भारतले हमलाको निसाना बनाएका यी ६ मुख्य ठाउँ

भारतीय सेनाले मङ्गलवार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा 'अपरेशन सिन्दूर'अन्तर्गत नौ स्थानका 'आतङ्कवादी शिविर'मा हमला गरेको जनाएको छ।

भारतीय सेना र विदेश मन्त्रालयले बुधवार बिहान एक प्रेस सम्मेलनमा यो हमलाको बारेमा विस्तृत जानकारी दिएका छन्। कर्नेल सोफिया कुरैशीले भारतीय सेनाले 'अपरेशन सिन्दूर' मा "नौ ठेगानामा आतङ्कवादी शिविरहरूलाई निशाना बनाएको र तिनलाई सम्पूर्ण रूपमा बरबाद गरेको छ," भन्ने कुरा सम्मेलनमा बताइन्।

पाकिस्तानी अधिकारीहरूले भनाइ छ : भारतीय हवाई हमलामा बालबालिका र महिलासहित कम्तीमा २६ जना मारिएको र ४६ घाइते भएका छन्।

मङ्गलवार राति पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भने: भारतले पाकिस्तानको पन्जाब प्रान्तमा अहमदपुर शरकिया, मुरीदके, सियालकोट र शकरगढ तथा पाकिस्तान प्रशासित कश्मीरमा कोटली र मुजफ्फराबादलाई निशाना बनाएको छ।

कर्नेल सोफिया कुरैशीले भनिन्, "पाकिस्तानमा पछिल्लो तीन दशकदेखि 'टेरर इन्फ्रास्ट्रक्चर' निर्माण भइरहेको छ जसमा भर्ती, ट्रेनिङ र लन्च प्याड पनि सामेल छ जुन पाकिस्तान र पाकिस्तान प्रशासित जम्मू-कश्मीरमा फैलिएको छ।"

कुनकुन स्थानमा भयो हमला?

अहमदपुर शरकिया (बहावलपुर)

अहमदपुर शरकिया पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर जिल्लाको एक ऐतिहासिक बस्ती हो।

पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार यो इलाकामा मस्जिद सुब्हानलाई निशाना बनाइएको थियो जसमा चार हमला गरियो। त्यसबारे मस्जिद र त्यस आसपासको बस्तीमा नोक्सान पुगेको छ।

उनको भनाइ छ : यो हमलामा पाँच मानिस मारिएका छन्, जसमा एक तीन वर्षकी बालिका, दुईजना महिला र दुई पुरुष छन्। ३१ जना घाइते भएका छन्।

बहावलपुर प्रतिबन्धित सङ्गठन जैश-ए-मोहम्मदको मुख्यालय भएको स्थान हो र मदरसतुल साबिर र जामा मस्जिद सुब्हान त्यसैको हिस्सा हो।

मुरीदके

मुरीदके पाकिस्तानको पन्जाब प्रान्तको शेखूपुरा जिल्लाको सहर हो, जुन लाहोरबाट करिब ४० किलोमिटर उत्तरमा रहेको छ।

लाहोरनजिकै बसेको यो सहर पहिले जमात-उद-दावा को केन्द्र दावा वल-इरशादका कारण पनि चर्चामा छ।

सेनाका प्रवक्ताको भनाइ छ: मुरीदकेमा मस्जिद उम्मूल कुरा र उसको आसपास रहेका चार क्वार्टर भारतीय हमलाको निशानामा परेको छ। यो हमलामा एक व्यक्ति मारिएको र एक घाइते भएको तथा दुईजना बेपत्ता भएका छन्।

बीबीसीका संवाददाता उमर दराज नागियाना बुधवार बिहानै मुरीदकेमा राति हमला भएको ठाउँमा पुगेका थिए। उनका अनुसार मुरीदकेमा निशाना बनेको स्थान मुरीदके सहरदेखि केही टाढा जीटी रोडतिर र बस्तीको भित्र छ।

'स्थानीय मानिसहरूका अनुसार यहाँ एक अस्पताल र एक स्कूल छ। त्यहीँ रहेको एक ठूलो भवनलाई निशाना बनाइएको थियो जसको नजिकै एक ठूलो मस्जिद पनि थियो। हमलापछि भवन ध्वस्त भएको छ र मस्जिदको एक हिस्सामा पनि नोक्सान पुगेको छ।

उमर दराजका अनुसार स्कूल र अस्पतालको भवन साथै अरू भवन पनि छन् जुन आवासीय परिसर जस्ता देखिन्छन्। स्थानीय बासिन्दाका अनुसार त्यहाँ कर्मचारी आवास थिए।

बीबीसी संवाददाताका अनुसार पहिले यो स्थान जमात-उद-दावा र त्यससँग जोडिएका सङ्गठनको कल्याणकारी गतिविधि गर्ने केन्द्र थियो जसका लागि एजुकेशन कम्प्लेक्स र हेल्थ सेन्टर बनाइएको थियो।

