कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला

डेढ दशकअघिको एउटा घटनामा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चारजनालाई दोषी ठहर गर्दै जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ।

बिहीवार जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित अन्य तीन जनालाई त्यस्तो सजाय सुनाएको हो।

आलमसहित प्रतिवादीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरेको भन्दै मुद्दा दायर गरिएका थिए।

विसं २०६४ सालमा रौतहटको राजपुरमा भएको एउटा बम विस्फोटन र त्यसपछि प्रमाण नष्ट गर्न गरिएको व्यक्तिहरूको हत्यासम्बन्धी मुद्दामा उनीहरू दोषी पाइएका हुन्।

उक्त वर्षको चैत २७ गते राजपुरस्थित शेख इन्द्रिसको घरमा बम विस्फोट हुँदा मानिसहरू मारिएका थिए।

उक्त घटनाको प्रमाण नष्ट गर्नका लागि आलमसहितका व्यक्तिहरूले स्थानीय इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेको अभियोग लगाइएको थियो।

फैसलामा के छ?

जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार प्रतिवादी ११ जनामध्ये चार जनालाई जन्मकैदको फैसला भएको हो।

उनले भने, "यो मुद्दामा ११ जना प्रतिवादी हुनुहुन्छ र त्यसमध्ये ६ जना प्रतिवादीहरू मोहम्मद मोबिन, शेख अजलेहब, शेख भदै, सागिर आलम, गौरिशङ्कर शाह र शेख मलाकरको हकमा मुल्तबीको अवस्था रहेको छ।"

"प्रतिवादीहरू मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीको हकमा साबिक मुलुकी ऐन-२०२० अनुसार जन्मकैदको सजाय हुने फैसला भएको छ। मुक्ति शाह भन्ने एकजना प्रतिवादीलाई चाहिँ सफाइ भएको छ।"

डेढ दशक पुरानो घटना

जन्मकैद पाउने महताब आलम अफताबका भाइ हुन्।

पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा एकदिन अघि उक्त घटना भएको थियो।

शेख इन्द्रिस अफताबका काका हुन् र उनको घरमा बम बनाउँदै गर्दा त्यो विस्फोट भएको थियो।

ढोडारीले भने,"यो घटनाको १७ वर्षपछि साबिकको मुलुकी ऐन अनुसार भएको फैसला हो।"

उक्त फैसलाबारे आलमले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्न सक्नेछन्।

आलमसहित प्रतिवादीविरुद्ध विसं २०७६ मा मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा कांग्रेस नेता आलम त्यसै वर्ष पक्राउ परेका थिए।

त्यसपछि उनलाई पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा पठाइएको थियो र अहिले पनि उनी उक्त कारागारमै रहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।