तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

भारतीय हमलाको 'जबाफ दिने' पक्षमा इस्लामाबाद, नेपालमा पनि छलफल र सतर्कता

भारत प्रशासित कश्मीरको पहलगाममा चरमपन्थी लडाकुहरूले गोली हानी २६ पर्यटकको हत्या गरिदिएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा क्षेप्यास्त्र प्रहार गरेको छ। पाकिस्तानले भारतीय सैन्य कारबाहीको निन्दा गर्दै त्यसको जबाफ दिइने बताएको छ। यसबारे नेपालको सुरक्षा परिषद्‌मा छलफल भएको छ भने सीमा क्षेत्रमा सुरक्षा बढाइएको छ।

सारांश

  • भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेको बताएको छ
  • हमलाहरूमा परी २६ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ, पाकिस्तानका प्रधानमन्त्रीले भारतीय कदमको निन्दा गरेका छन् भने पाकिस्तानको सुरक्षा समितिले भारतलाई 'जबाफ दिने' निर्णय गरेको छ
  • पाकिस्तानले गरेको गोलाबारीमा परी जम्मू तथा कश्मीरपट्टि १५ जना मारिएको भारतले जनाएको छ
  • भारतले पाकिस्तानमा क्षेप्यास्त्र हमला गरेपछि त्यसलाई लिएर नेपालमा पनि राष्ट्रिय सुरक्षा परिषद्‌को बैठक बसेको छ भने सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्
  • सैन्य तनावका माझ पाकिस्तान र भारतका कतिपय क्षेत्रमा स्कूल तथा कलेज बन्द गरिएका छन्, कैयौँ उडानहरू रद्द भएका छन्
  • अमेरिकी विदेशमन्त्री मार्को रुबिओले परिस्थिति नियालिरहेको बताएका छन्
  • दुई साताअघि भारत प्रशासित कश्मीरमा भएको हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएपछि दुवै परमाणुशक्ति सम्पन्न देशबीच तनाव चर्किएको छ

लाइभ कभरेज

  1. लाइभ पेजको ताजा अपडेट आजलाई यति नै

    आज बिहानदेखि हालसम्म भारत-पाकिस्तान तनावबाट विकसित घटनाक्रम र त्यसपछि नेपाल तथा अन्यत्र व्यक्त प्रतिक्रियाबारे ताजा, सही र भरपर्दो जानकारी लिन हामीलाई विश्वास गर्नुभएका सबै पाठकहरूलाई धन्यवाद।

    यससँगै यो लाइभ पेज हामी बन्द गर्दै छौँ।

    समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूबारे पढ्न हाम्रो वेबसाइट नियमित हेर्नुहोला।

    धन्यवाद।

  2. भारत-पाकिस्तान तनावबारे नेपालले उपयुक्त "रणनीति अपनाउने"

    भारतले गरेको कारबाहीसँगै उत्पन्न परिस्थितिबारे नेपालको सुरक्षा परिषद्‌मा पनि बुधवार छलफल भएको छ।

    बैठकपछि परिषद्‌द्वारा जारी एउटा प्रेस विज्ञप्तिमा भनिएको छ, “हालै विकसित भारत-पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्न सक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा भयो। यो घटनाक्रमबाट उत्पन्न हुन सक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भयो।”

  3. नेपालले बढायो सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता

    भारत-पाकिस्तानबीच तनाव चुलिएका बेला नेपालले भारतसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको अधिकारीहरूले बताएका छन्।

    उनीहरूका अनुसार पहिलाभन्दा निगरानी बढाइनुका साथै शङ्का लागेका व्यक्तिहरूको परिचयपत्र मागेर सोधपुछ गर्ने गरिएको छ।

    बीबीसीसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, "लामो खुला सीमा छ। त्यो खुला सीमाको दुरुपयोग नहोस् र त्यसमा अवाञ्छित आवागमन नहोस् भन्ने कुरामा सरकार पूरा सचेत छ र त्यसअनुसार निगरानी र चेकजाँच गर्ने काम भइरहेको छ।"

