इजरेल-हमास सङ्घर्षविराम शुक्रवार बिहान ७ बजेबाट: कतार

इजरेल र हमासबीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ। 

दोहास्थित विदेश मन्त्रालयका एक प्रवक्ताले मानवीय सहायताको आपूर्ति चाँडोभन्दा चाँडो सुरु गरिने पनि बताएका छन्। 

हमास र इजरेलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले मध्यस्थता गरेको थियो।

सहमतिअनुसार इजरेली जेलबाट १५० प्यालेस्टिनी महिला र किशोरकिशोरी पनि मुक्त हुने छन् भने गाजामा मानवीय सहायता बढाइने छ।

शुक्रवार हमासले १३ बन्धक छाड्ने अनि केही सङ्ख्यामा प्यालेस्टीनी बन्दी इजरेलले समेत छाड्ने प्रवक्ता मजिद अल अन्सारीले बताए। 

त्यसैगरी इजरेलको प्रधानमन्त्री कार्यालयले समेत शुक्रवार छाड्न लागिएका बन्धकहरूको "प्रारम्भीक सूची" प्राप्त गरेको अधिकारीहरूले उनीहरूका परिवारलाई सम्पर्क गर्न थालेको जनाएको छ।

यसअघि बिहीवार देखि उक्त सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए तापनि त्यसमा ढिलाइ भएको थियो। 

इजरेली सेना इजरेली डिफेन्स फोर्सेजका प्रवक्ता पिटर लेर्नरले हालका निम्ति आफ्ना सैन्य कारबाही जारी रहने बताएका थिए।

उनले भने: "हामी अहिलेसम्म निरन्तर लडाइँकै अवस्थामा छौँ। सरकारले लडाइँ रोक्न भन्ने बित्तिकै हामी त्यसो गर्नेछौँ। हालसम्म त्यस्तो निर्देशन आएको छैन।"

कतारले के भनेको छ?

कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार बिहान सात बजे सङ्घर्षबिराम सुरु हुनेछ भने दिउसो चार बजे बन्धकहरू छाडिनेछन्।

ती प्रवक्ताले चार दिने सङ्घर्षबिरामको यो पहिलो दिनको तालिका मात्र सार्वजनिक गरिएको बताए।

जस अनुसार शुक्रवार १३ जना बन्धकहरू छाडिने बताए।

दुई पक्षबीचको सहमती अनुसार चार दिने सङ्घर्षबिरामका बेला हमास नियन्त्रणमा रहेका ५० जना बन्धकहरू छाडिनेछन्।

कतारको विदेश मन्त्रालयका अनुसार छाडिन लागेकाहरूमा केही जेष्ठ महिला र केही बालबालिकाहरू हुनेछन्।

प्रवक्ता अन्सारीका अनुसार बन्धकहरूको स्थानान्तरण सबै पक्षका लागि सुरक्षित हुने सोचका आधारमा उनीहरू रेडक्रसलाई बुझाइनेछ।

"हामीले यो युद्धक्षेत्र हो भन्ने सम्झिनुपर्छ," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।