नेतृत्व परिवर्तन : माओवादीमा 'हुन्न', देउवा-ओलीको पक्षमा कायम 'दृढता'को लेखाजोखा

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली

'जेन जी' आन्दोलनका प्रदर्शनकारी मारिएपछि खास गरी तीन मुख्य दलका प्रमुखले अवकाश लिनुपर्ने धारणा पार्टीका नेताहरूबाटै सामाजिक सञ्जालमा लगातार प्रकट भएको देखिएको छ।

राजनीतिक अन्योल बढ्दै जाँदा त्यो आवाज पनि चर्किँदै गएको पाइएको छ।

यस सन्दर्भमा पुरानै नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अगाडि बढ्ने सम्भावना क्षीण हुँदै गएको एक थरीको आकलन छ।

तीन दलका नेताले अलगअलग र संयुक्त रूपमा पनि त्यसको पहल गरेको विवरण आएका छन्।

अन्योलग्रस्त राजनीतिले नयाँ बाटो लिँदै गएपछि त्यो बहस र प्रश्नबारे सम्बन्धित पार्टीका संस्थापन पक्षका नेताले मुख खोल्न थालेका छन्।

माओवादीमा नेतृत्व परिवर्तनको औचित्यमाथि प्रश्न

विघटित प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनी गरिएको पार्टी कार्यालयमा पुगेर नयाँ भव्य भवन बनाउने उद्घोष गरेका छन्।

उनकै पार्टीका कतिपय नेताहरूले नेतृत्व परिवर्तन गरेर पार्टीलाई रूपान्तरण गर्नुपर्ने पक्षमा मत प्रकट गरेको पाइन्छ।

तर महासचिव देव गुरुङले प्रचण्डले अध्यक्ष छाड्ने वा कार्यवाहक जिम्मेवारी दिने सम्भावना ठाडै अस्वीकार गरेका छन्।

उनका अनुसार बाहिर कसैले त्यस्तो आवाज उठाए पनि पार्टीभित्र त्यो कुरा उठेको छैन।

नियमित महाधिवेशन/सम्मेलनले नै पार्टी संरचना बनाउने उनको भनाइ छ।

तर विशिष्ट परिस्थिति उत्पन्न भएकाले नेतृत्वले स्वैच्छिक अवकाश लिनुपर्ने धारणा केही नेताहरूले व्यक्त गरेको पाइन्छ।

"अहिलेको विशिष्ट परिस्थिति नेताहरूसँग त्यति जोडिएको विषय नै होइन। जबरजस्ती रूपमा जोड्न लगाएको मात्रै हो, हाम्रो पार्टी आन्दोलनकारी पनि होइन, सत्ताधारी पनि होइन," महासचिव गुरुङ प्रश्न गर्छन्, "प्रतिपक्षीको रूपमा किनारमा पर्यवेक्षकको रूपमा रहेको शक्तिको बारेमा त्यस्तो टीकाटिप्पणी गर्नुको के औचित्य?"

'कम्युनिस्ट पार्टीलाई जस्तो कांग्रेसलाई हतार छैन'

कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचाररत छन्। गत भदौ २६ गते पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहितको कार्यसम्पादन समितिको भर्चुअल बैठक देउवाको अनुमतिमा भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

नेतृत्वको स्वैच्छिक अवकाशको आवाज एमाले र माओवादीमा भन्दा कांग्रेसमा जोडदार रूपमा उठेको पाइन्छ। नेता विश्वकर्माका भनाइमा कांग्रेसभित्र आफ्नो शिखर नेतृत्वविरुद्ध दोस्रो तथा तेस्रो पुस्ताको दबाव पहिलेदेखि बढेकै थियो।

"कसैले महाधिवेशनमा त कसैले त्यसअघि नै (नेतृत्व परिवर्तन हुनुपर्ने) भन्ने माग थियो," उनले भने, "अन्य कम्युनिस्ट पार्टीमा छोड्नुपर्नेले पनि फेरि नेतृत्व लिन फर्किनुभएको छ। तर हाम्रोमा त्यो मापदण्ड लागु हुन्छ जस्तो लाग्दैन।"

आगामी महाधिवेशनबाट देउवाले नेतृत्व छाड्नुपर्ने विधानको व्यवस्थातर्फ उनको सङ्केत थियो।

कांग्रेसको महाधिवेशन २०८२ मङ्सिरमा हुनुपर्नेमा एक वर्ष थप हुन सक्ने व्यवस्था छ।

सदस्यताको टुङ्गो र तल्लो तहका अधिवेशनलगायतका विषयहरू टुङ्गो नलागेकाले २०८३ सालको मङ्सिरमा महाधिवेशन गर्ने संस्थापन पक्षको तयारी छ।

महाधिवेशनअघि देउवाले छाड्लान्?

"पार्टी कार्यालयहरूमा भएको आगजनीले सबै रेकर्ड ध्वस्त भए। हिजो नियमित प्रक्रियामै ढिलो भएकामा अब विपद्को पनि व्यवस्थापन गर्नुपर्दा झन् ढिलो हुन सक्छ," नेता मीन विश्वकर्मा भन्छन्, "चुनाव भइहाल्यो भने चुनावको तयारी, सँगसँगै त्यसको लगत्तै महाधिवेशन गर्‍यौँ भने पार्टीको नेतृत्व, नीति, साङ्गठनिक स्वरूप पुनर्निर्माण र पुनर्गठन हुन्छ।"

त्यसो हुँदा कांग्रेसमा उठिरहेको पुनर्गठन, पुनर्निर्माण र पुस्तान्तरणको आवाज विधानबमोजिम महाधिवेशनबाट सम्बोधन हुने उनको धारणा छ।

त्यसको अर्थ देउवाले महाधिवेशनअघि पद त्याग्ने वा कार्यवाहक जिम्मेवारी दिने सम्भावना छैन?

