तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सन् २०२५ मा बसोबास गर्न सर्वाधिक योग्य सहरहरू
- Author, लिन्डसी ग्यालोवे
ग्लोबल लिभेबिलिटी इन्डेक्स भनिने बसोबासको हिसाबले उत्कृष्ट सहरहरूको नाम समेटिने सूचकाङ्कमा वर्षौँदेखि अस्ट्रियाको राजधानी भिएना सहर शीर्ष स्थानमा पर्दै आएको थियो। तर सन् २०२५ को सूचीमा भने केही फेरबदल भएको छ। कोपन्हेगनदेखि मेल्बर्नसम्मका बासिन्दालाई बसोबासको हिसाबले उत्तम मानिएका ती प्रसिद्ध सहरहरूमा बस्दा कस्तो अनुभव हुन्छ भनेर सोधिएको थियो।
द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू)ले लामै समयदेखि संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ। त्यसका लागि सबैभन्दा आरामदायी र सुरक्षित सहरहरू निर्धारण गर्न विभिन्न तथ्याङ्कहरूलाई आधार मान्ने गरिन्छ।
विगत केही वर्षदेखि त्यस्तो सूचीको उच्च स्थानमा उल्लेख्य रूपमा पहिलेदेखि नै समावेश रहेका सहरहरू नै रहँदै आएका थिए। तर सन् २०२५ मा त्यसमा केही फेरबदल हुन पुगेको देखिएको छ। तेह्र वर्षमा पहिलो पटक भिएना सर्वोच्च स्थानमा छैन। स्थायित्व, शिक्षा र भौतिक पूर्वाधारहरूको त्रिपक्षीय गुणहरूका साथ डेन्मार्कको राजधानी कोपन्हेगन शीर्षस्थानमा छ।
सन् २०२५ को सूचीमा देखिएको फेरबदल सहरहरूलाई प्राप्त अङ्कमा मात्र देखिएको छैन त्यसमा सुरक्षा र विश्वव्यापी रूपमा बढ्दो भूराजनीतिक तनावहरूको पनि प्रभाव परेको छ। खास गरी भिएनाको सन्दर्भमा सन् २०२४ मा त्यहाँ बम हमला हुन सक्ने चेतावनी जारी भएको थियो र चर्चित गायिका टेलर स्विफ्टको साङ्गीतिक कार्यक्रम रद्द गर्नुपरेको थियो। त्यस्ता साथै हालै मात्र त्यहाँको एउटा रेल स्टेशनमा नियोजित बम हमला भएको थियो।
यद्यपि पश्चिमी युरोप अनि अस्ट्रेलिया, न्यूजील्यान्ड र क्यानडाका सहरहरू बसोबासका दृष्टिले अझै पनि सर्वोत्तम स्थानका रूपमा रहेका छन्। शीर्ष १० भित्र परेको जापानको ओसाका एकमात्र एशियाली सहर को। यी उच्च अङ्क पाएका सहरहरूको बसाइ र जनजीवन कस्तो छ त भनेर हामी त्यहाँका केही बासिन्दालाई सोधेका छौँ।
कोपन्हेगन
सबैभन्दा अग्रस्थानमा रहन पुगेको डेन्मार्कको राजधानी सहरलाई हालै मात्र संसारको सबैभन्दा खुशी सहर पनि भनिएको थियो। कोपन्हेगनमा उच्च तहको स्थायित्व, भौतिक पूर्वाधार र वातावरणीय अवस्थाका कारण त्यसको प्रभाव सोझै त्यहाँका बासिन्दाको दैनिक खुसीयालीहरूमा प्रत्यक्ष पर्न जाने नै भयो।
