तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापानिज इन्सेफलाइटिस : यो वर्ष नेपालमा 'मृत्युदर उच्च', कसरी जोगिन सकिन्छ
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) का कारण एक दशकयता उच्च सङ्ख्यामा बिरामीको मृत्यु भएपछि खोप कार्यक्रमको पहुँच र प्रभावकारितामाथि विज्ञहरूले प्रश्न उठाएका छन्।
यो वर्ष नेपालमा अहिलेसम्म ६१ जनामा भाइरसले सार्ने यो सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सामान्यतया अगस्ट र सेप्टेम्बर महिनामा जापानिज इन्सेफलाइटिस नेपालमा उच्चबिन्दुमा पुग्ने स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ।
यस पालि गत वर्षभन्दा सङ्क्रमण कम देखिएको भए पनि ज्यान गुमाउनेहरूको सङ्ख्या बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापानिज इन्सेफलाइटिसको खोप लगाउने गरिन्छ।
सरकारले सन् २०१६ मा उक्त रोगविरुद्ध अन्तिम पटक विशेष खोप अभियान चलाएको थियो।
जापानिज इन्सेफलाइटिस के हो
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो। यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ।
यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन्। यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ।
डेङ्गी, येलो फीभर र वेस्ट नाइल भाइरसहरूको वर्ग 'फ्ल्याफिभाइरस'मै जापानिज इन्सेफलाइटिस भाइरस पनि पर्छ।
एशियामा प्रत्येक वर्ष झन्डै एक लाख जनामा जापानिज इन्सेफलाइटिस पुष्टि हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
यो रोगको छुट्टै उपचार छैन। रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ।
जापानिज इन्सेफलाइटिस भएका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन्। त्यसैले यो रोगमा मृत्युदर ३० प्रतिशतसम्म हुने डब्ल्यूएचओले जनाएको छ।
जापानिज इन्सेफलाइटिसका लक्षण
अधिकांश अवस्थामा जापानिज इन्सेफलाइटिसमा मध्यम खालका लक्षणहरू देखिन्छन्। तर केही बिरामीमा त्यस्तो कुनै सङ्केत देखिँदैन।
लक्षणहरू यस्ता हुन्छन् -
- उच्च ज्वरो आउनु
- मुर्च्छा पर्नु
- घाँटी अररो हुनु
- भ्रममा पर्नु
- बोल्न नसक्ने अवस्थामा पुग्नु
- शरीर अनियन्त्रित भएर कामिरहनु
- मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु
डब्ल्यूएचओका अनुसार जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमित हुने २५० मध्ये एक जनामा अझ घातक खालका समस्याहरू देखा पर्न थाल्छन्। त्यस्ता समस्या भएका तीन बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ।
केही बिरामीको मस्तिष्कमा गम्भीर क्षति पुग्छ। तर धेरै बिरामीको स्वास्थ्यस्थितिमा बिस्तारै सुधार हुन थाल्छ।
नेपालमा यो कस्तो स्थिति छ
कम्तीमा विभिन्न २५ जिल्लामा सङ्क्रमण देखा परेको जनाइएको छ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा मातहतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतम यो वर्ष पोहोरको तुलनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण कम भएको देखिए पनि मृत्युदर बढी भएको बताउँछन्।
“यसपालि सङ्क्रमण नियन्त्रणमा नै छ। घटनाहरू पहिलाभन्दा कम भए पनि ६१ जनामा सङ्क्रमण देखिँदा १४ जनाको मृत्यु भएको छ। हामीले हेर्दाखेरि ज्यान गुमाउने १४मध्ये एक जनाले खोप लगाएको भनिएको छ, अरू कतिको के थियो... थाहा छैन र केहीले नलगाएको भन्ने कुरा छ।”
शङ्कास्पद बिरामीहरूबाट सङ्कलन गरिएका ६९५ वटा नमुनामध्ये ६१ वटामा जेई पुष्टि भएको र तीमध्ये १४ जना बिरामीको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ।
मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराहा, सुनसरी र झापा जिल्लाका बिरामी हुन्।
यस पटक राजधानी काठमाण्डूमा पनि एउटा सङ्क्रमण देखा परेको छ। तर ती व्यक्ति जेई देखिएको तराई क्षेत्रको यात्रा गरेर फर्किएको अधिकारीहरू बताउँछन्।
सन् २०२३ मा नेपालमा १०७ वटा सङ्क्रमण देखा पर्दा ७ जनाको ज्यान गएको थियो।
चिन्ताको विषय किन
खोप अभियान चलाएपछि विगतका केही वर्षमा नेपालमा जापानिज इन्सेफलाइटिसका कारण बिरामीको मृत्यु भएको देखिँदैन। तर यस पटक जापानिज इन्सेफलाइटिसको मृत्युदर झन्डै २३ प्रतिशत भएकाले विज्ञ र अधिकारीहरू चिन्तित देखिन्छन्।
