'हरर विरोधाभास': कसरी डर जगाउने चलचित्रले तपाईँको तनाव कम गर्न सक्छन्

तस्बिर स्रोत, Serenity Strull/ BBC
- Author, डेभिड रबसन
- Role, बीबीसी फ्यूचर
बेस्सरी तर्साउने र अति चर्को मारकाटका दृश्य भएका सिनेमा हेर्नु रमाइलो हुँदैन जस्तो लाग्न सक्छ तर त्यस्ता डरलाग्दा सिनेमाहरू मानिसलाई चिन्ताग्रस्त बनेको समयमा उपयुक्त उपचारको उपाय हुन सक्छन्।
म जब १६ वर्षको थिएँ त्यतिबेला लाग्थ्यो राति सिनेमा हेर्न पाए रमाइलो हुन्थ्यो। तर म त गलत रहेछु।
मेरा एकजना साथीले उनीहरूको द एक्जोर्सिस्टको डीभीडी ल्याएर दिए।
त्यो फिल्म चलिरहँदा दुई घण्टासम्म मैले मेरा आँखाहरू छोपेरै बिताएँ।
हरेक पल्ट डरलाग्दो दृश्य आउँदा तर्सिएर कुर्सिमा उफ्रिरहेका बेला मै सोचेँ कि मानिसहरूलाई यस्ता भयावह चिज कसरी मनोरञ्जक लाग्ने होला।
दार्शनिक र मनोविद्हरू पनि यो प्रश्नमा घोत्लिने गरेका छन्।
तर्कका कुरा हेर्दा भयको भावना खासमा हाम्रो सुरक्षालाई खतरा हुने विषयबाट टाढा रहन चेतावनी दिने गरी विकास भएको छ। यसले हामीलाई वा हाम्रा प्रियजनहरूलाई हानी पुर्याउने कुनै पनि कुराको नजिक नजान सहयोग गर्छ। त्यसैकारण हामीमा उत्पन्न हुने भयले हामीमा लड्ने वा भाग्ने प्रतिक्रिया उत्पन्न गर्छ।
पश्चिमा जगतमा हरेक वर्ष ह्यालोवीन पर्व नजिकिँदै गर्दा कैयौँले आफैलाई तर्साउने तरिका खोज्न थाल्छन्। यो बेला खासगरी त्यस्ता फिल्महरू हेरिन्छ जसले हृदयको धड्कन बढाउँछन्। जम्बी अपोकलिप्स्देखि स्ल्याशर ब्लडबाथसम्म हामी तर्सिने किसिमका फिल्म हेर्छौँ - त्यसैले होला हरर (डरलाग्दा दृश्यहरू भएका) चलचित्र हलिवुडमा सबभन्दा ज्यादा कमाइ गर्ने विधा बनेका छन्।
"हररको विरोधाभास निकै पुरानो पहेली हो," मोन्याश विश्वविद्यालय अस्ट्रेलिया र क्यानडाको युनिभर्सिटी अफ टोरन्टोका अनुसन्धानकर्मी मार्क मिलर भन्छन्।
"एरिस्टोटलले पनि यसबारे बोलेका छन् - हामी खतरनाक, हानिकारक भयानक चिजहरूबाट बच्न र तिनबाट टाढा रहन बनेका छौँ । तर हामी घिनलाग्दो, हानिकारक र भयानक चिजहरू रहेकातिर आकर्षित भएको पनि महसुस गर्छौँ।"
पछिल्लो दश वर्षमा मनोवैज्ञानिकहरूले अन्ततः यो रहस्य सुल्झाउन सुरु गरेका छन्।
केही प्रमाणहरूका अनुसार डरलाग्दो कथाले मस्तिष्कको त्यो पाटोलाई सक्रिय बनाइदिन्छ जसले हामीलाई अनिश्चिततासँग जुझ्न मद्दत गर्छ।
