आफूलाई २०० वटा सर्पबाट डसाउने व्यक्ति भन्छन्, 'उद्देश्यमूलक अतिवाद, उपचारको खोजीमा प्रयोग'

तस्बिर स्रोत, Getty Images
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
प्रत्येक पाँच मिनेटमा कतै न कतै कसै न कसैको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रूपमा अशक्त हुन्छन्।
तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै सर्पसँग सम्बन्धित विभिन्न किसिमका अनुसन्धान गर्छन्।
अमेरिकी राज्य विस्कन्सिनमा बस्ने टिम फ्रिडा पनि तीमध्ये एक हुन्।
उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको भिडिओ खिच्छन् र युट्युबमा अप्लोड गर्छन्।
तत्कालको दुखाइ

तस्बिर स्रोत, Getty Images
एउटा त्यस्तै भिडिओमा विषालु अफ्रिकी सर्प माम्बाले दुई पटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामराअगाडि उनी बोलेका छन्।
"ब्ल्याक माम्बाले डसेपछि तत्काल दुख्छ। यो हजारौँ मौरीले एकैपटक टोके जस्तै हो। मौरीले टोक्दा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ।"
त्यसपछि के भयो भन्ने पनि उनले बीबीसीलाई बताएका छन्।
"त्यसपछि सुन्निन थाल्यो। त्यसपछिका केही दिन म थला परेँ। जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु। यो एकदमै पीडादायी छ।"
'खतरापूर्ण र अनैतिक'
तर उनका युट्युबका प्रशंसकजस्तै सबै जना अवाक हुँदैनन्।

तस्बिर स्रोत, Getty Images
लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका डा. स्टुवार्ट एन्स्वर्थ भन्छन्,"यी मानिसहरू के गर्छन् भन्ने हामीलाई थाहा छैन। यो खतरापूर्ण र अनैतिक हो। हामी उनीहरूसँग काम गर्दैनौँ।"
सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरूमध्ये एउटा उनको पनि हो।
सामान्यत: नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ।
"धेरै नियमन नगरिने भएकोले मानिसहरू आफैँ खोप लगाउँछन्। तर यो अभ्यासले ज्यानै पनि जानसक्छ। मानिसले यसो गर्न हुँदैन," एन्स्वर्थले भने।
तर विश्वभरिको औषधि उद्योगमा एन्टीभेनम भनिने सर्पदंशलगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधिको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन।
नयाँ खोप पत्ता लगाउने वैज्ञानिक अभियानको नेतृत्व गरिरहेको एउटा संस्था ब्रिटेनस्थित वेल्कम ट्रस्टका अनुसार "उत्पादन, सुरक्षा वा अपेक्षित परिणामसम्बन्धी साझा मापदण्डहरू छैनन्।"
घातक जोखिम
सामाजिक सञ्जालमा फलोअर बढाउनका लागि आफ्नो ज्यान खतरामा पारेको भन्ने धारणालाई फ्रिडा अस्वीकार गर्छन्।
"म युट्युब भिडिओ बनाउनका लागि यो गरिरहेको छैन - म मानिसहरूको ज्यान बचाउन चाहन्छु र परिवर्तन ल्याउन चाहन्छु। मैले अहिले काम गरिरहेका डाक्टर खोज्नका लागि मात्रै युट्युब प्रयोग गरेको हुँ। त्यो जुवा खेले जस्तै थियो। त्यसले काम गर्यो," उनले भने।

तस्बिर स्रोत, Getty Images
सर्पका तीन हजार प्रजातिमध्ये करिब दुई सयमा मात्रै कडा विष हुन्छ जसले मानिसलाई अपाङ्ग बनाउन वा ज्यानै लिनसक्छ। फ्रिडा त्यस्ता धेरै सर्पसँग परिचित छन्।
चाहे त्यो गोमन होस् वा भाइपर होस् वा माम्बा। उनले विगत दुई दशकमा दुई सयभन्दा बढी सर्पको डसाइ सहेका छन्। त्यो बाहेक उनले सात सयभन्दा बढी पटक आफ्नो शरीरमा विष प्रवेश गराएका छन्।
सर्पले टोक्दा शरीरमा प्रवेश गर्ने विषको मात्रा उल्लेख्य रूपमा फरक पर्ने गरेको छ। कुनै बेला सर्पले डस्दा शरीरमा विष नै जाँदैन त्यही भएर सुइको माध्यमबाट विष दिने मात्रालाई नियमन गर्ने तरिका पनि हो।
फ्रिडा भन्छन्, "ब्ल्याक माम्बा जस्तो सर्पको विषलाई यदि तपाईँ पूर्ण रूपमा प्रतिरोध गर्न सक्नुहुन्न भने त्यसले स्नायुप्रणालीमा असर गर्छ। जसले गर्दा छातीलाई शरीरको तल्लो अङ्गबाट अलग गर्ने मांसपेशी कक्रक्क पर्छ र तपाईँले सास फेर्न सक्नुहुन्न। तपाईँको आँखा बन्द हुन्छ र तपाईँ बोल्न सक्नु हुन्न र तपाईँ बिस्तारै हलचल गर्न सक्नुहुन्न अनि पक्षाघात हुन्छ। यसले हाम्रो केन्द्रीय स्नायुप्रणालीलाई असर गर्दैन, त्यही भएर मृत्यु नहुन्जेलसम्म तपाईँले सोच्न भन्ने सक्नुहुन्छ।"
गोमनको डसाइ 'भयानक'
फ्रिडाले आफ्नो घरको पछाडिको भागमा थुप्रै विषालु सर्प राखेका छन् र तिनको डसाइ आफैँमाथि परीक्षण गराइरहेका छन्।

