नयाँ आईफोनमा नयाँ चार्जरः ईयूको नियमसँग झुक्यो एपल

आगामी सेप्टेम्बर १२ मा सार्वजनिक हुने एपलको नयाँ आईफोनमा 'यूएसबी टाइप सी' चार्जर पोइन्ट हुने निश्चितप्रायः भएको छ।
एपल कम्पनीले निर्माण गरेका फोनमा छुट्टै 'लाइट्निङ' अड्याप्टर प्रयोग हुँदै आएको छ। अरू साम्सङजस्ता अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उक्त अड्याप्टरले काम गर्दैन।
युरोपेली सङ्घ ईयूको कानुनले उपभोक्ताहरूको पैसा बचत र त्यसबाट निस्किने फोहोर कम गर्न मोबाइल फोन उत्पादकहरूलाई सन् २०२४ भित्र समान किसिमको चार्जिङ कनेक्शन बनाउन अनिवार्य गरेको छ।
नयाँ आईप्याडजस्ता एपलका अधिकांश नयाँ उत्पादनहरूले यसअघिबाटै यूएसबी टाइप सी प्रयोग गरिरहेका छन्। तर यो कम्पनीले ईयूको नयाँ नियमको प्रतिवाद गरेको छ।
सन् २०२१ को सेप्टेम्बरमा ईयूको नयाँ कानुन बन्दा एपलका एक प्रतिनिधिले बीबीसीसँग भनेका थिए: “एउटै प्रकारको मात्रै कनेक्टर अनिवार्य गर्ने कठोर कानुनले नवप्रवर्तनलाई प्रवर्धन गर्नुको साटो दमन गर्छ। यसले युरोप र विश्वभरिकै उपभोक्ताहरूलाई अन्ततः क्षति नै गर्छ।”
लाइट्निङबाट यूएसबी-सी जोड्न मिल्ने अड्याप्टरहरू यसअघि नै एमजनसहितका अन्य विद्युतीय सामग्री उत्पादकहरू बनाइसकेका छन्। अर्को कुरा आईफोन-एइट (आईफोन ८) पछि उत्पादित आईफोनका सबै संस्करणहरूमा वायरलेस चार्जिङ सुविधा उपलब्ध छ।
अहिले चलिरहेको आईफोन-फोर्टीन (आईफोन १४) लाइट्निङ चार्जिङ पोइन्ट भएको एपलद्वारा उत्पादित सबैभन्दा नयाँ उपकरण हो।
यदि नयाँ आईफोनमा यूएसबी-सी चार्जर पोइन्ट आए त्यसले लाइट्निङ केबलको अन्त्यको सङ्केत गर्ने छ। त्यसको मूल्य अहिले एपल स्टोरमा १९ पाउन्ड छ।

एपलको विश्वव्यापी उत्पादनमा नै यस्तो परिवर्तन हुन लागेको हो वा युरोपमा मात्रै भन्ने स्पष्ट छैन।
तर यो प्रविधि कम्पनीले युरोपेली बजारका लागि मात्रै छुट्टै उत्पादन बनाउने सम्भावना निकै कम छ।
यो परिवर्तन आगामी साता सार्वजनिक हुन लागेका आईफोन-फिफ्टीन (आईफोन १५) र आईफोन १५ प्रो मा हुने अपेक्षा गरिएको छ।
कस्तो फाइदा?
ब्लूम्बर्ग न्यूजका अनुसार एकै प्रकारको चार्जिङ पोइन्ट हुँदा उपभोक्ताहरूले एउटै चार्जरबाट आईप्याड, म्याक र आईफोन चार्ज गर्न सक्छन्। त्यसबाहेक डाउनलोड गति पति तीव्र हुन सक्छ।
युरोपेली सङ्गले बनाएको एउटै चार्जर प्रयोग गर्नुपर्ने नियमले साना र मध्यम आकारका बोकेर हिँड्न मिल्ने विद्युतीय उपकरणहरूलाई समेटेको छ।
तिनमा पर्ने साधन यी हुन्।
- मोबाइल फोन
- ट्याब्लेट
- ई-रीडर
- माउस र कीबोर्ड
- जीपीएस (ग्लोबल पोजिशनिङ सिस्टम) उपकरण
- हेडफोन, हेडसेट र इअरफोन
- डिजिटल क्यामेरा
- हाते भिडियोगेम कन्सोल
- बोकेर हिँड्न मिल्ने स्पीकर
तारको माध्यमबाट चार्ज गर्नुपर्ने यस्ता साधनहरूमा जसले उत्पादन गरेको भए पनि यूएसबी टाइप सी पोर्ट हुनुपर्ने भनिएको छ।
ल्याप्टपहरूका लागि पनि यो नियम आकर्षित हुन्छ। तर उत्पादकहरूलाई यस्तो परिवर्तन कार्यान्वयनका लागि केही लामो समय दिइएको छ।
ईयूका अनुसार यसले उपभोक्ताहरूको अनावश्यक चार्जर खरिदमा ३५ अर्ब नेपाली रुपैयाँ बराबरको वार्षिक खर्च जोगिन सक्छ।
साथै यस्तो निर्णयबाट फोहोर उत्पादन समेत प्रतिवर्ष ११,००० टन कमी आउने दाबी गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।














