एपल कम्पनीविरुद्ध फोर्टनाइट अदालतमा: मुद्दा के हो? किन हालियो? कसले जित्ला?

एपिक गेम्स र एपल
    • Author, जेम्स क्लेटन
    • Role, बीबीसी उत्तर अमेरिका प्रविधि संवाददाता

महिनौँको आरोप-प्रत्यारोपपछि मोबाइल खेल फोर्टनाइट निर्माता एपिक गेम्स र एपल कम्पनी अदालतमा आमनेसामने हुने भएका छन्।

एपलको लागि इतिहासमै सबैभन्दा महत्त्वपूर्ण मानिएको यो मुद्दामा सोमवार सुनुवाइ सुरु हुँदैछ।

एपलका टिम कुक आफ्नो कार्यकालमा पहिलो पटक अदालतसामु प्रस्तुत हुनेछन्।

यो मुद्दाको फैसलाले एपलको एप स्टोर र उनले एप निर्मातासँग कति कमिशन लिन पाउने भन्ने विषयलाई असर गर्नेछ। एपलको आम्दानीको एउटा प्रमुख स्रोत एपबाट आउने कमिशन पनि हो।

मुद्दा किन हालियो?

गत वर्ष अगस्टमा एपिक गेम्सले यो मुद्दाको जाल बिछ्याएको थियो।

आफ्नो चर्चित गेम फोर्टनाइट एपमा आफ्नो छुट्टै खरिद सुविधा राखेर उसले एपलको ३० प्रतिशत कमिशनको बाटोलाई छलेको थियो।

एपलले तुरुन्तै फोर्टनाइटलाई एप स्टोरबाट निकालिदियो। तर एपिक गेम्सले त्यही कुरिरहेको थियो।

यसले एपल कम्पनीविरुद्ध ६५ पाना लामो विवरण तयार पारेर मुद्दा दायर गर्‍यो।

मुद्दा के हो

एपिक गेम्सले वर्षौँदेखि एपको कमिसन अत्यधिक भएको दाबी गर्दै आएको छ।

उनीहरूको तर्क साधारण छ: एप स्टोरमाथि एपलको नियन्त्रणले प्रतिस्पर्धालाई निरुत्साहित गर्छ।

उनीहरूको भनाइमा एप निर्माताहरूले एपल (र गुगललाई) ठूलो रकम नतिरी स्मार्टफोन प्रयोगकर्ताका लागि एप बनाउन सक्ने वातावरण हुनुपर्छ।

स्पटिफाई, म्याच र टायलजस्ता कम्पनीहरूले पनि एपलको शुल्क सही नभएको बताउँदै आएका छन्।

एपिल गेम्सको प्रश्न छ: यदि कोही निर्माताले शुल्क तिर्न चाहेन भने कहाँ गएर आफ्नो उत्पादन बेच्ने?

फोर्टनाइटको बिक्री प्रणाली जसका कारण एफ स्टोरबाट गेमलाई हटाइयो
तस्बिरको क्याप्शन, फोर्टनाइटको विक्री प्रणाली जसका कारण एफ स्टोरबाट गेमलाई हटाइयो

एपल र गुगलको एकाधिकार

एपलको एप स्टोर र गुगलको गुगल प्ले चीनबाहिर एकाधिकार जमाएका एप विक्रीस्थल हुन्।

एपिल गेम्सले फोर्टनाइटलाई यी दुई स्टोर बाहिर बेच्न प्रयास गरे। एन्ड्रोइड फोनमा छुट्टै तरिकाले एप डाउनलोड गर्न सकिने बनाए तर गुगल प्ले बाहिर कमै व्यक्तिले यसलाई डाउनलोड गरे।

त्यसपछि एपिक गेम्सको निष्कर्ष: स्मार्टफोनका लागि गेम बनाउने हो भने यी दुई स्टोरमा रहनु नै पर्छ।

'एपल कर'

सो निष्कर्षपछि एपिक गेम्सले एपलसँग झुक्नुको साटो 'एपल कर'विरुद्ध मुद्दा हाल्ने निर्णय गर्‍यो।

