एनपीएलको पहिलो संस्करणका मुख्य सात विशेषता

त्रिवि क्रिकेट मैदानमा सम्पन्न एनपीएल फाइनलको क्षण
तस्बिरको क्याप्शन, जनकपुर वोल्ट्सले फाइनल जिते लगत्तैको क्षण
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल प्रिमिअर लिग (एनपीएल) फ्रेञ्चाइज क्रिकेटले नेपाली खेलकुदमा एउटा कोशेङ्गा स्थापित देखिएको छ। भविष्यमा यसको प्रभावि अझै देखिँदै जाने ठानिएको छ।

तीन साताको यो क्रिकेट मेलाका केही सामान्य विवादलाई छाड्ने हो भने धेरैलाई आकर्षित गर्‍यो।

मैदान भित्रको प्रतिस्पर्धाका अतिरिक्त यसले खेलकुदमा सामान्य रुचि राख्ने समर्थकदेखि राजनीतिज्ञसम्मलाई कीर्तिपुर मैदानसम्म डोर्‍याएको देखियो।

क्रिकेटका कारण मैदान बाहिरको अर्थतन्त्रमा भएको चहलपहल र प्रायोजकलाई पुगेको लाभको लेखाजोखा पनि भइरहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा पनि यसको चर्चा व्यापक देखिएको छ। एनपीएलले 'अन्तर्राष्ट्रिय क्रिकेट बजारको नयाँ गन्तव्य' बन्न सक्ने थुप्रै सम्भावनाहरू देखाएको धेरैले बताइरहेका छन्।

बाइस दिन चलेको पहिलो संस्करणको एनपीएलका मुख्य विशेषता के के हुन् त?

१) दर्शक

नेपाली क्रिकेटमा दर्शकको कमी खासै हुँदैन। एनपीएलमा भने सोचेभन्दा धेरै र विविधतायुक्त दर्शक देखिए।

क्रिकेट खासै नबुझ्ने सामान्य दर्शक पनि कीर्तिपुरमा नियमित आइरहेका थिए।

अरू बेला राष्ट्रिय टोली खेल्दा मात्र दर्शक सङ्ख्या बढेको अनुभव हुन्थ्यो।

यसपालि फ्रेञ्चाइज टिमको समर्थनमा पनि दर्शक व्यापक उपस्थित थिए। कतिपयले सुदूर पश्चिमको मौलिक देउडा गाउँदै नाचेको पनि देखिएको थियो भने कतिले 'सीता माता की जय' नारा लगाएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा नेपाली दर्शकले क्रिकेटप्रति देखाएको मोहलाई लिएर फेरि एकपटक चर्चा भयो।

 क्रिकेट मैदानमा दर्शक

२) पर्यटन

कर्णाली याक्सबाट खेल्न आएका भारतका चर्चित खेलाडी शिखर धवन सगरमाथा आधार शिविरमा घुम्न पुग्दा अचम्मित भए।

कर्णाली याक्सका एक जना सञ्चालक गेहेन्द्र घिमिरेका अनुसार धवनले भारतबाट दुई घण्टामा सगरमाथाको फेदीमा पुग्न सकिने धेरैलाई थाहा नभएको बताएका थिए।

उनले आफ्ना सहयात्रीहरूमा यसको व्यापक चर्चा गर्ने विश्वास गर्न सकिन्छ।

वेस्ट इन्डिजका चर्चित खेलाडी ब्रायन लारा पनि कीर्तिपुर मैदानमा आएर नेपालको अनि नेपाली क्रिकेटको बारेमा प्रचार फैलाउने दूतको भूमिकामा देखिए।

पहिलो संस्करणमा खासै धेरै विदेशी दर्शक कीर्तिपुर पुगेनन् तर अन्तर्राष्ट्रिय क्रिकेटमा भएको नेपालको प्रचारले पर्यटनमा टेवा पुग्ने देखिएको छ।

३) अन्तर्राष्ट्रिय चासो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) देखि एसोसिएट क्रिकेट राष्ट्रले एनपीएलमा चासो देखाए।

स्टार स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुँदा नेपाली क्रिकेटको व्यापक प्रचार भयो।

थुप्रैले यसलाई एसोसिएट क्रिकेटको उत्कृष्ट फ्रेञ्चाइज प्रतियोगिता भनेका छन्।

विदेशी कमेन्टेटरले पनि यो प्रतियोगिताको गुणगान व्यापक गरेका थिए।

एनपीएलको आकर्षणले गर्दा अर्को वर्ष अझै स्तरीय विदेशी खेलाडीले नेपालमा खेल्ने चाहना राख्ने देखिएको छ।