तर यो सङ्गठनमाथि प्रतिबन्ध लागेपछि पाकिस्तान सरकारले यो स्थानको व्यवस्था आफ्नो हातमा लिएर त्यसलाई आममानिसलाई सुविधा दिने केन्द्रको रूपमा प्रयोग गर्न सुरु गरेको थियो।

जम्मूको सीमा नजिकै भयो हमला

मुजफ्फराबाद

यो सहर पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो जहाँ कैयौँ महत्त्वपूर्ण कार्यालय र सरकारी भवन छन्।

पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् : यहाँ शवाई नालामा रहेको एक मस्जिद निशानामा परेको छ जसको नाम मस्जिद-ए-बिलाल हो।

बीबीसी संवाददाता ताबिंदा कौकबका अनुसार शवाई नाला मुजफ्फराबादमा मूल सडकमा छ जुन माथि पहाडसम्म जान्छ र यो पहाडको सबैभन्दा माथिल्लो स्थानलाई शहीद गली भनिन्छ।

उनी भन्छिन् : हमलाको निशाना बनेका शवाई र सँगै जोडिएको समा बाडी भन्ने स्थानबाट केही मानिस नजिकैको स्थानमा गइरहेका छन्। यहाँ मोटरको लाइन लागेको छ। मानिसहरू आफ्ना नातेदारका हालखबर सोध्न र उनीहरूलाई लिन पुगेका छन्। सुरक्षा बल पनि त्यहाँ पुगिसकेको छ।

पाकिस्तानी सेनाका प्रवक्ताका भनाइ छ: बिलाल मस्जिदमा सात हमला भएको छ जसमा एक बालिका घाइते भएकी छन्।

कोटली

कोटली पाकिस्तान प्रशासित कश्मीरमा इस्लामाबाददेखि लगभग १२० किलोमिटरको दूरीमा लाइन अफ कन्ट्रोल (एलओसी) को नजिकै अवस्थित छ।

सेनाका प्रवक्ता भन्छन् : कोटलीमा पनि एक मस्जिद निशानामा पर्‍यो र यस हमलामा एक १६ वर्षकी युवती र १८ वर्षका युवक मारिए, दुई महिला घाइते भए।

सियालकोट

सियालकोट चिनाबको किनारामा रहेको पन्जाब प्रान्तको एक प्रमुख सहर हो। यहाँदेखि जम्मूको इलाका केवल ४८ किलोमिटरको दूरीमा उत्तरतिर छ।

पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार सियालकोटको उत्तरमा कोटली गाउँमा दुई गोला प्रहार गरिएको थियो जसमध्ये एउटाले काम गरेन। यस हमलामा कुनै नोक्सान नभएको उनले बताए।

शकरगढ

शकरगढ पन्जाब जिल्लामा पर्छ। यसको पूर्वमा भारतको गुरदासपुर जिल्ला र उत्तरमा जम्मूको इलाका छ अर्थात् यो पाकिस्तान र भारतको अन्तर्राष्ट्रिय सीमा दुवैतिर जोडिएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता भन्छन् : शकरगढमा पनि दुई गोली हानिएको थियो। एक औषधि पसलमा सामान्य क्षति भएको छ।

हमलाका बारेमा अहिलेसम्म प्राप्त जानकारी

जम्मू-कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलाको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका कैयौँ स्थानमा हमला गरेको छ।

भारतले यी हमलाको 'अपरेशन सिन्दूर' नाम दिएको छ।

भारतको रक्षा मन्त्रालयले भनेको छ, अहिलेको हमला गत २२ एप्रिलमा "पहलगाममा भएको हमलाका जबाफदेही मानिसलाई सजाय दिलाउने उनीहरूको प्रतिबद्धताको हिस्सा हो।"

२२ एप्रिलमा कश्मीरको पहलगाममा भएको हमलामा २६ मानिसको मृत्यु भएको थियो।

भारतले पहलगाम हमलाका लागि 'पाकिस्तानी आतङ्कवादी र उनको संरचनालाई जिम्मेदार ठहर्‍याएको छ।' तर पाकिस्तान हमलामा कुनै किसिमको संलग्नता इन्कार गर्दै आएको छ।

भारतीय सेनाले ''आतङ्कवादी संरचना'' लाई निशाना बनाएको छ जहाँबाट भारतमाथि ''आतङ्कवादी हमलाको योजना बनाइएको थियो र आक्रमण गरिएको थियो।"

भारतीय सेनाले उसले हमलामा पाकिस्तानका सैन्य ठेगानाहरूलाई निशाना बनाएको छैन भनेको छ। सेनाका अनुसार ''कारबाहीको प्रवृत्ति असाध्यै केन्द्रित र नाप तौल गरेर गरिएको थियो र कसैलाई उक्साउने खालको थिएन।''

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तानको एक निजी च्यानल जिओ टिबीसँग कुरा गर्दै भनेका छन् ''आतङ्कवादी संरचनालाई निशाना बनाएको भन्ने भारतीय दाबी झूटो छ।"

उनले भनेका छन् : "हमलाका चपेटामा प्रशासनिक क्षेत्र परेका छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।