र नयाँ परिणामहरूले देखाए अनुसार आतङ्कका काल्पनिक कथाहरूले केही गम्भीर मानसिक लाभ पनि दिन सक्छन् जसले वास्तविक दुनियाँमा हामीले भोगिरहेको तनावपूर्ण अवस्था ( एङ्जाइटी) लाई पनि कम गर्ने किसिमको लाभ हुन सक्छ। तिनले हाम्रा चिन्ताका लागि एक मलमको रूपमा काम गर्छन्।
विरोधाभासपूर्ण प्राथमिकताहरू

तस्बिर स्रोत, Alamy
एरिजोना स्टेट विश्वविद्यालयस्थित मनोवैज्ञानिक कोल्टन स्क्रिभनरले यो अनुसन्धानमा अग्रणी भूमिका खेलेका छन्। उनी 'मोर्बिडिटी क्युरिअस: अ साइन्टिस्ट एक्स्प्लेन्स ह्वाइ वी कान्ट लुक अवे' भन्ने किताबका लेखक पनि हुन्।
बाल्यकालमा उनी सधैँ डरलाग्दा रोमाञ्चक कथाहरू मन पराउँथे। जब उनी स्नातक तहको अध्ययन गर्न थाले त्यसपछि उनी मानव संस्कृतिहरूमा डर पैदा गर्ने कथा जताततै उपलब्ध भएको तथ्यबारे घोत्लिन थाले।
"लेखनीको पहिलो प्रमाणका रूपमा हामीसँग रहेको सामग्रीमा भयानक राक्षस र राक्षसी जनावरबारेको प्रसङ्ग पाइन्छ" स्क्रिभनर भन्छन् । उनले गिलगमेश महाकाव्य लेखिएको ४००० वर्ष पुरानो बेबीलोनियन (शिलालेख) ट्याबलेटको वर्णन गर्दै भन्छन्, " म त भन्छु डरलाग्दा कथाहरू भाषा जत्तिकै पुराना छन्।"
एउटा व्याख्या के हो भने तर्साउने हरर कथाहरूले एउटा नाटकको जस्तो काम गर्छन् जसले हामीलाई हाम्रो वरिपरि रहेको विश्वबारे बुझ्न सहयोग गर्छ र हामीलाई आइलाग्न सक्ने खतराहरूको सामना गर्न तयार पार्छ। "यसले मानव लगायत कुनै पनि जनावरलाई उनीहरू वरपर रहेको खतराबारे जान्न र बुझ्न मद्दत गर्छ," उनी भन्छन्।
यसको जरो हामी अरू प्रजातिमा पनि देख्न सक्छौँ: जस्तो कि एक हरिणले टाढैबाट आफ्ना सिकारीहरू देख्छ र भागिहाल्छ। र मानिस सबभन्दा जिज्ञासु प्राणी हुनुको कारण के हो भने मान्छेसँग कथा सृजना गर्ने, अरूकहाँ पुर्याउने र ग्रहण गर्ने अद्भूत क्षमता हुन्छ।
उनले अहिले यस्ता अनुकूलनका फाइदाहरूलाई समर्थन गर्ने सन्दर्भ जुटाएका छन्।
एउटा अनुसन्धानमा उनले ४०० जना मानिसलाई अनलाइन प्रश्नहरूको जबाफ दिन जुटाएका थिए। त्यसमा उनीहरूले 'हरर चलचित्र' हेरेको आफ्नो अनुभवका बारेमा केही भनाइहरूमा आफ्नो अङ्क दिनु पर्थ्यो। जस्तो कि:
• मलाई हरर सिनेमा हेर्दा हुने अनुभूति मन पर्छ
• एउटा हरर सिनेमा हेर्दा म यति डराएँ कि म त त्यसपछि घर जान वा घरभित्र हिँड्न पनि डर लाग्यो
• मलाई " क्रुर यातना दिइएका दृश्यहरू भएको फिल्म" हेर्न मन पर्छ किनभने यातना साँच्चिकै कस्तो हुन्छ भन्नेबारे जिज्ञासु छु