'कसैले कार्यवाहक दिनुपर्ने त कसैले पार्टी नै पुनर्गठन गर्नुपर्ने जस्ता व्यक्तिगत मत बाहिर प्रकट भइरहेको' बताउने नेता विश्वकर्माले 'अस्पतालमा रहेकाले सभापति देउवाको मुखबाट त्यसबारे सुन्न नपाएको' जानकारी दिए।

"तर यो विपद्का बेलामा सिङ्गो पार्टी एक ठाउँमा बसेर छलफल गर्छ, अधिवेशन पर्खिनुपरे पनि वा अगाडि नै केही गर्नुपरे पनि नेतृत्वले सहज ढङ्गले केही गर्न सक्ने सम्भावना भएकाले हतारहतारमा बोल्नुपर्ने वा निर्णय गर्नुपर्ने जस्तो देखिँदैन," उनको भनाइ छ।

एमाले भन्छ : 'सङ्कटका बेला नेतृत्वमाथि हमला'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सडक आन्दोलनकै बलमा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका छन्।

आफ्नै पार्टीको नेतृत्वको सरकारद्वारा आन्दोलनमा दमन भएको भन्दै एमालेकै कतिपय नेताले ओलीले तत्काल पार्टी नेतृत्व छाड्नुपर्ने धारणा सार्वजनिक रूपमा प्रकट गरेको पाइन्छ।

तर एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्षले पद छाड्ने वा कार्यवाहक जिम्मेवारी दिने विषय एमालेमा प्रवेश गरेको छैन।

त्यो सम्भावना महाधिवेशनअघि नरहेको हो भन्ने प्रश्नमा उनले 'राजनीतिमा सम्भावना जे पनि हुने' जबाफ दिए।

"पार्टीको आन्तरिक जीवनलाई कसरी बलियो र जनमैत्री बनाउने भन्नेबारे छलफल हुँदा ती विषयमा ती कुरा उठ्लान्, तर त्यो विषयमा हामीले कुनै पनि छलफल गरेका छैनौँ, अजेन्डा उठेको पनि छैन," उनी भन्छन्, "पार्टीमा सङ्कट र चुनौती आइरहेको छ, पार्टी र नेतृत्वमाथि हमला भइरहेको छ। त्यतिनै बेला 'तेरो धोतीटोपी ले' भनेर त माग्नुभएन नि।"

तर परिस्थिति 'फेरिएको' स्वीकार

पदत्यागको मागका सन्दर्भमा उनले 'मिडियामा केही साथीका केही अभिव्यक्ति आएको' बताउँदै त्यसो भन्नेहरूको पनि अहिले "टोनडाउन" (आवाज मत्थर) भएको बुझाइ सुनाए।

'जेन जी' आन्दोलनको अघिल्लो दिन सम्पन्न एमालेको विधान महाधिवेशनले स्पष्टतः ओलीलाई आउँदो कार्यकाल पनि अध्यक्ष बनाउने गरी विधान संशोधन गरेको थियो।

संस्थापन पक्षका नेताहरूले ओलीको विकल्प नरहेको घोषणा गरेका थिए। तर बीबीसीसँगको कुराकानीमा गौतमले त्यो अडान दोहर्‍याउन चाहेनन्।

त्यसको अर्थ एमाले संस्थापन पक्षको पो 'टोन डाउन' होइन र?

"भदौ २० देखि २२ गते नेपालको राजनीतिक परिस्थिति एउटा ठाउँमा थियो, एउटा गति र सीमाभित्र एउटा निर्णय गर्‍यौँ," नेता गौतमको जबाफ थियो, "तर २३ र २४ गतेको घटनाले मुलुकलाई नयाँ ठाउँमा पुर्‍यायो। त्यो घटनाक्रमको तथ्य पहिल्याउने काम गरिरहेका छौँ। नेतृत्व परिवर्तनबारे प्रवेश नै गरेका छैनौँ।"

उनका अनुसार पार्टीका महासचिव र उपमहासचिवको उपस्थितिमा विभाग र जनसङ्गठनका प्रमुख पदाधिकारीको बैठक बुधवार भयो।

त्यसले केन्द्रमा पार्टी कार्यालयको प्राङ्गणमा र राजधानीबाहिर जिल्लाहरूमा उपयुक्त स्थानमा संविधान दिवस मनाउने निर्णय गरिएको बताउँदै उनले भने, "त्यसपछि पार्टी अन्य मुद्दामा प्रवेश गर्छ।"

प्रधानमन्त्रीबाट भदौ २४ गते राजीनामा दिएपछि सैनिक सुरक्षामा गएका भनिएका नेकपा एमाले अध्यक्ष ओली सार्वजनिक रूपमा देखा परेका छैनन्।

देउवा र ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेपछि उनीहरूलाई विस्थापित गर्ने मत उनीहरूको दलभित्र कति निर्णायक हुन सक्छ भन्ने थप स्पष्ट हुने ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।