अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको परिणामबाट के देखिँदैछ?

    • Author, एन्थनी जर्कर
    • Role, उत्तर अमेरिका संवाददाता, बीबीसी न्यूज

डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतीय निर्वाचनको इतिहासमा एउटा उल्लेखनीय पुनरागमनको सँघारमा छन्।

यसपालिको मतपरिणाम सन् २०१६ को जस्तो देखिँदै छ जति बेला ट्रम्प विजयी भएका थिए। सन् २०२० मा भने उनी जो बाइडनसँग पराजित भएका थिए।

ट्रम्पले पेन्सिल्भेनिआ, नर्थ क्यारलाइना र जोर्जामा जित्ने प्रक्षेपण गरिएको छ। परम्परागत ग्रामीण भेगमा बलियो प्रदर्शनपछि यी स्थानहरूमा जित सम्भव भएको हो।

अमेरिकाभरिका काउन्टीहरू जहाँबाट परिणाम आएका छन्, पूर्वराष्ट्रपतिले स्पष्ट अग्रता हासिल गरिरहेका छन्।

'स्विङ स्टेट' को अवस्था के छ?

सहरी तथा उपनगरजस्ता क्षेत्रमा कमला ह्यारिसले जो बाइडनकै जस्तो प्रदर्शन गरिरहेकी छन्, तर पूर्वराष्ट्रपति ट्रम्पसँगको अन्तर कम हुन सकेको छैन।

अघिल्लो चुनावमा आफ्नै पक्षमा राख्न सफल भएका नर्थ क्यारलाइनामा ट्रम्पले जितेका छन्।

जम्मा ११ हजार मतले अघिल्लो चुनावमा पराजित भएको जोर्जामा उनले यसपटक विजय हासिल गरेका छन्।

सबैभन्दा ठूलो उपलब्धि भने ट्रम्पले पेन्सिल्भेनिआलाई आफ्नो पक्षमा पारेका छन्।

डेमोक्र्याटहरूको पकड रहेको द ग्रेट लेक्स क्षेत्रका 'नीला राज्यहरू' मध्ये केहीमा ट्रम्पले साँघुरो अग्रता कायम राखेका छन्।

ती राज्यमा ह्यारिसको डेमोक्र्याटिक दलले सहरी र सहरबाहिरका इलाकाहरूबाट राखेको अपेक्षा पूरा गर्न नसकिरहेको देख्न सकिन्छ।

कडा प्रतिस्पर्धा हुने राष्ट्रपति चुनावमा, प्रमुख प्रतिस्पर्धा रहेका राज्यहरू एउटा पक्षमा उभिने सम्भावना रहन्छ।

अहिलेसम्म हेर्दा त्यो राष्ट्रपतिमा डोनल्ड ट्रम्प र सिनेटका सिटहरूमा रिपब्लिकनतर्फ ढल्किरहेको देख्न सकिन्छ।

ट्रम्पको मार-आ-लागोस्थित चुनावी परिणामको निगरानी र विश्लेषण गर्ने जमघट, 'वाच पार्टी ' मा उत्सवको जस्तो माहोल छ।

ह्यारिसका समर्थक भेला भएको हाउअर्ड विश्वविद्यालयमा निराशाको अवस्था थियो।

हामीले मत खसालेका मतदातामाझ गरिने सर्वेक्षण अर्थात् एक्जिट पोलबाट अर्को तथ्याङ्क पनि पाइरहेका छौँ जसले यो निर्वाचनमा महिला र पुरुषबीचको विभाजनलाई पनि देखाइरहेको छ।

बहुमत महिलाहरूले कमला ह्यारिसलाई समर्थन गरिरहेका देखिन्छ भने धेरै पुरुषहरूले डोनल्ड ट्रम्पलाई समर्थन गरिरहेका देखिएको छ। यो आश्चर्यजनक होइन।

तर सबैलाई छक्क पार्ने कुरा के हो भने, अहिलेसम्मको जानकारी अनुसार, ह्यारिसको पक्षमा ५४ प्रतिशत महिलाहरूले भोट खसालेका छन् जुन सन् २०२० मा जो बाइडनले प्राप्त गरेको ५७ प्रतिशत महिला समर्थन भन्दा कम हो।

महिला र पुरुषको राजनीतिक विचारधारामा इतिहासकै सबैभन्दा ठूलो मतभिन्नता रहेको भन्ने बहस अपरिपक्वजस्तो देखियो।

उच्च मतदान

मतगणना सम्पन्न हुने समयसम्म आइपुग्दा एक्जिट पोलको परिणाम परिवर्तन हुँदै जान्छ र यसलाई साधारण मार्गनिर्देशकका रूपमा मात्रै लिनु उपयुक्त हुन्छ। तर डेमोक्र्याट्सहरूले चार वर्ष यताको तुलनामा महिलाहरूको समर्थन गुमाएको कुरा सही भए त्यो ह्यारिस समूहका लागि चिन्ताको विषय हुनेछ।

अहिलेको विन्दुमा एउटा कुरा स्पष्ट छ। चुनावमा मत खसाउनेको सङ्ख्या आधुनिक अमेरिकाको इतिहासमा नै सर्वाधिक धेरै बन्न लागेको छ। यसपटक उक्त सङ्ख्या सन् २०२० को ६५.९ प्रतिशतलाई पार गर्नसक्ने देखिन्छ।

ट्रम्प र ह्यारिस दुवैले यसपटकको निर्वाचनमा धेरै कुरा दाउमा रहेको बताइरहेका थिए। अमेरिकी नागरिकहरूले उक्त भनाइलाई सुनेको जस्तो देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।