तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कश्मीरमा भएको रक्तपातपछि भारतले पाकिस्तानलाई 'सैन्य जबाफ' दिने जोखिम
- Author, सौतिक बिस्वास
- Role, भारत संवाददाता
पहलगाममा कम्तीमा २६ जनाको ज्यान जाने गरी मङ्गलवार भएको रक्तपात सन् २०१९ पछि भारत प्रशासित कश्मीरमा लडाकुहरूले गराएको सबैभन्दा घातक घटना थियो।
त्यहाँ मारिएका व्यक्तिहरू सैनिक वा सरकारी कर्मचारी नभई भारतकै सबैभन्दा मनोरममध्येको उपत्यकामा बिदा मनाउन पुगेका सर्वसाधारण मानिसहरू थिए। त्यही कुराले पनि उक्त आक्रमण कति क्रूर र प्रतीकात्मक थियो भन्ने देखाउँछ।
उक्त आक्रमण सर्वसाधारण मानिसप्रति मात्र लक्षित थिएन, विवादित जम्मू-कश्मीर क्षेत्रमा जनजीवन सामान्य देखाउन भारतीय पक्षले गरिरहेको कडा मेहनतप्रति थियो।
भारत विभाजन भएर पाकिस्तान बनेपछि दुवै देशले कश्मीरमा आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने दाबी गर्दै आएका छन्। तर कश्मीर दुई भागमा विभक्त छ, एउटामा पाकिस्तानको र अर्कोमा भारतको शासन छ। पहलगाममा भएको रक्तपातपछि भारतले जनाउन सक्ने सम्भावित प्रतिक्रिया दबाव र विगतका नजिर दुवैले निर्धारण गर्ने विज्ञहरू बताउँछन्।
भारतले प्रतिरोधात्मक कदम चाल्न थालिसकेको छ। भारतले पाकिस्तानसँगको सीमामा अवस्थित मुख्य नाका बन्द गरेको छ, पानी बाँडफाँटको सन्धि स्थगित गरेको छ र पाकिस्तानी कूटनीतिज्ञहरूलाई निष्कासित गरेको छ भने पाकिस्तानी राहदानी भएका केही मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ।
पाकिस्तानले कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। भारतले अहिले चालेका कदमको जबाफ दिन इस्लामाबादमा अधिकारीहरूले छलफल गर्न थालेका छन्।
भारतले सैन्य कारबाही गर्ने सम्भावना कति
भारतमा रक्षामन्त्री राजनाथ सिंहले दिएको चेतावनीलाई ठूलो महत्त्व दिएर हेरिएको छ। उनले पहलगाम आक्रमणका दोषीहरूलाई मात्रै नभई भारतीय भूमिमा उक्त "घृणित कार्य"का योजनाकारहरूमाथि पनि कारबाही गर्ने उद्घोष गरेका छन्।
विश्लेषकहरू अब भारतले सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नभन्दा पनि कहिले, कसरी र कस्तो सैन्य कारबाही गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको ठान्छन्।
"आन्तरिक सरोकारवाला र पाकिस्तानमा भएका पात्रहरूलाई [भारतीय] दृढताको सङ्केत देखाउने खालको कडा प्रतिक्रिया हुने सम्भावना छ। सन् २०१६ र विशेष गरी २०१९ पछि भारतले गर्ने प्रतिवाद सीमापारि पाकिस्तानी भूमिमा गरिने आक्रमण वा हवाई हमला हुने तय भइसकेको छ," सैन्य इतिहासकार श्रीनाथ राघवन भन्छन्।
"त्योभन्दा सानो जबाफ दिन अब सरकारलाई कठिन छ। पाकिस्तानले पनि यसअघिको जस्तै जबाफ फर्काउन सक्छ।"
यसअघि भारतले गरेको थियो 'सर्जिकल स्ट्राइक'
राघवनले सन् २०१६ र २०१९ मा भएका यस्तै आक्रमणपछि भारतले गरेको प्रतिवादतिर सङ्केत गरे।
सन् २०१६ मा उरीमा भएको घातक आक्रमणमा १९ भारतीय सैनिकको ज्यान भएको थियो। त्यसपछि भारतले 'लाइन अफ कन्ट्रोल' भनिने दुई देशले मान्दै आएको सीमा क्षेत्रमा 'सर्जिकल स्ट्राइक' गरेको थियो।
त्यस बेला भारतले आफूले पाकिस्तान प्रशासित कश्मीरमा रहेका आतङ्ककारी समूहका 'लन्चप्याड' लाई निसाना बनाएको दाबी गरेको थियो।
सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा अर्धसैनिक फौजका ४० जवानहरू मारिए। त्यसपछि भारतले "आतङ्कवादीहरूको क्याम्प रहेको" दाबी गर्दै सन् १९७१ पछि पहिलो पटक पाकिस्तानको भित्री क्षेत्रसम्म आक्रमण गर्यो। त्यसको जबाफ दिन पाकिस्तानले पनि हवाई आक्रमण गर्यो र भारतीय वायुसेनाका एक विमानचालकलाई केही समय आफ्नो नियन्त्रणमा लियो।
