तिहारविशेष खानेकुरा बनाउँदा वा किन्दा के-के कुरामा ध्यान दिने?

तस्बिर स्रोत, RSS
तिहार भन्ने बित्तिकै सेलरोटी, अनरसा, फिनी तथा विभिन्न तेल वा दूधमा पाक्ने मिठाईका प्रकारहरूको उपभोग बढी हुन्छ। चाहे घरमै बनाउँदा होस् वा बजारबाट किनेर ल्याउँदा यी परिकार पकाउँदा वा किन्दा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडबाड लक्षित गरी अहिले गर्दै आएको अनुगमनमा अखाद्य वस्तुको प्रयोग गरेर मिठाई बनाएको नपाइएको जनाएको छ।
सरकारले तोके अनुसार मिठाई बनाउँदा प्रयोग गर्न पाइने खाद्य रङ्गको प्रयोग सीमाभित्रै प्रयोग गरेको पाइए पनि भान्साको सरसफाइ र तेलको पुनर्प्रयोगजस्ता विषयमा भने त्यतिधेरै ध्यान दिएको नपाइएको विज्ञहरूले बताएका छन्।
दशैँतिहार जस्ता चाडपर्वमा धेरै मानिसले स्वास्थ्यको ख्याल नै नगरी मिठाई र सेलरोटी खाँदा त्यसले नकारात्मक असर पर्ने भन्दै सचेत भएर भान्सामा पकाउन वा बजारमा किन्न विज्ञहरूले सुझाएका छन्।
घरमै सेलरोटी पकाउँदा के कुरामा ध्यान दिने?

सेलरोटी बिना सम्भवत: तिहारको कल्पनै हुँदैन।
तिहारमा खानेकुरा भन्ने बितिक्कै मानिसहरूको मनमा आउने खानेकुरा भनेको नै सेलरोटी हो।
ठाउँ अनुसार सेलरोटीबाहेक अनरसा, फिनी, गोजीलगायतका खानेकुराहरू पनि घरमा पकाइन्छ। वा, बजारबाट किनेर ल्याइन्छ।
तर घरमै पकाउँदा वा बजारबाट किनेर ल्याउँदा पनि यी खाने कुराहरूमा विशेष ध्यान दिनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्वमहानिर्देशक डाक्टर जीवनप्रभा लामा बताउँछिन्।
तिहारका लागि भनेर बनाइने विशेष खानेकुराहरू तेल बिना नबन्ने र तेलको प्रयोग कसरी गरिन्छ भन्नेमा आम सर्वसाधारणले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
"अधिकांशले तिहारका लागि बनाउने खानेकुरा तेलमा पकाउँछन्," उनले भनिन्।
"पछिल्लो अनुगमनका बेला तेलको अत्यधिक मात्रामा पुनर्प्रयोग गर्ने गरेको पनि पाइएको छ। स्वास्थ्यका लागि सबैभन्दा हानिकारक त्यही नै हुन्छ।"
एकपटक सेलरोटी बनाउन वा प्रयोग गरिसकेको तेल बाँकी रहेको खण्डमा चिसो भइसकेपछि पुन: प्रयोग गर्दा त्यो स्वास्थ्यका लागि निकै हानिकारक हुने उनी बताउँछिन्।
"तेल महँगो छ र पकाएको तेल हो भनेर कतिपयले पुन: प्रयोग गर्ने गरेको मैले पाएको छु। त्यो असाध्यै हानिकारक हुन्छ," उनले भनिन्।
एकपटक चिसो भइसकेपछि फेरि पकाउनु सट्टा त्यस्तो तेल तिहारमा दियो बाल्न प्रयोग गर्न हुने उनी बताउँछिन्।
कस्ता मिठाई स्वास्थ्यका लागि हानिकारक?