    हाम्रा संवाददाताहरूका अनुसार भारतले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रहरूमा पहिलाको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको देखिएको छ।

  4. भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि नेपालमा सुरक्षा परिषद्को बैठक

    भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

    सरकारका वरिष्ठ मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी छन्।

    उक्त आक्रमणपछिका सुरक्षा चुनौतीबारे छलफल गर्न परिषद्को बैठक बसेको ठानिएको छ।

    भारतले बुधवार बिहान गरेको हमलाबारे नेपालले औपचारिक प्रतिक्रिया दिइसकेको छैन।

    बुधवार नै गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।

    देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यसहित नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय उक्त बैैठकमा भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई उद्धृत गर्दै राससले लेखेको छ।

    भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्न सक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ।

  5. पाकिस्तानी सुरक्षा समिति भारतलाई 'जबाफ दिने' पक्षमा

    पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतले मङ्गलवार राति थालेको क्षेप्यास्त्र हमलालाई "जघन्य अपराध" भन्दै त्यसको निन्दा गरेको छ। समितले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकालेको छ।

    संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ। पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जबाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको उसले बताएको छ।

    पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले समितिको बैठकको अध्यक्षता गरेका थिए।

    समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान र ड्रोन खसालिएको दाबी गरेको छ।

    पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविरहरू भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ।

  6. भारतीय कूटनीतिज्ञलाई बोलाएर पाकिस्तानद्वारा असन्तुष्टि व्यक्त

    भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको बेला पाकिस्तानले इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएर "बिनाउक्साहट" भारतबाट पाकिस्तानी भूमिमा हवाई हमला भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

    "ती हमलामा परी कैयौँ सर्वसाधारण मानिसको मृत्यु भएको छ, तीमध्ये महिला र बालबालिका पनि छन्," पाकिस्तानको विदेश मन्त्रालयले सार्वजनिक गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।

    उसले भारतीय कारबाहीबाट पाकिस्तानको सार्वभौमसत्ताको अनादर हुन पुगेको आरोप पनि लगाएको छ।

    "त्यस्तो दुस्साहसपूर्ण व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा पुग्छ," इस्लामाबादले भनेको छ।

  7. भारतको अवस्था के छ

    भारतले पाकिस्तानी भूमिमा सैन्य कारबाही थालेपछि दिल्ली र इस्लामाबादले एकअर्कालाई विभिन्न आरोप लगाएका छन्। दुवै पक्षका सेनाबीच सीमावारपारि गोलाबारी पनि भएको छ। भारतीय सेनाले आफ्नो भूमिमा कम्तीमा १० सर्वसाधारण मानिसको मृत्यु भएको जनाएको छ।

  8. भारतीय भूमिबाट सीमापारि बग्ने पानी रोक्ने नरेन्द्र मोदीको उद्घोष

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँगको तनावको प्रसङ्ग नकोट्याई 'भारतको पानी भारतकै लाभका लागि जोगाइने' घोषणा गरेका छन्।

    "अब भारतको पानी भारतको फाइदाका लागि बग्ने छ, भारतको फाइदाका लागि संरक्षण गरिने छ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिने छ," प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने।

    तर त्यस क्रममा उनले पाकिस्तानको नाम किटान गरेनन्।

    के त्यसो गर्न सम्भव छ? पढ्नुहोस् पूरा समाचार

  9. नेपालको संसद्‌मा उठ्यो भारत-पाकिस्तान तनावको कुरा

    बुधवार प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद सर्वेन्द्रनाथ शुक्लले भारत-पाकिस्तान तनावबारे कुरा उठाएका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने शुक्लले "दक्षिण एशियामा हुने कुनै पनि आतङ्कवादी घटनाबाट नेपाल प्रत्यक्ष-अप्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको" भन्दै सरकारलाई आतङ्कवादविरुद्ध उभिन आग्रह गरे।

    पहलगाम घटनामा एक नेपाली समेत मारिएको र विगतमा समेत आतङ्कवादी घटनाबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै उनले भने: "नेपाल आतङ्कवादको विरुद्धमा उभिँदा आतङ्कवादीलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याउने कुनै पनि देशसँग अब हामीले समदूरी होइन, दूरी बनाएर बस्नुपर्छ।"

