तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विमान दुर्घटनाः तारा एअर ट्विनअटर दुर्घटनामा मृत्यु भएका २२ जनाको पोस्टमोर्टम सकियो, शव हस्तान्तरण गर्न सुरु
आइतवार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा पर्दा मृत्यु भएका विदेशी नागरिकहरूको शव आफन्त नेपाल आएमा उनीहरूलाई नै र नआएका अवस्थामा सम्बन्धित देशको दूतावासलाई बुझाइने अधिकारीहरूले बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दुर्घटनामा निधन भएका २२ जनाको शव बिहीवारदेखि आफन्तहरूलाई हस्तान्तरण गर्न थालिएको छ।
नेपाली सुरक्षा निकाय तथा उड्डययन अधिकारीहरूका भनाइमा दुर्घटनास्थलबाट काठमाण्डू ल्याइएका शवहरूको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमोर्टम भएको हो।
परीक्षणको प्रतिवेदन दुर्घटना जाँच आयोगलाई पठाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्।
अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट ब्ल्याक बक्स काठमाण्डू ल्याएर जाँच सुरु भइसकेको छ।
आइतवार दुर्घटनाग्रस्त तारा एअरको ट्विनअटर विमानमा चालकदलका तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए।
भारतीय नागरिकको शव अन्येष्टि काठमाण्डूमै
बुधवार राति पोस्टमोर्टम सकिएपछि शवको कागजी प्रक्रिया मिलाएर बिहीवार १२ बजेभित्रै मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
राससका अनुसार मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको छ।
भारतीय नागरिकहरू महाराष्ट्रको ठाणेमा बस्ने एकै परिवारका सदस्य हुन्। बीबीसी मराठीका अनुसार उनीहरू सम्बन्धविच्छेद भएका दम्पती र उनीहरूका छोराछोरी हुन्।
सम्बन्धविच्छेदपछि अदालतको आदेश पालना गर्दै उनीहरू १० दिन सँगै बिताउन र बिदा मनाउन नेपाल आएको उक्त परिवारसँग निकट सम्बन्ध भएका एक प्रहरी अधिकारीले बीबीसी मराठीलाई बताएका छन्।
उक्त परिवारका आफन्तहरू आफ्नो सम्पर्कमा आइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले बताए।
"भारतीय नागरिकका आफन्तहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ," उनले भने।
राससका अनुसार जर्मन नागरिकहरूको शव उनीहरूकै देश पठाइने राससको विवरणमा उल्लेख गरिएको छ।
प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीका अनुसार जर्मन नागरिकका आफन्तहरू बिहीवार बिहानसम्म सम्पर्कमा आइसकेका थिएनन्।
"सम्बन्धित आफन्तहरू आइपुग्नुभयो भने उहाँहरूलाई हस्तान्तरण गर्छौँ। आफन्त आइपुगेनन् भने सम्बन्धित दूतावाससँग समन्वय गरेर हस्तान्तरण गर्छौँ," उनको भनाइ थियो।
'पोस्टमोर्टमको प्रतिवेदन आयोगलाई'
नेपाल नागरिक उड्डययन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले "खोजी र उद्धार कार्य" सकिएपछि अब अन्य व्यवस्थापनको काम सम्बन्धित जहाज कम्पनी र अन्य निकायहरूले मिलेर गर्ने बताए।
उनका अनुसार प्राधिकरणको भूमिका अब "न्यून" हुनेछ।
उनले आफूहरूलाई शवहरूको पोस्टमोर्टम सकिएको जानकारी आएको तर त्यसको विवरण जाँच आयोगलाई दिइने बताए।
"त्यसबारे प्राधिकरणलाई भन्दा पनि आयोगललाई नै जानकारी दिने चलन छ त्यसका आधारमा अनुसन्धानलाई पनि सहयोग पुग्छ भन्ने हो," उनले भने।
खोजी र उद्धारमा खटिएका एक व्यक्तिका अनुसार विमान बजारिएको ठाउँ स्थानीयवासीले चौँरी चराउने लेक हो।
मानापाथी हिमालको तलतर्फ पर्ने ४,१०० मिटर उचाइमा रहेको दुर्घटनास्थलमा गाउँबाट पुग्न साढे चार घण्टाभन्दा बढी लाग्छ।
यसअघि नरेन्द्र शाहीले विमान जोडले ठोक्किएको स्थानमा पहिरो गए जस्तो देखिएको जानकारी दिएका थिए।
"एकातर्फको पखेटा भुइँमा ठोक्किएछ। त्यो ठाउँ पहिरो गए जस्तै देखिन्छ। त्यसपछि बडी चाहिँ ५० मिटर पर पुगेर धसिएको रहेछ। बीचको भाग ठोक्किएर आधा एकातिर आधा अर्कोतिर पुगेको देखियो। प्लेनको पुच्छरतर्फको भाग भाँच्चिएर तल खोल्सामा खसेको थियो।"
उनका अनुसार पाँच जनाको शव विमान बजारिएको भीरभन्दा झन्डै ६० मिटर तल खोल्सामा भेटिएको थियो।
नयाँ नियम
बाइस जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनापछि प्राधिकरणले हवाई उडान सुरक्षामा अभिवृद्धि गर्न भन्दै विभिन्न चारवटा निर्णयहरू गरेको छ।
तर तीमध्ये एउटा इन्जिनयुक्त हेलिकप्टर उडाउन पनि दुईजना चालक अनिवार्य गर्ने विषयमा वायुसेवा सञ्चालकहरूले विमति जनाइरहेका छन्।
मङ्गलवार प्राधिकरणका निम्नलिखित निर्णयहरू गरेको थियो-
- जल तथा मौसम विज्ञान विभागबाट जारी भएका मौसमसम्बन्धी भविष्यवाणीले कुनै उडान क्षेत्रमा निश्चित अवधिसम्म उडानका लागि प्रतिकूल मौसमको विवरण दिएको अवस्थामा प्राधिकरणले वायुसेवा सञ्चालक र विमानस्थलहरूलाई उडानहरूमा रोक लगाउनका लागि परिपत्र जारी गर्ने छ
- वायुसेवा कम्पनीहरूले 'एटीएस रिपोर्टिङ अफिस' वा सम्बन्धित एकाइमा उडान योजना पेस गर्दा गन्तव्य तथा मार्गको मौसमसम्बन्धी जानकारी जल तथा मौसम विज्ञान विभागबाट सङ्कलन गरी पेस गर्नुपर्ने छ र उक्त विवरणअनुसार मौसमी अवस्थाअनुकूल भए मात्र 'एटीएस रिपोर्टिङ अफिस' वा सम्बन्धित एकाइले उडान अनुमति स्वीकृत गर्नुपर्ने छ
- सम्बन्धित वायुसेवा कम्पनीहरूले हब विमानस्थलहरू वा अन्य विमानस्थलबाट क्षेत्रीय उडानहरू सञ्चालन गर्दा मौसमसम्बन्धी प्रतिवेदन सङ्कलन तथा ब्रीफिङ गरी उडान सञ्चालन गराउने जिम्मा लाइसेन्सप्राप्त फ्लाइट अपरेशन अफिसर/डिस्प्याचरलाई प्रदान गर्नुपर्ने छ
- एउटा इन्जिन भएका हेलिकप्टरका उडानको हकमा प्राधिकरणले तोकेबमोजिमको अवस्थामा बाहेक दुईजना पाइलट अनिवार्य गर्नका लागि प्रस्ताव तयार गरेर सात दिनभित्र पेस गर्नेगरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको छ।
यो पनि हेर्नुहोस्