अमेरिकाविरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित, एक खेल बाँकी छँदै टी-२० शृङ्खला कब्जा

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

सुपर ओभरको रोमाञ्चक क्षणमा सोमपाल कामी नायक बनेपछि नेपालले अमेरिकालाई टी-२० क्रिकेटमा पराजित गरेको छ। जससँगै दुई खेलमा लगातार जित हासिल गरेको नेपालले तेस्रो खेल बाँकी छँदै शृङ्खलामा कब्जा जमाएको छ।

सुपर ओभरमा बलिङ गरेका सोमपालले पहिलो र दोस्रो बलमा १/१ रन दिँदै तेस्रो र चौथो बलमा सायन जहानगिर र एरोन जोन्सलाई लगातार आउट गरेपछि अमेरिका २ रनमा आउट हुनपुग्यो। 

जवाफमा नेपालले ४ बलमा ३ रन जोडेर जित हासिल गर्‍यो।

अमेरिकाको ड्यालसस्थित ग्रान्डप्रेरी रङ्गशालामा निकै रोमाञ्चक बनेको खेलमा स्थानीय समय अनुसार शनिवार साँझ एकपछि अर्को नाटकीय क्षण देखिएको थियो।

उक्त खेलमा नेपालले सुरुमा ब्याटिङ गर्दै कुशल भुर्तेलको आक्रामक इनिङ्सको सहयोगमा ६ विकेटको क्षतिमा १७० रनको बलियो स्कोर खडा गरेको थियो।

नेपालको जोडेको उक्त रनलाई सुरुमा बलियो स्कोर ठानिए तापनि त्यसलाई पछ्याउने क्रममा अमेरिकाले उत्कृष्ट ब्याटिङ गर्दै जितको नजिक पुगेको थियो। तर अन्तिम ओभरमा ७ रन बनाउन नसक्दा खेल बराबरी हुन पुग्यो।

तर पुन: सुपर ओभरमा आएर नेपाल बलियो बन्यो र विपक्षीलाई सहजै पराजित गर्न सफल भयो।

विश्वकप लीग-२ क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीका लागि प्रतियोगिताअघिको यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ।

नेपालले अक्टोबर २५ तारिखबाट अमेरिका र स्कटल्यान्ड सम्मिलित लीग-२ एक दिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।

सुपर ओभरका नायक - सोमपाल

सोमपालको दुई ओभर निकै अविस्मरणीय बने र तिनैले नेपालको जितको आधार तय गर्न सक्यो।

अन्तिम ओभरमा अमेरिकालाई खेल जित्न ७ रन मात्र चाहिएको अवस्था थियो। बलिङको जिम्मा नेपालका सोमपान कामीले लिए।

अमेरिकाले ३ बलमा ४ रन बनाएपछि अब जितको लागि मात्र एक चौकाको आवश्यकता थियो।

यस्तोमा ६२ रन बनाउँदै क्रिजमा राम्रोसँग जमिरहेका एन्ड्रेस गुसले चौकाको लागि ब्याट उठाए। चौकाको लागि गएको सो बल 'लङअन बाउन्ड्री' लाइनमा रहेका कुशल भुर्तेलले क्याच लिए।

अनि खेलले नयाँ मोड लियो।

अन्तिम बलमा अमेरिकालाई दुई रन चाहिएको सोमपालले कसिकसाउ बलिङ गरे। २ रनका लागि दौडेका जसदिप सिंहलाई आशिफ शेखले रन आउट गरेपछि खेल टाई भयो।

सुपर ओभरमा त सोमपालले लोभलाग्दो प्रदर्शन गरे। उनले लगातार २ बलमा विकेट लिएपछि अमेरिकाले पूरा ओभर खेल्न पाएन र मात्र २ रनमा समेटिन पुग्यो।

मुख्य खेलमा भुर्तेल नायक

सुपर ओभरमा सोमपाल नायक दरिए पनि नेपालको आजको प्रदर्शन तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलको प्रदर्शन वरिपरि घुम्यो।

आशिफ शेख आउट भएपछि २.४ ओभरमा क्रिजमा आएका भुर्तेलले इनिङ्स नसकिएसम्म क्रिजमा डटिरहे। जसक्रममा उनले ५४ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रन बनाए।

एक समय शतक बनाउने सम्भावना नजिक पुगेका भुर्तेलले केही बल डट खेल्न पुग्दा ९२ रनमा अविजित रहनु परेको थियो।

पछिल्लो समय लय लिन नसकिरहेको टिप्पणी भइरहेका बेला भुर्तेलको ब्याट लीग-२ अगाडि चलेको पाइन्छ।

भुर्तेलबाहेक अनिलकुमार शाह २५, गुलशन झा १९ र कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए।

त्यसैगरी अर्को ओपनर आसिफ शेखले १ रन, दीपेन्द्रसिंह ऐरी २, आरिफ शेखले एक रन बनाएका थिए।

अन्तिम ओभरमा १ बल मात्र खेल्न पाएका करण केसीले त्यसमा छक्का प्रहार गरेका थिए।

अमेरिकाबाट जसदीप सिंह र नोस्थस केन्जीगेले २/२ तथा सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।

जितको अर्थ

विश्वकप लीग-२ मा नेपाली टोली खराब अवस्थामा छ।

क्यानडामा खेलेका चारमध्ये तीन खेलमा नेपाल लगातार पराजित भएको थियो। एक खेल वर्षाको कारण अवरुद्ध हुँदा नेपालले कम्तीमा १ अङ्क पाएको थियो।

लीग-२ मा सहभागी ८ राष्ट्रमा नेपाल अहिले सातौँ स्थानमा खुम्चिएको छ। नेपालको जम्मा ३ अङ्क छ भने पुछारमा रहेको यूएईको २ अङ्क छ।

यस्तोमा लीगमा स्थितिमा सुधार ल्याउनका लागि अर्को साताबाट सुरु हुने चार खेल नेपालको लागि निकै महत्त्वपूर्ण देखिएको छ।

पछिल्लो लगातार पराजयपछि अमेरिकाविरुद्ध पाएको यो विजयले नेपाली खेलाडीहरूमा मनोबल थपिनेछ।

यद्यपि लीग-२ को खेल ५० ओभरको एक दिवसीय ढाँचाको हो भने हाल नेपालले २० ओभरको शृङ्खला खेलिरहेको छ।

खेल भइरहेको ग्रान्ड प्रेरी रङ्गशाला त्यही मैदान हो जहाँ नेपालले टी-२० विश्वकप खेलेको थियो।

रङ्गशालामा उपस्थित नेपाली समर्थकका कारण नेपालको चर्चा चुलिएको थियो। लीग-२ मा पनि नेपालले समर्थकहरूको साथ पाउने देखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।