    उनले कुनै पनि देशको नाम नलिइकनै "त्यस्ता देशसँग हाम्रो निकटताले भोलि नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादको खेल मैदान नबन्ला भन्न नसकिने" बताए।

    अर्का सांसद अमरेशकुमार सिंहले "भारतसँग खुला सीमा रहेकाले नेपालले त्यसलाई यस्तोबेला त्यसको दुरुपयोग हुन नदिन नजिकबाट निगरानी गर्न" सुझाए।

    स्वतन्त्र सांसद सिंहले भने: "भारतलाई जिस्क्याउनलाई यो समयमा पाकिस्तानी सेनालाई निम्त्याइराख्नुहुन्छ… त्यो पनि तीनवटै विङ्ग (अङ्ग)लाई, किनकि हामीसँग वायुसेना छैन, जलसेना छैन।"

  10. भारतको हमलामा मसुद अजहरको परिवारका १० सदस्यको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले आतङ्ककारी भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बहावलपुरको शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा उनको परिवारका १० सदस्य तथा ४ निकट सहयोगी मारिएको बताएका छन्।

    बुधवार उनको नेतृत्वको जैश-ए-मोहम्मद (जेइएम) समूहले एक वक्तव्य जारी गर्दै मारिनेहरूमा उनका दिदी र भिनाजु, भतिजा र भतिजा बुहारी अनि भतिजीसहित परिवारका अन्य पाँच बालबालिका रहेको उल्लेख गरेको छ।

    सन् २०१९ को फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा जेइएमले गरेको हमलामा ४० प्यारामिलिटरी सैन्य मारिएपछि दुई छिमेकी युद्धको संघारमा पुगेका थिए।

  11. भारत प्रशासित कश्मीरमा ‘कम्तीमा १० जनाको मृत्यु’, मारिने सबै एलओसीनजिकैको पुन्छ जिल्लाका सर्वसाधारण

    सीमापार बमबारीका क्रममा भारतमा मारिने सर्वसाधारणको सङ्ख्या १० पुगेको एक शीर्ष सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।

    ती सबै भारत प्रशासित कश्मीरको पुन्छ जिल्लामा रहेको बताइएको छ।

    यसअघि त्यस जिल्लाका एक शीर्ष अधिकारीले त्यहाँ भएको गोलाबारीमा परेर कम्तीमा सातजना मारिनुका साथै ३२ जना अन्य घाइते भएको बीबीसीलाई बताएका छन्।

    पुन्छ भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा अर्थात् एलओसीनजिकै पर्छ।

    "बमबारी हाललाई रोकिएको छ। हामी स्थलगत रूपमा अवस्था बुझ्दैछौँ," सो जिल्लाका सब-डीभिजनल मजिस्ट्रेट अजहर मजिदले भने।

    यसअघि भारतीय सेनाका प्रवक्ताले उक्त क्षेत्रमा तीनजना मारिएको पुष्टि गरेका थिए।

  12. 'अपरेशन सिन्दूर' के हो

    भारतले अहिले पाकिस्तानी भूमिमा थालेको सैन्य कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नामकरण गरेको छ। आफूले पाकिस्तानका सैन्य स्थललाई नभई आतङ्ककारीहरूका थलोलाई लक्ष्य गरेको दाबी भारतको रहेको छ।

    यसबारे पाकिस्तानले पनि प्रतिक्रिया व्यक्त गरेको छ।

  13. 'भारतविरुद्ध थप आक्रमण हुन लागेको गुप्त सूचना प्राप्त भएको थियो'

    भारतका विदेशसचिव विक्रम मिस्रीले एप्रिल २२ मा पहलगाममा भएको घटना गराउने र त्यसको योजना बनाउने पात्रहरूविरुद्ध भारतले सैन्य कारबाही गरेको बताएका छन्।

    दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले [पहलगामकै जस्तो] थप हमला हुन लागेको गुप्त सूचना भारतले प्राप्त गरेको दाबी गरे।

    "त्यसैले त्यस्तो प्रयासलाई रोक्नुपर्ने बाध्यता थियो," उनले भने।

  14. भारतीय हमलाबाट २६ सर्वसाधारण मानिसको मृत्यु - पाकिस्तानी सेना

    पाकिस्तानी सेनाले भारतीय हमलामा परेर आफ्नो देशमा कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाएको छ।

    सेनाका प्रवक्ता लेफ्टिनन्ट जेनरल अहमद शरीफ चौधरीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरी ६ स्थानमा हमला भएको बताउँदै त्यस क्रममा कम्तीमा ४६ जना घाइते भएको समेत बताए।

    इस्लामाबादले "भारतीय हमलाको बदला लिने बताउँदै पाँच वटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालिदिएको" समेत दाबी गरेको छ। हालसम्म भारतले उक्त दाबीका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन। भारत प्रशासित कश्मीरमा समेत कैयौँ नागरिक हताहत भएको विवरण आएका छन्। दुवैतर्फबाट विवादित सीमावारपार भीषण गोलाबारी चलिरहेको बताइएको छ।

  15. सैन्य हमलाप्रति भारतीय विपक्षी नेताहरूको समर्थन

    भारतका विपक्षी दलका नेताहरूले सैन्य हमलाप्रति समर्थन जनाउँदै प्रतिक्रिया दिएका छन्।

    मुख्य विपक्षी दल कङ्ग्रेसका प्रमुख मल्लिकार्जुन खरगेले भने, “राष्ट्रिय एकता र ऐक्यबद्धता अहिलेको आवश्यकता हो।”

    उनले गत महिना भारत प्रशासित कश्मीरमा हमला भए देखि नै आफ्नो पार्टी स्पष्ट रूपमा भारतीय सैन्य बल तथा सरकारद्वारा सीमापारिबाट हुने आतङ्क रोक्ने निर्णायक कदमको पक्षमा रहेको उल्लेख गरे।

    अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम)का प्रमुख असदुद्दिन ओवैसीले भारतले ‘पाकिस्तानका आतङ्की शिविर’हरूमा गरेको ‘सर्जिकल स्ट्राइक’को स्वागत गरेका छन्।

  16. भारतको हमलाबारे पाकिस्तानका प्रधानमन्त्रीले के भने

    भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई "कायरतापूर्ण"को सङ्ज्ञा दिएका छन्।

    एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन्। पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको ज्यान गएको पुष्टि गरेको छ। पढ्नुहोस् विस्तारमा भारतले गरेको हमलाबारे पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया

  17. पाकिस्तानका विभिन्न स्थानमा भारतले गरेको हमलाबारे प्रत्यक्षदर्शी के भन्छन्

    पाकिस्तानको पञ्जाब प्रान्तको मुरिद्केका बासिन्दा मुहम्मद युनिस शाहले भारतले प्रहार गरेका चार क्षेप्यास्त्र एक शैक्षिक संरचनामा खसेको बीबीसीलाई बताएका छन्। पहिलो तीन क्षेप्यास्त्र एकपछि अर्को गर्दे खसेको र चौथो चाहिँ पाँच-सात मिनेटको अन्तरालपछि खसेको उनले बताए।

    स्कूल, कलेज, होस्टल तथा मेडिकल कम्प्लेक्स समेत रहेको उक्त परिसरमा आंशिक क्षति पुगेको छ। शाहले त्यहाँ आवासीय क्षेत्र पनि रहेको र केही परिवार त्यहाँ बस्ने गरेको बताए।

    उनका अनुसार त्यहाँ उद्धारकर्मी, अग्नि नियन्त्रक तथा प्रहरी पुगेको र मानिसहरूमा त्रास व्याप्त रहेको छ। “सबै मानिसहरूलाई अन्य सुरक्षित ठाउँमा लगिएको छ,” उनले भने।

    मुहम्मद वाहिद पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरावाद्स्थित बिलाल मस्जिद नजिकै बस्छन्।