"२:१६ मा आउनुपर्ने रेल ठ्याक्कै २:१६ मा नै आउँछ। महँगो रेस्टुराँमा अनौपचारिक स्नीकर्स जुत्ता लगाएर गए पनि कसैले आँखा झिमिक्कसम्म गर्दैनन् र आँटै गर्ने हो भने ज्यानुअरीको महिनामा समेत बन्दरगाहको कञ्चन सफा पानीमा पौडी खेल्न सकिन्छ," कोपेन्हेगन निवासी टमस फ्राङ्किलिन भन्छन्। उनी फिनटेक कम्पनी स्वाप्ड डट कम का सीईओ हुन्।
"कोपन्हेगन सहरको शान्त वातावरणले मलाई जहिल्यै मेरो मन जित्ने गर्छ।यहाँका सडकहरू फराकिला छन्, सहरमा मोटरकारहरूभन्दा साइकलहरूको सङ्ख्या बढी छ र यो सहर यहाँका मानिसहरूको सहजबुद्धिको आधारमा चल्छ।"
फ्र्याङ्किलिन यो सहरको सामुदायिक भावना र तनावरहित वातावरणको पनि प्रशंसा गर्छन्। त्यसको अर्थ यहाँ बिना कुनै योजना खोला या तलाउको किनारमा साथीसँग भेटेर दुई घण्टासम्म कफी खाँदै मजाले गफिन सकिन्छ। आकाश धेरैजसो समय खैरो रहने गरे पनि यो सहर यहाँका हाट बजारजस्ता खुला बजारहरू, तातो पानी बाफको सार्वजनिक स्थानघर सोना र पार्कमा खेल्दै दौडिरहेका बालबालिकाहरूको आवाजका कारण चहकिलो देखिन्छ। अमेरिकी पत्रकार ओलिभिया लिभेङ यो सहरमा आठ वर्षअघि बसाइ सरेकी थिइन्।
उनी भन्छिन्, "यहाँ बालबालिका हुर्काउन अपेक्षा नै नगरिने खालको राम्रो अनुभव" भएको छ। हाम्रो साढे दुई वर्षको छोरा यहाँ राज्यले एकदमै धेरै अनुदान दिएको दिवा शिशु स्याहार केन्द्रमा जान्छ। र हामीले तिरेको करको पैसा कस्तो कस्तो सुविधामा लगानी भएको छ भनेर साँचो अर्थमा नै देख्न सकिन्छ।"
काम र निजी जीवनबीचको सन्तुलन 'वर्क लाइफ ब्यालेन्स' को राम्रो अवस्थाले पनि यो सहरमा बस्ने परिवारहरूलाई फाइदा पुगेको छ। यहाँ अवस्थित धेरैजसो कम्पनीहरूले आफ्ना कर्मचारीलाई हरेक वर्ष जुलाई महिनामा तीन हप्ता छुट्टी लिन प्रोत्साहित गर्छन्।
यसका साथै लिभेङको अनुभवमा सहरको भौतिक पूर्वाधार एकदमै सोचविचार गरेर बनाइएको छ। "सबै मेट्रो रेल स्टेशनहरूमा विद्युतीय एलिभेटरहरू छन्, सार्वजनिक यातायातका साधनहरू सफासुग्घर र भरपर्दा छन् र बसहरूमा पनि बच्चा राखेर गुडाउने स्ट्रोलरहरू राख्न सकिन्छ," उनी भन्छिन्। यस्तो सुविधा न्यूयोर्क सहरसँग दाँजेर हेर्दा आकाशजमिनको फरक देखिने उनी बताउँछिन् जहाँ सबवेहरूमा लिफ्टको सुविधा नहुँदा बच्चाहरू बोक्ने पुशचेअर बोकेर यात्रा गर्नुपर्दा ठूलो चुनौतीको सामना गर्नुपर्छ।
भिएना
अस्ट्रियाको राजधानी सहर सूचीको पहिलो स्थानबाट दोस्रोमा झरेको त छ तर यो सहरमा उपलब्ध स्वास्थ्य सेवाको सर्वोत्तम अङ्कले यसलाई अन्य सबै सहरभन्दा यो विषयमा अग्रस्थानमा राखेको छ। शिक्षा र भौतिक पूर्वाधारको मापदण्ड अनुसार पनि यसले आफ्नो पुरानो उत्कृष्टतालाई कायमै राखेको छ। यी विषयहरू यस्ता हुन् जो त्यहाँका बासिन्दा प्रशंसा गरेर थाक्दैनन्।
