संसद्‍मा बोल्न नपाएपछि गृहमन्त्रीको पत्रकार सम्मेलन, यस्ता छन् उनका मुख्य तर्क

गृहमन्त्री रमेश लेखकको पत्रकार सम्मेलन

विपक्षीहरूको अवरोधका कारण संसद्‌मा बोल्न नपाएका गृहमन्त्री रमेश लेखकले बुधवार संसद् परिसरमै पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने छानबिनमा आफू र आफ्नो मन्त्रालयले पूर्ण रूपमा सहयोग गर्ने बताए।

काठमाण्डू विमानस्थलमा भिजिट भिसाका नाममा रकम असुली गर्ने गरेको भनिएको यस प्रकरणमा दुई ठूला प्रतिपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधवार एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले समेत नैतिकताको हिसाबमा राजीनामा दिन सुझाएका थिए।

त्यसबारे सोधिएको प्रश्नमा उनको जबाफ थियो, "एक जना राष्ट्रसेवक कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने यहाँ एक वर्षमा देशमा कति मन्त्री चाहिएला? के यो थिति ठिक हो?"

उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक रूपमा आक्रमण भइराखेको बताउँदै उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरे।

अख्तियारको 'अनुसन्धानको निष्कर्ष नै समग्र विषयको जबाफ हुने' बताउँदै त्यसका लागि पर्खन आग्रह गरे।

"मेरो मन्त्रालयअन्तर्गतको निकायले अनुसन्धान गरिराखेको विषय होइन। देशको सर्वाधिक विश्वासिलो, संविधानद्वारा स्थापित निकायले गरिराखेको हो," लेखकले थपे।

प्रतिरक्षामा थप के भने

रमेश लेखक

तस्बिर स्रोत, Fb/Ramesh Lekhak

तस्बिरको क्याप्शन, फाइल तस्बिर

पत्रकार सम्मेलनभर उनको जोड कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वमाथि जोड्न नहुने भन्ने थियो।

हाल आयोगको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीको अग्रसरतामा अध्यागमन विभागमा सरुवा भएर गएका र पछि फेरि त्यहाँबाट तानिएका दाबी मङ्गलवार विपक्षी सांसदहरूले सदनमा गरेका थिए।

त्यसको जबाफ दिने क्रममा लेखकको भनाइ थियो, "सहसचिव तीर्थराज [भट्टराई] जी मैले नियुक्त गरेको होइन। मैले गृह मन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन। मभन्दा पहिला, मैले दिएको भन्दा महत्त्वपूर्ण जिम्मेवारी दिइएका व्यक्ति हुन्। तर मसँग जोडिँदै छ।"

यस प्रकरणमा 'छानबिनलाई नै प्रभावित पार्न खोज्ने गरी' क्रियाकलाप भइरहेको र 'न्याय पाउने आफ्नो पनि हक भएको' लेखकको भनाइ थियो।

रमेश लेखक

तस्बिर स्रोत, RSS

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयका कर्मचारी जोडिएको घटनालाई लिएर सत्तारूढ र प्रतिपक्षी दल आआफ्नै अडानमा कायम रहेपछि प्रतिनिधिसभाको बैठक मङ्गलवार र बुधवार स्थगित भएको छ।

तर लेखकको भनाइ छ, ''अपुष्ट र नियोजित सामग्रीकै भरमा राजीनामा दिने थिति बसालिए...भोलिका दिनमा वहाँहरू [विपक्षीहरू] यस्ता अवाञ्छित प्रश्नबाट भाग्न पाउनुहुने छैन।''

उनले विगतमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफू जोडिएका विवादका बीच ''केही आधारभूत भिन्नता'' रहेको दाबी गर्दै ''आज मविरुद्ध अनुसन्धान भइराखेको होइन'' भने।

''त्यसबेलाको सहकारी प्रकरण तत्कालीन माननीय मन्त्रीसँग सीधै जोडिएको छ। वहाँ स्वयं अनुसन्धानको दायरामा हुनुहुन्थ्यो।''

यस प्रकरणमा लेखकको संलग्नता भएको आरोपबारे गृह मन्त्रालय र उनको दल नेपाली कांग्रेसले प्रतिरक्षा गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।