इरानमाथिको सम्भावित अमेरिकी आक्रमण यसपटक किन फरक हुनेछ

तस्बिर स्रोत, Mike Blake/Reuters
- Author, अमिर अजिमी
- Role, बीबीसी न्यूज पर्सियन
अमेरिकी सेन्ट्रल कमाण्डको दायित्वको क्षेत्रअन्तर्गत इरानी जलक्षेत्र नजिकै लडाकु पानीजहाजहरूको समूहका साथ विमानवाहक युद्धपोत 'यूएसएस अब्राहम लिङ्कन' को आगमनले व्यापक मुठभेड हुन लागेको आशङ्कालाई थप बल पुगेको छ।
इरानमा हालैका वर्षहरूकै सबैभन्दा व्यापक र हिंसात्मक दमन भइरहेका बेला गरिएको यो परिचालनले वासिङ्टन र तेहरान प्रत्यक्ष भिडन्तको कति नजिक पुगेका छन् भन्नेमा जोड दिन्छ जुन पछिल्ला वर्षहरूको तुलनामा सबैभन्दा गम्भीर मोडमा छ।
इरानी नेताहरू यतिबेला दोहोरो दबावमा छन्: एकातिर सत्ता ढाल्न माग गरिरहेको बढ्दो विरोध प्रदर्शन र अर्कोतिर आफ्ना रणनीतिहरूलाई जानाजानी अस्पष्ट राखिरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। यसले तेहरानमा मात्र नभइ पहिलेदेखि नै अस्थिर रहेको सम्पूर्ण क्षेत्रमा चिन्ता बढाएको छ।
तेहरानले पहिले सावधानीपूर्वक सम्हालेको थियो तनाव
सम्भावित अमेरिकी सैन्य आक्रमणप्रति इरानको यसपटकको प्रतिक्रिया यसअघिका मुठभेडहरूमा देखिएका परिचित र सावधानीपूर्ण अपनाइएको ढाँचाको नहुन सक्छ।
राष्ट्रपति ट्रम्पका हालैका धम्कीहरू इरानभित्रको आन्तरिक अशान्ति र हिंसात्मक दमनको सन्दर्भमा आएका छन् जतिबेला इस्लामिक गणतन्त्र असाधारण आन्तरिक दबावमा परिरहेको छ।
फलस्वरूप, अहिले हुने कुनै पनि अमेरिकी आक्रमणले क्षेत्रीय स्तरमा र इरानभित्रै पनि द्रुत रूपमा तनाव बढ्ने उच्च जोखिम बोकेको छ।
हालैका वर्षहरूमा तेहरानले सुस्त र सीमित जबाफ दिने कार्यलाई प्राथमिकतामा राख्ने गरेको देखिन्थ्यो।
सन् २०२५ को जुन २१-२२ मा इरानी परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमण भएपछि इरानले त्यसको भोलिपल्टै कतारस्थित अमेरिकाद्वारा सञ्चालित 'अल उदेद' एअरबेसमा क्षेप्यास्त्र प्रहार गरेर जबाफ फर्काएको थियो।
राष्ट्रपति ट्रम्पका अनुसार इरानले उक्त आक्रमणबारे पूर्वजानकारी दिएको थियो। त्यसले गर्दा अमेरिकी हवाई रक्षा प्रणाली अधिकांश क्षेप्यास्त्रहरूलाई बीचमै नष्ट गर्न सफल भयो। त्यसमा कुनै मानवीय क्षति भएन। उक्त घटनालाई इरानले युद्ध नचाहेको तर आफ्नो दृढता देखाउन गरेको सचेत प्रयासका रूपमा अर्थ्याइएको थियो।
त्यस्तै तरिका सन् २०२० जनवरीमा ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा पनि देखिएको थियो। उक्त वर्षको ३ ज्यानुअरीमा बग्दाद विमानस्थलनजिकै अमेरिकी कारबाहीमा कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानी मारिएको घटनामा इरानले त्यसको पाँच दिनपछि इराकस्थित अमेरिकाको 'ऐन अल-असद' हवाई अखाडामा क्षेप्यास्त्र प्रहार गरेर प्रत्युत्तर दिएको थियो।
