एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

तस्बिर स्रोत, RSS
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी, कीर्तिपुर क्रिकेट मैदान
रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमिअर लीग (एनपीएल) को उपाधि जितेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो।
जितसँगै जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लीग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद् बदला लिन सफल भएको छ।
जनकपुरको यो जित यस्तो खेलमा आयो जतिखेर टोलीले उपाधि पनि चुम्न सफल भयो।

जनकपुरका लागिउत्कृष्ट ब्याटिङ गरेका ओपनर लाहिरु मिलान्थाले ८७ रन जोडेर टोलीको जित सहज बनाएका थिए।
विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
फाइनलसम्मको यात्रा

फाइनलमा पराजित सुदूरपश्चिमले लीग चरणको सातमध्ये छ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायर खेलेको थियो।
उसले एक मात्र खेल चितवन राइनोजविरुद्ध गुमाएको थियो। टोलीले जनकपुरलाई ५१ रनमा सीमित पार्नु प्रभावकारी जितमध्येको एक थियो।
जनकपुरले भने सुरुको चार खेल लगातार जिते तापनि लीग चरण टुङ्ग्याउँदा दोस्रो स्थानमा रहन पुगेको थियो।
चितवन राइनोज र प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुरले सातमध्ये दुई खेल गुमाउन पुगेको थियो।
क्वालिफायर वानको पराजय समेत जोड्दा जनकपुरले लगातार पछिल्लो दुई खेल गुमाउन पुगेको थियो।
जनकपुरको रोमाञ्चक जित भने कर्णाली याक्सविरुद्ध थियो। जहाँ टोली एक रनले विजयी हुन पुगेको थियो।
जनकपुरको शानदार जवाफ

सुदूरपश्चिमले तयार गरेको १८५ रनको ठूलो लक्ष्य पछ्याउन आएको जनकपुर बोल्ट्सले सुरुआत देखि नै आक्रामक ब्याटिङ गर्यो।
कप्तान आशिफ शेख र लाहिरु मिलान्थाले 'पावर प्ले'मा ७१ रनको ठूलो साझेदारी गरेर लक्ष्य भेट्टाउने सङ्केत दिएका थिए।
यो साझेदारीलाई जैबले सातौँ ओभरमा तोडेका थिए। ३३ रन बनाएर खेलिरहेका आशिफ शेखको क्याच म्याकमुलमले लिए। तर मिलान्था भने रोकिने मुडमा थिएनन्। १०औँ ओभरमा अर्धशतक बनाएका उनी १५.२ ओभरमा आउट भएका थिए।
आक्रामक इनिङ्स खेलेका उनले ४८ बलमा ८५ रन बनाए। उनले ९ चौका र ४ छक्का प्रहार गरे। उनी आउट हुँदा जनकपुरले जितको आधार तय गरिसकेको थियो।
यसअघि ६६ रन बनाएर खेलिरहँदा उनी मुस्किलले बच्न सके। सुदूरपश्चिमका कप्तान ऐरीले उनको क्याच छोड्न पुगेका थिए।

मिलान्थालाई कट् एन्ड बोल्ड गर्दै स्कट कुग्लाएन पनिप्रतियोगितामा १७ विकेट लिएर ललितनारायण राजवंशीसँग शीर्ष विकेटकर्ता बने।
यसअघि मोहम्मद मोहसिनलाई १० औं ओभरको अन्तिम बलमा इशान पाण्डेले बोल्ड गरिदिए।
मिलान्था आउट भएपछि आएका भरपर्दा न्युजिल्यान्डका जिम्मी निशम भने धेरै बेर टिक्न सकेनन्।
लामो प्रहार गर्ने धुनमा उनी ऐरीद्धारा बोल्ड हुन पुगेका थिए।
सुदूरपश्चिमको आक्रामक इनिङ्स

