भिजिट भिसामा जाने नेपालीका लागि जारी यात्रा परामर्श कति व्यावहारिक?

भिजिट भिसामा विभिन्न मुलुक जाने नेपाली नागरिकका लागि सरकारले मङ्गलवार यात्रा परामर्श अर्थात् ‘ट्राभल एडभाइजरी’ जारी गर्दै लागु गरेका कतिपय प्रावधान “अव्यावहारिक देखिएको” आप्रवासन विज्ञले बताएका छन्।
अध्यागमन विभागले भने नेपालीहरूले नक्कली कागजात र झुटा विवरण पेस गरी भिजिट भिसामा द्वन्द्वग्रस्त मुलुकसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै त्यस्ता गतिविधि न्यून गर्न उक्त परामर्श जारी गरिएको जनाएको छ।
विभागले मङ्गलवार १३ बुँदै सुझाव र भिजिट भिसामा भ्रमण गर्दा नेपाली अध्यागमन अधिकारीसमक्ष पेस गर्नुपर्ने कागजपत्रहरूको सूचीसहितको सूचना जारी गरेको थियो।
त्यसमा विशेषगरी खाडी क्षेत्रका आधा दर्जन मुलुकमा भिजिट भिसामा जाँदा यात्रुले गर्नुपर्ने स्व: घोषणाको नमुना पनि सार्वजनिक गरिएको छ।
परामर्शमा के छ?
विभागले विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकका रूपमा विदेश घुम्ने उद्देश्यले जानेहरूका लागि उक्त परामर्श जारी गरेको हो।
त्यसमा भिजिट भिसामा गएकाहरूले कुनै पनि देशमा पुगेर रोजगारीको अवसर खोज्नु वा त्यसका लागि पहल गर्नु गैरकानुनी हुने स्मरण गराइएको छ।
पर्यटक भिसामा गएकाहरूले सम्बन्धित देशको नियम अनुसार भिसा अवधिमै स्वदेश फर्कनुपर्ने र त्यसो नगरे कारबाहीमा परिने त्यसमा उल्लेख छ।
विभागले पर्यटक भिसामा गएकाहरूलाई काममा लगाइदिन्छु भनेर थप रकम असुल गर्नेहरूलाई रकम नबुझाउन र त्यस्ता गतिविधिमा नलाग्न नेपाली नागरिकलाई आग्रह गरेको छ।
त्यस्तै भिजिट भिसामा जानका लागि नक्कली कागजात पेस नगर्न, झूटो विवरण नदिन र एक देशमा जान्छु भनि अर्को देशमा नजान पनि आग्रह गरिएको छ।
उक्त परामर्शमा नेपालीहरू भारत र ब्रिटेनबाहेक अन्य कुनै पनि विदेशी मुलुकको सैनिक बन्न नसक्ने भएकाले अन्य मुलुकमा सैनिक बन्ने प्रयोजनका लागि नजान र कसैले प्रलोभन दिए त्यसमा नपर्न पनि सचेत गराइएको छ।
त्यस्तो कार्य राष्ट्रहित विपरीत हुने पनि अध्यायगमन विभागले जनाएको छ।
विभागले विद्यार्थी भिसामा जानेहरूले अध्ययनबाहेकका गतिविधिमा संलग्न नहुनका लागि पनि आग्रह गरेको छ।
त्यस्तै विदेश जाँदा नेपाली विमानस्थलबाटै प्रस्थान गर्न, म्यानपावरहरूलाई सरकारले तोकेकोभन्दा बढी रकम नदिन, खाडीका कतिपय देशहरूमा भिजिट भिसामा गएर त्यसलाई कामदार भिसामा परिवर्तन गर्ने उद्देश्यले बिचौलियाहरूलाई रकम नतिर्न पनि नेपाली नागरिकलाई आग्रह गरेको छ।
सङ्कटग्रस्त क्षेत्रमा नेपाली