एपलको लागि चिन्ता भनेको एप स्टोरका आलोचकहरू राजनीतिकको अर्कोतर्फ रहेका छन्।

दुई साताअगाडि अमेरिकाको माथिल्लो सदनको संसदीय सुनुवाइमा एपलका काइल एन्डीरलाई सांसदहरूले र्‍याखर्‍याख पारे। दुई धारमा रहने राजनीतिज्ञहरू पनि एपलमाथि आक्रोश पोख्न एक भए।

डेमोक्र्याट सांसद एमी क्लोबुचर र रिचार्ड ब्लूमेन्थल अनि रिपब्लिकन सांसद माइक ली र जोस हलीले एकै प्रकारका प्रश्नहरू सोधे।

सिनेटर क्लोबुचरले त एपलको एप स्टोरले 'एकाधिकार' जमाएको बताइन्।

अनि शुक्रवार युरोपेली सङ्घले एप स्टोरको व्यवहारका लागि एपललाई कारबाही गर्ने बतायो।

गजबको समय

एपिक गेम्सले मुद्दा गजबको समयमा सुरु गरेको छ।

अदालतले जबाफ दिनपर्ने प्रश्न यो हो: के एप स्टोर कुनै एक कम्पनीले नियन्त्रणमा राख्न नहुने सार्वजनिक उपभोगको अत्यावश्यक सुविधा हो?

एकाधिकार विरोधी अभियानकर्मी म्याट स्टोलर भन्छन्: "सबैलाई थाहा छ कि एपलले सार्वजनिक अधिकारको कुरोमा नियन्त्रण गरेको छ। न्यायाधीशका लागि सबैभन्दा सहज कुरा एपिक गेम्सको पक्षमा निर्णय गरेर बिग्रिएको कुरा सुधार्ने हुनेछ।"

फर्टनाइटका पात्रहरू

तस्बिर स्रोत, Fortnite

एपल के भन्छ?

एपल कम्पनीले भने राम्रा वकिलहरू राख्न सक्छ। तर एपलको प्रतिवाद के हो?

पहिलो एपलले एप स्टोर निर्माण गरेको हो र निजी कम्पनी भएकोले उसले जति पनि शुल्क लिन पाउँछ।

एपलले ३० प्रतिशत कमिशन आफूले मात्रै नभई गेम एपमा गुगल, माइक्रोसफ्ट, स्टीम, प्लेस्टेशन, एक्सबक्स सबैले लिने बताएको छ।

प्रविधि ब्लगर जोन ग्रुबर एपलको कुरोमा दम भएको बताउँछन्।

"कमाइ बाँडफाँटको हिसाबले ७०/३० को अनुपात सबैतिर उस्तै हो… एपिक गेम्सको दाबी जनसम्पर्कका लागि राम्रो भए पनि कानुनी रूपमा बलियो छैन।"

एपलले एप स्टोरमा खराब एपहरू नहोस् भनेर एप परीक्षण गर्ने र त्यसका लागि खर्च लाग्ने बताउँछ। तर एपलले कमाउने पैसाको अनुपातमा त्यो खर्च निकै कम हुन्छ।

स्टोलर भने एप स्टोरमा खराब एपहरू भएको बताउँदै एपलको सुरक्षाको दाबी वाहियात भएको तर्क गर्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्

कसले जित्ला त?

जोन ग्रुबर एपलले जित्ने सम्भावना बढी रहेको बताउँछन्।

"मलाई लाग्छ कानुनी हिसाबले एपलको अवस्था राम्रो छ। तर जोखिम पनि उत्तिकै छ किनभने एपलले हार्‍यो भने एप स्टोरको व्यापार नै चौपट हुन्छ।"

म्याट स्टोलर भने यस्ता मुद्दाहरूमा अनुमान गर्नै नसकिने बताउँछन्।

"अमेरिकाको प्रतिस्पर्धासम्बन्धी कानुन स्पष्ट छैन। त्यसले अनुमान लगाउनै सकिँदैन। न्यायाधीशले बिहान के खाना खाए भन्ने कुरामा कानुनको व्याख्या भर पर्छ।"

यो मुद्दा मेको अन्तिम साता सकिने अपेक्षा गरिएको छ।