तिहार कति मौलिक, नेपालमा पहिलाभन्दा अहिले कसरी फरक

तस्बिर स्रोत, EPA
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा मनाइनेमध्ये दोस्रो ठूलो चाड तिहारका कतिपय सांस्कृतिक र धार्मिक चलनमा परिवर्तन देखा पर्न थालेको संस्कृतिविद्हरूले बताएका छन्।
उनीहरूका भनाइमा पहिले नेपालको "मौलिक विशेषता" मानिने कतिपय सांस्कृतिक गतिविधिहरू अहिले हराउन थालेका छन् भने नयाँ क्रियाकलाप हुन थालेका छन्।
केही नेपाली मौलिक परम्परा अन्य सभ्यता र संस्कृतिमा फैलिएको पनि देखिएको उनीहरूको भनाइ छ। संस्कृतिविद्हरू अन्य चाडहरूमा जस्तै तिहारमा पनि "सांस्कृतिक पक्ष कमजोर हुँदै" गएको बताउँछन्।
शास्त्रीय यमपञ्चक
पूर्वीय वैदिक परम्पराका ज्ञाता प्राध्यापक माधवप्रसाद भट्टराईका अनुसार तिहारलाई पौराणिक ग्रन्थ र धर्मशास्त्रमा 'यमपञ्चक' भनिएको छ। उनी पञ्चाङ्ग निर्णायक समितिका भूतपूर्व अध्यक्ष तथा तात्कालिक नायब बडागुरुज्यू हुन्।
"यमपञ्चक भनेको शास्त्रहरूमै भएको नाम हो। यो कार्तिक कृष्ण त्रयोदशीका दिन यमदीपदानबाट सुरु हुन्छ र कार्तिक शुक्ल द्वितीयामा भातृपूजन गरेर सकिन्छ," उनले भने।

तस्बिर स्रोत, EPA
"भाइटीकालाई शास्त्रहरूमा भातृद्वितीया वा यमद्वितीया भनिएको छ। यी पाँच दिन यमराज बहिनी यमुनाकहाँ गएर बसेको र अन्तिम दिन यमलाई यमुनाले टीका लगाइदिएको कथाहरू प्रचलित छन्।"
भट्टराईका अनुसार शास्त्रहरूमा विशेष गरी लक्ष्मीपूजा, गोवर्धनपूजा र भाइपूजाको चर्चा पाइन्छ।
संस्कृतिविद् वीणा पौड्याल यमपञ्चकलाई "वैदिक पर्व" ठान्छिन्। उनका अनुसार वेदहरूमा पनि यमका कथाहरू छन् भने पौराणिक कालमा आएर यो अझ फैलिएको उनको बुझाइ छ।
नेपाली मौलिकता
विभिन्न कालखण्डमा शास्त्रीय यमपञ्चकमा विभिन्न सांस्कृतिक पक्षहरू मिसिएर नेपालमा अहिले मनाइने तिहारको रूपरेखा बनेको पौड्यालले बताइन्। उनी यसलाई पौराणिकतामा आधारित "मौलिक पर्व" ठान्छिन्।
"विश्वभरिका हिन्दूका लागि यमपञ्चकको महत्त्व छ तर त्यो समाजअनुसार फरकफरक ढङ्गले मनाइन्छ। नेपालमा मनाइने तिहारमा कतिपय चलनहरू मौलिक छन्। ती अन्य परम्परामा छैनन्।"
भट्टराई पनि काग र कुकुरको पूजा गर्ने तथा देउसीभैलो खेल्ने परम्परा नेपालको "मौलिक" भएको बताउँछन्।
"हामी नेपाली सनातन धर्मका मौलिक उत्तराधिकारी हौँ। अन्य स्थानमा अन्य संस्कृतिको प्रभाव र विदेशीको शासन हुँदा कतिपय मौलिक कुरा गुमेका छन्।" नेपालमा चाहिँ लामो समयदेखि मौलिक परम्पराले निरन्तरता पाएको उनले बताए।
तर लक्ष्मीपूजा र भाइपूजाजस्ता परम्परा भारतका कतिपय स्थानमा अहिले पनि रहेको उनीहरूको भनाइ छ। तिहारकै बेला नेपालमा नेवार समुदायले 'म्हपूजा' गर्ने तथा नेपाल संवत् पनि यसै बेला सुरु भएको मान्यता छ।
"भारतका कतिपय स्थानमा अहिले पनि मानिसहरूले धार्मिक र सांस्कृतिक रूपमा आफ्नै संवत्हरू चलाउँछन् र ती कार्तिकबाट सुरु हुन्छन्," पौड्याल भन्छिन्।
प्रकृतिसँग सम्बन्धित

