‘घर नै थर्काउनेगरी आएको जहाज खोँचमा गएर पड्कियो’

आइतवार दिउँसोसम्म पोखराको घारीपाटनबाट धुवाँको बाक्लो कालो मुस्लो उडिरहेको देखिन्थ्यो। तर केही डढेको नमिठो गन्ध अझै बाँकी छ।

घारीपाटनस्थित एउटा घरको कम्पाउन्डभित्रै विमानको झ्यालका टुक्रा, चिया खाने कप र डढेका केही सामानहरू उछिट्टिएर आइपुगे। त्यसपछि कमला गुरुङका छोराछोरी आत्तिएर घरभित्र पसे।

“उनीहरू निकै डराएका छन्। मेरो पनि मन आत्तिएको छ। आँखैअगाडि प्लेन जलेको देखेँ,” ४३ वर्षीया गुरुङले बीबीसीसँग सुनाइन्।

उनलाई समय ठ्याक्कै याद छैन, तर बिहान पौने ११ बजेसम्म सबैकुरा सामान्य थियो। सधैँजस्तो उनी घरको छतमा आफ्ना छोराछोरीसँग घाम तापेर बसेकी थिइन्। उनको घरबाट प्राय सधैँ विमानको आवाज चर्को सुनिन्छ।

तर आइतवार बिहान विमानको आवाज निकै अस्वाभाविक सुनिएको कारण आफूले आकाशतिर हेरेको उनले बताइन्।

“के भएछ भनेर हेर्दा प्लेन त छतमै खस्छ जसरी आइरहेको थियो। मैले अरू बेला प्लेन त्यसरी कोल्टिएको कहिल्यै देखेकी थिइनँ,” उनले भनिन्।

आफूले हेर्दाहेर्दै विमान सेती नदीको खोँचतिर जोतिएको उनले बताइन्।

“प्लेन तलतल गएपछि ठूलो आवाज आयो। त्यसपछि केहीबेर धुवाँको कालो मुस्लो मात्र देखिएको थियो। एकैछिनमा आगो पनि बल्न थाल्यो।”

“झ्यालका सिसा, चियाको मग र डढेको चोइटाहरू हाम्रो बारीसम्मै आइपुगेका छन्,” उनले थप भनिन्।

यो पनि पढ्नुहोस्

घर जोगिनु 'भाग्य'

त्यसको केही बेरमै पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनामा परेको खबर सबैतिर फैलियो।

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको थियो।

उक्त विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै रहँदा दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले बीबीसीसँग बताए।

घारीपाटन वडा नं ७ का ८७ वर्षीय बबरजङ्ग गुरुङ उक्त विमान “आफ्नै घरमा ठोक्किएला जसरी आएको” बताउँछन्।

तर आत्तिएर आँगनमा निस्किँदा उनले आफ्नोभन्दा "दुई घर अगाडिबाटै" विमान फर्किएको देखे।

“जहाज घर नै थर्काउनेगरी आवाज निकालेर आएको थियो। किन यसरी आयो भनेर सोच्दासोच्दै फनक्क फर्कियो र खोँचमा गएर पड्कियो,” गुरुङले बताए।

घटनास्थलबाट मुस्किलले २०० मिटर मात्र पर केही अग्ला घरहरू छन्। विमान त्यहाँ “भाग्य" ले नठोकिएको अर्का स्थानीयवासी बलबहादुर गुरुङ बताउँछन्।

"प्लेन निकै तलबाट आएको थियो। कोल्टिँदै खोँचतिर गएको थियो एक्कासि बम जसरी पड्कियो। आसपासको जङ्गलमा समेत आगो सल्कियो।”

त्यसको केही बेरमै बस्तीदेखि घटनास्थलसम्मै मानिसहरूको घुइँचो लाग्यो। सुरक्षाकर्मीहरू केही मिनेटपछि त्यहाँ पुगेको आफूले देखेको गुरुङले बताए।

आफूहरूले विमानमा चढेका मानिसरूका लागि कामना गरेको कमला गुरुङले बताइन्।

विमानमा चढेकामध्ये ६८ जनाको शव फेला परिसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानमा चढेका यात्रुहरू सेती खोँचमा खसेको हुनाले उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्।

उद्धारकार्यमा सुरक्षाकर्मीबाहेक सर्वसाधारण मानिस र स्थानीय निकाय पनि खटिएको अधिकारीहरूले बताएका छन्।

नेपालमा भएका केही विमान दुर्घटना

  • मे २०२२ - पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • एप्रिल २०१९ - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के