तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानलाई भारतले २४देखि ३६ घण्टाभित्र फौजी कारबाही गर्न सक्छ भन्ने आधार कस्ता
- Author, दिलनवाज पाशा
- Role, बीबीसी हिन्दी
पहलगाम हमलापछि भारत र पाकिस्तानमा तनाव बढिरहँदा विश्वका विभिन्न देशले संयम अपनाउन दुवै पक्षलाई अपील गरेका छन्।
चीन, अमेरिका, टर्की र कतारले भारत अनि पाकिस्तानले तनाव कम गर्ने आशा सोमवार व्यक्त गरे।
यद्यपि पछिल्ला दिनहरूमा दुवै देशका सेनाहरूबीच नियन्त्रण रेखा (एलओसी)मा गोली हानाहान भएका छन्।
यी सबै घटनाबीच के भारत र पाकिस्तान युद्धको सँघारमा पुगेका छन् र आउँदा केही दिनभित्र पाकिस्तानमाथि भारतले कस्तो कारवाही गर्न सक्छ भन्ने प्रश्न उठिरहेको छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो ताजा भनाइमा त्यस्तै सङ्केत गरे।
त्यसलगत्तै पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले एउटा वक्तव्य जारी गर्दै भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि हमला गर्न सक्ने बताए।
भारतीय समय अनुसार बुधवार बिहान ३ बजेर ९ मिनेटमा तरारले सामाजिक सञ्जाल एक्समा त्यससम्बन्धी एउटा भिडिओ पोस्ट गरे।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले के भने
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले आफ्नो तर्फबाट "तत्काल हमला गर्न सक्ने" बताएका छन्।
समाचार संस्था रोयटर्सलाई सोमवार दिएको एउटा अन्तर्वार्तामा ख्वाजा आसिफले भनेका छन्, "हामीले हाम्रो सेनाको तैनाथी बढाएका छौँ। किनकि केही कुरा तत्काल हुन सक्ने सम्भावना छ। यो अवस्थामा केही रणनीतिक निर्णय लिनुपर्ने हुन्छ जुन हामीले लिएका छौँ।"
पाकिस्तानी सेनालाई भारतले गर्न सक्ने हमलाबारे सजग गराइएको पनि ख्वाजा आसिफले बताएका छन्।
उक्त अन्तर्वार्तामा ख्वाजा आसिफले यदि मुलुकको अस्तित्वमाथि सीधै खतरा उत्पन्न भयो भने मात्र पाकिस्तानले परमाणु अस्त्रको प्रयोग गर्ने बताए।
ख्वाजा आसिफले रणनीतिक निर्णय लिइएको भन्नुको सङ्केत के हो भने पाकिस्ताले नियन्त्रणरेखामा सैन्य उपस्थिति बढाउँदै छ।
यद्यपि अन्तर्वार्तापछि एक्सप्रेस ट्रिब्यूनसँग कुरा गर्दै ख्वाजा आसिफले आगामी दुई-चार दिनमा सम्भावित युद्धबारे आफूले दिएको अभिव्यक्तिलाई गलत रूपमा लिइएको बताए।
पाकिस्तानी टेलिभिजन च्यानल समा टीभीसँग कुरा गर्दै उनले भनेः "हामी मानसिक रूपमा तयार रहनुपर्छ। युद्धको खतरा मडारिइरहेको छ।"
एउटा प्रश्नको जबाफमा उनले भनेः "आगामी दुई-चार दिनमा युद्ध हुन सक्ने सम्भावना छ।"
यद्यपि त्यसपछि जीओ न्यूजसँग उनले भनेः "मलाई सोधिएको थियो कि युद्धको सम्भावना कत्तिको छ? अनि मैले आगामी दुई-तीन दिन महत्त्वपूर्ण भएको जबाफ दिएँ। यदि केही हुने हो भने आगामी दुई-तीन दिनमा हुन सक्छ।"
ख्वाजा आसिफले आफूले दिएको अभिव्यक्तिलाई भविष्यवाणीको रूपमा लिन नहुने उल्लेख गरे।
आफ्नो भनाइको तात्पर्य चाहिँ आगामी दुई-तीन दिन महत्त्वपूर्ण हुन सक्छ भन्ने भएको उनले बताए।
पाकिस्तानी रक्षामन्त्रीले समस्या पन्छाउने दिशामा मित्र राष्ट्रहरूसँग सम्पर्क गरिएको पनि जनाए।
पाकिस्तानले खाडी मुलुकहरू र चीनसँग कुराकानी गर्नुका साथै ब्रिटेन र अमेरिकासहित अन्य मुलुकलाई पनि अवस्थाबारे जानकारी गराएको ख्वाजा आसिफले बताएका छन्।
उनले जस्तै बुधवार बिहान ३ बजे पाकिस्तानी सूचनामन्त्री उताउल्लाह तरारले एक्समा पोस्ट गरेका हुन्।
