'विदेशबाट तक्मा आउँदा वा युवराजको जन्म हुँदा पनि जुवा खेलिन्थ्यो'

कौडी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तिहारका बेला अझै पनि मानिसहरूले कौडी खेलेको देखिन्छ
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

जुवा,तास र पासा खेलेको आरोपमा प्रहरीले चाडबाडका बेला र अघिपछि पनि मानिसहरू पक्राउ परेको जानकारी दिने गरेको छ।

नेपाल प्रहरीका अनुसार तुलनात्मक रूपमा दशैँ र तिहारको लामो बिदाका बेला अझ धेरै मानिस जुवा खेलेको आरोपमा पक्राउ पर्ने गरेका छन्।

यद्यपि चाडबाडको छेकोमा रमाइलोका लागि खेल्ने गरिएकोमा प्रहरीले गर्ने गरेका कारबाहीप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्।

प्रहरीले कानुन आकर्षित हुने अवस्थामा बाहेक पक्राउ गरेको आरोप चाहिँ अस्वीकार गर्ने गरेको छ।

चाडबाडकै मौका छोपेर व्यावसायिक जुवाडेले ठूलो रकमको दाउ खेल्ने देखिएको र त्यसले विकृति र अपराध जन्माउने गरेको प्रहरी अधिकारीहरूको दाबी छ।

जुवातासकै कारण कतिपय ठाउँमा बेलाबखत अपराध तथा घरेलु हिंसाका घटना हुने गरेका विवरण पनि आउने गरेका छन्।

नेपालमा सञ्चालित जुवाघरमा नेपालीले प्रवेश नपाउने भए पनि हिजोआज मानिसहरू अनलाइन जुवा खेल्न थालेको विवरण बेलाबेलामा सार्वजनिक हुने गरेको छ।

तास

प्रहरी के भन्छ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार जुवातास खेलेको आरोप कतिपय ठाउँबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ।

“अहिलेसम्म ठ्याक्कै कति जना पक्राउ परे भन्ने विवरण हामीले एकीकृत गरिसकेका छैनौँ। तिहार सकिएपछि हामी विस्तृत विवरण सार्वजनिक गर्छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

जुवातास खेल्नु वा खेलाउनु गैरकानुनी भएकोले चाडबाडको बेलाबाहेक सामान्य अवस्थामा पनि प्रहरीले जुवाको खाल थाप्ने, जुवा खेल्ने र खेलाउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्दै आएको उनी बताउँछन्।

“यो बेला चाहिँ ठाउँ र आवश्यकताअनुसार सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको छ,” कडायतले भने।

तिहारको झिलिमिली

तस्बिर स्रोत, PRAKASH MATHEMA/AFP VIA GETTY IMAGES

उनका अनुसार धेरै ठाउँमा सामान्यतया लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म मानिसले बढी जुवातास खेल्ने गरेका देखिन्छ।

नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा तास आयात हुँदै आएको भन्सार विभागको तथ्याङ्क छ। खेल्न नदिने भएपछि आयात किन गर्ने दिएको हो भन्ने प्रश्न कतिपयले गर्ने गरेका छन्।

“तास किन आयात गर्न दिइन्छ अथवा पशुपति क्षेत्रमै किन कौडा बेच्न दिइन्छ भन्ने प्रश्नको त म जबाफ दिन सक्दिनँ। तर हामीले विशुद्ध कानुनबमोजिम काम गर्ने हो,” प्रहरी प्रवक्ता कडायत भन्छन्।

“घरभित्र परिवारका सदस्यहरू मिलेर पैसाको चलखेल नहुने, बाजी नराखी तास खेल्दा प्रहरीले पक्राउ गर्दैन नि।”

“आर्थिक चलखेल भयो भने कानुनी दायरामा आउँछ। हामीले गर्ने भनेको त्यति नै हो,” उनले थपे।

यस्तो छ पौराणिक सन्दर्भ

जुवातासको पौराणिक र ऐतिहासिक साइनो रहेको इतिहासविद्‌ दिनेशराज पन्त बताउँछन्।

"महाभारतमा उल्लेख गरिएअनुसार कौरवहरूसँग जुवा खेल्ने क्रममा ज्येष्ठ पाण्डव युधिष्ठिरले द्रौपदीलाई हारेका थिए," उनी भन्छन्, 'प्राचीनकालदेखि द्य‍ूतक्रीडा अर्थात् जुवा खेल्ने कुरा लक्ष्मीसँग जोडिएर आएको कुरा हो।"

