भारतमा उत्पादित सयपत्री फूललाई नेपालले किन प्रवेश दिएको छैन?

तस्बिर स्रोत, EPA
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
यसवर्ष नेपालमा लम्बिएको मनसुनले उत्पादनमा प्रभाव पारेर तिहारमा, खासगरी मालाका लागि, अत्यधिक खपत हुने सयपत्री फूलको झन्डै १५ प्रतिशतले अभाव हुनसक्ने आकलन गरिरहँदा अधिकारीहरूले जैविक सुरक्षालाई ध्यान दिँदै भारतबाट सयपत्री फूल नेपाल भित्र्याउन अनुमति नदिइएको बताएका छन्।
नेपालमा तिहारको समयमा ४० लाखवटा भन्दा बढी सयपत्री फूलको मालाको व्यापार हुने अधिकारीहरूको अनुमान छ जसमध्ये ३० देखी ३५ लाख जति माला नेपालकै उत्पादनबाट पूर्ति गर्नसकिने बताइन्छ।
सरकारले भारतबाट सयपत्री फूल वा सयपत्रीको माला भित्र्याउन अनुमति नदिएकाले तिहारमा सर्वाधिक माग हुने उक्त फूल अवैध रूपमा नेपालमा भित्रिने पुष्प व्यवसायीहरू बताउँछन्।
तर 'प्लान्ट क्वारेन्टीन' तथा विषादी व्यवस्थापन केन्द्रका एक जना वरिष्ठ बाली संरक्षण अधिकृतले अवैध ढङ्गले भित्रिने फूलहरूबाट भारतमा सयपत्री फूलमा देखिएका रोग नेपालमा पनि सर्नसक्ने भन्दै त्यसबारे सुरक्षा निकायहरूलाई जानकारी गराइनुपर्ने र तीनलाई जमिन मुनी गाडेर नष्ट गरिनुपर्ने बताएका छन्।
पुष्प व्यवसायी के भन्छन्?

तस्बिर स्रोत, EPA
यसपालि वर्षाका कारण सयपत्री फूलको उत्पादन कम भएको भन्दै नेपाल फ्लोरिकल्चर एशोशिएसनका पूर्व अध्यक्ष सुरेशभक्त श्रेष्ठ सरकारले भारतबाट फूल र मालाको आयातमा लगाएको रोकले बजारमा प्रभाव पार्नसक्ने ठान्छन्।
उनले भने, “यो पाली झन्डै ४५ लाखसम्म माला चाहिन्छ भन्ने अनुमान छ। बर्खाले सयपत्री फूललाई यसपालि बिगार्यो। त्यही भएर १० लाख भन्दा बढी मालाको अभाव हुन्छ जस्तो लाग्छ। मालाको मूल्य पनि केही बढ्न सक्छ।”
नेपालमा लगभग देशै भरी सयपत्री फूलको उत्पादन हुने गर्छ। तराईदेखि २००० मिटर उचाइसम्म यो फूलको खेती गर्न सकिने कृषि अधिकारीहरू बताउँछन्।
यो फूल रोप्नका लागि विशेष खालको सुरक्षा दिने संरचनाहरू तयार गर्नु आवश्यक नभएको हुँदा देशै भरी सयपत्री रोप्ने गरिन्छ।
पुष्प व्यवसाय देशको ५२ जिल्लामा विस्तार भइसकेको उल्लेख गर्दै फ्लोरिकल्चर एशोशिएसनका श्रेष्ठ सयपत्री तराईमा बिघ्घौँ बिघा जमिनमा खेती गर्ने अभ्यास सुरु भएको बताउँछन्।
सरकारी अधिकारीहरू के भन्छन्?

तस्बिर स्रोत, EPA
ललितपुरको गोदावरीस्थित पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापा गत वर्ष ९० देखी ९५ प्रतिशत सयपत्री फूलको माग आन्तरिक उत्पादनले धान्ने अवस्था रहेको तर यो पाली मौसमी प्रतिकूलता र रोगहरूको प्रकोपले उत्पादन घटेको बताउँछन्।
उनले भने, “गत वर्ष खुला सीमाका कारण अवैध रूपमा भारतबाट धेरै मालाहरू भित्रिएको कारण नेपाली किसानहरूले मूल्य कम पाए। त्यसले गर्दा यो पाली खेती पनि कम भएको अनुमान हामीले गरेका छौँ। लगभग ८५ प्रतिशत आसपास हाम्रो आन्तरिक उत्पादनले पुग्छ भन्ने ठानेका छौँ।”
उनले लुकिछिपी भारतबाट सयपत्री फूल नेपाल भित्रिएपनि वैधानिक रूपले नआएको उल्लेख गर्दै चार-पाँच लाख माला अपुग हुनसक्ने बताए। तर सामाजिक सञ्जालमा चर्चा भएजस्तो १०-१५ लाख मालाको अभाव हुनसक्ने कुरामा सत्यता नरहेको उनको भनाई छ।
“सयपत्रीको विकल्पमा गोदावरी हुनसक्छ। सयपत्रीको मालाको विकल्पमा मखमलीको मालालाई बढावा दिनसकिन्छ।”
पानी बढी परेकाले यो वर्ष ढुसी लाग्ने र डढुवाजस्ता प्रकोप सयपत्री फूलमा देखिएको उनले बताए।