परिणामको विश्लेषण गरेर उनले सहभागीहरूलाई तीन मुख्य समूहमा बाँड्न सकिने पाए।
पहिलो "एड्रीनलिन जङ्कीहरू" अब के हुने होला भन्ने कौतूहलबाट प्राप्त हुने अनुभवबाट प्रेरित थिए - त्रासका बेला उनीहरू "बढी जीवन्त" महसुस गरिरहेका थिए
दोस्रो प्रकारलाई "ह्वाइट नकलर्स" भनियो तिनले हरर फिल्मले दिने तनाव मन पराउन्नन्।
"उनीहरूले त्रास महसुस गर्नुमा रमाइलो मान्दैनन् तर उनीहरू डरमाथि विजय पाएको भावना भने मन पराउँछन्," स्क्रिभनर भन्छन्।
कतिले त स्क्रीनमा देखिएका गतिविधि उनीहरूको तनाव वा अवसाद व्यवस्थापन गर्ने उपायका रूपमा पनि लिने गरेका छन्। त्यसलाई उनीहरूले एक प्रकारले आफ्नो बहादुरीको परीक्षणका रूपमा पनि हेर्छन्।
यी सबै उद्देश्यले भयानक कुराहरूप्रति हाम्रो आकर्षणको विरोधाभास पहिल्याउने एक उपाय प्रदान गर्छन्। स्क्रिभनर भन्छन्, "यस्ता मृत्युसँग सम्बन्धित असहज विषयबारे अनेक जिज्ञासा हुन सक्छन्।"
फरक सन्दर्भमा माथि उल्लेखित जस्तै परिणाम प्राप्त हुन्छ कि हुँदैन भनेर पत्ता लगाउन उनले डेनिश अनुसन्धानकर्मीहरूसँग काम गरे। ती अनुसन्धानकर्मीले डेनमार्कको एक सहर भाइलेमा रहेको मनोरञ्जनका लागि बनाइएको काल्पनिक भूतघर 'डीस्टोपिया हन्टेड हाउस' मा भ्रमणकर्ताले सहभागी हुन पाउने गरी र तिनमा त्रास पैदा हुन सक्ने गरी कलाकार र विशेष प्रभावसहितको स्थानका भ्रमणकर्तासँग प्रश्नहरू सोधे।
त्यहाँ पनि उस्तै परिणाम हात पर्यो - त्यसले एक सिद्धान्तलाई प्रमाणीकरण जस्तो गरिदियो।
"ती तीन 'प्रकार ' फरक भाषा, संस्कृति र स्थानमा सुन्दर रूपमा देखा परे," स्क्रिभनर भन्छन्।
मृत्यु सम्बन्धि असहज अवस्था बारेका जिज्ञासाको अनुकूलन महत्त्वका थप प्रमाणका रूपमा उनले हरर सिनेमाका प्रशंसकहरू कोभिड १९ महामारी उत्कर्षमा पुगेका बेला कसरी बढी समझदार पाइए भन्ने पत्ता लगाए। उनीहरू "मैले महामारीको समाचारलाई सहजतासाथ लिएको छु" भन्ने भनाइप्रति सहमत भएको पाइयो र "यो कठिन समय पार पाउन मेरो आफ्नो क्षमतामाथि विश्वास गर्छु" भन्नेहरूप्रति सहमत भएको पाइयो।
परिष्कृत सिमुलेशन
यस्ता प्रभावले मस्तिष्कको कार्यमा एक मौलिक सिद्धान्त प्रतिविम्बित गर्न सक्छन्।
पछिल्ला केही दशकमा दार्शनिक, न्यूरोसाइन्टिस्ट र मनोवैज्ञानिकहरू के कुरामा सहमत हुन थालेका छन् भने हाम्रो मस्तिष्कले लगातार हाम्रो वरिपरिको विश्वको नक्कल ( सिमुलेशन) निरन्तर रूपमा गरिरहेको छ। "यो अनुमान लगाउने एउटा इन्जिन हो" मिलर भन्छन्।
