अमेरिकामा लिलामीमा राखिएको एपलको सुरुवाती कम्प्युटरले पायो ४ लाख डलर

एपल

तस्बिर स्रोत, John Moran Auctioneers, Inc.

एपल कम्पनीका संस्थापकहरू स्टिभ वोजनियाक र स्टिभ जब्सले सन् १९७६ मा बनाएको एउटा सुरुवाती कम्प्युटरले लिलामीका बेला अमेरिकामा ४ लाख डलर पाएको छ।

दुर्लभ हवाइअन कोओबाट बनेको काठे बक्सा भएको एपल-१ ले अझै काम गरिरहेको छ र त्यो सुरुमा निर्माण गरेर बेचिएको २०० वटामध्ये एक हो।

उक्त कम्प्युटरको स्वामित्व अहिलेसम्म दुई जनासँग मात्र रह्यो।

क्यालिफोर्नियाका लिलामी कर्ता जोन मोरनका अनुसार सुरुमा त्यसलाई एक जना कलेजका प्राध्यापकले चलाए र पछि उनले आफ्ना विद्यार्थीलाई त्यो ६५० अमेरिकी डलरमा बेचेका थिए।

उक्त विक्रीमा प्रयोगका लागि सहायता सामग्री र दुईवटा क्यासेट टेपमा एपलका सफ्टवेअर संलग्न छ।

'पवित्र अवशेषजस्तो'

मङ्गलवारको लिलाम विक्रीअघि एपल-१ विज्ञ कोरे कोहिनले लस एन्जलस टाइम्ससँग भने, "पुराना इलेक्ट्रोनिक्स र कम्प्युटर प्रविधिका सङ्ग्रहकर्ताका लागि यो पवित्र अवशेषजस्तो हो।"

"यो साँच्चिकै धेरैलाई लोभ्याउने कुरा हो।"

उक्त मोडलको कोआ काठको बाकस उति बेलाको एउटा कम्प्युटर विक्रेता क्यालिफोर्नियाको बाइटसपले थपेको थियो।

एपल

तस्बिर स्रोत, John Moran Auctioneers, Inc.

उक्त विक्रेताले ५० वटा एपल-१ कम्प्युटर बेचेको थियो।

जब्स, वोजनियाक र रोनाल्ड वेनेले सन् १९७६ को एप्रिल १ मा क्यालिफोर्नियाको एउटा ग्यारेजमा एपलको स्थापना गरेका थिए।

उत्पादन कथा

एपल-१ को उत्पादनलाई आर्थिक रूपले सघाउन जब्सले भीड्ब्लू माइक्रोबस र वोजनियाकले आफ्नो एचपी-६५ क्यालकुलेटरलाई पाँच सय डलरमा बेचेका थिए।

सन् १९७६ मा उक्त कम्प्युटरहरू ६६६.६६ अमेरिकी डलरको दरले बेचिएका थिए।

त्यस्तो मूल्य राखिनुको कारण वोजानियाकले अङ्कहरू दोहोरिएको रुचाउनु रहेको थियो।

अझै संसारभर त्यस्ता २० वटा काम गर्न सक्ने कम्प्युटरहरू रहेको विश्वास गरिन्छ।

यसअघि सन् २०१४ मा न्यूयोर्कमा भएको एउटा बेग्लै लिलामीमा काम गरिरहेकै एपल-१ कम्प्युटर ९ लाख पाँच हजार डलरमा विक्री भएको थियो।