तस्बिर स्रोत, Getty Images
"म सँग अफ्रिकाको पानीगोमन छ। यसको टोकाइ निकै भयानक हुन्छ। त्यो एकदमै कठिन र एकदमै डरलाग्दो अनुभव थियो।"
पानीगोमनको विषमा न्यूरोटक्सिन हुन्छ जसले स्नायुकोषलाई असर गर्छ।
"अरू गोमन सर्पहरूमा साइटोटक्सिन हुन्छ जसले र्याटल स्नेक प्रजातिको सर्प जस्तै कोषहरू मारिदिन्छ। गोमनले औँला वा हात नै सम्म पनि निकाल्न सक्छ।"
फ्रिडा विषको कम मात्रा लिँदै शरीरमा प्रतिरोध प्रणाली विकास गर्ने सिद्धान्तअनुसार काम गर्छन् तर उनको यो काम गर्ने तरिकाको धेरै आलोचना भएको छ।
प्रतिरोध क्षमताको विकास
अहिले हामीसँग भएको उपचारविधिमा पनि यस्तै उपाय अवलम्बन गरिएको छ। तर त्यसका लागि अन्य जनावरहरूको प्रयोग गरिन्छ।

तस्बिर स्रोत, Getty Images
एन्टीभेनमको उत्पादन गर्ने पद्धतिमा १९ औँ शताब्दीयता नै परिवर्तन भएको छैन।
सुईमार्फत् थोरै मात्रामा भेडा र घोडालाई विष दिइन्छ। र त्यसपछि एन्टीबडी भनिने रोगहरूसँग लड्ने रगतमा उत्पादन हुने एक किसिमको प्रोटीनलाई ती दुवै जनावरबाट सङ्कलन गरिन्छ।
"हामीसँग मलाई मार्न चाहने जीवहरू छन् तर म मर्न चाहन्नँ। त्यसैले म स्वयम् घोडा बनेको हुँ। हामी किन आफैँ आफ्नै रोगसँग लड्ने क्षमता बन्न सक्दैनौँ?" फ्रिडा प्रश्न गर्छन्।
पहिला ट्रक चालक रहेका ५१ वर्षीय फ्रिडा कहिल्यै विश्वविद्यालय गएनन्।
कुनै पनि विषालु जीवका कारण मर्न सकिन्छ भन्ने डरले उनलाई लगभग २० वर्षदेखि यस्तो अस्वाभाविक काम गर्न प्रेरित गरिरहेको छ।
उनले सुरुमा माकुरा र बिच्छीलाई टोकाएर यस्तो प्रयोग सुरु गरे। त्यसपछि गोमन र कपरहेड नामका विषालु सर्पलाई प्रयोग गरे।
"मैले यो ग्रहमा भएका सबै किसिमका विषालु सर्पबाट आफूलाई टोकाएको छैन। जसले छिट्टै ज्यान लिन सक्छ त्यसलाई मात्रै छानेको छु।"
सर्पले टोकेको घाउको थुप्रै चोट उनको शरीरमा छ र उनी त्यसरी टोकाउँदा मृत्युको नजिकसम्म पुगेका छन्।
तैपनि कुनै चिकित्सकको सुपरिवेक्षणबिना सर्पलाई टोकाएकामा उनी खुसी छन्।
"करिब १२ पटक मलाई निको हुन निकै गाह्रो भयो। पहिलो वर्ष मैले अनुसन्धानका लागि दुईवटा गोमनलाई टोकाएपछि अस्पतालमै भर्ना हुनुपरेको थियो। तपाईँले सिकाइको त्यो चरण पार गर्नैपर्छ। विश्वमा यसबारे सिकाउने कुनै चिकित्सक वा विश्वविद्यालय छैन।"
दोबर क्षमता
चिकित्सकीय परीक्षणले उनले अपनाएको विधिले काम गरिरहेको देखाएपछि उनको आत्मविश्वास वृद्धि भएको छ।