मेरो आफ्नै किताब 'द एक्सपेक्टेशन इफेक्ट'मा मैले नै वर्णन गरेको छु हाम्रो मस्तिष्कले "प्रेडिक्टिभ प्रोसेसिङ" प्रयोग गरेर हामीलाई नयाँ भएका घटनाको व्याख्या गर्न र त्यसप्रति प्रतिक्रिया व्यक्त गर्न सहयोग गर्छ। र जति सटिकतासँग हामी यो गर्न सक्छौँ त्यति नै राम्रो हुन्छ। यो नै अनिश्चित विश्वसँग दृढतासाथ जुझ्ने मुख्य तरिका हो।
मिलरको सुझाव छ: हरर कथाहरूले पूर्वानुमान इन्जिनलाई सक्रिय राख्न मिल्ने किसिमको अनिश्चितता उपलब्ध गराउँछन् जसले भविष्यमा हुने खतराबारे राम्रो अनुमान गर्नका लागि सिमुलेशनमा सुधार ल्याउन सकोस्।
मिलर भन्छन्, "यो रमाइलो स्थितिमा समय बिताउनुको अर्थ हो तपाईँले आफ्नो पूर्वानुमान क्षमता वृद्धि गरिरहनु भएको छ र त्यसले दीर्घकालमा आइलाग्न सक्ने अनिश्चितताहरूको राम्रो बन्दोबस्त गर्न सक्ने स्थितिमा बन्दै जानुभएको छ।"
स्क्रिभनर जस्तै उनी पनि अस्थिर घटनाप्रति तनावग्रस्त प्रतिक्रिया कम गर्नु भनेको 'एङ्जाइटी' कम गर्नमा सहयोग हुन सक्छ भन्ने मान्छन्।
मिलर भन्छन्, "हरर भनेको डर, घृणा र दबाव विरुद्ध खेल्ने र झेल्ने अवसर हो।"
त्यसको फाइदा भनेको हामी यो प्रक्रिया आफ्नो सोफामा आरामसाथ र सुरक्षित बसेर सिक्न सक्छौँ र चलचित्र एक छिनलाई रोकेर या कोठा बाहिर गएर वा भुटेको मकै भएको भाँडा अनुहार अगाडि राखेर पनि डर नियन्त्रण गर्न सक्छौँ।
उपचारात्मक भय

तस्बिर स्रोत, Alamy
स्क्रिभनरको सुझाव छ: हरर कथालाई कठिन परिस्थितिसँग कसरी जुझ्ने भन्ने सिकाउने एक तरिकाका रूपमा मनोचिकित्सामा पनि सामेल गर्न सकिन्छ। सही पुस्तक वा फिल्म उपलब्ध गराएर हाम्रो आफ्नो डरलाई कसरी कम गर्ने भन्ने सिक्न सक्छौँ र भावनात्मक नियन्त्रणको कौशल सिक्न सक्छौँ जसले हाम्रो दैनिक जीवनको तनावसँग जुझ्न मद्दत मिल्न सक्छ।
द नेदरल्यान्ड्समा अनुसन्धानकर्ताहरूले त्यस्तै सिद्धान्त प्रयोग गरेर माइन्ड नामको भिडिओ गेम दिएर तनावसँग जुधिरहेका बच्चाहरूलाई उपचार गरेको उनी औँल्याउँछन्।
यो खेल एक भुताहा घरमा आधारित छ जसमा खेलाडीको अवतारको पीछा एक चिच्याउँदै गरेको राक्षसले गर्छ।
र बच्चा एक ईईजी हेडसेट लगाएर बस्छ जसमा उसको मस्तिष्कको गतिविधि मापन गरिरहेको हुन्छ, त्यसले नै अवतारको सिरमा रहेको प्रकाशलाई नियन्त्रित गर्छ।
