रफाहमा इजरेली हवाई आक्रमण, दुई बन्धकको उद्धार

हमासले बन्धक बनाएका दुई इजरेली पुरुषलाई गाजाको रफाह सहरबाट मुक्त गरिएको इजरेलले जनाएको छ। इजरेलले गाजाको दक्षिणमा अवस्थित उक्त सहरमा सघन हवाई आक्रमण गरेको विवरणहरू प्राप्त भएका छन्।

इजरेल डिफेन्स फोर्सेज (आइडीएफले) ले ती बन्धकको "स्वास्थ्यस्थिति राम्रो रहेको" जनाएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

यसअघि प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा आक्रमण भइरहेको र कैयौँ मानिसको ज्यान गएको जानकारी दिएको थियो।

इजरेलले रफाहमा आक्रमण गर्न लागेको चेतावनी अन्तर्राष्ट्रिय समुदायले पनि दिएको थियो। रफाहमा १५ लाख मानिसले आश्रय लिएका छन्

इजरेलले आफूले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बताएको छ तर विस्तृत विवरण दिएको छैन।

इजरेली कारबाही र उद्धार

सामाजिक सञ्जालमा आईडीएफले सार्वजनिक गरेको विज्ञप्तिअनुसार "आईडीएफ, आईएसए [इजरेली सुरक्षा निकाय 'शिन बेट'] र इजरेली प्रहरीले राति गरेको संयुक्त कारबाहीमा किबुट्स निर यिट्साकबाट दुई इजरेली बन्धकहरू: फर्नान्डो साइमन मार्मन (६०) र लूइ हार (७०) को उद्धार" गरिएको थियो।

ती दुई इजरेलीलाई परीक्षणका लागि मध्यइजरेलस्थित शेबा मेडिकल सेन्टर लगिएको थियो। आईडीएफले सामाजिक सञ्जालमा एउटा अज्ञात स्थानमा राति हेलिकप्टर अवतरण गरेको भिडिओ पोस्ट गरेको छ। उक्त हेलिकप्टरमा ती दुई थिए वा अरू कोही थिए भन्ने खुलाइएिो छैन।

इजरेली रक्षामन्त्री योआभ गालान्टले उक्त उद्धारकार्यको प्रशंसा गरेका छन्। “हामी जसरी पनि बन्धकहरू फर्काउने आफ्नो प्रतिबद्धता पूरा गर्न लागिपर्ने छौँ।”

गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरेलमा आक्रमण गर्दा १,२०० जनाभन्दा बढीको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगिएको थियो। उक्त आक्रमणपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। एउटा सहमतिअन्तर्गत हमासले केही इजरेली र विदेशी बन्धकलाई मुक्त गरेको थियो।

प्रत्यक्षदर्शीहरूले रफाहको उत्तरी र मध्यभागमा दर्जनौँ पटक हवाई आक्रमण भएको जानकारी दिएको केही बेरपछि इजरेली सेनाले दुई बन्धकलाई उद्धार गरेर आफूसँग लगेको विवरण आएको हो।

स्थानीय बासिन्दाले रफामा भएको आक्रमणमा हेलिकप्टर र डुङ्गाहरू प्रयोग भएको बीबीसीलाई बताएका छन्।

इजरेलले गरेको कारबाहीमा कति मानिस हताहत भए भन्नेमा फरकफरक विवरणहरू आएका छन्। एएफपी समाचारसंस्थाले हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बालबालिकासहित ५२ प्यालेस्टिनीको ज्यान गएको जनाएको छ।

रोएटर्सले पनि गाजाका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३७ जनाको मृत्यु भएको जानकारी दिएको छ।

रफाहको अवस्था कस्तो छ?

इजिप्टको सीमानजिकै अवस्थित रफाह गाजामा मानवीय सहायता पठाउने एकमात्रै बिन्दु हो।

यसैबीच हमालसले दशौँ हजार मानिस घाइते भएको हुन सक्ने भन्दै इजरेली कारबाहीका कारण आफ्नो भूमिमा बन्धक बनाइएका इजरेलीहरूको रिहाइको सम्भावना कमजोर हुने चेतावनी दिएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली सेनाले गरेको कारबाहीमा अघिल्लो दिन ११२ जनाको मृत्यु भएको जानकारी दिएको थियो। यो तथ्याङ्कले इजरेली सैन्य कारबाहीमा परेर गाजामा मृत्यु हुने सङ्ख्या २८,००० नाघेको देखाउँछ भने घाइतेको सङ्ख्या ६७,५०० नाघेको छ।

अन्तर्राष्ट्रिय समुदायले झन्डै १५ लाख मानिसले शरण लिइरहेको रफाह सहरमा आक्रमण नगर्न इजरेललाई चेतावनी दिँदै आएका छन्। अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन्।

एक वरिष्ठ राष्ट्रसङ्घीय मानवीय सहायता अधिकारीले बीबीसीलाई रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताएका छन्।

आइतवार अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुलाई सर्वसाधारण मानिसको सुरक्षा सुनिश्चित नगरी रफाहमा कारबाही गर्न नहुने बताएका थिए।

उनले १० लाखभन्दा बढी मानिसको सुरक्षा सुनिश्चित हुने गरी इजरेलले "विश्वसनीय र कार्यान्वयनयोग्य योजना" ल्याउनुपर्ने धारणा राखेको ह्वाइट हाउसको भनाइ छ।

यसअघि ब्रिटिश विदेशमन्त्री डेभिड क्यामरनले इजरेली योजनाका कारण "त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाको आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने" बताएका थिए।

साउदी अरबले रफाहमा आक्रमण भए त्यसको परिणाम "धेरै गम्भीर हुने" चेतावनी दिएको छ।

तर नेतन्याहुले कारबाही जारी रहने र एउटा योजना बनाउने काम भइरहेको धारणा राखेको जनाइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।