तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको बन्दुक हमलाबारे हामीलाई के थाहा छ?
सिड्नीस्थित बोन्डाइ बीचमा एउटा यहुदी पर्वलाई निशाना बनाइएको आक्रमणमा बन्दुकधारीहरूले ११ जनाको ज्यान लिएका छन्।
प्रहरीले एक जना हमलाकारी मारिएको र अर्को एक जना अस्पतालमा रहेको र तेस्रो व्यक्ति संलग्न रहे या नरहेको अनुसन्धान चलिरहेको जनाएको छ।
कैयौँ विस्फोटक सामग्रीहरू कारमा फेला परेका छन् र प्रतिआतङ्कवाद प्रहरीले अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।
न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सका अनुसार अर्को एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले उक्त आक्रमण 'सिड्नीको यहुदी समुदायमाथि निशाना साँध्ने लक्ष्य' राखेर भएको बताएका छन्।
"शान्ति र हर्षको साँझ हुनुपर्ने थियो तर भयावह, दानवी आक्रमणले त्यसलाई चकनाचुर पारिदियो" उनले पत्रकार सम्मेलनमा भने।
अष्ट्रेलीयाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले बोन्डाइका दृश्यहरूलाई 'स्तब्ध तुल्याउने र पीडादायी' भनेका छन्।
बीबीसीसँग कुरा गरेका एक जना प्रत्यक्षदर्शीले हानका कार्यक्रम चलिरहेका बेला गोली चल्न थालेको भन्दै आफू बच्चाहरू लिएर भागेको बताएका छन्।
'सन्दिग्ध हमलाकारीको कारमा विस्फोटक सामग्री'
प्रहरीले उक्त आक्रमणलाई आतङ्कवादी हमलाको रूपमा सूचीकृत गरेको छ।
न्यू साउथ वेल्सका प्रहरी कमिस्नर मल लेनीओनले प्रहरीले स्थानीय समय अनुसार साँझको ६ बजेर ४७ मिनेटमा बोन्डाइ बीचको घाँसे क्षेत्रमा रहेको आर्चर पार्कमा गोली चलेको जानकारी पाएको बताए।
उनले कम्तीमा १२ जनाको ज्यान गएको र अन्य २९ जना विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए। घाइतेमध्ये दुई जना प्रहरी अधिकारीहरू छन् र उनीहरूको अवस्था गम्भीर छ।
प्रहरी कमिस्नरका अनुसार प्रति आतङ्कवाद निकायले यसबारे 'भित्रैसम्म पुग्ने गरी अनुसन्धान' गर्नेछ। "(अनुसन्धानमा) कुनै कसर बाँकी राखिनेछैन।"
उनले दोस्रो आक्रमणकारी अस्पतालमा गम्भीर अवस्थामा रहेको पनि पुष्टि गरेका छन्।
न्यू साउथ वेल्सका प्रहरी कमिस्नरले लेनीओनले भने, "हनुकाको पहिलो दिनमा यस्तो भएको छ… जस्तो खालको हतियार प्रयोग भयो…घटनास्थलमा जस्तो सामग्री हामीले फेला पार्यौँ र मैले भनिसके ज्यान गुमाएका एक जना आक्रमणकारीसँग सम्बन्धित कारमा हामीले विस्फोटक पदार्थ फेला पारेका छौँ।"
उक्त विस्फोटक सामग्रीलाई निष्क्रिय बनाइएको र हटाउने काम भइरहेको प्रहरीले बताएको छ।
प्रहरी कमिस्नरले पीडितहरूको उमेरबारे आफूले अहिले केही खुलाउन नसक्ने भन्दै अस्पताल लगिएका मध्ये एक जना नाबालिग रहेको हुनसक्ने बताए।
अस्ट्रेलियामा भिडमाथि आक्रमण हुनुलाई न्यू साउथ वेल्सका प्रिमिअरले दुर्लभ घटनाका रूपमा चित्रित गरेका छन्।
क्रिश मिन्सले भने, "त्यहीँ भएर पनि हामी थप स्तब्ध भएका छौँ। यदि हामीले कुनै परिवर्तन गर्नुपर्ने हुन्छ भने हामी तत्कालै गर्नेछौँ।"
प्रहरीले हानका पर्वको आरम्भमा आयोजित उक्त कार्यक्रम बोन्डाइ बीचमा चलिरहँदा एक हजार जना भन्दा बढी सहभागी रहेको उल्लेख गरेको छ।
घटनास्थलमा विस्फोटक पदार्थ फेला परेपछि बम डिस्पोजल टोली पनि त्यहाँ परिचालन गरिएको छ।
प्रहरीले अहिले नै आक्रमणकारीबारे केही बताइसकेको छैन तर तेस्रो बन्दुकधारी पनि हमलामा संलग्न रहे या नरहेको अनुसन्धान चलिरहेको उनीहरूले उल्लेख गरेका छन्।
प्रत्यक्षदर्शी ब्यारीले आफूले पुलमा रहेका दुई जनाले भिडमाथि गोली चलाइरहेको देखेको बताए। उनका अनुसार जमिनमा शवहरू थिए।
घटनास्थलको भिडिओ फुटेजमा दुई जना सन्दिग्ध आक्रमणकारीहरू कालो पोसाकमा देखिन्छन्। उनीहरूले एउटा पुलबाट बोन्डाइ बीचतर्फ गोली हानिरहेको दृश्य उक्त फुटेजमा देखिन्छ।
ब्यारी र उनका साथीहरू साथीको कारमा लुकेर भाग्न सफल भए। उनले अस्ट्रेलियामा यहुदीहरूको कार्यक्रममा अहिलेको समयमा यस्तो आक्रमण होला भनेर पत्याउन नसकेको प्रतिक्रिया दिइका छन्।
भिडिओमा कैयौँ पटक गोली चलेको र पृष्ठभूमिमा प्रहरीको साइरन बजेको सुन्न सकिन्छ।
पैदल यात्रीले प्रयोग गर्ने सानो पुल नजिकैको खजुरको रुखमा बन्दुकधारीले आड लिएको पनि देख्न सकिन्छ। प्रहरीसँगको गोली हानाहानमा कम्तीमा एक जना हमलाकारी मारिएको भनिएको छ।
हमलाबारे कसले के भने?
