तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्यालेस्टीनी राज्य स्थापना नभएसम्म निशस्त्र हुन हमासद्वारा अस्वीकार
- Author, थोमस म्याकिन्टस
- Role, बीबीसी न्यूज
गाजामा युद्धविराम गर्न इजरेलले राखेको एउटा मुख्य माग अस्वीकार गर्दै हमासले सार्वभौम प्यालेस्टीनी राज्य स्थापना नभएसम्म आफू निशस्त्र नहुने बताएको छ।
उक्त सशस्त्र प्यालेस्टीनी समूहले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका मध्येपूर्व दूत स्टिभ विटकफले हालै हमासले हतियार बिसाउन 'इच्छा देखाएको' भनेर गरेको टिप्पणीको प्रतिक्रिया दिएको हो।
सो क्षेत्रमा द्वन्द्व रोक्ने कुनै पनि सम्झौताका निम्ति हमासको निशस्त्रीकरणलाई इजरेलले एक प्रमुख शर्त मानेको छ।
वार्ता अवरुद्ध
इजरेल र हमासबीच युद्धविराम तथा बन्धक रिहाइबारे चलिरहेको अप्रत्यक्ष वार्ता गत साता अवरुद्ध भएको थियो।
फ्रान्स र क्यानडासहित कतिपय पश्चिमा देशहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना सार्वजनिक गरेपछि केही दिन यता अरब सरकारहरूले हमासलाई हतियार त्याग्न अनि गाजाको नियन्त्रण छाड्न आग्रह गरिरहेका छन्। यूकेले चाहिँ सेप्टेम्बरसम्म इजरेलले उसका केही शर्त नमाने त्यसो गर्ने भनेको छ।
अमेरिका, यूके र इयूद्वारा आतङ्ककारी घोषित हमासले एक विज्ञप्ति जारी गर्दै 'जेरुसलेम राजधानीसहितको स्वतन्त्र, तथा पूर्ण सार्वभौम प्यालेस्टीनी राज्य' स्थापना नभएसम्म आफ्नो 'विद्रोह तथा हतियार'का अधिकार नत्याग्ने भनेको छ।
इजरेली सेना इजरेल डिफेन्स फोर्स (आईडिएफ)का प्रमुख इयाल जमिरले शुक्रवार एक चेतावनी दिँदै हमासले बन्धक बनाएर राखेका मानिसहरूलाई चाँडै रिहा गर्ने बारे वार्ता विफल भए गाजामा युद्ध नथामिने बताए।
शनिवार एक बन्धक एम्यातार डेभिडको परिवारले अँध्यारो सुरुङमा कमजोर र माथिल्लो जीउमा लुगा नलगाएका अवस्थामा रहेका उनको भिडिओ हमासले सार्वजनिक गरेपछि एक विज्ञप्ति जारी गरे।
परिवारले उनलाई भोकै राखिएको तथा प्रोपागान्डाका लागि प्रयोग गरेको आरोप हमासलाई लगाएको छ। साथै परिवारले इजरेली सरकार र अमेरिकालाई उनको जीवनरक्षाका लागि हरसम्भव उपाय गर्न अपिल गरेको छ।
गाजामा व्यापक भोकमरी
विटकफ हाल इजरेल भ्रमणमा छन् जहाँ प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको सरकार गाजामा बिग्रँदै गएको मानवीय सङ्कटलाई लिएर दबावमा परिरहेको छ।
संयुक्त राष्ट्रसङ्घीय निकायहरूले त्यहाँ मानव सिर्जित आम भोकमरीको अवस्था आइपरेको भन्दै इजरेलमाथि दोष थोपरेका छन्। उक्त क्षेत्रमा आपूर्तिका सम्पूर्ण विन्दुहरूमा इजरेलको नियन्त्रण छ। इजरेलले त्यहाँ सहयोग सामग्री ढुवानीमा कुनै अवरोध नभएको र त्यहाँ कुनै भोकमरी नभएको बताउँदै आएको छ।
यसअघि शनिवार विटकफले तेल अभिभमा हालसम्म गाजामा बन्धक बनाइएका इजरेलीहरूका परिवारजनसँग भेटे।
अनलाइनमा राखिएका भिडिओमा विरोध प्रदर्शन भइरहने त्यहाँको एक स्क्वाएरमा पुग्दा उनलाई अभिवादन गरिएको र परिवारले उनीसँग तिनका मानिसहरूको रिहाइका निम्ति याचना गरेको देखिन्छ।
विटकफले शान्तिका निम्ति भएका प्रयासहरू आंशिक सहमतिभन्दा त्यहाँ द्वन्द्व रोक्न तथा सम्पूर्ण बन्धकहरूलाई फिर्ता गर्न केन्द्रीत हुनु पर्ने बताए।
उनले बिहीवार नेतन्याहुसँग भेटेका थिए भने शुक्रवार दक्षिणी गाजामा रहेको विवादित सहयोग वितरण केन्द्रको भ्रमण गरेका थिए।
संयुक्त राष्ट्रसङ्घले दिएका पछिल्ला आँकडा अनुसार मे महिना यता खानेकुरा लिन जाने क्रममा १३७३ जना प्यालेस्टीनीहरूले ज्यान गुमाएका छन्।
तीमध्ये अधिकांशलाई इजरेल र अमेरिका समर्थित गाजा ह्युमनिटारियन फाउन्डेशन (जीएचएफ)का वितरण केन्द्रहरूमा इजरेली सेनाले मारेको राष्ट्रसङ्घले बताएको छ।
इजरेलले चाहिँ ती केन्द्रहरू नजिक भिडलाई भड्काएको आरोप हमासमाथि लगाएको छ। आफ्नो सेनाले जानाजान गैरसैनिकहरूमाथि गोली नहान्ने उसले बताएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरेलमा हमला गरेर १२ सय मानिसको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएर लगेपछि इजरेली सेनाले गाजामा सैन्य कारबाही गरिरहेको छ।
यस अवधिमा गाजामा ६० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने कूपोषणका कारणमात्रै ९३ जना बालबालिका सहित १६९ जनाको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।