जेलेन्स्की चेतावनी : रुसलाई नरोके युक्रेनबाहेक अन्यत्र पनि कारबाही बढाउने छ

    • Author, रुथ कमरफोर्ड
    • Role, बीबीसी न्यूज

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नरोके उनले "युद्धलाई थप व्यापक र गहिरो बनाउँदै जाने" भन्दै चेतावनी दिएका छन्।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै उनले सहयोगीहरूले एकजुट भएर समर्थन नगर्ने हो भने धेरै देशहरूले रुसी आक्रमणको सामना गर्नु पर्ने हुन सक्ने बताएका हुन्।

सैन्य प्रविधिको विकास भइरहँदा सबै देशहरू हतियारको विश्वव्यापी होडबाजीको खतरामा परेको भन्दै उनले थपे, "को जोगिन्छ भन्ने हतियारले तय गर्छ।"

साथै उनले आर्टिफिसल इन्टेलिजन्स (एआई) बारे अन्तर्राष्ट्रिय नियमहरूको खाँचो समेत औँल्याए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस-युक्रेन युद्धबारे आफ्नो अडान परिवर्तन गरेसँगै जेलेन्स्कीको टिप्पणी आएको हो। ट्रम्पले "युक्रेनले आफ्नो सम्पूर्ण भूमि फिर्ता पाउन सक्ने" पहिलो पटक बताएका थिए।

जेलेन्स्कीले अन्तर्राष्ट्रिय संस्थाहरूको आलोचना गर्दै युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन ती "निकै कमजोर" रहेको बताए।

नेटोतर्फ स्पष्ट सङ्केत गर्दै उनले लामो समयदेखिको सैन्य गठबन्धनको हिस्सा हुनुको अर्थ "तपाईँ स्वत: सुरक्षित हुनुहुन्छ" भन्ने नरहेको पनि थपे।

"हामी अहिले मानव इतिहासकै विनाशकारी हतियारहरूको होडबाजीबाट गुज्रिरहेका छौँ," उनले भने।

उनले "रुसलाई अहिल्यै रोक्नु परमाणु युद्धशीर्ष बोक्ने ड्रोन सबैभन्दा पहिले कसले बनाउला भनेर सोच्नु पर्ने स्थितिभन्दा" सस्तो हुने तर्क गरे।

ती युक्रेनी नेताले युरोपले युक्रेन र युरोपेली सङ्घको सदस्य राष्ट्र रोमानिआको मध्यमा रहेको मोल्डोभालाई रुसी प्रभावमा जान दिने स्थितिको मूल्य चुकाउन नसक्ने पनि बताए। उनले पश्चिमले जोर्जा र बेलारूसलाई पुटिनको प्रभावमा जानबाट रोक्न सक्ने मौका गुमाएको टिप्पणी समेत गरे।

बिहीवार युरोपेली सङ्घसमर्थक मोल्डोभाका राष्ट्रपति माइया सन्दुले क्रेम्लिनमाथि मोल्डोभामा हिंसा भड्काउन र भय फैलाउन निकै पैसा खर्चिएको आरोप लगाएका थिए।

गतसाता फरक फरक घटनामा रुसले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि इस्टोनिया र पोल्यान्डले अन्य नेटो सदस्यहरूसँग विमर्शका निम्ति अनुरोध गरेका थिए। अर्को नेटो सदस्य रोमानियाले पनि रुसी ड्रोनहरूले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेको बताएको थियो।

मङ्गलवार संयुक्त राष्ट्रसङ्घको सम्बोधनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई क्षेत्रहरू उल्लङ्घन गर्ने रुसी जहाजहरूलाई खसाल्नु पर्ने बताएका थिए।

जेलेन्स्कीले ट्रम्पको प्रशंसा गर्दै उनीसँग "राम्रो बैठक" भएको बताए।

जेलेन्स्कीले मङ्गलवार ट्रम्पको धारणामा आएको "ठूलो परिवर्तन"को सराहना गर्दै "युद्ध समाप्त भएपछि" अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन चाहेको आफूले बुझेको बताएका थिए।

त्यसलाई प्रस्ट्याउन गरिएको आग्रहमा उनले आफूसँग विशिष्ट विवरणहरू नभएको बताउँदै थप हतियार, हवाई प्रतिरक्षा र ड्रोनहरूको सम्भावनातर्फ सङ्केत गरेका थिए।

त्यस्तै ट्रम्पले "युक्रेनमा अर्थहीन लडाइँ लडिरहेको" भन्दै रुसलाई "कागजी बाघ"को संज्ञा दिएका थिए।

त्यसमा क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोको प्रतिक्रिया थियो, "रुस कुनै पनि तरिकाले बाघ होइन बरु यो भालुसँग बढी जोडिन्छ र कागजी भालु भन्ने कुनै चिज हुँदैन।"

उनले सम्भवत: "जेलेन्स्कीको दृष्टिकोणबाट प्रभावित भएर ट्रम्पको टिप्पणी आएको" पत्रकारहरूलाई बताए।

"यो दृष्टिकोण अहिलेको स्थितिबारे हाम्रो बुझाइको बिल्कुल उल्टो छ।"

यिनै घटनाक्रमका बीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधवार आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गरेका छन्। गत महिना ट्रम्पले पुटिनलाई अलास्का निम्त्याएयता यो दुई देशका अधिकारीबीच भएको उच्च स्तरको वार्ता हो।

अमेरिकी विदेश मन्त्रालयको सङ्क्षिप्त वक्तव्यमा रुवियोले युद्धको दीर्घकालीन समाधानका निम्ति रुसले सार्थक कदम चाल्नुपर्ने ट्रम्पको पुरानै आग्रह दोहोर्‍याएका जनाइएको छ।

क्रेम्लिनले उक्त बैठकबारे प्रतिक्रिया दिएको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।