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले बोन्डाइ बीचमा भएको निन्दनीय क्रमण अकल्पनीय रहेको बताएका छन्।
उनले अरूलाई जोगाउन खतराको सामना गरेका व्यक्तिहरूलाई 'नायक' का रूपमा चित्रण गरेका छन्।
"यो आतङ्कवाद र दुष्ट याहुदी विरोधी गतिविधिले हाम्रो देशको मुटुमा प्रहार गरेको छ," अस्ट्रेलियाका प्रधानमन्त्रीले थपे।
उनले घृणा र हिंसात्मक गतिविधिका लागि कुनै स्थान नरहेको पनि बताए।
यसै गरी इजरेलका राष्ट्रपति आइज्याक हर्जोगले 'निच आतङकवादी'हरूले यहुदीहरूमाथी क्रूर आक्रमण गरेको बताए।
उनले यहुदी विरोधी भावनासँग लड्न अस्ट्रेलिया सरकारलाई आह्वान गरेका छन्।
न्यूजील्याण्डका प्रधानमन्त्री, युरोपेली सङ्घका अध्यक्ष र ब्रिटेनका प्रधानमन्त्रीसहितले घटनाले स्तब्ध तुल्याएको भन्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
ब्रिटेनका प्रधानमन्त्री सर किअर स्टार्मर यूके सधैँ अस्ट्रेलिया र यहुदी समुदायसँग उभिने धारणा राखेका छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले हानका मनाउन जम्मा भएका परिवारहरूमाथि सिड्नीमा यहुदी विरोधी आतङ्कवादीहरूले आक्रमण गरेको भन्दै अस्ट्रेलियाका नागरिकहरूको पीडामा सँगै उभिएको बताएका छन्।
उनले यहुदी विरोधी घृणाविरुद्ध निरन्तर लडिरहने पनि उल्लेख गरेका छन्।
घटनास्थलमा रहेकी बीबीसी संवाददाता के भन्छिन्?
एउटा क्षेत्रलाई नै निषेधित गरिएको छ र त्यहाँ सन्दिग्ध विस्फोटक सामाग्री हुनसक्ने भन्दै जाँच पडताल अघि बढाइएको छ।
प्रहरीहरूले उक्त तटीय क्षेत्रमा यहुदीहरूको पर्व हानकाको समारोह चलिरहेको बेला गोली हानिएको भए पनि त्यो आक्रमण त्यस पर्वसँग सम्बन्धित रहे या नरहेको प्रस्ट नभएको उल्लेख गरेका छन्।
बोन्डाइ बीचमा रहेकी बीबीसीकी टेसा वङ भन्छिन् उक्त टापुको भिडभाड हुने र जीवन्त रहने उत्तरी भागमा अवस्थित क्षेत्रमा गोली चलेको हो।
"हानकाको कार्यक्रम टापु पछाडिको घाँसे क्षेत्रमा भइरहेको थियो र त्यहाँ नजिकै पैदल पार गर्ने एउटा पुल थियो जुन उक्त टापु वारपार गर्न प्रयोग गरिन्थ्यो र हमलाकारीहरूले त्यहाँबाट लुकेर आक्रमण गरेका थिए।"
आक्रमण हुनुभन्दा एक घण्टा अघि आफूले उक्त पुल पार गरेको भन्दै उनले त्यस बेला कार्यक्रम पूर्ण स्तरमा चलिरहेको र कम्तीमा २०० जना मानिसहरूले चर्को सङ्गीतमा रमाइरहेको र विभिन्न मनोरञ्जनात्मक खेलमा सहभागी भइरहेको उनले जनाइन्।
कार्यक्रमस्थललाई घेर्ने गरी एउटा फलामे अवरोध पनि राखिएको र ब्यागहरू जाँच हुने जस्तो खालको एउटा गेट पार गरेर मानिसहरू जानुपर्ने अवस्था आफूले देखेको तर समग्र सुरक्षाको प्रबन्ध भने न्यून नै देखिएको वङले उल्लेख गरिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।