आईसिसीले पनि अर्को वर्षबाट विदेशी खेलाडीहरूको आगमनलाई झन् खुल्ला गर्न सक्छ।

भारतका चर्चित पूर्व ओपनर शिखर धवनले एनपीएलका चार खेल खेलेका थिए
तस्बिरको क्याप्शन, भारतका चर्चित पूर्व ओपनर शिखर धवनले एनपीएलका चार खेल खेलेका थिए

४) प्रदर्शन

सबैभन्दा महत्त्वपूर्ण विषय भनेको खेलाडीको प्रदर्शन हो। एनपीएलको ३२ खेलमा स्वदेशी तथा विदेशी खेलाडीहरूको प्रदर्शन स्तरीय रह्यो।

विदेशी खेलाडीहरूमा जिम्मी निशम, लाहिरु मालिन्था, रवि बोपारा, सैफ जैव, सोहेल तनविर, स्कट कुग्लाइनजस्ता खेलाडीहरू चम्किए।

उनीहरूकै हाराहारीमा नेपाली खेलाडीहरू पनि व्यावसायिक प्रतिस्पर्धामा खरो उत्रिएको देखियो।

नेपालबाट दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, कुशल मल्ल, किशोर महतो, विपिन शर्मासहितका खेलाडीहरूको खेल खुल्यो।

प्रतियोगिताका अधिकांश खेलहरू अन्तिम समयसम्म रोचक बनेको देखिएको थियो। फ्रेञ्चाइज क्रिकेटको विशेषता नै यही हो।

जनकपुर वोल्ट्सले उपाधि जितेको हो

५) पुरस्कार

एनपीएलमा राखिएको पुरस्कार पनि यसको विशेषतामा पर्छ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गरे, जुन नेपाली खेलकुदमा दिइएको अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो।

त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ६१ लाख बराबरको कार पुरस्कार दिइयो। यो पनि नेपाली खेलकुदमा प्रतियोगितामा दिइएको व्यक्तिगततर्फ अहिलेसम्मको ठूलो पुरस्कार हो।

६) सट्टेबाजी

आयोजक र तीन वटा फ्रेञ्चाइज टोलीले सट्टेबाजीसँग जोडिएका कम्पनीलाई प्रायोजक राखेपछि एनपीएलले बेटिङलाई प्रवर्धन गरेको भन्दै आलोचना पनि भयो। प्रतियोगिताको नकारात्मक विषय भनेको त्यो नै थियो।

यो लीगका आयोजकलाई त्यस्ता कम्पनीसँग जोडिएका विज्ञापनका कारण प्रहरी र विज्ञापन नियमन गर्ने सरकारी निकायले सचेत गराएका थिए।

तर लीग आयोजना गर्ने संस्था नेपाल क्रिकेट सङ्घ (क्यान)ले कतिपयले प्रश्न गरेको विज्ञापन 'बेटिङ' भनिने सट्टेबाजी गर्ने वेबसाइटको नभई त्यससँग सम्बन्धित अन्य कम्पनीको भएको र यस्ता विज्ञापन अधिकांश अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा हुने गरेको जबाफ दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस्ता साइटमार्फत् सट्टेबाजीसम्बन्धी कारोबार गर्न नेपाल आएको आशङ्का गरिएका सात जना भारतीय नागरिकहरूलाई क्रिकेट रङ्गशालाबाट पक्राउ गरिएको बताएको थियो।

७) ब्रान्ड भ्यालु

एनपीएलमा ६० देखि ७० करोड रुपैयाँको बजेट प्रयोग भएको ठानिएको छ
तस्बिरको क्याप्शन, एनपीएलमा ६० देखि ७० करोड रुपैयाँ खर्च भएको ठानिएको छ

चुस्त आयोजना, विदेशी र स्वदेशी खेलाडीहरूको प्रदर्शन र दर्शकहरूको मायाले एनपीएल सफल भएको देखिएको छ। जसले प्रतिगोयताको 'ब्रान्ड भ्यालु'लाई ह्वात्तै बढाइदिएको छ।

मोटामोटी हिसाब गर्दा एनपीएलमा ६० देखि ७० करोड रुपैयाँको बजेट प्रयोग भएको देखिएको छ।

तर यसको भ्यालु भने निकै माथि पुगिसकेको छ।

जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देल भन्छन्, "अहिले नै हामीले गरेको लगानी भन्दा कयौँ गुणा बढीमा यसको शेयर बेच्न सकिने मैले देखिसकेको छु। अर्को संस्करणमा त झन् यसको भ्यालु माथि पुग्नेछ। "

समग्रमा एनपीएलको पहिलो संस्करण अनुमान गरेभन्दा पनि राम्रो तरिकाले सम्पन्न भएको छ।

क्रिकेट विश्लेषकहरूको अनुमान छ, "यो क्रमले निरन्तरता पाउने हो भने एनपीएल नेपालको सबैभन्दा ठूलो बजेट प्रयोग हुने र मुनाफा कमाउने खेल प्रतियोगिता हुनेछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।