गोमन, करेत र भाइपर जातका सर्पले डस्दा देखिने लक्षण र जोगिने उपाय

गोमन सर्प

तस्बिर स्रोत, rss

झन्डै दुई साताअघि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दुई बालकको सर्पदंशबाट मृत्यु भयो।

“राति सुतेको बेलामा सर्पले टोकेको रहेछ। तर थाहा नभएर अरू नै उपचार गराउने प्रयास गरिएछ। पछि अन्तिम अवस्थामा बुटवल लैजाँदा त्यहाँको अस्पतालले उनीहरू सर्पदंशबाट मरेको बतायो,” कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर २ का अध्यक्ष सुरजप्रताप राणाले भने।

“घटना हुनुभन्दा ४५ दिनअगाडि मात्र बुबा गुमाएका ती दुई बालककी आमा पनि एक महिनाअघि वैदेशिक रोजगारमा गएकी थिइन्। घरमा उनीहरू हजुरबा र हजुरआमासँग बस्थे। सुरुमा के भएर उनीहरू बिरामी परे त्यो थाहा हुन नसक्दा ती आठ र ११ वर्षका बालकको ज्यान गयो,” उनले भने।

उनका अनुसार समयमै उपचार केन्द्रमा पुर्‍याउन सके विषालु सर्पले टोकेका मानिसलाई जोगाउन सकिन्छ।

“उनीहरूलाई (ती दुई बालकलाई) करेत सर्पले टोकेको हाम्रो अनुमान छ। अहिले हाम्रो केन्द्रमा दिनमै चार-पाँच जना सर्पदंशका बिरामी आउँछन्। अधिकांशको उपचार हुन्छ।”

गोमन सर्प

तस्बिर स्रोत, Yamlal Bhandari

तस्बिरको क्याप्शन, नेपालमा पाइने सर्पमध्ये केही मात्र विषालु छन्
रेडलाइन
रेडलाइन

नेपालमा एक वर्षमा कति मानिसले सर्पदंशबाट ज्यान गुमाउँछन् भन्ने भरपर्दो तथ्याङ्क नभएको विज्ञहरू बताउँछन्।

“भन्न त वर्षमा १,००० जनासम्मको सर्पदंशबाट ज्यान जान सक्ने भनिएको छ। तर हाम्रो प्रणालीमा आएको सूचनाअनुसार चाहिँ वर्षमा १३१ जनासम्मको ज्यान गएको पाइएको छ। यो सङ्ख्यामा गाउँघरमै ज्यान गुमाउनेहरू जोडिएको छैन,” स्वास्थ्य सेवा विभागअन्तर्गतको जूनोटिक तथा अन्य सरुवा रोग शाखाका प्रमुख डा हेमन्तचन्द्र ओझाले बताए।

विश्वभरिको तथ्याङ्क हेर्ने हो भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षमा ४५ लाखदेखि ५४ लाख मानिसहरूलाई सर्पले डस्छ।

तीमध्ये १८ लाख देखि २७ लाख उपचार गराउनुपर्नेगरी बिरामी हुन्छन् अनि ८१,००० देखि एक लाख ३८ हजार जनाजतिको ज्यान नै जान्छ।

नेपालमा पाइने कुनकुन सर्प विषालु?

सर्पसम्बन्धी विज्ञ प्राध्यापक करन शाहका अनुसार नेपालमा झन्डै ८४ प्रजातिका सर्प पाइन्छन्।

तर तीमध्ये थोरै मात्र विषालु हुन्छन्।

सर्पदंशका मामिलाहरू हेर्दा खासगरी चार प्रकारका सर्पको टोकाइले धेरै असर गरेको पाइएको डा ओझाले बताए।

“गोमन, करेत अनि रसेल्स भाइपर र स-स्केल्ड भाइपरजस्ता सर्प यसमा पर्छन्,” उनले भने।

“अहिले हामीसँग यी चारै प्रकारका सर्पदंश उपचारलाई चाहिने विष प्रतिरोधात्मक औषधि उपलब्ध छ।”

नेपालमा पाइने विषालु सर्प

तस्बिर स्रोत, Deb Prasad Pandey

उपचारका लागि कुन सर्पले टोकेको हो ठ्याक्कै थाहा भयो भने सहज हुने बताइन्छ।

मानिसहरूले ठ्याक्कै चिन्न नसके पनि चिकित्सक तथा विज्ञहरूले त्यसका लक्षणहरूबाट पनि कुन सर्पले टोकेको भन्ने ठम्याउन सक्ने सर्पदंशविज्ञ प्राध्यापक डाक्टर सञ्जीव शर्माले बताए।

“प्रायः डाक्टरहरूले ठ्याक्कै नचिन्लान्। त्यसैले उनीहरूले लक्षणलाई आधार मानेर उपचार गर्नुपर्ने हुन्छ,” उनले भने।

