीक्षण गरिएको क्लिनिकमा डाक्टर ईदले परीक्षण गर्ने तयारी गरिरहँदा उमेर बढ्दै गएको महिलालाई उनको परिवारबारे सोधे।

औँलामा गन्दै एक महिलाले आफ्नो ६ सन्तान भएको र त्यसमा एक जना मरेको बताइन्। अर्की महिलाले आफ्ना १२ सन्तान भएको र ४ जना मरेको बताइन्। त्यस्तै अर्की महिलाले भने १२ मध्ये तीन जना मरेको र ९ जना जीवितै रहेको बताइन्।

“८० वर्ष बाँचेका यी मानिसहरू त्यस्ता हुन् जो बच्चा हुँदा थुप्रै रोग वा सङ्क्रमणबाट बच्न सकेका थिए,” डाक्टर ईदले भने।

अनुसन्धानकर्ताहरू सबै चिमानेहरूले आफ्नो जीवनकालमा परजीवी वा किराबाट सङ्क्रमणको अनुभव गरेको ठान्छन्। चिमानेहरूले निरन्तर रूपमा सङ्क्रमणको सामना गर्ने भएकाले उनहरूको शरीरमा रोग लगाउने कीटाणुहरू र जलन उच्च मात्रामा देखिन्छ।

यसले गर्दा उमेर बढ्दै गएका चिमानेहरूको स्वास्थ्यका पछाडि आहार र अभ्यासबाहेक प्रारम्भिक सङ्क्रमण पनि हो कि भनेर अनुसन्धानकर्ताहरूलाई सोच्न बाध्य बनाएको छ।

जीवनशैली

चिमाने समुदायको जीवनशैली भने फेरिँदै छ।

खुवानले आफूले महिनौँयता ठूलो जनावर सिकार गर्न नसकेको बताए। सन् २०२३ को अन्त्यमा भएको शृङ्खलाबद्ध आगलागीमा करिब २० लाख हेक्टर जङ्गल ध्वस्त भयो।

"यस्तो आगलागीले गर्दा पनि जनावरहरू बस्दैनन्,” उनले भने।

उनले अहिले पशुपालन थालेका छन्। चार वटा गोरुहरू पालिरहेका छन्। यो वर्षको अन्त्यमा तिनैले प्रोटिन दिने उनले आशा गरेका छन्।

डाक्टर ईदले मोटरसहितको डुङ्गाको प्रयोगले पनि चिमानेको जीवनमा परिवर्तन ल्याइरहेको बताए।

यो डुङ्गाले गर्दा बजारसम्म पुग्न उनीहरूलाई सजिलो भएको छ र चिमानेहरूको पनि चिनी, गहुँ र तेलजस्ता उपभोग्य सामानमा पहुँच पुगेको छ।

यसले गर्दा उनीहरू विगतमा भन्दा कम शारीरिक गतिविधि गर्ने गरेको डाक्टर ईदले औँल्याए।

२० वर्षअगाडि त्यहाँ मधुमेहका कुनै बिरामी थिएनन्। अहिले भने देखिन थालेका छन्। कोलेस्टेरोलको मात्रा पनि युवाहरूमा पहिलाको भन्दा बढ्न थालेको अनुसन्धानकर्ताहरूले अध्ययनमा पाएका छन्।

“उनीहरूको बानीमा हुने सानो परिवर्तनले पनि स्वास्थ्यमा प्रभाव पार्छ,” डाक्टर ईदले भने।

र, अनुसन्धानकर्ताहरू स्वयंले पनि आफ्नो २० वर्ष चिमानेहरूबारे अध्ययन गर्दा त्यहाँ परिवर्तनको असर परेको देखेका छन्।

चिमाने समुदायलाई सर्पले टोक्दा वा हड्डी भाँचिदा वा मोतीबिन्दुको शल्यक्रिया गर्ने व्यवस्था गरिदिनेजस्ता स्वास्थ्य सेवामा राम्रो पहुँच मिलाइदिने काम अनुसन्धानकर्ताहरूले गरेका छन्।

तर हिल्दा बढ्दै गएको पाको उमेरबारे चिन्तित छैनन्। “मलाई मर्न डर छैन,” उनले हाँसेर भनिन्, “किनभने उनीहरूले मलाई गाड्छन् र म यहीँ रहनेछु … स्थिर भएर।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।