“मुख्य सुरक्षा खोपले नै दिने हो। मैले बुझेअनुसार धेरै घटनाहरू खोप नलगाएकै कारणले भएका हुन्। खोप सफल हुँदै गएपछि बीचमा कसैले लिँदैनन्। मलाई कार्यक्रमको पहुँच नपुगेको हो कि जस्तो पनि लाग्छ,” स्वास्थ्य सेवा विभागका पूर्वप्रमुख डा श्यामराज उप्रेतीले भने।
विशेष गरी तराई र भित्री मधेशमा बढी देखा पर्ने यो रोग नेपालमा नियन्त्रणमा रहेको अधिकारीहरूले बताउने गरेको पाइन्छ।
सन् १९७८ मा पहिलो पटक नेपालमा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो। सन् १९९८ देखि २००८ सम्म नेपालमा ११,५९१ बिरामी पाइएको स्वास्थ्य सेवा विभागको एउटा तथ्याङ्कले देखाउँछ।
कतिपय संस्थाहरूले नेपालमा विगतको समयमा सबै जापानिज इन्सेफलाइटिसका सङ्क्रमण अभिलेखमा नरहने गरेको बताउने गर्छन्।
नेपालमा २०७३ साल श्रावण महिनामा जापानिज इन्सेफलाइटिसलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको छ।
त्यसअन्तर्गत १२ महिनामाथिको उमेरका बालबालिकालाई खोप दिने गरिएको छ।
खोप शाखाका प्रमुख डा गौतमका अनुसार त्यसअघि सन् १९९९ मा सरकारले रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका क्षेत्रमा यो रोगविरुद्धको खोप अभियान चलाएको थियो।
सन् २००९ सम्म आइपुग्दा झन्डै २० वटा जिल्लालाई समुदायमा यो सङ्क्रमण व्याप्त रहेको स्थान मानेर त्यहाँ एक वर्षमाथिका सबै बालबालिकालाई खोप लगाइएको थियो।
“त्यतिखेर छुटेका व्यक्ति र त्यस बेला पहाडमा रहेका र पछि तराई आएका व्यक्तिहरू अनि खोप नलगाएका व्यक्तिहरू बढी जोखिममा हुनुहुन्छ।”
जापानिज इन्सेफलाइटिसबाट कसरी जोगिने
जापानिज इन्सेफलाइटिसको खोपले काम गर्न केही समय लाग्ने हुँदा अहिले दिएको खोपले लामखुट्टे लाग्ने मौसम सकिएपछि मात्रै काम गर्ने अवस्था रहेको डा गौतमले बताउँछन्।
त्यही भएर अहिलेको जोड मानिसहरूलाई लामखुट्टेको टोकाइबाट जोगिन जनचेतना फैलाउनेमा नै बढी केन्द्रित रहेको उनको भनाइ छ।
विज्ञहरू माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरू थप सतर्क हुनुपर्ने औँल्याउँछन्।
त्यसका लागि गर्नुपर्ने उपाय -
- लामखुट्टे भगाउने पदार्थ वा साधन प्रयोग गर्ने
- बाहिर निस्कँदा लामो, खुकुलो, लुगा लगाउने, हातखुट्टा छोप्ने
- लामखुट्टे बढी सक्रिय हुने झिसमिसे र साँझको समयमा घरबाहिर ननिस्कने
- घरमा झुल वा जाली प्रयोग गर्ने।
विशेष खोप अभियानको सम्भावना कस्तो
खोप शाखाका प्रमुख डा गौतमले खोप अभियान अर्को वर्षका लागि प्रभावकारी उपाय हुन सक्ने बताए।
“खोप ल्याउनेबारे निर्णय गर्ने नेपाल सरकारका विभिन्न समितिमा छलफलहरू भएका छन्। पहिलो प्राथमिकताका रूपमा अहिले लामो बाहुला भएका लुगा लगाउनेदेखि लामखुट्टे रोकथामका उपाय अपनाउने भन्ने निर्णय गरिएको छ।”
“अहिलेका लागि खोप आवश्यक नभएको भन्ने सिफारिस हामीले पाएका थियौँ। हामीले दिनदिनै प्रतिवेदनहरू पठाएर त्यसलाई पुनरवलोकन गर्न उहाँहरूलाई घचघच्याइरहेका छौँ,” उनले भने।
खोपले काम गर्न कम्तीमा एक महिना लाग्ने भएकाले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण ओरालो लाग्न थालिसकेको अहिलेको समयमा विशेष खोप अभियान अधिकारीहरूको प्राथमिकतामा नपरेको देखिन्छ।
"जुलाईबाट सुरु भएर अगस्टमा जापानिज इन्सेफलाइटिस उत्कर्षमा पुग्छ। त्यसपछि घट्ने हो। हामी अहिले सेप्टेम्बरमा छौँ, नयाँ बिरामीहरू थपिएका छैनन्। पुरानैको उपचारका क्रममा ज्यान गएको हो। अहिलेको वर्षका लागि खोप प्रभावकारी उपाय होइन अर्को वर्षका लागि हुन सक्छ।”
राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा जेडी ठाकुरले विशेष खोप अभियानको कुरा राष्ट्रिय खोप सल्लाहकार समितिमा "आएकोबारे आफूलाई जानकारी नभएको" बताए।
नेपालमा जापानिज इन्सेफलाइटिसलक्षित विशेष खोप अभियान अन्तिम पटक सन् २०१६ मा आयोजना भएको थियो।
सन् २०१४ र सन् २०१५ मा लगभग २,२०० को सङ्ख्यामा देखिएका जापानिज इन्सेफलाइटिस सङ्क्रमण उक्त अभियानपछिका वर्षमा प्रत्येक वर्ष १०० भन्दामुनि सीमित रहेको तथ्याङ्कले देखाउँछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।