तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रवि लामिछानेलाई यसकारण कारागारबाट मुक्त गरियो
सहकारी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले कारागारबाट बाहिर निकालेका छन्।
"उहाँ बाहिर निस्किएर एउटा घरको छतमा हुनुहुन्छ। उहाँलाई सुरक्षित राखिएको छ," रास्वपाका नेता दीपक बोहराले बीबीसी न्यूज नेपालीसँग भने।
रास्वपा नेता सुरेश थापाको नामले पनि चिनिने टाकाराज थापाले लामिछाने कारागारबाट बाहिर आउँदै गरेको भिडिओ फेसबुकमा लाइभ गरेका थिए।
सेतो कुर्ता लगाएका लामिछानेले कारागार परिसरमा अग्लो स्थानमा उभिएर प्रदर्शनकारीहरूलाई हात हल्लाउँदै अभिवादन गरेको भिडिओमा देखिन्छ। त्यहाँ उनलाई प्रहरीले सुरक्षा दिएको थियो।
लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए।
कारागार प्रशासनसँग बीबीसीले उनको रिहाइबारे सोधेको थियो।
'असुरक्षा भएपछि छोड्यौँ'
नक्खु कारागारका प्रशासक सत्यराज जोशीले कारागारभित्र असुरक्षा बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयानुसार नै लामिछानेलाई कारागार मुक्त गरिएको बताएका छन्।
"भिडले कारागार तोडफोड गर्ने चेतावनी दिएपछि अन्य कैदीबन्दीको सुरक्षालाई ध्यानमा राखेर उहाँलाई सोधिएको थियो। उहाँले बाहिर जान्छु भनेपछि हामीले छोडिदिएको हो," जोशीले भने।
उनका अनुसार कारागारको गेटबाट समर्थकहरूले लामिछानेलाई लिएर गएका थिए।
कारागारबाहिर प्रदर्शनकारीहरूको ठूलो भिड जम्मा भएपछि कारागार प्रशासनले लामिछाने बस्दै आएको ब्लकबाहिर निकालेर परिसरभित्रको अस्पतालमा राखेको थियो। कारागारमा तोडफोड भइरहे पनि अन्य कैदीबन्दी सुरक्षित रहेको प्रशासक जोशीले बताएका छन्।
कारागारका प्रशासकले कारागारमा रहेका अन्य कैदीबन्दी बाहिर भाग्न नपाएको बताएका छन्।
सामूहिक राजीनामा
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना २० सांसदले पदबाट सामूहिक राजीनामा दिएको घोषणा गरेको थियो।
कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद अर्यालको हस्ताक्षरमा मङ्गलवार जारी विज्ञप्तिमा ती सांसदहरूले सोमवार प्रदर्शनकारीहरूमाथि भएको दमनको भर्त्सना गरेका थिए।
राजीनामा दिनेमा पार्टी सभापति रवि लामिछानेको नाम पनि उल्लिखित छ। उनी सांसद पदबाट निलम्बित अवस्थामा छन्।
रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा र सर्वदलीय नागरिक सरकारको माग गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।