गत अक्टोबरमा इजरेल-हमास द्वन्द्व सुरु भएलगत्तै अध्यागमन विभागले इजरेल जानु नेपालीका लागि असुरक्षित रहेको भन्दै यात्रामा नजान भनेको थियो।
गत अक्टोबर ७ मा इजरेलमा हमासले गरेको हमलामा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने हमासको कब्जामा रहेका भनिएका एकजना विद्यार्थी विपिन जोशीबारे हालसम्म यकिन विवरण आउन सकेको छैन।
त्यसैगरी युक्रेनसँगको युद्धमा रहेको रुसमा कतिपय नेपाली युवाहरू त्यहाँको सेनामा भर्ना भएको र मारिएको विवरण सरकारले नै दिएको थियो।
युक्रेनमा पनि रुसी सेनामा भर्ना भएका केही नेपालीहरू बन्धक बनेको विवरण पनि आएका छन्।
परराष्ट्र मन्त्रालयले पटक पटक सूचना निकाल्दै ती देशका सेनामा भर्ना नहुन आग्रह गरेको छ भने हालै वैदेशिक रोजगार विभागले ती देशहरूका लागि श्रम स्वीकृति पनि बन्द गरिदिएको छ।
पहिलो ‘परामर्श’
भिजिट भिसामा गएर नेपालीहरू अलपत्र परेको विवरण आइरहेका बेला मङ्गलवार पहिलो पटक विस्तृत प्रकृतिको यात्रा परामर्श निकालेको अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालले बताए।
परामर्शसहितको सूचना निकाल्नुको कारणबारे बताउँदै दाहालले भने, “रुस-युक्रेन युद्धदेखि इजरेल-हमास युद्धसम्ममा नेपालीहरू यहाँबाट विभिन्न स्थानलाई ट्रान्जिट बनाएर ती देशका सशस्त्र फौजमा भर्ना भएको कुरा आएकाले हामीले सचेत गराउन यो परामर्श जारी गरेका हौँ।”
उनले त्यसबारे सात सय ५३ वटै स्थानीय तहहरूलाई पनि सचेतना जगाउन आग्रह गर्दै सूचित गरिएको बताए।
उनले नेपाली नागरिकहरूलाई कुनै पनि देशको भ्रमण गर्दा त्यहाँको भाषा तथा कानुनबारे पनि जानकारी लिएर मात्र जान आग्रह गरेको छ।
विभागले जारी गरेको परामर्शमा खाडीका यूएई, बाहरेन, साउदी अरेबिया, कुवेत, कतार र ओमनमा भिजिट भिसामा जानेहरूले स्व-घोषणा गर्नुपर्ने नियम पनि सुरु गरेको छ।
बुझाउनुपर्ने कागजात

भिजिट भिसामा यात्रा गर्नका निम्ति विभागले नयाँ व्यवस्था लागु गर्दै केही थप कागजात पेस गर्नुपर्ने नियम लगाइदिएको छ।
त्यस्ता कागजातहरू हुन्-
- कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी
- सम्बन्धित देशको भिसा (‘अन अराइभल’ भिसा पाइने देशका लागि नचाहिने)
- दुईतर्फी हवाई टिकट
- भ्रमण अवधिभरिका लागि होटल बुकिङ गरेको प्रमाण
- आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र
- भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र
- त्यस्तो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण
- यूएई, बाहरेन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्व:घोषणा गर्नु पर्ने र त्यो विवरण प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने
‘कतिपय प्रावधान अव्यावहारिक’
सरकारले जारी गरेको परामर्श र त्योसँगै लागु गरेको नयाँ नियममा कतिपय प्रावधान व्यावहारिक नदेखिएको एकजना आप्रवासन विज्ञले बताएकी छन्।
आप्रवासन विज्ञ मीना पौडेलले बीबीसीसँग भनिन्, “कतिपय कुराहरू पुरानै रहेछन् र ती खासै असहज पनि होइनन् तर आफन्तको निम्तोमा जानेले तीन पुस्ते खुलाउनुपर्ने प्रावधान व्यावहारिक देखिएन।”
“त्यसले त झन् मानिसहरूलाई नक्कली कागजात पेस गर्नतिर लगाउँछ। थप समस्या निम्तिन सक्छन्।”
उनी नेपालले द्वन्द्वग्रस्त क्षेत्रमा नागरिकहरूलाई जानका निम्ति निरुत्साहित गर्न आफ्नो श्रम कूटनीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छिन्।
“त्यस्ता गतिविधि रोक्न देशभित्रै रोजगारीको अवसरका साथै नागरिक आफैँ पनि सचेत हुनुपर्यो भने हाम्रो श्रम कूटनीति प्रभावकारी हुनुपर्यो,” पौडेलले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