तस्बिर स्रोत, EPA
संस्कृतिविद् पौड्याल तिहार प्रकृतिसँग जोडिएको पर्व भएको बताउँछिन्।
उनले भनिन्, "यसमा चरा र विभिन्न चौपाया अनि पर्वतको पूजा हुन्छ। त्यसले प्रकृतिसँग निकटता दर्साउँछ भने यसको दार्शनिक पक्ष पनि प्रकृतिसँग नै सम्बन्धित छ।"
देउसीभैलोमा पनि पर्यावरण चेतना प्रतिबिम्बित हुने भएकाले यसलाई प्रकृतिसँग जोडेर हेर्नुपर्नेमा उनको जोड छ।
भाइपूजालाई उनी प्रकृतिसँग नै जोडेर हेर्छिन्। "पूर्ण आयु बाँच्नुपर्छ भन्ने प्राकृतिक चेतना त्यसमा मिसिएको छ। तेल, दुबो र नओइलाउने फूलको चलन त्यसैको प्रतीक हो।"

तस्बिर स्रोत, EPA
परिवर्तन
नेपाली मौलिक तिहारमा अहिले आएर परिवर्तन देखिन थालेको संस्कृतिविद्हरूको भनाइ छ।
त्यस्तै परिवर्तनका रूपमा कतिपयले त्रयोदशीका दिन गरगहना, सुन र नयाँ भाँडाकुँडा किन्ने कुरालाई पनि लिने गरेका छन्। नेपाल राष्ट्र ब्याङ्कले उक्त दिन सुनचाँदीका सिक्का बिक्री गर्छ।
उक्त दिन आयुर्वेदका महर्षि धन्वन्तरिको प्रादुर्भाव भएको ठानिन्छ। पुराणहरूका अनुसार देवता र दानवले मिलेर समुद्र मन्थन गर्दा हातमा अमृत भरिएको कलश लिएर उत्पन्न भएका थिए।
यद्यपि अहिले उक्त दिनलाई भारतीय शैलीमै 'धनतेरस' का रूपमा पनि मनाउन थालेको पाइन्छ। पौड्याल उक्त दिनलाई लक्ष्मीपूजाको तयारीका रूपमा लिनुपर्ने ठान्छिन्। यो चलन नेपालमा भारतीय सञ्चारमाध्यम र चलचित्रका माध्यमबाट प्रवेश गरेको अनुमान गरिन्छ।
"पहिले धनतेरस भनेर अहिलेको जस्तो प्रचारप्रसार हुँदैन थियो। यसमा व्यापारिक कारण पनि भएकाले धेरै प्रचार भएको जस्तो लाग्छ," उनले भनिन्।
भट्टराई चाहिँ धन्वन्तरि जयन्तीलाई नै धनतेरस भनेर मनाउन थालिएको बताउँछन्।
धन्वन्तरिले समुद्र मन्थनका बेलामा नयाँ घडामा अमृत लिएर उत्पत्ति भएकाले उनलाई स्मरण गरेर नयाँ भाँडा किन्ने र चढाउने चलनबारे शास्त्रमा उल्लेख भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीको दाबी छ।
"यो शास्त्रीय परम्परा नै हो तर अहिले यसले व्यापारिक रूप लियो र प्रचार धेरै भयो," उनले भने।
भट्टराई चाहिँ धनतेरसभन्दा पनि कार्तिक कृष्ण त्रयोदशीका दिन पर्ने धन्वन्तरि जयन्ती मात्र शास्त्रीय भएको बताउँछन्।
"साउनमा हरियो लगाउने चलन पनि शास्त्रीय होइन तर अहिले धेरै स्थापित भएको छ," उनले भने।
"यो पनि त्यस्तै भएको हुनुपर्छ। हामीले थाहा पाउँदै पनि नेपालको पहाडी क्षेत्रमा धनतेरसको अहिलेजस्तो महत्त्व थिएन।"
अधिकारी चाहिँ धनतेरस पहिले पनि चलनमा रहेको तर अहिले त्यसको प्रचारप्रसार धेरै भएको बताउँछन्। उनी पनि उक्त पर्वमा व्यापार पनि जोडिएकाले त्यस्तो भएको हुन सक्ने ठान्छन्।
धनतेरसको चलनबाहेक तिहारमा देउसीभैलो खेल्ने परम्परामा कमी आएको महसुस आफूहरूले गरेको पौड्याल बताउँछिन्।
"पहिले जुन खालको देउसीभैलो हुन्थ्यो अहिले हुन छाड्यो। अन्य पर्वजस्तै तिहार पनि व्यापारिक बन्दै गएको देखिन्छ," उनले भनिन्।
"तिहार मात्र होइन नेपालका पर्वहरूमा सांस्कृतिक पक्ष कमजोर र रमाइलो गर्ने पक्षमात्र बलियो भइरहेको देखिन्छ।"
उनी अन्य सभ्यता र संस्कृतिसँग सम्पर्क बढेसँगै त्यस्ता समुदायका परम्पराहरू नेपालीमा मिसिन थालेको बताउँछिन्।
तर अहिले प्रविधिका माध्यमबाट नेपाली परम्परा र संस्कृतिको प्रचार पनि धेरै हुँदा कतिपय परम्परा अन्यत्र पनि पुगेको उनको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








