तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पदमा हुँदा 'अवैध उपहार' लिएको अभियोगमा सिङ्गापुरका पूर्वमन्त्री दोषी ठहर
- Author, सुरञ्जना तिवारी
- Role, बीबीसी न्यूज, सिङ्गापुर
सिङ्गापुरमा एक पूर्वमन्त्री पदमा बहाल हुँदा अवैध रूपमा विभिन्न उपहार लिएको अभियोगमा दोषी ठहर भएका छन्। उनले एउटा स्थानीय अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका थिए।
सुब्रमण्यम ईश्वरन (६२) विरुद्ध सुरुमा भ्रष्टाचारको अभियोग लगाइएको थियो। मङ्गलवार उक्त मुद्दाको सुनुवाइ सुनुवाइ प्रारम्भ हुने ठानिएको थियो।
तर सरकारी वकिलहरूले उनीविरुद्ध लगाएका अभियोगमा संशोधन गरेका थिए।
सिङ्गापुरमा भ्रष्टाचारको मामिलामा सरकारी अधिकारीविरुद्ध मुद्दा पर्नु दुर्लभ घटना हो।
ईश्वरनको मुद्दाले सिङ्गापुरमा निकै ठूलो चर्चा पायो।
विश्वभरिकै एउटा वित्तीय केन्द्रका रूपमा स्थापित उक्त देशले भ्रष्टाचारको मामिलामा आफ्नो छवि निकै स्वच्छ रहेको देखाउँदै आएको छ।
सजाय कति हुन्छ
अब ईश्वरनले आफूले लिएको प्रत्येक उपहार वा फाइदाका लागि जरिबाना वा दुई वर्षसम्मको जेल सजाय पाउन सक्छन्। भ्रष्टाचारको मुद्दा चलेर दोषी ठहर भएको भए चाहिँ उनलाई एक लाख सिङ्गापुर डलरसम्म जरिवाना वा सात वर्षसम्म जेल सजाय हुन सक्थ्यो।
ईश्वरन सिङ्गापुरमा विगत ५० वर्षमा अदालतमा मुद्दा खेप्ने सार्वजनिक पदधारण गरेका तथा राजनीतिक पृष्ठभूमि भएका प्रथम व्यक्ति हुन्।
उनलाई सिङ्गापुरमा पहिलो पटक 'फर्मूला वन ग्र्यान्ड प्रिक्स' आयोजना गर्ने व्यक्तिको रूपमा समेत चिनिन्छ।
उक्त प्रतियोगिताको पछिल्लो संस्करण उनलाई अदालतमा उपस्थित गराइनु केही दिनअघि मात्र सम्पन्न भएको थियो।
ईश्वरनलाई लागेको आरोप
उनीविरुद्धको अभियोगपत्रमा ईश्वरनलाई चार लाख ३,००० सिङ्गापुर डलरभन्दा बढीको हवाई टिकट, होटलमा बसोबासको सुविधा, साङ्गीतिक कार्यक्रम र 'ग्र्यान्ड प्रिक्स'का टिकटहरू उपहारका रूपमा दिइएको उल्लेख छ।
गत ज्यानुअरीमा अभियोग लागेलगत्तै उनले आफू दोषी नभएको दाबी गर्दै सरकारबाट राजीनामा दिएका थिए। उनले आफूमाथि लागेको कलङ्क मेट्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका थिए।
उनले घरजग्गा कारोबारी ओङ बेङ सेङको व्यापारमा फाइदा पुग्ने गरी सघाएको आरोप लगाइएको थियो। त्यसबापत सेङले उनलाई घुस दिएको कुरा अभियोगपत्रमा उल्लेख थियो।
सेङले सिङ्गापुरमा 'ग्र्यान्ड प्रिक्स' आयोजनाको अधिकार पाएका छन्। ईश्वरन उक्त आयोजनाको तदर्थ समितिका सल्लाहकार थिए।
ती व्यवसायीको कम्पनी 'होटल प्रोपर्टिज' अन्तर्गत ३८ वटा होटल र रिसोर्ट छन्। लन्डन स्टक एक्सचेन्जको वित्तीय विश्लेषण तथा व्यापारसम्बन्धी सफ्टवेअर रेफिनिटिभ आइकोनका अनुसार उनका होटल तथा रिसोर्टहरू 'फोर सीजन्स', 'हार्ड रक होटल्स' र 'कन्कर्ड'लगायतका ब्रान्डमा सञ्चालित छन्।
