प्रधानसेनापतिद्वारा वार्ताका लागि आह्वान

काठमाण्डू र देशका विभिन्न स्थानमा जेन जी भनिने युवा पुस्ताले गरेको सडक प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गर्दा जीउधनको क्षति भएपछि देशभरि त्यसको विरोध चर्किएको छ। राष्ट्रपति र प्रधानसेनापतिले वार्ताका लागि आह्वान गरेका छन्।

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्
  • प्रधानमन्त्रीको राजीनामापछि पनि प्रदर्शनकारीहरूले काठमाण्डूका विभिन्न स्थानमा आगजनी गरेका छन्
  • राष्ट्रपतिले आन्दोलनरत पक्षलाई संयमित हुन र वार्तामा बस्न आह्वान गरेका छन्
  • काठमाण्डू उपत्यकाका तीनसहित विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको भए पनि विरोधप्रदर्शन जारी छ
  • प्रदर्शनकारीहरूको भिड छिरेपछि नक्खु कारागारले थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई मुक्त गरेको छ
  • जेन जी युवा पुस्ताले सोमवार गरेको सडक आन्दोलनमा प्रहरीले घातक बल गर्दा १९ जनाको मृत्यु भएको थियो। मङ्गलवार प्रहरीले गोली प्रहार गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको निजामती कर्मचारी अस्पतालले जनाएको छ

लाइभ कभरेज

  1. आजका लागि यति नै

    प्रिय पाठकहरू,

    'जेन जी'को प्रदर्शन र आज दिनभरि देशका विभिन्न भागमा भएका गतिविधिबारे हामीले प्रस्तुत गरेका विभिन्न सामग्रीहरू हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरैधेरै धन्यवाद।

    आजका लागि हामी यो लाइभ पेजलाई यहीँ टुङ्ग्याउँछौँ।

    हाम्रा अरू सामग्रीका लागि हाम्रो वेबसाइट र सोशल मिडियाका प्ल्याट्फर्महरू हेर्दै रहनुहोला। धन्यवाद।

  2. सेना तथा अन्य सुरक्षा निकाय तैनाथ हुन सक्ने जानकारी

    नेपाली सेनाले एक वक्तव्य जारी गर्दै 'हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्यजस्ता गतिविधि भइरहेको' भनेर त्यसलाई रोक्न पुनः आग्रह गरिएको जनाएको छ।

    सेनाले त्यस्ता गतिविधि नरोकिएमा भन्दै विज्ञप्तिमा जनाएको छ, "मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौँ।"

    Nepal Army statement

    तस्बिर स्रोत, Nepal Army

  3. नेपाली सेनाका प्रधानसेनापतिद्वारा आन्दोलनरत पक्षलाई वार्ताको निम्ति आह्वान

    प्रधानसेनापति अशोकराज सिग्देलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक भिडिओ सन्देशमा भनेका छन्, "देशमा आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ।"

    प्रधानसेनापति अशोकराज सिग्देल

    तस्बिर स्रोत, Nepal Army video

  4. निजामती कर्मचारी अस्पतालमा मङ्गलवार थप ३ जनाको मृत्यु

    'जेन जी' नाममा भइरहेको प्रदर्शनका क्रममा घाइते भई मङ्गलवार काठमाण्डूको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएका तीन जनाको मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर दीपक पौडेलले बीबीसीलाई बताएका छन्।

    अस्पतालले मङ्गलवार साँझ प्रकाशन गरेको एक सूचनाअनुसार २०९ जनालाई आज अस्पताल पुर्‍याइएकामा १८ जनालाई भर्ना गरिएको छ भने १८६ जना उपचारपछि फर्किसकेका छन्।

    दुई जनालाई थप उपचारका लागि अन्यत्र पठाइएको छ।

    त्यस्तै काठमाण्डूको राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको त्यहाँका चीफ मेडिकल सुपरिटेन्डेन्ट बद्री रिजालले जानकारी दिए।

  5. विकसित घटनाक्रमबारे विश्लेषण गर्दै नेपाली सेना, संयमित हुन अनुरोध

    नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि आफू प्रतिबद्ध रहेको भन्दै नेपाली सेनाले जेन जी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण भइरहेको जनाएको छ।

    जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन "सम्पूर्ण युवा जनशक्ति र देशवासीमा" अनुरोध गरिएको छ।

    नेपाली सेनाको विज्ञप्ति
  6. पोखरामा के भयो, कृष्णमणि बराल

    पोखरा

    तस्बिर स्रोत, Krishnamani Baral/BBC

    कास्कीमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालय लगायत सरकारी कार्यालयहरूमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

