के यूकेमा उग्रदक्षिणपन्थीले फैलाएको दङ्गा जबाफी प्रदर्शनले रोक्ला

    • Author, जेरमी होवेल
    • Role, बीबीसी विश्व सेवा

यूकेमा हजारौँ मानिसहरू आप्रवासीविरोधी प्रदर्शनको थप लहर रोक्नका लागि भन्दै जबाफी प्रदर्शन गर्न थालेका छन्।

गत साताको सुरुतिरदेखि यूकेका कैयौँ सहर र नगरमा आप्रवासी तथा मुस्लिमलक्षित दङ्गा फैलिरहेको छ।

उत्तरपश्चिम इङ्ग्ल्यान्डको साउथपोर्टमा तीन बालिकाहरूको ज्यान जाने गरी छुरा प्रहार भएको घटनापछि हिंसाले उग्र रूप लिएको थियो।

उक्त हमलालगत्तै सामाजिक सञ्जालमा गलत ढङ्गले सन्दिग्ध हमलाकारी एक जना शरण माग्ने प्रक्रियामा रहेका व्यक्ति भएको भन्दै हल्ला फैलाइएको थियो।

फैलाइएका ती अफवाहमा गलत नामका साथ ती सन्दिग्ध व्यक्ति सन् २०२३ मा डुङ्गामा चढेर यूके आएको भनिएको थियो। त्यसमा आधारहीन ढङ्गले ती व्यक्ति मुस्लिम रहेको हल्ला चलाइएको थियो।

त्यससँगै यो शृङ्खला यूकेमा एक दशकभन्दा बढी समयमा फैलिएको सबैभन्दा खराब अस्तव्यस्तता बनेको छ।

तर बुधवार जबाफी प्रदर्शनका कारण कमै मात्र सङ्ख्यामा उग्रदक्षिणपन्थी प्रदर्शनकारीहरू आफूहरूले योजना बनाएका ठाउँमा भेला हुन सकेका थिए।

कहाँकहाँ जबाफी प्रदर्शन?

जबाफी प्रदर्शनहरू लन्डनका कैयौँ भागका साथै ब्राइटन, ब्रिस्टल, ह्यास्टिङ्स र लिभरपूलमा भएका थिए।

उग्रदक्षिणपन्थीहरूको प्रदर्शन रोक्न भएका ती कार्यक्रममा जातीय भेदभावविरोधी समूह, वामपन्थी झुकाव भएका संस्था र व्यावसायिक सङ्गठनहरूका साथै सर्वसाधारणहरू सहभागी थिए।

उत्तरपूर्वी लन्डनस्थित वाल्थम्स्टोमा एक हजारभन्दा धेरै मानिसहरू जम्मा भएका थिए।

तीमध्ये धेरैले बोकेका प्ल्याकार्डमा “यहाँ घृणालाई स्वागत छैन”, “उग्रदक्षिणपन्थीलाई रोकौँ” र “शरणार्थीलाई स्वागत” लेखिएका थिए। त्यसमा मुस्लिम बासिन्दाहरू समेत थिए।

दक्षिणपन्थी समूहहरूले साउथपोर्ट घटनाका हमलाकारी शरण लिने प्रक्रियामा रहेका एक जना मुस्लिम व्यक्ति रहेको भन्दै प्रदर्शनका क्रममा मस्जिदहरूमा हमला गरेका थिए।

तर प्रहरीले ती सन्दिग्ध ब्रिटेनमा जन्मिएका र उनका अभिभावक रुआन्डाका रहेको जनाएको छ।

एक जना प्रदर्शनकारी फ्र्याङ्क मेरिटले भने, "हामी यहाँ विविधताको समर्थन र बदमासहरूविरुद्ध शक्ति प्रदर्शनका लागि छौँ।"

बुधवार राति यूकेका सयौँ ठाउँमा दक्षिणपन्थी समूहहरूले प्रदर्शन गर्ने विवरणमाझ ती जबाफी प्रदर्शनहरू आयोजना गरिएका थिए।

दक्षिण पूर्वी इङ्ग्ल्यान्डको ब्रिस्टलमा जबाफी प्रदर्शनमा उत्रिएका झन्डै १,५०० मानिसहरूले आप्रवासन कानुनमा विज्ञता रहेका मानिएका अधिवक्ताका कार्यालयहरू सुरक्षित पारेका थिए।

ती ठाउँलाई उग्रदक्षिणपन्थी प्रदर्शनकारीहरूले निसानामा पार्ने योजना बनाइएको सुनेपछि उनीहरूले त्यसो गरेका थिए।

प्रदर्शनकारी के भन्छन्?

गाम्बियाबाट आएका एक जना पुरुष हबिबले ब्रिस्टल “एउटा निकै जीवन्त र स्वागतापेक्षी सहर” रहेको बताउँछन्।

“ब्रिस्टलका मानिसहरूले कसैलाई सहरमा भद्रगोल मच्चाउन दिँदैनन्। त्यसैले मैले आज साँझ जे हुन गइरहेको छ, त्यो रोक्नका लागि ब्रिस्टलबासीहरूलाई साथ दिन गइरहेको छु।”

उक्त सहरमा गत सप्ताहान्तमा उग्रदक्षिणपन्थीहरूले हिंसक अव्यवस्था सिर्जना गराए तापनि बुधवार केही सीमित मानिस जम्मा भएका थिए।

ब्राइटनमा झन्डै २,००० को सङ्ख्यामा भेला भएका जबाफी प्रदर्शनकारीहरूले नाराबाजी गर्ने क्रममा "नाजीहरू, हाम्रो सडक छाड" भनेका थिए।

केही आप्रवासनविरोधी प्रदर्शनकारीहरू प्रहरीपछाडि आड लिन बाध्य भएका देखिन्थे।

यूकेका सहर र नगरहरूमा व्यवसायीहरूले आप्रवासनविरोधी प्रदर्शनबाट क्षति र लुटपाट हुनसक्ने भयले आफ्ना झ्यालढोका बन्द गरेर बसेका छन्। केही ठाउँमा बिहीवार बिहान बोर्डहरू हटाइएका छन्।

लन्डनका महानगर प्रहरी प्रमुखले "समुदायहरूले देखाएको एकताको प्रदर्शन"को प्रशंसा गर्ने क्रममा थप उग्रदक्षिणपन्थीहरूका थप हिंसक प्रदर्शनको त्रास "कम भएको" बताएका छन्।

यूकेको यस सङ्कटसँग जुझ्नका लागि प्रहरीले ६,००० विशेषज्ञ अधिकृतहरूको एउटा "स्ट्यान्डिङ आर्मी" तयार पारेको छ।

प्रहरी र राजनीतिज्ञहरूले सजगतापूर्वक बुधवार साँझको शान्त परिवेशलाई स्वागत गरे तापनि अर्को सप्ताहान्तमा थप उग्रदक्षिणपन्थी प्रदर्शनको तयारी भइराखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।