तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला
भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ।
भारतको रक्षा मन्त्रालयका अनुसार 'अपरेशन सिन्दूर' नाम दिइएको उक्त कारबाही एप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई "जबाफदेह" बनाउने "प्रतिबद्धता"को हिस्सा हो।
गत महिना भएको उक्त पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई "अकारण" भनेको छ र प्रधानमन्त्री शेहबाज शरिफले उक्त "दुष्टतापूर्ण आक्रमण"को बदला लिइने बताएका छन्।
भारतीय विमानसेवाहरूको उडान अवरुद्ध
कतिपय भारतीय आन्तरिक विमानसेवाहरूले भारत-प्रशासित कश्मिर र राजस्थान र पञ्जाब जस्ता सिमावर्ती राज्यका केही सहरहरू तर्फका उडानहरू रद्ध गरेका छन्।
स्पाइसजेटले भनेको छ उत्तर भारतका धरमशाला, लेह, जम्मु, श्रीनगर र अमृतसर लगायतका विमानस्थलहरू बन्द गरिएका छन् जस्ले गर्दा त्यहाँ हुने उडानहरू प्रभावित भएका छन्।
इन्डिगो एअरलाइन्सले पनि सामाजिक सञ्जालको वेबसाइट एक्समा सन्देश लेख्दै ति सहरहरूका उस्का उडानहरू हवाई क्षेत्रमा उत्पन्न बदलिँदो परिस्थितिका कारण प्रभावित भएको जनाएको छ।
एअर इन्डियाले पनि जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चन्डिगढ र राजकोट सहरका उडाहरू स्थानीय समय अनुसार मध्यान्हसम्मलाई रद्द गरिएको जनाएको छ।
उक्त वायुसेवाले अमृतसर तर्फका दुई अन्तर्राष्ट्रिय उडानहरूलाई राजधानी दिल्ली तर्फ परिवर्तन गरेको बताएको छ।
पाकिस्तानमा पनि हवाई उडानहरू प्रभावित
पाकिस्तानी अधिकारीहरूले पनि लाहोर र कराचीजस्ता ठूला सहरहरूका हवाई क्षेत्र बन्द गरिएको घोषणा गरेका छन्।
यस क्षेत्रमा ठूला विमानस्थलहरू पर्दछन् जस्मा इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ। ति क्षेत्रमा हवाई उडानहरूमा ठूलो असर परिसकेको छ। र उडानहरूको निगरानी राख्ने वेबसाइट फ्लाइटरेडार२४ का अनुसार कतिपय विमानहरू पाकिस्तानबाट "डाइभर्ट" भएका छन्।
सामाजिक सञ्जालमा राखेको विवरणमा उक्त वेबसाइटले फिनएअर, एमिरेट्स, टर्किश कार्गो र साउदीया का विमानहरू अन्यत्र मोडिएको जनाएको छ।
सिएनएनलाई दिइएको एक वक्तव्यमा एअर फ्रान्सले भनेको छ उस्ले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडानहरू रद्द गरिएको छ।
भारतले कहाँ आक्रमण गरेको हो?
दिल्लीका अनुसार बुधवार सबेरै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ।
ती स्थानमा "आतङ्कवादी संरचनाहरू" भएका र त्यहाँबाट भारतविरुद्धका हमला "नियोजित र निर्देशित" भएको उसको दाबी छ।
उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही "केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरी" भएको जनाएको छ।
पाकिस्तानका अनुसार तीन भिन्नाभिन्नै ठाउँहरूमा प्रहार भएको छ : पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोट्ली अनि बाहवालपुर।
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले जियो टीभीसँग कुरा गर्दै ती हमलामा गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन्।
उनका अनुसार भारतले "आतङ्कवादीका शिविरलाई लक्षित गरिएको" भनेर झुटो बोलेको हो।
पाकिस्तान सेनाका प्रवक्ता अहमद शरिफले बीबीसीलाई दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताए।
भारतीय सेनाका प्रवक्ताका अनुसार भारत प्रशासित कश्मीरमा पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
तर त्यसबारे बीबीसीले विस्तृत जानकारी पाएको छैन।
भारतले किन गर्यो आक्रमण?
पहलगाममा एप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणपश्चात् दक्षिण एशियाका यी दुई परमाणुशक्तिसम्पन्न देश भारत र पाकिस्तानबीच तनाव चर्किएको थियो।
उक्त हमला गैरसैनिकविरुद्ध लक्षित दुई दशकयताकै सबभन्दा खराब हमला थियो जसमा हिन्दू पुरुषहरूलाई छानीछानी मारिएको थियो। त्यसले भारतभरि आक्रोश पैदा भएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले "पृथ्वीको जुनसुकै कुनासम्म" पुगेर भएपनि सन्दिग्ध आक्रमणकारी तथा तिनका योजनाकारलाई खोजिने अनि "तिनको कल्पनाभन्दा कडा सजाय दिइने" चेतावनी दिएका थिए।
तर भारतले पहलगाम आक्रमण गराउने उसले शङ्का गरेको समूहको नाम दिएको छैन।
भारतीय प्रहरीले पहलगाममा हमला गर्नेमध्ये दुई पाकिस्तानी नागरिक भएको बताएको छ। दिल्लीले आतङ्ककारीहरूलाई सरसहयोग गरेको आरोप पाकिस्तानमाथि लगाएको छ। पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ।
पहलगाम घटनायता दुवै पक्षद्वारा एकअर्काविरुद्ध विभिन्न कदम चालिएका छन् – कूटनीतिज्ञहरूलाई निकाला गर्ने, भिसा निलम्बन गर्ने तथा सिमाना बन्द गर्ने।
तर धेरैले सीमा वारपार सैन्य कारबाही हुने अपेक्षा पनि गरेका थिए। सन् २०१९ मा पुलवामा मा ४० जना भारतीय अर्धसैनिकहरू मारिएपछि भारतले त्यस्तै आक्रमण गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।