जनकपुरबोल्ट्सले आठौँ ओभरमा ७३ रन जोडेपछि पहिलो विकेट गुमाएको थियो। आक्रामक ब्याटिङ गरेका ३३ रन झोडेका ओपनर आशिफ शेख शैफ अली जैबको बलमा म्याकमुलनबाट बाउन्ड्री नजिकै क्याच भए।
सुदूरपश्चिमका ओपनर शैफ अली जैबले आठ चौका र दुई छक्कासहित टोलीका लागि ६९ रन बनाएर जनकपुरमाथि सुरुआती दबाव कायम गरे।
आक्रामक ब्याटिङ गरिरहेका जैबलाई १२औँ ओभरको अन्तिम बलमा किशोर महतोले ललित राजवंशी मार्फत् क्याच गराए।
तेह्रौँ ओभर बलिङ गर्न आएका राजवंशीले पहिलो बलमै अर्का ओपनर विनोद भण्डारीलाई बोल्ड गरेपछि सुदूरपश्चिमको आक्रामक ब्याटिङमा ब्रेक लाग्यो।
भण्डारीले तीन छक्का र एक चौका सहित ४१ रन जोडेर आउट हुँदा सुदूरपश्चिमले ११७ रन जोडेको थियो।
सोह्रौँ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका अलराउन्डर हर्मित सिंहको विकेट लिए।

पुन: सत्रौँ ओभरको अन्तिम बलमा न्यूजिल्यान्डका जेम्स निसमले ब्यान्डन म्याकमुलेनलाई बोल्ड गरे।
सुदूरपश्चिमका लागि मोहम्मद मोहसिनले बलिङ गरेको १९औँ ओभर महँगो पर्यो। पहिलो बलमा दिपेन्द्र सिंह ऐरी हेमन्त धामीबाट क्याच भए।
पाँचौँ बलमा आरिफ शेखको बल ललित राजबंशीले क्याच गरे।
अन्तिम ओभर बलिङमा आएका किशोर महतोले सुदूरपश्चिमलाई १८४ रनमा समेट्दा २ विकेट लिए। पहिलो बलमै स्कट कुग्लाएनलाई आउट गरे भने चौथो बलमा उनले नरेस बुढाएरलाई आउट गरे।
अन्तिम बलमा इशान पाण्डे रन आउट भए।
दीपेन्द्रसिंह ऐरीले पाए कार

एनपीएलको सबैभन्दा उत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी भएका छन्।
उनले ओमोडा कम्पनीको एउटा कार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी भने सुदूरपश्चिमका शैफ अली जैब भए। उनले पाँच लाख नगद पुरस्कार पाएका छन्। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि जनकपुरका ललितनारायण राजवंशीले पाएका छन्।
पहिलो एनपीएल, कैयौँ रोमाञ्चक नतिजा

तस्बिर स्रोत, Getty Images
एनपीएलको पहिलो संस्करणमा थुप्रै रोमाञ्चक नतिजाहरू निस्कनुका साथै कैयौँ कीर्तिमानहरू समेत बनेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा सबै खेल दर्शक भरिभराउ हुनेगरी भए। प्रतियोगिताका केही रोचक घटनाक्रम यस्ता छन्:
- एनपीएलमा एउटा मात्र शतक प्रहार भयो। पोखरा एभेन्जर्सबाट अमेरिकी ब्याटर आन्द्रेस गौसले लुम्बिनी लायन्सविरुद्ध अविजित १०४ रन बनाए। १० विकेटले खेल जितेको पनि त्यो नै एक्लो खेल भयो।
- एनपीएलमा एउटा खेलको नतिजा सुपर ओभरमा टुङ्गियो। पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच भएको एक मात्र सुपर ओभरमा दुवै टिमले १३९ रन बनाएका थिए। सुपर ओभरका नायक भने पोखराबाट खेल्ने वेस्ट इन्डिजका रेमोन रेइफर बने। १८ रन लक्ष्य पाएको विराटनगरलाई उनले कसिकसाउ बलिङ गर्दे ५ रनमा समेटिदिएका थिए।
- प्रतियोगितामा १ बलमा १५ रन पनि बन्यो। त्यो नमिठो रेकर्ड चितवन राइनोजका खेलाडी अमर सिंह राउटेलाको नाममा रह्यो। उनले विराटनगर किङ्ग्सविरुद्ध त्यस्तो बल फ्यालेका हुन्।
- एनपीएलको एकै खेलमा ६ विकेट लिने कीर्तिमान कर्णाली याक्सका अस्ट्रेलियाली खेलाडी विलियम बोसिस्टोको नाममा रह्यो। उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा त्यसो गरेका हुन्।
- एनपीएलमा विराटनगर किङ्ग्स लुम्बिनी लायन्स विरुद्ध बनाएको १९२ रन अहिलेसम्मको उच्च स्कोर रह्यो। खेलभर कुनै पनि टोलीले २०० रन बनाउन सकेनन्।
- फिल्डिङमा जनकपुरका अनिल शाहले एकै खेलमा ५ क्याच लिएर रमाइलो कीर्तिमान बनाए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