डा शर्माका अनुसार विभिन्न सर्पले डसेका कारण मानिसको शरीरमा दुईथरी असर पर्न सक्छ।

  • गोमन/करेतः यिनले डस्दा स्नायुप्रणालीमा असर पर्छ। आँखा लट्ठिन्छ, जिब्रो बाहिर निकाल्न नसक्ने, थुक र र्‍याल निल्न नसक्ने अनि सास फेर्न गाह्रो हुने हुन्छ
  • रसेल्स भाइपर वा बाघे सर्प तथा पहाडमा पाइने भाइपर प्रजातिकै हरेउ: यिनले डस्दा रक्तसञ्चार प्रणालीमा असर पर्छ। तिनको विषले रगत पातलो पार्छ। टोकेको ठाउँ सुन्निन वा कुहिन सक्छ।
करेत

सर्पले डस्नेबित्तिकै के गर्ने?

“नआत्तिने। सर्पले डसेको मामिलामा ९० प्रतिशतलाई या त विषालु सर्पले डसेको हुँदैन या त उक्त सर्पले विष हालिसकेको हुँदैन र केवल आत्मरक्षाका लागि मात्र डसेको हुनसक्छ,” डा शर्माले भने।

त्यसपछि गर्नुपर्ने कामबारे डा शर्माले भने:

  • समय खेर नफालीकन तुरुन्तै सर्पदंशको उपचार हुने अस्पताल वा केन्द्रमा लिएर जानुपर्छ। चाँडो अस्पताल पुर्‍याउनका लागि सकेसम्म सवारीसाधनमा राखेर लैजानुपर्छ। उदाहरणका लागि, मोटरसाइकलमा बिरामीलाई बीचमा राखेर लगिहाल्नुपर्छ।
  • जथाभावी कपडा वा डोरीले बाँध्ने जस्ता काम गरेर समय खेर फाल्नु हुँदैन। बेस्सरी कस्दा रक्तप्रवाह रोकिएर जटिलता आउँछ। विषरहित सर्पले डसेको सम्भावना धेरै हुन्छ। त्यस्तो बेला जथाभावी बाँध्दा झन् पछि हातखुट्टा काट्नुपर्ने अवस्था आइपर्ने देखिएको छ।
  • घाउ भएको छ भने सफा गर्नु ठिकै हो। तर डोरी बाँध्ने वा सफा गर्ने वा झारफुक गर्ने जस्ता काममा पटक्कै समय खेर फाल्नु हुँदैन। किनभने सर्पले डसेको लगत्तैको एक घण्टालाई जीवन जोगाउने सन्दर्भमा "सुनौलो समय" मानिन्छ।
  • मुख्य कुरा भनेको सर्पदंशको लक्षण कुरेर नबसौँ। चाहे जेसुकै होस् नकुरौँ। अस्पताल लागिहालौँ। गोमन तथा करेतले प्राय: बिहानबेलुका र राति टोक्छन्। तिनको विष फैलिन थाल्यो भने चाँडै मृत्यु पनि हुनसक्छ।

विज्ञहरूले सर्पको विष मुखले चुसेर वा अरू कुनै उपकरण प्रयोग गरेर बाहिर निकाल्न नहुने बताउने गरेका छन्। बर त्यसो गर्न खोज्दा विष रक्तप्रवाहमा फैलिएर झन् हानि हुन सक्छ।

सर्पले डसेको ठाउँ काट्न पनि नहुने विज्ञहरूको सुझाव छ। त्यसो गर्दा घाउ अझ बिग्रिन सक्छ।

रेड लाइन
रेड लाइन

सर्पबाट कसरी जोगिने?

सर्पले हम्मेसि मानिसहरूलाई आक्रमण गर्दैन। उसलाई चलाउँदा, जिस्काउँदा वा अन्जानमा ऊनेर पुग्दा मात्र त्यस्ता दुर्घटना हुने गरेको विज्ञहरू बताउँछन्।

तथापि सर्पको टोकाइबाट जोगिने केही उपायबारे डा शर्माको सुझाव यस्तो छ।

  • साँझबिहान हिँडडुल गर्दा झारी भएका ठाउँ वा दाउरा राखेका ठाउँ वा परालको कुन्यूतिर जाँदा सतर्क हुनुपर्छ। शरीर ढाक्ने कपडा अनि बुटजुत्ता लगाएर मात्र त्यस्ता ठाउँमा जानुपर्छ
  • राति जोगिन झुल टाँगेर सुत्ने बानी गर्नुपर्छ
  • घरवरपर सफा राख्नुपर्छ अनि प्वालहरूमा अनावश्यक हात हाल्नुहुँदैन।