त्यसबेला पनि पूर्वजानकारी दिइएको थियो। कुनै अमेरिकी सैनिकको ज्यान नगए पनि पछि दर्जनौँलाई मस्तिष्कको चोट लागेको विवरणहरू आए। उक्त घटनाले तेहरान तनावपूर्ण स्थितिलाई भड्काउनु भन्दा पनि व्यवस्थापन गर्न चाहन्छ भन्ने धारणालाई थप बल पुर्यायो।

तस्बिर स्रोत, Reuters
तथापि अहिलेको स्थिति उल्लेखनीय रूपमा भिन्न छ।
इरान सन् १९७९ मा इस्लामिक गणतन्त्र बनेदेखिकै सबैभन्दा गम्भीर आन्तरिक अशान्तिको लहरबाट गुज्रिरहेको छ।
डिसेम्बरको अन्त्य र ज्यानुअरीको प्रारम्भबाट सुरु भएको विरोध प्रदर्शनमाथि अत्यन्तै कठोर र हिंसात्मक दमन भयो। देशभित्रका मानवाधिकारवादी संस्थाहरू र स्वास्थ्यकर्मीका अनुसार केही हजार मानिसहरू मारिएका छन् भने धेरै घाइते भएका वा हिरासतमा छन्।
पहुँचको अभाव र दुई हप्ताभन्दा बढी समयदेखि इन्टरनेट बन्द गरिएका कारण वास्तविक सङ्ख्या यकिन गर्न सकिएको छैन। इरानी अधिकारीहरूले ज्यान गएका घटनाको जिम्मा लिएका छैनन्। उल्टै 'आतङ्कवादी समूह'लाई जिम्मेवार ठहर्याउँदै इजरेलमाथि अशान्ति भड्काएको आरोप लगाएका छन्।
राज्यको उच्च तहमा पनि उक्त भाष्य गुन्जिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले हालै ती प्रदर्शनहरूलाई पछिल्लो वर्षको १२ दिने युद्धकै निरन्तरताका रूपमा हेरिनुपर्ने बताएका छन्।
उक्त तर्कले अधिकारीहरूको सुरक्षाप्रतिको प्राथमिकतालाई बुझ्न मद्दत गर्छ र त्यो सम्भवत: दमनको व्यापकता र तीव्रतालाई न्यायोचित ठहराउने बहानाको रूपमा प्रयोग गरिएको हुन सक्छ।
यद्यपि अहिले सडक प्रदर्शनको स्तर घटेको छ तर ती पूर्ण रूपमा समाप्त भएका छैनन्। जनताका असन्तुष्टिहरू अझै सम्बोधन भएका छैनन्। समाजको विशाल तप्का र शासन प्रणालीबीचको विभाजन यति ठूलो कहिल्यै देखिएको थिएन।
ज्यानुअरी ८ र ९ मा सुरक्षा बलले केही नगर र सहरका हिस्साहरूमा नियन्त्रण गुमाएको विवरण आएको थियो तर त्यसलाई पछि अत्यधिक बल प्रयोग गरेर पुनः नियन्त्रणमा लिइयो।
नियन्त्रण गुमेको त्यो छोटो क्षणले अधिकारीहरूलाई त्रसित तुल्याएको देखिन्छ। त्यसपछिको शान्ति वार्ताबाट नभई जबरजस्ती कायम गरिएको हो। त्यसले गर्दा स्थिति अझै तनावपूर्ण छ।
तेहरान झन् हठी हुँदै गएको हो?
यो पृष्ठभूमिमा अमेरिकी आक्रमणको प्रकृति निर्णायक हुनेछ।
एउटा सीमित स्तरको आक्रमणले वासिङ्टनलाई तत्काल क्षेत्रीय युद्धको जोखिम नलिइ सैन्य सफलताको दाबी गर्ने अवसर त दिन सक्छ तर सँगसँगै त्यसले इरानी अधिकारीहरूलाई अर्को चरणको आन्तरिक दमनका निम्ति नयाँ बहाना पनि प्रदान गर्न सक्छ।
यस्तो परिस्थितिमा पहिले नै हिरासतमा रहेका प्रदर्शनकारीहरूमाथि नयाँ दमन, सामूहिक गिरफ्तारी र मृत्युदण्ड सहितका कठोर सजायहरूको लहर चल्ने जोखिम रहन्छ।
अर्कातर्फ अमेरिकाले व्यापक सैन्य अभियान चलाएर इरानलाई निकै कमजोर बनायो भने त्यसले उक्त देशलाई अराजकतातर्फ धकेल्न सक्छ।
९ करोडभन्दा बढी जनसङ्ख्या भएको देशमा केन्द्रीय सत्ता अचानक ढल्दा सहज र चाँडो स्थिरता कायम हुने सम्भावना कमै हुन्छ। बरु त्यसले लामो समयसम्म अस्थिरता, गुटबन्दीसहितको हिंसा र क्षेत्रीय स्तरमा नकारात्मक असरहरू निम्त्याउन सक्छ। त्यसलाई नियन्त्रण गर्न वर्षौँ लाग्न सक्छ।