तस्बिर स्रोत, Swaminathan Natarajan
"अरूको तुलनामा मेरो शरीरमा विषसँग लड्न सक्ने दोबर परिमाणमा एन्टीबडीहरू छन्। प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि गरेको हो," उनले दाबी गरे।
करिब दुई वर्षअघि टिम फ्रिडाको युट्युब भिडिओहरूले रोगप्रतिरोध क्षमता विकासको क्षेत्रमा काम गर्ने विशेषज्ञ ज्याकब ग्लान्भिलको ध्यानाकृष्ट भयो। ग्लान्भिलले विषको औषधि उत्पादन गर्ने आफ्नै कम्पनी खोल्न फाइजर नामक एउटा ठूलो औषधि निर्माता कम्पनीको प्रमुख वैज्ञानिकको पद छोडेका थिए।
"टिमले जे गरे त्यो असाधारण छ तर यो एकदम खतरनाक छ र त्यस्तो गर्न म कसैलाई पनि सुझाउँदिनँ," ग्लान्भिलले भने।
नयाँ किसिमको एन्टीभेनम बनाउनका लागि कम्पनीले फ्रिडाको रगतको नमुना लिएको छ।
बेवास्ता गरिएको रोग
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष ५४ लाख मानिसहरूलाई सर्पले डस्छ। मृत्यु हुनेको सङ्ख्या ८१ हजारदेखि एक लाख ३८ हजार सम्म भएको आकलन गरिएको छ। अन्य चार लाखभन्दा बढी स्थायी रूपमा अपाङ्ग बन्छन् जसले उनीहरूको जीवनलाई कष्टकर बनाउँछ।

तस्बिर स्रोत, Getty Images
तर सन् २०१७ अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सर्पदंशलाई बेवास्ता गरिएको ट्रपिकल रोगको रूपमा राखेकै थिएन।
प्रत्येक वर्ष सेप्टेम्बर १९ तारिखमा सर्पदंशको जनचेतना जगाउने दिवसको रूपमा मनाइन्छ।
एशिया, अफ्रिका र दक्षिण अमेरिकाका ग्रामीण समुदायमा रहेको सर्पदंशको समस्यालाई सार्वजनिक सम्बोधन गर्न यो दिवस मनाइन्छ। यी समुदायले अझै पनि आधुनिक स्वास्थ्य सेवाबाट पूर्ण रूपमा फाइदा लिन सकेका छैनन्।
धेरै देशमा भण्डारण गर्ने समस्या सहितका विभिन्न कारणले एन्टीभेनम प्रभावकारी देखिँदैन। कतिपय एन्टीभेनमले कुनै एक खास प्रजातिको सर्पमा मात्रै काम गर्ने र अरू प्रजातिको सर्पले टोक्दा परिणाम नदिने गरेको पाइन्छ।
मुसा
यो वर्ष मे महिनामा वेल्कम ट्रस्टले नयाँ उपचार प्रणाली विकास गर्न र एन्टीभेनमलाई प्रभावकारी बनाउनका लागि १० करोड डलरको कोष स्थापना गर्ने घोषणा गरेको छ।

तस्बिर स्रोत, Getty Images
अन्य थुप्रै सङ्गठनले पनि सुरक्षित र किन्न सकिने खालको औषधि विकास गर्न खोजिरहेका छन्।
ग्लान्भिलसँग गरिएको सम्झौताबाट उनीहरूले नयाँ औषधिको खोजी गर्न सके त्यसबाट फ्रिडाले उल्लेख्य मात्रामा पैसा कमाउन सक्छन्।
"तपाईँले पैसाका लागि सर्पलाई डसाउनु हुँदैन। तर यदि हामीले त्यस्तो खोप बनाउन सक्यौँ भने त्यसले थुप्रै पैसा ल्याउँछ। मसँग वकिल छन् र म सँग हस्ताक्षर गरिएको सम्झौता छ," फ्रिडाले भने।
ग्लान्भिल आगामी परीक्षणबारे उत्साहित छन्।
"यो अनुसन्धान एकदमै टाढा छ - हामी मुसामा परीक्षण सुरु गर्न लागेका छौँ।"

तस्बिर स्रोत, Getty Images
'उद्देश्यमूलक अतिवाद'
आफ्नो अस्वाभाविक प्रयासका लागि ग्लान्भिल र फ्रिडाले वैज्ञानिक वृत्तबाट ठूलो आलोचना खेप्नुपरेको छ। तर पनि उनीहरूले आफ्नो अनुसन्धानको सशक्त प्रतिरक्षा गरिरहेका छन्।
ग्लान्भिल भन्छन्, "हामीले स्वस्थ्य अनुसन्धानको आचारसंहितालाई ध्यानपूर्वक पालना गरेका छौँ। हामीले अरू चिजका कारण रहेका जोखिम, कार्यस्थलमा हुने चोटपटक, एसआईभी यस्तै ढाँचाबाटै अध्ययन गरेका हौँ।
फ्रिडा आफूले रोजेको बाटो अरूका लागि सजिलो नभएको बताउँछन् तर उनी परिणाम आउनेमा आशावादी छन्।
"मेरो अतिवाद पछाडि एउटा उद्देश्य छ। मैले एउटा सर्वसुलभ र एउटै उपचारको खोजीमा आफैँलाई प्रयोग गरेको छु।"









