जुवातास रोक्न देशव्यापी ‘नियन्त्रण अभियान’

दशैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला जुवातास धेरै खेलिने र त्यसले निम्त्याउने आर्थिक नोक्सानी रोक्न देशव्यापी 'नियन्त्रण अभियान' तीव्र पारिएको प्रहरीले जनाएको छ।
खासगरी संगठित रूपमा जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ गर्न निगरानी बढाइएको नेपाल प्रहरीका प्रवक्ताले बताए।
कतिपय समाजशास्त्रीहरू भने चाडपर्वका बेला पटके निगरानी बढाउनुभन्दा 'जुवातास खेल्ने प्रचलन' अन्त्यमा जोड दिइनुपर्ने ठान्छन्।
काठमाण्डूको मूलपानीमा तास खेलिरहेको घरमा प्रहरीले छापा मार्न गएपछि शुक्रवार राति भाग्ने क्रममा दुईतबाट हाम्फाल्दा दुईजनाले ज्यान गुमाएका छन्।
विशेष टोली
प्रहरीले ज्यानै जाने घटनालाई दुःखद भने पनि दशैँका बेला तास खेल्ने प्रचलन बढेको भन्दै देशव्यापी अभियान चलाइएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले भने, "विगतमा पनि असोज र कातिकमा नै जुवातास खेल्नेरूको सङ्ख्या बढ्ने गरेको देखिएको छ। यसलाई रोक्न हाम्रो विशेष टोलीले अहिले काम थालिसकेको छ।"
काठमाण्डू र देशका विभिन्न स्थानमा अहिलेसम्म दुई सयभन्दा बढीलाई पक्राउ गरिसकिएको बताइएको छ।
प्रवक्ता क्षेत्रीका अनुसार दशैँ,तिहार सुरक्षाका निम्ति भन्दै देशभरि ३१ हजारभन्दा बढी प्रहरी खटाइएको छ र उनीहरूको जिम्मेवारी जुवातास र कौडा खेल्नेको खोजी पनि हो।
त्यसमा सर्वसाधारणको सहयोगको अपेक्षा गर्दै महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख, वरिष्ठ उपरिक्षक बसन्त लामाले भने, "घरभित्र के भइरहेको छ भने प्रहरीलाई थाहा नहुन सक्छ। तर नजिकका छिमेकीलाई वास्तवमा के भइरहेको छ भन्ने जानकारी हुन्छ। त्यसकारण हामी बढीभन्दा बढी नागरिकको सहयोगको अपेक्षा गर्दछौँ।"
मानसिकता
कतिपय समाजशास्त्री चाडवाडमा जुवातास खेल्ने परम्पराजस्तै भएको र त्यो मानसिकता नै हटाउनुपर्ने खाँचो औँल्याउँछन्।
अन्यथा पटके निगरानीले त्यो रोक्नु चुनौतीपूर्ण रहेको समाजशास्त्रमा विद्यावारिधी गरेकी विन्दू पोखरेल बताउँछिन्।
उनले भनिन्, "ठूलो उमेरकालाई होइन। आठ/नौ वर्षकै केटाकेटीलाई नै पुरानो प्रचलनमा के गर्न जरुरी छ भनेर सिकाउनुपर्छ। अनि बिस्तारै यस्तो प्रचलन कम हुँदै जानेछ।"
जुवातास खेल्दा पहिलो पटक पक्राउ पर्नेलाई तीन महिनासम्मको कैद र ३० हजार जरिवाना र दोस्रो पटक पक्राउ पर्नेलाई ५० हजार जरिवाना वा १ वर्ष कैद साजय हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनमा छ।
प्रहरीले घर परिवारमा रमाइलोका लागि खेल्ने समूहलाई भने कुनै कारबाही नहुने बताएको छ।








