किएभले युक्रेनको पूरै भूमि फिर्ता पाउन सक्ने ट्रम्पको भनाइ

    • Author, रुथ कमरफोर्ड र एन्थनी जर्चर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किएभले "पूरै युक्रेन मूल स्वरूपमा हासिल गर्न सक्ने" बताएका छन्। उनको यो भनाइले रुस-युक्रेन युद्धबारे उनको अडानमा महत्त्वपूर्ण परिवर्तन आएको सङ्केत गर्छ।

आफ्नो सामाजिक प्ल्याटफर्म 'ट्रूथ सोसल'मा लेख्दै उनले युरोप र नेटोको सहयोगमा, रुसी अर्थतन्त्रमा परेको दबावका कारणयुक्रेनले "युद्ध सुरु हुँदाको बेलाको सीमाको स्वरूपमा फिर्ता पाउन सक्ने" बताएका हुन्।

मङ्गलवार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गरेपश्चात् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी भएसँगै उनको यो टिप्पणी आएको हो।

ट्रम्पले बारम्बार युद्ध समाप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। यद्यपि यसअघि उनले उक्त प्रक्रियामा युक्रेनले केही क्षेत्र छाड्नु पर्ने सम्भावना हुने बताएका थिए र जेलेन्स्कीले त्यसमा लगातार विमति राख्दै आएका थिए।

उक्त पोस्टमा ट्रम्पले युक्रेन "त्यसभन्दा पनि अघि बढ्न सक्ने" सम्भावना औँल्याएका छन् तर त्यसो भनेर उनले के कुरातर्फ सङ्केत गर्न खोजेका हुन् भन्ने खुलाएका छैनन्।

त्यस्तै उनले क्राइमियाबारे पनि बोलेका छैनन्। सन् २०१४ मा उक्त क्षेत्रमाथि आक्रमण गरेर कब्जा जमाएको रुसले सन् २०२२ बाट युक्रेनविरुद्ध पूर्ण युद्ध थाल्यो।

ट्रम्पले "युक्रेन र रुसको सैन्य तथा आर्थिक स्थितिबारे पूरै बुझेपछि" आफ्नो दृष्टिकोणमा परिवर्तन आएको बताएका छन्।

"पुटिन र रुस ठूलो आर्थिक सङ्कटमा छन् र यो युक्रेनले काम गर्ने समय हो," रुसलाई "कागजी बाघ"को संज्ञा दिँदै उनले थपेका छन्।

जेलेन्स्की के भन्छन्?

जेलेन्स्कीले ट्रम्पको धारणामा आएको "ठूलो परिवर्तन"को सराहना गरेका छन्। उनले "युद्ध समाप्त भएपछि" अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन चाहेको आफूले बुझेको बताएका छन्।

त्यसलाई प्रस्ट्याउन गरिएको आग्रहमा उनले भने, "म झुटो बोल्न चाहन्नँ, हामीसँग विशिष्ट विवरणहरू छैनन्।" त्यसो भन्दै गर्दा उनले थप हतियार, हवाई प्रतिरक्षा र ड्रोनहरूको सम्भावनातर्फ सङ्केत गरे।

पछि 'फक्स न्यूज'सँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनसम्बन्धी अडानबारे ट्रम्पको 'ट्रूथ सोसल'मा व्यक्त धारणाले आफूलाई पनि अचम्भित पारेको तर त्यसलाई आफूले "सकारात्मक सङ्केत"का रूपमा लिएको बताए। साथै उनले ट्रम्प र अमेरिका "युद्ध अन्त्य हुँदासम्म युक्रेनको साथमा खडा हुने" पनि बताए।

"पुटिनले धेरैपटक राष्ट्रपति ट्रम्पसँग झुटो बोलेका कारण पनि हामीबीच भिन्नता पैदा गर्‍यो भन्ने मलाई लाग्छ," फक्स न्यूजका प्रस्तोतासँग उनले भने।

त्यसअघि मङ्गलवार संयुक्त राष्ट्रसङ्घको सम्बोधनपछि ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई क्षेत्रहरू उल्लङ्घन गर्ने रुसी जहाजहरूलाई खसाल्नु पर्ने बताएका थिए।

मङ्गलवारको बैठकपछि नेटोले एउटा वक्तव्यमार्फत् रुसले हवाई क्षेत्र उल्लङ्घन गरेकोमा त्यसको निन्दा गर्दै "सबै किसिमका सैन्य र गैरसैन्य उपायहरू" अपनाउन सक्ने चेतावनी दिएको थियो।

'ट्रूथ सोसल'मा ट्रम्पको मङ्गलवारको पोस्टले उनको धारणामा ठूलो परिवर्तन आएको दर्शाउँछ। यसअघि उनले वर्षभरजसो युक्रेनको स्थिति निकै गम्भीर रहेको बताउँदै आएका थिए।

गत फेब्रुअरीमा जेलेन्स्कीसँग ओभल अफिसमा भएको तिक्ततापूर्ण कुराकानीमा ट्रम्पले त्यति ठूलो र धेरै जनसङ्ख्या भएको देशसँगको युद्धमा जित हासिल गर्न युक्रेनसँग "तत्काल कुनै बाटो नभएको" बताएका थिए।

त्यस्तै अगस्टमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नुअघि ट्रम्पले युक्रेनको केही भूमि फिर्ता गर्न कोसिस गर्ने तर त्यस क्रममा "केही सट्टापट्टा तथा भूमिमा परिवर्तन हुन सक्ने" बताएका थिए।

त्यतिबेला उनले जेलेन्स्कीलाई डोनेट्स्क र लुहान्स्क पूर्ण रूपले त्याग्न र त्यसको सट्टामा रुसले बाँकी युद्धमोर्चाको कारबाही रोक्ने विषयमा दबाव दिने योजना बनाएका विवरणहरू आएका थिए। उक्त प्रस्ताव अलास्कामा पुटिनले प्रस्ताव गरेको भनिएको थियो।

सँगसँगै ट्रम्पले बारम्बार रुसविरुद्ध कडा उपाय अपनाउने चेतावनी दिँदै आएका छन् तर रुसले उनले दिएका समयसीमा र प्रतिबन्धको चेतावनीलाई बेवास्ता गर्दा पनि कुनै कदम चाल्न अहिलेसम्म विफल छन्।

ट्रम्पले आफ्नो अभिव्यक्तिलाई जसरी बिट मारेका छन् सायद त्यो नै यसको सबैभन्दा ध्यान दिनु पर्ने हिस्सा हो। त्यसमा अमेरिकाले नेटोलाई हतियार बेच्न जारी राख्ने आश्वासन छ जुन युक्रेन पठाउन सकिने छ।

यो बाइडन प्रशासनले युक्रेनको युद्धमा जनाएजस्तो खुला प्रतिबद्धता जस्तो देखिँदैन तर ट्रम्पले यसअघि देखाएका रुचीभन्दा निकै अधिक भने हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।