    त्यसो भइरहँदा त्यहाँ प्रहरी उपस्थिति देखिएको छैन।

    पोखरा महानगरपालिकाको कार्यालय लगायतका भवनहरूमा समेत क्षति पुगेको छ।

    पोखरा

    तस्बिर स्रोत, Krishnamani Baral/BBC

  7. धनगढीमा दिनभरि तनाव, ठाउँठाउँमा आगजनी, हिक्मत रावल

    धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमा आगजनी

    धनगढी आज दिनभरि तनावग्रस्त रह्यो। कर्फ्यू आदेशको अवज्ञा गर्दै जेन जी पुस्ताका युवाहरू बिहानैदेखि सडकमा ओर्लिएका थिए। धनगढी बजार दिनभरि बन्द रह्यो ।

    धनगढीमा ठाउँठाउँमा आगजनी र तोडफोडका घटनाहरू भएका छन्।

    आक्रोशित युवाहरूले सुदूरपश्चिम प्रदेशसभा भवन, प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजगरी गरे। उनीहरूको निसानामा आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, नापी, मालपोत र भन्सार कार्यालयमा पनि परे।

    बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ढुङ।गामुढा गर्दै अघि बढेका प्रदर्शनकारीहरूले धनगढी वडा नं ४ मा रहेको पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी र तोडफोड गरेका थिए।

    राजनीतिक दलका कार्यालयहरूमा पनि आगजनी भएको छ।

    यसैबीच कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू बाहिर निस्किएका हुन् ।

  8. राष्ट्रपतिद्वारा ‍आन्दाेलनकारीलाई वार्तामा आउन आह्वान

    राष्ट्रपति रामचन्द्र पाैडेलले विषम परिस्थितिकाे शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयाेग गर्न आग्रह गरेका छन् ।

    राष्ट्रपति पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा स्वीकृत भइसकेकाले अहिलेकाे विषम परिस्थितिबाट मुलुक, जनता र लाेकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षसँग सहयाेग मागेका छन्।उनले लाेकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन-जीका प्रतिनिधि समेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपील गरेका छन्।

    दिउँसो प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय भवनमा समेत तोडफोड र आगजनी गरेका थिए।

    राष्ट्रपतिको विज्ञप्ति
  9. सिंहदरबारसहित विभिन्न सरकारी कार्यालयमा आक्रमण र आगजनी

    सिंहदरबारमा आगजनी

    तस्बिर स्रोत, EPA/Shutterstock

    प्रदर्शनकारीहरूले काठमाण्डू उपत्यकामा विभिन्न सरकारी कार्यालय र संवैधानिक निकायका मुख्यालयहरूमा आक्रमण र आगजनी गरेका छन्।

    उनीहरूको निसानामा शीतलनिवासस्थित राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबार, नजिकै रहेको सर्वोच्च अदालत, बालुवाटारस्थित प्रधानमन्त्री निवास, टङ्गालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पनि परेका छन्।

    सिंहदरबार हातामा प्रदर्शनकारीले दिउँसो सुरक्षाकर्मीको हतियार खोसेको पनि देखिएको थियो।‍

    काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा अन्य नेताका घर र कार्यालयहरूमा पनि आक्रमण भएको छ।

    आगलागीका कारण धेरै ठाउँबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ।

  10. प्रधानमन्त्रीको राजीनामा स्वीकृत

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्।

    “उहाँको राजीनामा संविधानबमोजिम स्वीकृत गरी अर्को व्यवस्था नहुञ्जेलका लागि उहाँलाई नै कामचलाउ सरकारको जिम्मेवारी सुम्पिनुभएको छ,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बीबीसीसँग भने, “संविधानबमोजिमको प्रक्रिया अघि बढाउन राष्ट्रपतिले उच्च स्तरमा परामर्श सुरु गरिसक्नुभएको छ।”

  11. प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट बाहिर निकाले

    नक्खु कारागारमा रवि लामिछाने

    तस्बिर स्रोत, Suresh Thapa / Facebook

    प्रदर्शनकारीहरूले नक्खुस्थित कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाहिर निकालेका छन्।

    रास्वपाका एक नेता तथा लामिछानेका सहयोगी दीपक बोहराले रवि लामिछाने अहिले सुरक्षित रहेको बताएका छन्।

    रास्वपाका केही कार्यकर्ताले लामिछानेलाई प्रदर्शनकारीहरूले बाहिर निकाल्दै गर्दा फेसबुकमा लाइभ भिडिओ प्रसारण गरेका थिए।

