स्थानीय प्रशासनले कर्फ्यू लगाएको भए पनि प्रदर्शनकारीहरूले काठमाण्डू उपत्यका र विभिन्न जिल्लामा राजनीतिक नेता तथा पदाधिकारीहरूका घर तथा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी गरेका विवरणहरू प्राप्त भएका छन्।
प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका काठमाण्डू र धनगढीस्थित छुट्टाछुट्टै निवासमा आक्रमण गरेका छन्। काठमाण्डूमै राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निजी निवास पनि प्रदर्शनकारीहरूको तारोमा परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासनजिकै प्रदर्शनकारीहरू पुगेका थिए।
नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय एवं नेकपा एमालेको च्यासलस्थित मुख्यालयमा आगजनी भएका तस्बिरहरू सहितका विवरण मुख्य सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
विभिन्न टेलिभिजन च्यानलले पदबाट राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घर, ऊर्जामन्त्री दीपक खड्काको घर र अरू नेताहरूका घरमा आक्रमण गर्ने प्रयास गरेको विवरण प्रसारण गरेका छन्।
सङ्घीय संसद्बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
नजिकै रहेको नापी विभागको भवनमा पनि आगजनी भएपछि उडेको धुवाँको कालो मुस्लो टाढासम्म देखिएको छ। उपत्यकाका विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको बीबीसी संवाददाताहरूले देखेका छन्।
सुर्खेतस्थित बीबीसी संवाददाता प्रकाश पन्तका अनुसार सुर्खेतमा आन्दोलनकारीले कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड गरेका र सामानहरू बाहिर निकालेर आगो लगाएका छन्। मुख्यमन्त्रीसहित केही प्रमुख दलका नेताहरूका घरको सुरक्षामा प्रहरी खटिएको छ। बिहानदेखि भइरहेको प्रदर्शनमा प्रहरीले खासै बल प्रयोग गरेको देखिँदैन।
नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरीका अनुसार प्रदर्शनकारीहरूले बाँकेमा नेपाली कांग्रेस र एमालेका पार्टी कार्यालयमा आगजनी गरेका छन्। नेपालगन्जमा पुष्पलाल चोकमा रहेको सालिक पनि तोडफोड भएको छ।