कामदार बिरामी परेपछि आईफोनको भारतीय कारखाना एपलको निगरानीमा

फक्सकन

तस्बिर स्रोत, Getty Images

अस्वस्थ खानेकुराका कारण कामदारहरू बिरामी भएपछि सुरु भएको विरोधका कारण अमेरिकी एपल कम्पनीले भारतमा आईफोन निर्माण गर्ने एउटा कारखानालाई निगरानीमा राखेको छ।

एपलले गरेको परीक्षणमा कामदारहरूले खाना खाने र बस्ने कोठाहरूमा मापदण्ड अनुसारको नभएको पाइएपछि दक्षिण भारतको तामिलनाडुमा रहेको कारखाना निगरानीमा परेको हो।

फक्सकन कारखानामा काम गर्ने करिब २५० जना महिला कामदारहरू अस्वस्थ खानेकुराका कारण बिरामी परेका थिए।

जसमध्ये १५० जनालाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाप्रति क्षमायाचना गर्दै फक्सकनले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

"हामी कामदारहरूले भोगेको समस्याप्रति माफी चाहन्छौँ। हामीले उनीहरूलाई प्रदान गर्ने सुविधा र सेवामा सुधारका लागि तत्कालै आवश्यक कदम पनि चालिरहेका छौँ," ताइवानी कम्पनीले एक वक्तव्यमा भनेको छ।

कामदारहरूबाट विरोध बढ्दै गएपछि यो कारखाना डिसेम्बर १८ बाट बन्द छ।

एपलले निगरानीमा राख्ने भनेको के हो भन्ने नखुलाए पनि विगतमा उसले निगरानीमा रहेको समस्याको समाधान नहुँदासम्म त्यस्तो कम्पनीलाई थप नयाँ काम नदिने हो।

एपलका प्रवक्ताले भनेका छन्, "फक्सकन श्रीपेरूम्बुदुरमा खाद्य सुरक्षा र आवासको अवस्थाबारे चासो बढेपछि हामीले स्वतन्त्र परीक्षकहरू खटाएका छौँ।"

"कारखानाभन्दा केही टाढा कर्मचारीहरूका लागि रहेका आवास र भोजनगृहहरूले हाम्रो मापदण्ड पूरा गर्दैनन्। हामी आपूर्तिकर्तासँग विस्तृत सुधारका कदमहरू सुनिश्चित गर्न र तत्कालै कार्यान्वयनमा ल्याउन काम गरिरहेका छौँ," उनले भनेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिनियाँ रोबोट्याक्सी

चेन्नईबाट ४० किलोमिटरको दूरीमा रहेको आईफोन कारखानाले १७,००० मानिसहरूलाई रोजगारी प्रदान गरिरहेको छ।

तामिलनाडु राज्य सरकारले पनि फक्सकनलाई कामदारहरूको सेवासुविधाबारे समीक्षा गर्न भनेको छ।

गत वर्ष बैङ्लोर नजिकैको अर्को एउटा कारखानामा कामदारहरूले ज्याला नपाएको विषयमा दङ्गा भड्किएपछि त्यो साझेदारलाई पनि एपलले निगरानीमा राखेको थियो।