"धार्मिक पक्षसँग पनि यो जोडिएको छ। पुरानो उखानअनुसार जनैपूर्णिमा बाहुनको चाड, दशैँ क्षेत्रीको चाड, तिहार वैश्यको चाड र फागु शूद्रको चाड भन्ने छ।"

"अब सबै वर्णका मानिस र ती वर्णबाहेकका मानिसले पनि गर्ने भए। आमोदप्रमोदसँग जोडिएका कुरा हुन्।"

पृथ्वीनारायण शाह र राणाकालको प्रसङ्ग

तन्त्र साधना गर्ने कान्तिपुरका राजा प्रताप मल्लले साक्षात् देवीसँग पासा खेल्ने गरेको प्रसङ्ग काठमाण्डू उपत्यकामा प्रचलित एउटा किम्बदन्तीमा पाइन्छ।

इतिहासकार पन्तका अनुसार शासकहरूले जुवातास खेले पनि त्यसमा निर्लिप्त हुन नहुने मान्यता थियो।

"विसं १८२६ मा पृथ्वीनारायण शाहले वसन्तपुर दरबारमा जुवा खेल्ने, बढ्ता सुत्ने, बढ्ता स्त्रीभोगमा लाग्ने राजाहरू मूर्ख हुन् भनेर निन्दा गरेका छन्," ऐतिहासिक सन्दर्भ खोतल्दै उनी भन्छन्।

"विसं १८६२ मा रणबहादुर शाहले जुवा खेल्ने, भाङधतुरो खानेहरूलाई दण्ड गर्नू भनेका छन्।"

"यो आमोदप्रमोदको एउटा विषय हो। कोजाग्रत पूर्णिमामा, लक्ष्मीपूजाको दिन खेल्ने शास्त्रीय कुरा भयो।"

निश्चित गुण भएकी बालिकालाई कुमारी बनाएर पूजा गर्ने चलन राजा प्रताप मल्लले चलाएको ठानिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, निश्चित गुण भएकी बालिकालाई कुमारी बनाएर पूजा गर्ने चलन कान्तिपुरका राजा प्रताप मल्लले चलाएको ठानिन्छ

"पछि राणाकालमा जस्तो प्रथम विश्वयुद्धमा नेपालले मित्रराष्ट्रहरूलाई सहयोग गर्‍यो, द्वितीय विश्वयुद्धमा मित्रराष्ट्रहरूलाई सहयोग गर्‍यो, राजा महाराजालाई बाहिरबाट तक्मा आयो, युवराजको जन्म भयो आदि कुरामा जुवा खेलेको भेटिन्छ।"

उनका अनुसार राणाकालमा तिहारको पाँच दिन जुवा खेल्न छुट दिइन्थ्यो।

"कुनैकुनै वर्ष दिँदैन थिए होला, कुनैकुनै वर्ष दिन्थे होला। यो प्रमाणिक कुरा नै हो।"

"झट्ट दस्तावेज नै देखाउन सक्ने कुरा भएन। किनभने हामीकहाँ सबै दस्तावेज सुरक्षित राख्ने पद्धति शासकीय वृत्तमा पनि छैन, अरू वृत्तमा पनि छैन। तर त्यो अप्रमाणिक कुरा होइन।"

पृथ्वीनारायण शाह

तस्बिर स्रोत, MADAN CHITRAKAR

तस्बिरको क्याप्शन, आधुनिक नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले जुवा खेल्ने शासकहरूलाई मूर्खको सङ्ज्ञा दिएका थिए

विद्यमान कानुनमा के छ

नेपालमा जुवातास खेल्नु र खेलाउनु कानुनी रूपमा दण्डनीय काम हो।

नयाँ अपराध संहिता लागु हुनुअघि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत रहिआएको थियो।

जुवा ऐन, २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलो पटक पक्राउ परे २०० रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

अनलाइन जुवा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिजोआज मानिसहरू अनलाइन जुवा पनि खेल्न थालेका छन्

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

पहिलो पटक जुवा खेल्ने वा खेलाउनेहरूलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिता, २०७४ मा छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद र ५०,००० रुपैयाँसम्म जरिवाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १०,००० रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएका सामान र खालमा प्राप्त सबै चलअचल सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।