तस्बिर स्रोत, RSS
भारतमा उत्पादित सयपत्री फूललाई किन लगाइयो रोक
भारतमा सयपत्री फूलमा लाग्ने झन्डै डेढ दर्जन थरिका किरा र रोगलाई देखाउँदै नेपालको 'प्लान्ट क्वारेन्टीन' तथा व्यवस्थापन केन्द्रले त्यस्तो किरा र रोगमुक्त रहेको प्रमाणित गर्न सकेको खण्डमा मात्रै आयातका लागि अनुमति दिने नीति अख्तियार गरेको छ।
अघिल्लो वर्षबाट नेपालले उक्त नीति लिएपछि भारतबाट वैध रूपमा सयपत्री फूल नेपाल भित्रनसकिरहेको छैन।
उक्त केन्द्रको क्वारेन्टिन नियमन शाखाका इन्चार्ज प्रकाश पौडेल भन्छन्, “हामी जैविक सुरक्षासँग सम्बन्धित निकाय हौँ। हामीलाई अन्तर्राष्ट्रिय व्यापारमा प्राविधिक अवरोध केही छ भने त्यसलाई रोक्ने अधिकार हुन्छ। दुई पक्षीय सन्धिले सामानहरू निर्बाध आउनजान दिन्छ। तर व्यापार सहजीकरण गर्दा गुणस्तरमा सम्झौता नगर्न विश्व व्यापार सङ्गठनले भनेको छ।”

तस्बिर स्रोत, RSS
उनले शत्रुजीव जोखिम विश्लेषण गर्ने गरिएको उल्लेख गर्दै एक देशबाट अर्को देशमा वनस्पतिजन्य सामाग्रीको माध्यमबाट रोग तथा किराहरू नफैलियोस् भन्नका लागि सतर्कता अपनाउँदा भारतबाट सयपत्री फूल भित्र्याउन अनुमति नदिइएको बताए।
उनले भने, “भारतमा सयपत्री फूलमा जुन खालको किरा र सङ्क्रमणहरू छ, त्यो नेपालमा रिकर्ड भएको छैन। भारतबाट त्यो आउँदा, नेपालमा नभएका रोग, किरा त्यहाँ नरहेको पुष्टि गरेर बिरुवाको स्वस्थताको प्रमाणपत्र दिएर पठाउनुहोला भनेर हामीले भनेका हुन्छौँ। जुनसुकै देशले यस्तो सर्त राखेको हुन्छ। हामीले सर्त राखेका थियौँ, उहाँहरूले त्यस्तो रोग किराहरू हाम्रोमा आउँदैन ती बिरुवा वा बिरुवाजन्य सामाग्रीबाट भनेर आधिकारिक रूपमा भन्न सकिरहनुभएको छैन।”
उनले सयपत्री फूल सुकेपछि उम्रिहाल्ने उल्लेख गर्दै स्वस्थताको प्रमाणपत्र बिना अर्को देशबाट फूल भित्र्याउँदा त्यसले नेपालको रैथाने प्रजातिलाई नै अतिक्रमण गर्नसक्ने र स्थानीय विविधतामा समेत असर पार्नसक्ने निष्कर्षमा आफूहरू पुगेको सुनाए।
“भारतले औपचारिक रूपमा सर्त पुरा गरेको प्रमाणित गरेर नेपालमा फूल पठाउनसक्छ। पहिला हामीकहाँ जोखिम विश्लेषण भएको थिएन र सधैँ फूल आउने गर्थ्यो। दुई वर्षअघिसम्म मज्जाले आइरहेको थियो। अघिल्लो वर्षको तिहार अघि जोखिम विश्लेषणको काम भयो र त्यसपछि हामीले प्रवेशको अनुमति दिएनौँ।”

तस्बिर स्रोत, Kathmandu City Police
कस्तो कारबाही हुनसक्छ?

तस्बिर स्रोत, EPA
"अनौपचारिक संयन्त्रहरूबाट फूलको तस्करी भइरहेको" कुरा आफूहरूको जानकारीमा रहेको भन्दै उनले त्यो गृह मन्त्रालयको क्षेत्राधिकारको विषय रहेको जनाए।
“त्यसरी अवैध रूपमा भित्रिएको फूल आएको छ भन्ने थाहा पाएको खण्डमा प्रहरीलाई खबर गर्नुपर्छ। जसले आयात गरेको छ उसैको खर्चमा अनिवार्य रूपमा खाल्डो खनेर गाड्नुपर्छ। अहिले फूलहरू गाडिरहेको भन्ने खबरहरू विभिन्न ठाउँबाट आइरहेका छन्।”
बिरुवा संरक्षण तथा क्वारेन्टीन नियमावलीको दफा १७ मा कुनै व्यक्ति वा संस्थाले पैठारी गरेका बिरुवा र बिरुवाजन्य उत्पादन नेपालको कानुनले तोकेको सर्त तथा बन्देज अनुकूल नभएमा तीनलाई उपचार गराइ प्रवेश दिने, नष्ट गर्ने वा जुन देशबाट आएको हो त्यहीँ फिर्ता पठाउनुपर्ने व्यवस्था छ।
मखमलीको निर्यात
नेपालले प्रयोगशाला जाँच गराएर मखमलीसहितका फूललाई विदेशमा निर्यात गर्नका लागि अनुमति दिएको अधिकारीहरू बताउँछन्। नेपालीको जनसङ्ख्या बढी भएका कतिपय युरोपेली र खाडी क्षेत्रका देशहरूमा नेपालबाट मखमली फूल आपूर्ति हुन थालेको बताइन्छ।
काठमाण्डू महानगरले भारतबाट अवैध ढङ्गले आयात गरिएका करिब २७० बोरा सयपत्रीका फूल जफत गरेको अधिकारीहरूले जनाएका छन्।
फ्लोरिकल्चर एशोशिएसनले तिहारको समयमा ३७ करोड रुपियाँ बाराबरको फूलको करोबार हुने आकलन गरेको छ।
यसपाली काठमान्डू महानगरपालिकाले तिहारको समयमा प्लास्टिकका फूल र मालाहरूको विक्री वितरणमा पनि प्रतिबन्ध लगाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