"म खासमा न्यूयोर्कको मान्छे हुँ र म चार वर्षअघि यहाँको जीवनशैलीबाट लोभिएर भिएनामा बसाइँ सरेको हुँ र अब मेरो उता फर्कने कुनै योजना छैन," एक राष्ट्रसङ्घीय निकाय यूनिडोमा सञ्चार परामर्शदाताका रूपमा कार्यरत न्याटली ओ'कोनेल भन्छिन्। "यहाँ मैले यस्तो गुणस्तरीय जीवनशैली पाएको छु जुन मेरो विचार कुनै पनि ठूलो सहरमा पाउन सम्भव छैन।"
यो सहरको मुख्य आकर्षण भनेको आफ्नो क्षमता अनुसारको खर्चमा सेवा सुविधा पाउन सकिने अवस्था रहेको उनी बताउँछिन्। यहाँ घरभाडा एकदमै उचित मूल्यमा पाइन्छ। सहरको केन्द्रमा एक बेडरूमको फ्ल्याट प्रतिमहिना ८५० युरोभन्दा कम दरमा पाइन्छ। भिएनाको विस्तारित सार्वजनिक यातायातको नेटवर्क पनि सफा र सस्तो छ। यहाँका बासिन्दाका लागि प्रतिदिन एक युरोको खर्चमा सार्वजनिक यातायात सेवा लिन पाइन्छ।
जिनिभा
स्विट्जरल्यान्ड त्यहाँको बासिन्दाका निम्ति गुणस्तरीय जीवनशैलीका लागि नियमित रूपमा नै उच्च स्थानमा पर्ने गर्दछ। यसका लागि स्थानीयवासीको सुस्वास्थ्य र सहज जीवनलाई सघाउने नीति र भौतिक पूर्वाधारहरू जिम्मेवार छन्। ज्युरिक र जिनिभा दुवै सहरहरू यो वर्षमा पनि शीर्ष पाँचौँ स्थानभित्रै परेका छन्।
तर जिनिभाका बासिन्दाहरू भन्छन् उनीहरूको सहरहरूको वातावरण नै बेग्लै छ - त्यो सघन र सहज छ तर संसारको केन्द्रमा हुनुपर्ने सबै सुविधाहरूसहित। केही वर्षअघि फ्लोरिडाबाट यहाँ बसाइँ सरेका जेम्स एफ रोयाल भन्छन्,"जिनिभा एउटा सुसञ्चालित देशमा अवस्थित एउटा सुसञ्चालित सहर हो।" उनी भन्छन्, "यहाँ एउटा ठूलो सहरमा पाइने जस्तो थुप्रै सुविधाहरू छन् जस्तै सङ्गीत, कला, व्यवसाय। तर ती सबै सानो सहज वातावरणमा उपलब्ध छन्। त्यसको अर्थ हो सहरी जीवनका सबै सुख भोग गर्न पाइन्छ त्यसका स्वाभाविक असुविधाहरूबाहेक।"
सूची तयार गर्ने क्रममा स्वास्थ्य सेवा र भौतिक पूर्वाधार जस्ता विधामा सम्पूर्ण अङ्क प्राप्त गरेको यो सहर सफासुग्घर, सुरक्षित र यात्रा गर्नका लागि सहज छ। "तपाईँ आफ्नो गन्तव्यसम्म हिँडेर जाने हो वा सघन रूपमा उपलब्ध सार्वजनिक यातायात प्रणालीको प्रयोग गर्ने हो आफ्नै निजी मोटरकारबिनै तपाईँ सजिलै पुग्न सक्नु हुन्छ।" यी सुविधाका अतिरिक्त स्विट्जरल्यान्ड यहाँको भरपर्दो रेल प्रणाली र केन्द्रीय भौगोलिक अवस्थितिका कारण केही घण्टाको यात्रामा नै बाँकी युरोपका लगभग सबै देशहरूमा पुग्न सकिने गरी सुगम छ।
मेल्बर्न
सूचीमा यो वर्ष चौथो स्थानमा रहेको मेल्बर्न सहरले स्वास्थ्य सुविधा र शिक्षाको विधामा सम्पूर्ण अङ्क प्राप्त गरेका छन्। तर यो अस्ट्रेलियाली सहरले सांस्कृतिक गतिविधि र स्वच्छ वातावरणको विधामा प्राप्त गरेको उच्च अङ्कले यसलाई देशका सिड्नी एडिलेइडजस्ता अन्य सहरहरूको दाँजोमा माथिल्लो स्थानमा पुर्याएको छ। ती सहरहरू पनि शीर्ष १० उत्कृष्ट सहरहरूको सूचीभित्रै पर्छन्।
