तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रदेशसभा निर्वाचनः प्रदेश १ मा मुख्यमन्त्रीका दाबेदार को-को?
प्रदेश १ मा प्रदेशसभा निर्वाचनको माहौल तातिँदै गर्दा मुख्यमन्त्री बन्नका लागि उम्मेदवारहरूमा होडबाजी देखिएको छ।
सत्ता गठबन्धनका तर्फबाट अहिलेका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पुनः मुख्यमन्त्री बन्न इच्छा राखेको सत्ता गठबन्धनका नेताहरूले बताएका छन्।
तर गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका नेता तथा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो मुख्यमन्त्रीको उपयुक्त उम्मेदवार भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
उनी पाँचथरबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट अहिलेका आन्तरिक मामिला मन्त्री केदार कार्की, अमृत अर्याल तथा गुरुराज घिमिरेको नाम चर्चामा रहेको नेताहरूले बताएका छन् ।
मुख्यमन्त्रीकै लागि नेकपा एमालेका तर्फबाट चाहिँ पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको नाम चर्चामा छ ।
एमालेका एक जना जिल्ला स्तरीय नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, "हिक्मतजी नै मुख्यमन्त्रीका लागि शतप्रतिशत दाबेदार हो।"
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका एक जना नेता तथा पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्माले गठबन्धनबाट मुख्यमन्त्रीका लागि पहिलो दाबी कांग्रेसकै हुने बताए ।
उनले भने, "कांग्रेसले नलिने भए मात्र हाम्रो दाबी प्रस्तुत हुन्छ।"
जनता 'अनभिज्ञ'
प्रदेशले के काम गर्छ, किन प्रदेशको निर्वाचन महत्त्वपूर्ण छ भन्ने कुराको जानकारी नगराएकाले सर्वसाधारणमा भने प्रदेशको निर्वाचनप्रति त्यति चासो नदेखिएको मतदाता बताउँछन्।
बुद्धशान्ति ३ झापाका एक जना मतदाता देवी सुवेदीले प्रदेशको औचित्य जनतालाई बुझाइनु पर्ने बताए।
उनले भने, "प्रदेशको अधिकार र औचित्यबारे जनतालाई बुझाउन सकेनन्। प्रदेशको नाम राख्न त राजनीतिक दल 'फेल' भए, अरू कुरा त परै राखौँ।"
झापा बिर्तामोडकी मतदाता सुस्मा पौडेलले प्रदेशका जनप्रतिनिधि पनि प्रदेशको अधिकार कति छ भन्ने बारेमा अनभिज्ञ रहेको बताइन्।
उनले भनिन्, "नाम राख्न त झगडा पर्छ। उनीहरूलाई प्रदेशको अधिकार कति भन्ने के थाहा होला र।"
प्रदेश १ को प्रदेश सभामा ९३ जना निर्वाचित भएर जाँदै छन्।