    एउटा भिडिओमा प्रहरीको घेरामा उभिएका लामिछानेले नमस्कार गरेको देखिन्छ।

  12. विभिन्न सुरक्षा निकायका प्रमुख र मुख्यसचिवद्वारा संयमित रहन आह्वान

    नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले सर्वसाधारणलाई संयमित हुन आह्वान गरेका छन्। त्यसो गर्नेमा चारवटै सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिव र गृहसचिव छन्।

    प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भइसकेको परिस्थिति औँल्याउँदै उनीहरूले धनजनको थप क्षति हुन नदिन भन्दै राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आमनागरिक सबैलाई आह्वान गरेका छन्।

    मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिर्देशक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो आह्वान गरेका हुन्।

  13. मङ्गलवार थप दुई जनाको मृत्यु

    काठमाण्डूमा मङ्गलवारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको निजामती कर्मचारी अस्पतालका अधिकारीले बताएका छन्।

    अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अपराह्न दुई बजेसम्म ९२ जना घाइते ल्याइएका र तीमध्ये दुई जनाको मृत्यु भएको जानकारी दिए।

  14. सङ्घीय संसद् भवनमा फेरि आगजनी

    सोमवार संसद् भवन परिसरमा छिरेका प्रदर्शनकारीहरू

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, सोमवार संसद् भवन परिसरमा प्रदर्शनकारीहरू छिरेर तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाएक थियो

    आक्रोशित प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा फेरि आक्रमण तथा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले हिजो पनि त्यहाँ तोडफोड र आगजनी गरेका थिए।

    चिनियाँ सहयोगमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभा राखिएको छ।

    सोमवार संसद् भवन परिसरमा प्रहरीले गोली चलाउँदा कैयौँ व्यक्तिको मृत्यु भएको थियो।

  15. काठमाण्डू विमानस्थल बन्द, प्रदीप बस्याल

    काठमाण्डू विमानस्थलनजिकै रहेको बाटो, छेउमा धुवाँको मुस्को उठेको देखिन्छ

    तस्बिर स्रोत, BBC / Sharad KC

    तस्बिरको क्याप्शन, काठमाण्डू विमानस्थलनजिकै तिलगङ्गामा हिँड्दै गरेका मानिसहरू, नजिकै धुवाँको मुस्लो उठेको देखिन्छ

    काठमाण्डू उपत्यकाभित्रको विषम परिस्थिति तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर एवं उडान तथा अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको सुरक्षामा गम्भीर असर देखा पर्ने भन्दै विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    उक्त निर्णय तत्काल कार्यान्वयन हुने प्राधिकरणले जनाएको छ।

    यसअघि नै राजधानीबाहिरका विमानस्थलहरूले सुरक्षा दिन सक्ने सुनिश्चित नभएको भन्दै आन्तरिक उडान ठप्पप्राय: थियो।

  16. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको उनको सचिवालयले पुष्टि गरेको छ।

  17. रवि लामिछानेसहित रास्वपाका २० सांसदद्वारा सामूहिक राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना २० सांसदले पदबाट सामूहिक राजीनामा दिएको घोषणा गरेको छ।

    कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद अर्यालको हस्ताक्षरमा मङ्गलवार जारी विज्ञप्तिमा ती सांसदहरूले सोमवार प्रदर्शनकारीहरूमाथि भएको दमनको भर्त्सना गरेका छन्।

    राजीनामा दिनेमा हाल कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेको नाम पनि उल्लिखित छ। उनी सांसद पदबाट निलम्बित अवस्थामा छन्।

    सांसदहरूले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा र सर्वदलीय नागरिक सरकारको माग गरेका छन्।

  18. पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा समाधानका लागि आह्वान

    पूर्वराजा ज्ञानेन्द्र शाह

    तस्बिर स्रोत, Gyanendra Shah Secretariat

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    पूर्वराजा ज्ञानेन्द्र शाहले 'जेन जी' पुस्ताका प्रदर्शनकारीहरूको ज्यान जाने गरी सोमवार भएको घटनाको निन्दा गरेका छन्।

    शाहको संवाद सचिवालयले मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै जारी प्रदर्शनहरूबारे चासो व्यक्त गरेको छ।

    “जेन जीले देश र समाजका निम्ति केही राम्रा काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोरकिशोरी र युवायुवतीले यही भदौ २३ गते काठमाण्डूलगायत देशका धेरैजसो प्रमुख सहरहरूमा विरोध प्रदर्शनमार्फत्‌ पोखेको आक्रोश निश्चय पनि आमचासोको विषय हो,” विज्ञप्तिमा भनिएको छ।

    “युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद एवं निन्दनीय कार्य भएको छ।”

    उक्त घटना नेपाली समाजको मान्यताविपरीत रहेको पनि पूर्वराजा शाहको सचिवालयले बताएको छ।