तरारले भनेका छन्, "पाकिस्तानसँग विश्वसनीय गुप्तचर सूचना छ कि पहलगाम घटनाको बहानामा आगामी २४ देखि ३६ घण्टाबीच सैन्य कारवाही गर्ने उद्देश्य लिएको छ। कुनै प्रकारको हमलाको निर्णायक जबाफ दिइने छ। यो क्षेत्रमा उत्पन्न हुने सम्भावित विनाशकारी परिणामको जिम्मा भारतले लिनुपर्ने हुन्छ।"
भारत र पाकिस्तानबीच तनाव बढ्यो
जम्मू कश्मिरको पहलगामको बैसरन उपत्यकामा गत एप्रिल २२ तारिखमा पर्यटकहरूमाथि भएको आक्रमणमा कश्मिरका एक स्थानीयसहित २६ जनाको मृत्यु भएको थियो।
यो आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कयौँ कदम चाल्ने घोषणा गरेको थियो।
यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने कुरा समेटिएको छ। त्यसको प्रतिक्रियामा पाकिस्तानले पनि भारतीय नागरिकहरूको भिसा रद्द गर्यो र शिम्ला सम्झौता निलम्बन गर्यो।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले जारी गरेको विज्ञप्तिमा यदि भारतले सिन्धु नदीको पानी रोकेमा पाकिस्तानले यसलाई 'युद्धको कार्य' मान्ने छ भनिएको छ।
आक्रमणपछि आफ्नो पहिलो सार्वजनिक वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'दोषीहरूलाई कडा सजाय दिइनेछ' भनेका थिए।
यद्यपि, पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो भूमिका नरहेको बताउँदै आएको छ।
के पहलगाम आक्रमणपछि परिस्थिति फेरिएको हो?
भारतले हालैका वर्षहरूमा कश्मिरको अवस्थालाई सामान्य बनाउन जोड दिएको छ। यसै वर्ष त्यहाँ विधान सभा चुनाव पनि भयो। सरकारले त्यहाँ पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको बताएको छ।
विश्लेषकहरू पहलगाम आक्रमणपछि भारत र पाकिस्तान बीचको अवस्था परिवर्तन भएको ठान्छन्।
"पहलगाम आक्रमणले खेलको नियम परिवर्तन गर्नेवाला छ," दक्षिण एसिया विज्ञ माइकल कुगेलम्यानले न्यूजवीकमा प्रकाशित एक लेखमा लेखेका छन्।
"सन् २००८ को मुम्बई आक्रमणपछि भारतमा सर्वसाधारणमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो। आक्रमणको निसाना र परिमाण हेर्दा भारतले बलपूर्वक जबाफ दिने निश्चित छ," उनले लेखेका छन्।
'द गार्डियन' सँग कुरा गर्दै माइकल कुगेलम्यानले भने, "दिल्लीको दृष्टिकोणबाट सार्वजनिक दबाव र आक्रमणको परिमाणलाई ध्यानमा राखेर हेर्दा कुनै प्रकारको सैन्य कारबाहीको सम्भावना धेरै छ। र, यदि यस्तो भयो भने पाकिस्तान कमजोर देखिन चाहने छैन। पाकिस्तानले पनि प्रतिक्रिया दिने छ भन्ने निश्चित छ।"
विश्लेषकहरू यी परिस्थितिहरूमा भारत वा पाकिस्तान दुवैको कुनै पनि गलत मूल्याङ्कनले थप समस्याहरू सिर्जना गर्न सक्ने ठान्छन्।
सैन्य विज्ञ श्रीनाथ राघवनले बीबीसीलाई भने, "हामी कडा प्रतिक्रिया देख्न सक्छौँ। यस्तो प्रतिक्रिया जसले भारतीयहरूलाई मात्र नभई पाकिस्तानी तत्त्वहरूलाई पनि भारतको दृढ सङ्कल्पको सन्देश दिन सक्छ।"
सन् २०१६ को सेप्टेम्बर महिनामा उरीमा रहेको सैन्य क्याम्पमा भएको आक्रमणमा १९ सैनिकको मृत्यु भएपछि भारतले पाकिस्तानभित्र सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो।
त्यसपछि सन् २०१९ मा पुलवामामा सीआरपीएफको गाडीको लस्करमा भएको आक्रमणपछि भारतले त्यही वर्ष फेब्रुअरीमा करिब पचास किलोमिटर टाढा बालाकोटमा हवाई हमला गरेको दाबी गरेको थियो।
श्रीनाथ राघवन भन्छन्, "सन् २०१६ र खासगरी सन् २०१९ देखि प्रतिशोधको स्तर सीमापार वा हवाई हमलामा पुगेको छ। सधैँ जस्तै खतरा के भने दुवै तर्फबाट हिसाब गलत हुन सक्छ।"
पाकिस्तानमा बेचैनी ?
युद्धको आशङ्काबीच पाकिस्तानबाट आइरहेका भनाइहरूले के पाकिस्तानमा डर या बेचैनी रहेको दर्शाउँछ?