जति जति उनीहरू शान्त हुन सक्छन् त्यति नै प्रकाश चर्को हुँदै जान्छ त्यसले नै उनीहरूको शान्तपन झन् स्थापित गर्न सहयोग मिल्छ।
यदि आक्रमणका बेला बच्चा शान्तसँग बस्न सक्छ भने राक्षस एक रमाइलो बिरालोको छाउरोमा परिवर्तित हुन्छ र घरमा उसको पछाडि पछाडि घुमिरहन्छ। अर्कोतर्फ यदि त्यो बच्चा असाध्यै डरायो भने त्यहाँ एउटा सन्देश आउँछ जसले अगाडि बढ्नु अघि उनीहरूको मनलाई शान्त बनाउने सुझाव दिएको हुन्छ।
कैयौँ क्लिनिकल परीक्षणहरूमा जुन बच्चाहरूले नियमित रूपमा यो खेल खेले उनको दैनिक जीवनमा चिन्ता कम भएको देखियो - र त्यसले पारम्परिक संज्ञानात्मक व्यवहार थेरपीको सरह फाइदा पुर्याएको पाइयो।
"त्यो आश्चर्यजनक छ, किनभने बच्चाहरूमा एङ्जाइटीको उपचारमा यो स्वर्ण मापदण्ड हो," स्क्रिभनर भन्छन्। र उपन्यास र फिल्महरूमा हुने हरर कथाहरूले पनि त्यस्तै उद्देश्य पूरा गर्न सक्ने उनी ठान्छन्।

तस्बिर स्रोत, Alamy
यो विषयको एउटा समीक्षा पत्रमा उनी लेख्छन् "हरर मनोरञ्जनात्मक सामग्रीले मानिसमा नियन्त्रित र सुरक्षित वातावरणमा भयको अनुभव गर्ने मौका दिन्छ। यसले गर्दा संज्ञानात्मक पूर्नमूल्याङ्कनको अभ्यास गर्ने अवसर अनि असुविधाजनक शारीरिक अनुभवलाई सहने र भावनात्मक तर्कलाई चुनौती दिने अवसर प्राप्त हुन्छ।"
स्पष्ट रूपमा मैले द एक्जोर्सिस्ट घरमा हेरेपछि सबै भयानक विषयलाई बेवास्ता गर्नबाट म चुकेको छु।
यदि तपाईँ पनि त्यस्तै स्थितिमा हुनुहुन्छ भने तपाईँ आफ्नाो सामान्य 'सहिष्णुता स्तर' को केही बाहिर जान मिल्ने किसिमको तर्साउने खालका विषयवस्तु वा उपाय खोज्न उनी सल्लाह दिन्छन्।
"सुरु गर्नका लागि किताब अक्सर एक राम्रो तरीका हो किनभने यसमा तपाईँले आफ्नो कल्पनालाई केही नियन्त्रित राख्न सक्नुहुन्छ," उनी भन्छन्। र तपाईँ यस्ता कथा खोज्ने प्रयत्न गर्नुहोस् जुन तपाईँका अन्य रुचिसँग मेल खान्छन्।
"हरर दुनियाँमा रहेका अनेक विधामध्ये एक हो त्यसैले तपाईँलाई मन पर्ने विषयमा तपाईँले हरर कथा फेला पार्न सक्नुहुन्छ।"
तपाईँको भयानक कुराहरूप्रतिको जिज्ञासाले तपाईँलाई कहाँ पुर्याउँछ भन्ने कुराले तपाईँलाई आश्चर्यचकित तुल्याउन सक्छ - तर त्यसले बाँकी जीवनमा ल्याउन सक्ने शान्तपनले पनि तपाईँलाई आश्चर्यचकित तुल्याउन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