भौतिक पूर्वाधारहरूको हिसाबले पनि मेल्बर्न उच्च स्थानमा परेको छ। र यो सहरका एक बासिन्दा ओलिभर मोरिसी भन्छन् उनले आफ्नो वकालतको कार्यालय यहाँ स्थापना गर्नुको पछाडि अन्य कुनै पनि सहरमा सजिलै पाउन नसकिने समग्र कार्यकुशलताको अवसरको उपलब्धता हो। "म १५ मिनेटभित्रै यहाँको सर्वोच्च अदालतबाट हिँडेर मेरा सेवाग्राहीसँगको बैठकका निम्ति कोलिन्स स्ट्रीटमा पुग्न सक्छु। म दिनभरि कडा मेहनत साथ काम गरेर मेरो छोरीलाई उनको स्कूल सकिएपछि लिएर फिट्जरोए गार्डन्समा घुमाउन लैजान सक्छु," उनी भन्छन्।
"मेरो लागि कुनै पनि सहरको बसोबास योग्य क्षमताको अर्थ यही हो। यो सहरको जीवनशैलीको कुरा मात्रै होइन। यो मेरो जीवनका वास्तवमै अर्थपूर्ण पक्षहरूबीच कति सहजताका म ओहोरदोहोर गर्न सक्छु भन्ने कुरासँग सम्बन्धित छ।" सहरको केन्द्रभन्दा बाहिरी इलाकामा बस्नेहरूका लागि पनि मेल्बर्नको सार्वजनिक यातायात सञ्जालका कारण हिँडडुल गर्न सहज छ। मेल्बर्नमा बस्ने क्याथरिन टुमिनेनका अनुसार उनलाई यहाँको बहुसांस्कृतिक ऊर्जा मन पर्छ जसले सबै प्रकारका मानिसहरूलाई एकैठाउँ भेला हुने अवसर दिन्छ र उत्सव, पर्व र परिकारहरूको विविधतापूर्ण मिश्रणलाई प्रवर्धन गर्छ।
"यहाँ तपाईँलाई एकैक्षण पनि उराठलाग्दो अनुभव हुँदैन र आफ्नो दृष्टिकोण फराकिलो तुल्याउने नयाँ नयाँ अवसर तपाईँले पाउनु हुन्छ र नयाँ नयाँ अनुभव गर्न पनि।"
ओसाका
सातौँ स्थानमा परेको र यो सूचीको शीर्ष १० मा पर्न सफल एकमात्र एशियाली सहर जापानको ओसाका हो। स्थायित्व, स्वास्थ्य सेवा र शिक्षा विधामा यसले सम्पूर्ण अङ्क प्राप्त गरेको छ। यो सहर योभन्दा चमकदमक बढी भएको टोक्योको छायामा परे पनि यहाँको अलि कम चर्चित अवस्थिति नै यहाँका बासिन्दाहरू रुचाउँछन्।
"ओसाका एकदमै राम्ररी विकसित सहर हो, एकदम आधुनिक सहर," यहाँ लामो समयदेखि बस्दै आएका ग्र्याहम हिल भन्छन्। उनी ओसाका सिटी नामको वेबसाइट सञ्चालन गर्छन्। "अमेरिकामा सान फ्रान्सिस्कोको जस्तो सम्मान छ त्यस्तै सम्मान जापानमा ओसाकाले पाउने गर्छ - अलि सानो तर आफ्नै विशिष्ट रङ्गढङ्ग भएको।"
यहाँका भरपर्दा भौतिक पूर्वाधार अनि सफासुग्घर, ठिक समयमा चल्ने र विस्तारित क्षेत्रमा पुग्ने सार्वजनिक यातायात प्रणालीले ओसाकालाई बसोबासका लागि एकदमै सजिलो र टोक्योको भिडभाडबाट परको स्थान बनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।