सेङ पनि गत वर्ष ईश्वरनसँगै पक्राउ परेका थिए। तर उनीमाथि कुनै पनि अभियोग लगाइएन। सुरुमा उनलाई ईश्वरनको सुनुवाइका क्रममा अभियोजनकर्ताले साक्षी बनाएका थिए।
गत मार्चमा ईश्वरनमाथि थप आठवटा अभियोग लगाइयो। ती अभियोगमा उनले निर्माण व्यवसायी लुम कोक सेङसँग एउटा महँगो साइकल, गल्फ खेल्ने एक सेट क्लब र ह्विस्कीसहित विभिन्न उपहार लिएको कुरा समाविष्ट छन्।
लुमको कम्पनीले सिङ्गापुर सरकारका विभिन्न पूर्वाधारहरू निर्माण गरेको थियो। उनले ईश्वरन यातायातमन्त्री भएका बेला ठेक्का पाएका थिए। तर ती व्यवसायीमाथि पनि कुनै अभियोग लगाइएको छैन।
ईश्वरनको मुद्दा पार्टीका लागि लज्जाको विषय
सरकारमा रहँदा उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार मन्त्रालय र पछिल्लो पटक यातायात मन्त्रालयमा काम गरेका थिए। तर व्यापार र उद्योग मन्त्रालयको लामो कार्यकालमा उनले चर्चा कमाए।
सन् २००० र सन् २०१० को दशकमा सिङ्गापुरको पर्यटन क्षेत्रलाई अघि बढाउन ईश्वरनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यो समयमा सरकारले ठूलो स्रोत र साधन परिचालन गरेको थियो। क्यासिनो, होटल, पर्यटकीय आकर्षणका केन्द्र र एफवन रेसजस्ता कार्यक्रममा अर्बौँ डलर बराबरको विदेशी लगानी भएको थियो।
एफवन रेसका विजेताहरूलाई उपाधि दिने कार्यक्रममा पनि उनी नियमित रूपमा सहभागी हुन्थे।
ईश्वरनविरुद्धको मुद्दा पीपल्स एक्शन पार्टीका लागि एउटा अर्को लज्जाजनक विषय बनेको छ। लामो समयदेखि भ्रष्टाचार र अनैतिक व्यवहारप्रति आफ्नो कडा अडान रहेको बताउने गरेको उक्त दल एकपछि अर्को राजनीतिक विवादमा मुछिएको छ।
सन् २०२३ मा अन्य दुई फरक भ्रष्टाचारका मामिलाका कारण पनि सरकार हल्लिएको थियो। त्यस बेला अन्य दुई मन्त्रीलाई अनुचित कार्य गरेको आरोप लागेको थियो। यद्यपि उनीहरूले सफाइ पाएका थिए।
त्यस बेला दुई जना सांसदले विवाहेतर सम्बन्धका कारण राजीनामा दिनुपरेको थियो।
राम्रो तलब
सिङ्गापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब प्राप्त गर्नेमध्ये पर्छन्। त्यहाँ केही मन्त्रीहरूको आम्दानी १० लाख सिङ्गापुर डलरभन्दा बढी छ।
नेताहरूले आकर्षक तलबले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने तर्क गर्दै आएका छन्।
यसअघि सिङ्गापुरको इतिहासमा सन् १९८६ मा तात्कालिक राष्ट्रिय विकासमन्त्री तेह चेङ वाङविरुद्ध भ्रष्टाचार गरेको आशङ्कामा छानबिन भएको थियो। तर अभियोग लाग्नुअघि नै उनले आत्महत्या गरेका थिए।
त्यसअघि सन् १९७५ मा तात्कालिक पर्यावरण राज्यमन्त्री वी टून बूनलाई आठ लाख सिङ्गापुर डलरभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा १८ महिना जेल सजाय भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।