मिठाई किन्दा झनै सावधानी अपनाउन विज्ञहरू सुझाउँछन्।
त्यसो त मिठाईमा प्रयोग गरिने सबै प्रकारका रङ्ग स्वास्थ्यका लागि हानिकारक नै हुन्छन् भन्ने होइन तर आवश्यकताभन्दा बढी प्रयोग गरिएको रहेछ भने त्यसले स्वास्थ्यलाई असर गर्ने खाद्य विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन्।
उनका अनुसार मिठाई किन्दा प्याकेटको हो भने कहिलेसम्म प्रयोग गर्न हुने हो त्यो ख्याल गर्नुपर्छ।
त्यसबाहेक कुनै पनि रङ्गिन वा रंग हालेर बनाइएको मिठाई प्रयोग नगर्दा नै राम्रो हुने उनी सुझाउँछन्।

बजारमा हिजोआज सरकारले तोके अनुसारकै मापदण्डभित्र रहेर बनाइएका मिठाई पाइएको भए पनि त्यो पनि सकेसम्म किन्न नहुने उनी बताउँछन्।
एक केजी मिठाईमा दुई सय मिलिग्रामसम्मको खाद्य रङ्ग प्रयोग गर्न पाइन्छ भनेर खाद्य नियमावलीले व्यवस्था गरेको छ।
"त्यतिभित्र नै प्रयोग भएको खान हुन्छ भन्ने हो। तर पनि भरसक जुन मिठाई वा रोटीहरूमा कृत्रिम रङ्ग प्रयोग गरेको देखिन्छ त्यो स्वास्थ्यलाई हानि गर्ने खालको नै हुन्छ," महर्जनले भने।
"रङ्ग केवल आँखाका लागि हेर्न राम्रो हो त्यसैले रङ्ग नभएको प्राकृतिक रङ्गको मिठाई सबैभन्दा स्वास्थ्यवर्द्धक हुन्छ।"

अहिले काठमाण्डू महानगरपालिकामा खाद्य गुणस्तरबारे विज्ञ रहेकी जीवनप्रभा लामा पनि रङ्ग नमिसाइएको मिठाई किन्नुपर्ने सुझाउँछिन्।
विज्ञ आफूले किन्नुपर्दा के कुरामा ध्यान दिन्छन्?
तिहारमा परम्परागत रूपमै बनाइने मिठाईमा पनि रङ्गको प्रयोग गरिएको हुन्छ।
परम्परागत रूपमा पाइने मिठाईमा गँजा, दुई रङ्गे ल्वाङफूल, मठ, सेतो ल्वाङफूल, आँइठ्या, निम्की, पञ्जाबी, लाखमरी, पानत्वाँ, फिनी, रोठ, अनरसालगायत पर्छन्।
यीमध्ये केही मिठाईमा प्राकृतिकबाहेकको रङ्ग पनि मिसाइन्छ।
यिनीहरूबाहेक अन्य मिठाईहरू पनि बजारमा धेरै बिक्री हुन्छ र खपत पनि तिहारमा त्यत्तिकै हुन्छ।
बजारमा पाइने कतिपय मिठाईमा म्याद गुज्रिने समय कहिले छ भनेर तोकिएको हुन्छ भने कतिपयमा त्यो तोकिएको हुँदैन।

विज्ञ जीवनप्रभा लामा आफू बजार जाँदा म्याद समयसीमा भित्रकै छ/छैन हेर्ने र मिति नतोकिएका मिठाई कहिलेसम्म बिग्रिँदैन भनेर सोधेरमात्रै प्रयोग गर्ने गरेको बताउँछिन्।
"खुला राखिएको मिठाईहरू चाहिँ सकेसम्म किन्न हुँदैन। सबैभन्दा किन्नै नहुने चाहिँ जुन मिठाईमा रङ्ग गाढा देखिन्छ त्यो त किन्नै हुँदैन," उनी भन्छिन्।
भगवानलाई चढाउने मिठाई पनि उपभोक्ताले राम्रो देखिने वा चहक बढी भएको किन्ने गरेको तर त्यो स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछिन्।
"गणेशलाई पहेँलो रङ्गको लड्डु वा देवीहरूलाई रातो रङ्गको मिठाइ चढाएको र प्रसादको रूपमा खाएको देखिन्छ, त्यो खानु निकै नै हानिकारक हुन्छ," उनले भनिन्।
रङ्गिन मिठाइहरू खाँदा घातक क्यान्सर वा मिर्गौलासम्बन्धी रोगहरू र विभिन्न दीर्घ रोग लाग्ने विज्ञहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