सैन्य विश्लेषक ठान्छन् पाकिस्तानबाट आएका खबरहरूको अर्थ पाकिस्तानले भारततर्फबाट हुने कुनै पनि कारबाहीका लागि तयार छ भन्ने जनाउन चाहनु हो।
सैन्य मामिलाका जानकार अजय शुक्ला भन्छन्, "यस्ता भनाइबाट पाकिस्तानले आफ्नो सरकार र सेनाको तहमा तयारीमा कुनै कमी छैन र भारतलाई यो थाहा हुनुपर्यो कि यदि पाकिस्तानमाथि हमला भयो भने पाकिस्तान चुप बस्दैन जबाफ दिन्छ र जबाफ दिनका लागि तयार छ भन्ने बताउन चाहिरहेको छ।"
अजय शुक्ला भन्छन् भारतसँग सैन्य टकराब गर्ने क्षमता पाकिस्तानसँग छ भन्ने उसले जनाउन चाहिरहेको छ।
अजय शुक्ला भन्छन्, "बालाकोटको बेला पाकिस्तानले भारतीय वायुसेनाको एक लडाकू विमान झारिदिएको थियो। उसको क्षमतामा कुनै कमी आएको छ भन्ने भारतले नसोचोस् भन्ने पाकिस्तानले दर्शाउन खोजिरहेको छ।"
हालका दिनमा एलओसीमा भारत र पाकिस्तानको सेनाबीच भइरहेको गोलाबारीको घटनामा उनी भन्छन्, "भारत र पाकिस्तानबीच तनाव बढेको छ। नियन्त्रण रेखामा जुन सेनाहरू तैनाथ छन् उनका हात बाँधिएका छैनन्। गोलाबारीका घटनाले त्यही देखाउँछन् कि दुई देशबीच तनाव धेरै बढिसकेको छ।"
पाकिस्तानका रक्षा मन्त्रीको भनाइबारे अजय शुक्ला भन्छन्, "पाकिस्तानको सेना र सरकारसँग जोडिएका भनाइलाई कसले के भन्यो भनेर हेर्नुपर्छ। यदि उनीहरू यदि भारततर्फबाट हुनसक्ने कारबाहीका लागि तैनाथ र तयार छौँ भन्छन् भने यसको अर्थ हुन्छ हामी पछाडि हट्छौँ भन्ने नसोचियोस् भनेको हुन्छ।"
अजय शुक्ला भारतले पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने ठान्छन्।
उनी भन्छन्, "जब यो हमला भयो तबदेखि पाकिस्तान र भारतका तर्फबाट जति पनि भनाइ आएका छन् त्यसबाट स्पष्ट हुन्छ कि भारत कारबाही गर्छ र यी मृत्युहरूको बदला लिन्छ। दुई देशबीच सैन्य टकराबको आशङ्का बढेको छ। बालाकोट घटना पछि यी दुई देशबीच यति धेरै तनाव कहिल्यै थिएन।"
अजय शुक्लाका अनुसार भारत र पाकिस्तानबीच सैन्य टकराबको सङ्केत मिलिसकेको छ।
त्यसैगरी पाकिस्तानको क्वायद -ए-आजम विश्वविद्यालयमा प्रोफेसर तथा सैन्य मामिलाका जानकार डा. सलमा मलिक भन्छिन्, "पाकिस्तानमा न कुनै प्रकारको डर छ, न बेचैनी वा छटपटाहट छ। पाकिस्तान आउने वाला परिस्थितिको सामना गर्न तयार छ र रक्षा मन्त्रीको भनाइको अर्थ पनि त्यही हो।"
उनी भन्छिन्, "रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तानका मानिससँग यही भनिरहेका छन् कि हामी हर स्थितिका लागि तयार छौँ। यदि भारत दोस्तीको हात अगाडि बढाउँछ भने दोस्तीका लागि र हमला भयो त्यसका लागि पनि हामी तयार छौँ।"
सलमा मलिक भन्छिन्, "पाकिस्तान कुराकानीबाट यो समस्या सुल्झाउन चाहन्छ। तर यदि युद्ध भयो भने त्यसका लागि पनि पूर्ण रूपले तयार छ। यो नठानियोस् कि पाकिस्तान डराएको छ। युद्धको कुरा पाकिस्तानका तर्फबाट भइरहेको छैन। पाकिस्तान भनिरहेको छ कि यदि भारतको तर्फबाट कुनै कारबाही भयो भने पाकिस्तान त्यसको जबाफ दिन तयार छ।"
उनी भन्छिन्, "जब बालाकोट भएको थियो त्यस बेला पनि पाकिस्तान पछाडि हटेको थिएन। भारतले जस्तो कारबाही गर्छ पाकिस्तानले त्यस्तै जबाफ दिने छ।"
के आगामी केही दिनमा सीमामा केही हुन सक्छ ? यसको जबाफमा डा. सलमा मलिक भन्छिन्, "दिल्लीको तर्फबाट जे भइरहेको छ, हामीलाई लाग्छ केही हुन सक्छ। यदि केही नहुने भए त अहिलेका गतिविधि हुँदैनथे होलान्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।