    “म गहिरो निद्रामा थिएँ जतिखेर पहिलो विस्फोटले मेरो घर हल्लियो,” उनले बीबीसीलाई भने।

    “म भागेर सडकमा पुगेँ जहाँ मानिसहरू जम्मा भइसकेका थिए। के भइरहेको छ भनेर भेउ पाउन अगावै थप तीन क्षेप्यास्त्र खस्यो जसले निकै त्रास फैलियो र हडकम्प मच्चियो।”

    महिलासहित दर्जनौँ मानिसहरू घाइते भएका र नजिकैका अस्पतालमा लगिएका वाहिदले बताए।

    “किन हाम्रो स्थानीय मस्जिदलाई निसाना बनाइयो भनेर मैले बुझेको छैन,” वाहिदले भने।

    “यो हाम्रो बस्तीको एउटा साधारण मस्जिद थियो जहाँ हामी दिनको पाँच पटक नमाज पढ्थ्यौँ। हामीले यहाँ कहिल्यै कुनै शङ्कास्पद गतिविधि भएको देखेनौँ।”

    “मानिसहरू आफ्ना घर छाडेर भागिरहेका छन् अनि यहाँ निकै धेरै अनिश्चयपूर्ण स्थिति छ।”

  18. भारतीय रक्षामन्त्रीले गरे सेनासँग छलफल

    भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानमा भारतीय हवाई हमलाको विषयबारे भारतीय सेना, जलसेना र वायुसेनाका प्रमुखहरूसँग छलफल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।यसैबीच गृहमन्त्री अमित शाहले 'अपरेशन सिन्दूर' सञ्चालन गरेकोमा भारतीय सैन्य बलहरूको प्रशंसा गरेका छन्।

  19. हमलापछि भारतको पहिलो पत्रकार सम्मेलन

    पाकिस्तानले 'आतङ्कवादी पूर्वाधार' नष्ट गर्न कुनै कदम नचालेको भारतीय विदेश सचिवको आरोप

    दिल्लीमा आयोजित प्रेस ब्रीफिङमा भारतका विदेश सचिव विक्रम मिस्रीले 'सीमापारिबाट हुने हमलाको जबाफ दिने र त्यसको प्रतिरोध गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै' पाकिस्तान र पाकिस्तानको ‘आतङ्कवादी अड्डा’हरूमा हमला गरेको बताएका छन्।

    "दुई साताअघिको आतङ्कवादी हमला स्पष्ट रूपमा भारत-प्रशासित कश्मीरमा सामान्य जनजीवन प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित रहेको" उनको भनाइ थियो।

    गत वर्ष २ करोड २५ लाख भन्दा बढी पर्यटकहरू भारत-प्रशासित कश्मीरको भ्रमण पुगेको बताउँदै मिस्रीले "त्यो हमला स्थानीय अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको पर्यटनलाई कमजोर पार्न गरिएको" दाबी पनि गरेका छन्।

    उनले पहलगाम हमला उक्त केन्द्र शासित राज्यको विकासमा हानि पुर्‍याउन र त्यसलाई पछाडि पारेर देशमा साम्प्रदायिक असन्तोष भड्काउने रहेको टिप्पणी गरे।

    उनले पाकिस्तानले 'आतङ्कवादी पूर्वाधार' नष्ट गर्न कुनै कदम नचालेको समेत आरोप लगाए।

    विदेश सचिव मिस्रीले पहलगाम हमलापछि संयुक्त राष्ट्र सङ्घले समेत यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको भन्दै भारतको कारबाहीलाई त्यसै सन्दर्भमा हेर्नुपर्ने बताए।

    उनले पहलगाम हमलामा द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) संलग्न रहेको बताउँदै त्यो भारतले आतङ्कवादी सङ्गठन मान्ने पाकिस्तानमा आधारित समूह लस्कर-ए-तैय्यबाको एउटा मोर्चा रहेको बताए।

  20. भारतले कहाँकहाँ गर्‍यो हमला

    भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेको छ। ती स्थान यो नक्सामा देखाइएको छ।