भारतले गरेको हमलाबारे पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया

भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई "कायरतापूर्ण"को सङ्ज्ञा दिएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन्।

पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको ज्यान गएको बताएको छ।

के भने शरिफले

"शत्रुले पाकिस्तानभित्रका पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ। यो दूष्टतापूर्ण आक्रामक कारबाहीको (जबाफ दिइने छ)," प्रधानमन्त्री शरिफले भनेका छन्।

"बिनाउक्साहट गरिएको भारतीय हमलाका विरुद्ध निर्णायक प्रतिक्रिया दिने स्पष्ट अधिकार पाकिस्तानसँग छ – दृढ प्रतिक्रिया दिइँदै छ।"

उनले सम्पूर्ण देश उसको सैन्य फौजका पछाडि एकताबद्ध भएको अनि देशको मनोबल र इच्छाशक्ति उच्च रहेको पनि बताएका छन्।

"शत्रुलाई उसको दुर्भावनापूर्ण उद्देश्य हासिल गर्न कदापि दिइने छैन।"

भारतले के भन्यो

भारत सरकारले जारी गरेको विज्ञप्तिमा उसले पाकिस्तानविरुद्ध 'अपरेशन सिन्दूर' नामक सैन्य कारबाही सुरु गरेको उल्लेख छ।

उसले एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा "आतङ्कवादीहरूले पर्यटकमाथि हमला गरेर २६ जनाको ज्यान लिएको घटनाको बदलामा" यो कारबाही गरिएको भनेको छ।

भारतले नौ विभिन्न स्थानहरूलाई निसाना बनाई हमला गरिएको भनेको छ।

तर पाकिस्तानका प्रधानमन्त्री शरिफले चाहिँ पाकिस्तानका पाँच स्थानमा हमला भएको उल्लेख गरेका छन्।

जेट तथा ड्रोन खसालिएको दाबी

दिल्लीले आफूले "आतङ्ककारी संरचना"लाई निसाना बनाएको बताएको छ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले कैयौँ भारतीय जेट तथा एक ड्रोनलाई खसालिएको दाबी गरेका छन्। यसबारे भारतले कुनै टिप्पणी गरेको छैन।

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले बीबीसी उर्दूसँग कुरा गर्दै भारतले आतङ्ककारीहरूको स्थलमा प्रहार गरेको दाबीलाई अस्वीकार गरेका छन्।

"म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भन्न चाहन्छु कि उनीहरू स्वयं यहाँ आएर हेरून् - ती आतङ्ककारीका थलो हुन् वा गैरसैनिक नागरिकहरू बस्ने (इलाका) हुन्," उनले भने।

ध्वस्त भएका संरचनामा दुइटा मस्जिद समेत रहेको उनले बताए। साथै मारिएकामध्ये एक बच्चा र एक महिला भएको उनले बताए।

उनले भारतले ७ ठाउँमा आक्रमण गरेको जसमध्ये "२ वटा कश्मीरमा र ५ वटा पाकिस्तानमा रहेको बताए।"

पाकिस्तानको राजनीतिक दल पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले भारतीय आक्रमणको निन्दा गर्दै त्यसको जवाफ दिइने प्रतिक्रिया दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।