    घटनामा ज्यान गुमाएका युवाहरूप्रति पूर्वराजा शाह र परिवारका तर्फबाट श्रद्धाञ्जलि तथा उनीहरूका अभिभावकमा समवेदना व्यक्त गरिएको छ।

    देशभित्रबाटै समस्याको समाधान खोज्न उनले अपील समेत गरेका छन्। “पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखिबक्सेको छ,” विज्ञप्तिमा भनिएको छ।

  19. काठमाण्डू विमानस्थलमा उडान प्रभावित, प्रदीप बस्याल

    फाइल तस्बिर
    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    राजधानीबाहिरका विमानस्थलहरूले सुरक्षा दिन सक्ने-नसक्ने सुनिश्चितता गर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू लगभग ठप्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बीबीसीलाई बताएका छन्।

    त्यसबाहेक काठमाण्डू विमानस्थलको कोटेश्वर-काँडाघारी-बालकोटतर्फको दक्षिणी बाटोतर्फ व्यापक रूपमा आगजनी भएकाले त्यसको मुस्लोले भिजिबिलिटी प्रभावित भएको भन्दै पाँचवटा अन्तर्राष्ट्रिय उडान हाल 'होल्ड'मा रहेको दिउँसो १ः४५ बजे सहप्रवक्ता भूलले बताए।

    "विमानस्थलको उत्तरी भाग बौद्धतर्फ भने समस्या छैन," उनले भने।

    "अन्यथा सुरक्षा र प्रशासनिक कारणले विमानस्थल बन्द गर्ने सोचिएको छैन। तर उडानहरू प्रभावित भएका छन्।”

    आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो सेवा प्रदायक बुद्ध एअरले आफ्ना सबै उडान रद्द गरेको जानकारी गराएको क्यानले जनाएको छ। अन्य विमान सेवाहरूले समेत उडान स्थगन गर्न थालेका छन्।

  20. प्रदर्शनकारीहरूको निसानामा नेताका घर र पार्टी कार्यालय

    कांग्रेस पार्टी कार्यालय

    तस्बिर स्रोत, Reuters

    स्थानीय प्रशासनले कर्फ्यू लगाएको भए पनि प्रदर्शनकारीहरूले काठमाण्डू उपत्यका र विभिन्न जिल्लामा राजनीतिक नेता तथा पदाधिकारीहरूका घर तथा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी गरेका विवरणहरू प्राप्त भएका छन्।

    प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका काठमाण्डू र धनगढीस्थित छुट्टाछुट्टै निवासमा आक्रमण गरेका छन्। काठमाण्डूमै राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निजी निवास पनि प्रदर्शनकारीहरूको तारोमा परेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासनजिकै प्रदर्शनकारीहरू पुगेका थिए।

    नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय एवं नेकपा एमालेको च्यासलस्थित मुख्यालयमा आगजनी भएका तस्बिरहरू सहितका विवरण मुख्य सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

    विभिन्न टेलिभिजन च्यानलले पदबाट राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घर, ऊर्जामन्त्री दीपक खड्काको घर र अरू नेताहरूका घरमा आक्रमण गर्ने प्रयास गरेको विवरण प्रसारण गरेका छन्।

    बाँकेमा एमाले पार्टी कार्यालयमा आगजनी भएको तस्बिर
    तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले बाँकेमा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन्

    सङ्घीय संसद्‌बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

    नजिकै रहेको नापी विभागको भवनमा पनि आगजनी भएपछि उडेको धुवाँको कालो मुस्लो टाढासम्म देखिएको छ। उपत्यकाका विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको बीबीसी संवाददाताहरूले देखेका छन्।

    सुर्खेतस्थित बीबीसी संवाददाता प्रकाश पन्तका अनुसार सुर्खेतमा आन्दोलनकारीले कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड गरेका र सामानहरू बाहिर निकालेर आगो लगाएका छन्। मुख्यमन्त्रीसहित केही प्रमुख दलका नेताहरूका घरको सुरक्षामा प्रहरी खटिएको छ। बिहानदेखि भइरहेको प्रदर्शनमा प्रहरीले खासै बल प्रयोग गरेको देखिँदैन।

    नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरीका अनुसार प्रदर्शनकारीहरूले बाँकेमा नेपाली कांग्रेस र एमालेका पार्टी कार्यालयमा आगजनी गरेका छन्। नेपालगन्जमा पुष्पलाल चोकमा रहेको सालिक पनि तोडफोड भएको छ।

    काठमाण्डूमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीहरू सडकमा भेला भएका छन्

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, प्रहरीले काठमाण्डूका विभिन्न स्थानमा अश्रुग्यास प्रहार गरेको छ