डेङ्गी र 'स्क्रब टाइफस' रोग नेपालमा महामारी बन्न सक्ने जोखिम कस्तो

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

केही महिनाअघि मात्र नेपालका ७७ मध्ये ७५ वटा जिल्लामा देखा परेको डेङ्गी रोग महामारीकै रूप लिन सक्ने जोखिमलाई अझै नकार्न नसकिए पनि 'स्क्रब टाइफस'को हकमा भने त्यस्तो सम्भावना नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यी दुवै रोगको परीक्षणका लागि 'किट'को अभाव छैन। तर उपचारविधि ठ्याक्कै किटान नभएकाले रोगबाट जोगिनु राम्रो हुने उनले बताए।

नेपालमा यो वर्ष (सन् २०२४ मा) अहिलेसम्म ६,८०० जनाभन्दा धेरैमा डेङ्गी पुष्टि भएको छ। तीमध्ये पाँच जनाको मृत्यु भएको सरकारी विवरण छ। सोही अवधिमा ३,५०० जना भन्दा धेरैमा स्क्रब टाइफस पुष्टि भएको छ।

“यी दुवै रोगका हकमा सङ्क्रमण देखिए पनि त्यसको उपचारको एउटै ठोस विधि छैन। लक्षणकै आधारमा हामीले त्यसको व्यवस्थापन गर्ने मात्र हो,” उनले भने।

“ज्वरो आएको भए ज्वरो घटाउने, शरीर दुखेमा दुखाइ कम गर्ने, शरीरमा पानीको मात्रा कम हुन नदिने जस्ता उपाय चालिने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षणअनुसारका उपचार गर्न समेत भनिएको छ।”

धेरै रोगको प्रकोप : परीक्षण किन महत्त्वपूर्ण

एक सङ्क्रामक रोगविज्ञले अहिले डेङ्गी र स्क्रब टाइफसबाहेक भाइरल ज्वरो र हैजाजस्ता रोग पनि फैलिन सक्ने बेला भएको औँल्याउँदै परीक्षणमा जोड दिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनका अनुसार असार र भदौबीचको अवधि डेङ्गी र स्क्रब टाइफसको पनि उच्च सङ्क्रमण देखा पर्ने समय हो।

“डेङ्गी फैलावट सुषुप्त रूपमा भइरहेकोले चनाखो हुनुपर्ने बेला यही नै हो,” डा पुनले भने।

“नेपालमा केही दिन ज्वरो आउँदैमा वा केही दिन खाना नरुच्दैमा परीक्षण गरिहाल्ने चलन कम छ। तर अधिकांश परीक्षण नभएका त्यस्ता घटना डेङ्गीकै हुन सक्छ।”

अधिकारीहरू वर्षाको अवधि कहिलेसम्म लम्बिन्छ भन्ने अनिश्चित भएकाले अझै केही साता डेङ्गीको चिन्ता रहेको बताउँछन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकी परीक्षण गर्नका लागि किटको अभाव नरहेकाले शङ्का लाग्नेबित्तिकै परीक्षण गराउन सुझाव दिन्छन्।

"निजी परीक्षण केन्द्रमा अस्वाभाविक शुल्क लिइएको गुनासो आउँदा हामी किटको मूल्यका आधारमा अनुगमन गरेर मूल्याङ्कन गरेर कारबाही गर्छौँ। सरकारी निकायमा किट नि:शुल्क नै छ,” उनी भन्छन्।

डेङ्गीबारे बढी सजगता आवश्यक

यस वर्ष नेपालका मुस्ताङ र हुम्ला जिल्लामा मात्र डेङ्गी सङ्क्रमण देखिएको छैन।

डा शेरबहादुर पुन गत वर्ष देखा परेको डेङ्गी सङ्क्रमणको लहर यो वर्षसम्म लम्बिएको हुन सक्ने ठान्छन्। उनी पोहोरको जस्तै लहर यो वर्ष पनि देखियो भने कडा खालको सङ्क्रमणले अझ जोखिम थपिन सक्ने चेतावनी दिन्छन्।

त्यसैले परीक्षण महत्त्वपूर्ण भएको र सर्वसुलभ हुनु अत्यावश्यक रहेको उनको भनाइ छ।

डा बुढाथोकीले अहिलेको अवस्थामा नेपालमा डेङ्गीको प्रकोप नियन्त्रणमै रहेको दाबी गरे। उनले असोज मसान्तसम्म वर्षा भएर पानी जम्ने क्रम जारी रहे कात्तिकसम्मै डेङ्गीको प्रकोप रहन सक्ने चिन्ता भएको बताए।

“त्यसैले सर्वसाधारण मानिसको सचेतना यसमा सबैभन्दा महत्त्वपूर्ण छ। हामीले घर र आसपासको क्षेत्रमा कम्तीमा हप्ताको एक पटक सरसफाइ गर्ने, पानी भरिएर रहेका नयाँ वा पुराना भाँडालाई घोप्टाएर राख्न भनिरहेका छौँ।”

स्क्रब टाइफसबारे चिन्ता

स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार स्क्रब टाइफस तुलनात्मक रूपमा जटिल र घातक रोग हैन र अहिलेको सङ्क्रमण दर पनि अत्त्याउने खालको छैन।

चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफस सर्दैन। चिकित्सकहरू यसबाट जोगिन खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउन सुझाउँछन्।

“महामारीको रूप लिइहाल्ने खालको यस रोगको प्रकृति नभए पनि सबैतिर लक्षणका आधारमा उपचार गर्न सकियोस् भनेर तालिम दिइएको अवस्था छ,” बुढाथोकीले भने।

“हामीले त्यसको राष्ट्रिय मापदण्ड बनाएर बिरामीहरूको उपचार गरेका छौँ। तर पनि यो रोग मुसामा हुने किर्नाबाट सर्ने भएकाले त्यसको वृद्धि विकास नहोस् भन्ने गरी सरसफाइ र सजगता आवश्यक पर्छ।”

स्क्रब टाइफसको परीक्षण र सचेतनाको काम राजधानीबाहिर गर्न आवश्यक रहेको डा शेरबहादुर पुन ठान्छन्।

“किटहरू पुर्‍याउन सक्दा गाउँघरका स्वास्थ्य केन्द्रमा सामान्य तालिमका भरमा गर्न सकिने परीक्षण हुन् यी,” उनले भने। “यसको सङ्क्रमण उकालो लाग्दो क्रममा रहेको भन्ने थाहा हुँदा नै परीक्षण बढाएर वास्तविक अवस्था थाहा पाउनु उपयुक्त हुन्छ।"

त्यसो गर्दा बिरामीको मृत्यु हुन नदिने मात्र नभई रोग फैलिने काम पनि रोक्ने उनी बताउँछन्।

यसका बिरामीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक पसिना आउने जस्ता कोभिडसँग मिल्ने लक्षणबाहेक कानमा टिनटिन आवाज आउने, शरीरमा ससाना बिमिरा देखिने, आँखा रातो हुने र किर्नाले टोकेको दागमा चिलाउने र कालो हुँदै पाप्रा आउने हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।