त्यस बेला दुवै पक्षले आफ्नो शक्ति प्रदर्शन गरे पनि युद्धतर्फ अघि बढेनन्। त्यसको दुई वर्षपछि सन् २०२१ मा दुई देशबीच 'लाइन अफ कन्ट्रोल' युद्धविराम सम्झौता भयो।
वाशिङ्टनस्थित एउटा थिङ्क ट्याङ्क विल्सन सेन्टरका दक्षिण एशिया निर्देशक माइकल कुगल्मन भारतीय नागरिकहरूमाथि लक्षित आक्रमण र धेरै मानिसको ज्यान जाने गरी भएको हमलाका कारण भारतले पाकिस्तानविरुद्ध सैन्य जबाफ दिने सम्भावना धेरै रहेको बताउँछन्।
"यस्तो कदमको भारतलाई राजनीतिक फाइदा पनि हुन्छ किनभने बल प्रयोग गर्नुपर्ने पक्षमा भारतमा ठूलो सार्वजनिक दबाव हुन्छ," उनले बीबीसीसँग भने।
उनका अनुसार भारत साँच्चै आतङ्ककारीहरूका निसानासम्म पुग्न सक्यो भने त्यसले भारतविरुद्ध विद्यमान खतरा निस्तेज पारिदिन सक्छ। तर त्यस्तो सैन्य प्रतिवाद गर्दा गम्भीर सङ्कट र कहिलेकाहीँ सैन्य द्वन्द्व निम्तिने जोखिम पनि हुने उनी ठान्छन्।
भारतसँग भएका विकल्प
गोप्य रूपमा गरिने कारबाहीले भारतमा राजनीतिक सन्तुष्टि नहुने भएकाले भारतले देखिने गरी नै आक्रमणमा संलग्नहरूमाथि कारबाही गर्न सक्ने अमेरिकास्थित एक विश्वविद्यालयमा कार्यरत क्रिस्टोफर क्लारी बताउँछन्।
त्यस अवस्थामा भारतका लागि दुइटा सम्भावित बाटो रहेको उनको विश्लेषण छ।
पहिलो, सन् २०२१ को एलओसी युद्धविराम कमजोर बनेको छ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमापारि गोली चलाउन अनुमति दिन सक्छन्।
दोस्रो, हवाई आक्रमण वा सन् २०१९ मा जस्तो परम्परागत क्रूज क्षेप्यास्त्र आक्रमण पनि हुन सक्छ। तर त्यसो गर्दा पाकिस्तानले प्रत्याक्रमण गर्न सक्छ।
"जोखिम नभएको कुनै पनि विकल्प छैन। अहिले अमेरिकाको पनि ध्यान अन्यत्रै मोडिएको छ र यो सङ्कट समाधानमा सहयोग गर्ने इच्छुक नहुन सक्छ," दक्षिण एशियाली राजनीति अध्यापन गर्ने क्लारी भन्छन्।
लडाइँ हुने जोखिम कति
भारत र पाकिस्तान दुवै परमाणुअस्त्रसम्पन देश हुन्। त्यसैले ती दुईबीच तनाव चर्किँदा सबैतिर चासो र चिन्ता बढ्छ।
"परमाणुअस्त्रका कारण जोखिम र संयम दुवै हुन्छन्। तिनले दुवै पक्षका निर्णयकर्ताहरूलाई हिसाब गरेर निर्णय गर्न बाध्य बनाउँछ। कुनै पनि प्रतिक्रिया लक्षित र सटिक हुन सक्छन्।"
"पाकिस्तानले पनि प्रतिवाद गर्न सक्छ र त्यसपछि मात्रै मुख्य बाटोमा आउन सक्छ," राघवनले भने।
"हामीले यो प्रवृत्ति इजरेल-इरानजस्ता अन्य द्वन्द्वमा पनि देखेका छौँ - युद्ध नचर्किने गरी निश्चित ठाउँमा आक्रमण गर्ने अनि त्यसपछि द्वन्द्व घटाउने। तर सधैँ योजनाअनुसार काम अघि नबढ्दा जोखिम हुन सक्छ।"
कुगल्मनका अनुसार पुलवामा सङ्कटले दुवै देशले निश्चित हदसम्मको प्रतिवादलाई सहजै लिन्छन् भन्ने देखाएको छ।
"भारतले प्रतिवादको राजनीतिक र रणनीतिक फाइदासँगै गम्भीर द्वन्द्वको जोखिम पनि ख्याल गर्नुपर्छ," उनीले भने।
अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदूत हुसेन हक्कानी अहिलेको समयमा दुई पक्षबीच तनाव बढ्न सक्ने सम्भावना देख्छन्। उनका अनुसार सन् २०१६ मा जस्तै भारतले निश्चित हदसम्मको 'सर्जिकल स्ट्राइक' गर्न सक्छ।
"भारतका दृष्टिमा यस्तो आक्रमणको फाइदा उनीहरूसँग सीमित सम्भावना छ। त्यस अवस्थामा पाकिस्तानले कुनै प्रतिक्रिया जनाइरहनुपर्दैन। तर पनि भारतीय जनताका अगाडि भारतले केही गर्यो जस्तो देखाउन उनीहरू चाहन्छन्," हक्कानी भन्छन्।
"तर यस्ता आक्रमणले पाकिस्तानी प्रतिवाद पनि निम्त्याउन सक्छ। पाकिस्तानले कुनै पनि अनुसन्धानबिना घटनामा आफूलाई आरोपित गरिएको ठान्ने गर्छ।"
भारतको रोजाइ जेसुकै भए पनि अनि पाकिस्तानले जसरी त्यसको जबाफ दिए पनि प्रत्येक कदम जोखिमयुक्त छन्।
सँगसँगै भारतले आफ्नो भूमिमा आक्रमण हुने गरी भएको सुरक्षा विफलताको पनि समीक्षा गर्नुपर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।