यी जोखिमहरूले तेहरानबाट आइरहेका कठोर अभिव्यक्तिहरूलाई बुझ्न मद्दत गर्छन्।
उच्च राजनीतिक अधिकारीहरूका साथै 'इस्लामिक रिभोल्यूसनरी गार्ड कोर' तथा नियमित सशस्त्र बल; दुवैका वरिष्ठ कमाण्डरहरूले अमेरिकी आक्रमण जुनसुकै स्तरको भए पनि त्यसलाई युद्धका रूपमा व्यवहार गरिने चेतावनी दिएका छन्।
यस्ता घोषणाहरूले इरानका छिमेकीहरू र त्यसमा पनि खासगरी अमेरिकी सेना रहेका खाडी मुलुकहरूलाई त्रसित बनाएको छ। प्रत्यक्ष संलग्न नभए पनि इरानको प्रतिक्रियाले ती देशहरूलाई जोखिममा पार्नेछ र त्यसले उक्त द्वन्द्व इरान र अमेरिकाभन्दा धेरै पर फैलिने सम्भावना बढाउँछ।
यता वासिङ्टनका पनि आफ्नै सीमाहरू छन्। ट्रम्पले प्रदर्शनकारीहरू विरुद्ध हिंसा प्रयोग नगर्न इरानी अधिकारीहरूलाई बारम्बार चेतावनी दिएका छन्। विरोध प्रदर्शन उत्कर्षमा पुग्दा उनले इरानीहरूलाई "सहयोग आउँदै गरेको" बताएका थिए। उनका भनाइ इरानभित्र व्यापक रूपमा फैलिनुका साथै त्यसले प्रदर्शनकारीहरू माझ ठूलो अपेक्षा जगाएको थियो।

तस्बिर स्रोत, Maxar Technologies/EPA
दुवै पक्ष वृहत्तर रणनीतिक परिदृष्यबारे सचेत छन्।
गतवर्षको १२ दिने युद्ध अघिको तुलनामा इरान सैन्य रूपमा कमजोर भएको ट्रम्पलाई थाहा छ। त्यस्तै ट्रम्प पनि पूर्णस्तरको र अनिश्चितकालीन द्वन्द्वको पक्षमा खासै छैनन् भन्नेबारे तेहरान जानकार छ।
यो दुइतर्फी सजगताले केही हदसम्म आश्वस्त तुल्याउन सक्छ तर यसले दुवै पक्षले आफ्नो प्रभावलाई बढी आँक्ने वा अर्कोको मनसायलाई गलत ढङ्गले बुझ्ने किसिमको डरलाग्दो गलत धारणा पैदा गर्ने सम्भावना पनि रहन्छ।
ट्रम्पका लागि सन्तुलन कायम गर्नु अत्यन्त महत्त्वपूर्ण छ चाहे त्यो जसरी होस्। उनलाई इरानलाई पुनः दमनको चक्र वा अराजकताको खाडलतर्फ नधकेल्ने किसिमको त्यस्तो नतिजाको खाँचो छ जसलाई आफ्नो जितका रूपमा प्रस्तुत गर्न सकियोस्।
इरानी नेताहरूका लागि भने खतराको विषय समय र बुझाइमा भर पर्छ।
उनीहरूले बाह्य रूपमा आफ्नो शक्ति प्रदर्शन गर्न र हालैको प्रदर्शनले अस्थिर भएको देशभित्र आन्तरिक नियन्त्रण कायम गर्न तत्काल खाँचो महसुस गरे भने ढिला र प्रतिकात्मक शैलीले जबाफ दिने पहिलेपहिलेको तरिका अब पर्याप्त नहुन सक्छ।
तथापि तीव्र प्रतिक्रियाले गलत निर्णयको जोखिमलाई ह्वात्तै बढाउनेछ। क्षेत्रीय शक्तिहरू पनि त्यसमा फस्न सक्छन् र त्यो उनीहरूले सायदै धान्न सक्छन्।
दुवै पक्ष तीव्र दबावमा रहेको र लचकता अपनाउन सक्ने ठाउँ पनि सीमित भएकाले लामो समयदेखिको उक्त तनाव सबैभन्दा जोखिमपूर्ण मोडमा पुग्न सक्छ। त्यस क्रममा सन्तुलन बिग्रिएमा त्यसको मूल्य सरकारहरूले मात्र नभई लाखौँ इरानी सर्वसाधारण र समग्र क्षेत्रले नै चुकाउनुपर्ने हुन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








