सर्पदंशः नेपालमा यसरी हुन्छ सर्पले टोकेपछि उपचार गर्ने औषधिको आपूर्ति

तस्बिर स्रोत, Swamithathan Natarajan /BBC
सत्तारूढ दल नेकपाका एक नेताको नाममा स्थापित एउटा प्रतिष्ठानले सरकारबाट रकम प्राप्त गरेर सर्पदंशको औषधि उत्पादन गर्ने प्रयोगशाला स्थापना गर्न लागेको विवरण सार्वजनिक भएपछि त्यसबारे विभिन्नखाले टिप्पणीहरू भएका छन्।
भूतपूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानले त्यस्तो औषधि उत्पादन केन्द्र स्थापनाका लागि सङ्घ र प्रदेश सरकारमार्फत् ७२ करोड रुपैयाँ पाउने बताइएको छ।
नेताहरूका नाममा स्थापित यस्ता प्रतिष्ठानहरूले विभिन्न काम गर्ने भन्दै सरकारबाट रकम लिने गरेको भन्दै कतिपयले खनालका नाममा स्थापित उक्त प्रतिष्ठानप्रति पनि शङ्का व्यक्त गरेका छन्।
तर प्रतिष्ठानका अध्यक्षले भने "यो अन्य प्रतिष्ठानहरूभन्दा फरक भएको" भन्दै त्यसको खण्डन गरेका छन्।
कतिपयले भने नेपालमा सर्पदंशको उपचारका लागि चाहिने "एन्टीस्नेक भेनम" स्वदेशमै उत्पादन हुन लाग्नु सकारात्मक भएको बताएका छन्।
तयारी
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्लाहीको लालबन्दीमा करिब साढे आठ बिगाहा जग्गामा "एन्टीस्नेक भेनम" उत्पादन केन्द्र बनाइन लागेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए।
उनले सुरुमा सदस्यहरू र शुभेच्छुकहरूको रकम हालेर प्रतिष्ठान खोलिएको बताए।
तर पछि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर परियोजनालाई अघि बढाइएको उनको भनाइ छ।
उनले भने, "हामीले परियोजनाका लागि सबै तयारी पूरा गरिसकेका छौँ। अध्ययन पनि भइसकेको छ। अब पूर्वाधार बनाउन चाँडै टेन्डर आह्वान गर्दैछौँ।"
उनले उक्त क्षेत्रलाई सर्पका गतिविधि हेर्न मिल्नेगरी पर्यटकीय केन्द्र समेत बनाउन लागिएको बताए।

तस्बिर स्रोत, EPA
सुरुमा सर्प पक्रिने मानिसहरूबाट सर्प सङ्कलन गरेर ल्याउने र पछि ती सर्पबाटै प्रजनन गराउने तयारी गरिएको पन्तले जानकारी दिए।
सर्पदंशका लागि प्रयोग हुने औषधि बनाउन सर्पको विषको निश्चित मात्रा घोडाको शरीरमा सुईमार्फत् दिइन्छ।
शरीरमा विष प्रवेश गरेपछि प्रतिरोध प्रणालीले विष निष्क्रिय पार्न प्रतिक्रिया गर्छ।
त्यसरी उत्पन्न एन्टीबडी घोडाको रगतबाट सङ्कलन गरेर प्रशोधन गरी खोप बनाइने विज्ञहरू बताउँछन्।
आपूर्ति
अहिले नेपालमा भारतबाट आयात गरेर सर्पदंशको औषधि उपलब्ध गराइने गरेको अधिकारीहरूले बताएका छन्।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार महाशाखाले देशैभरिका सर्पदंश केन्द्रहरूमा यस्तो औषधि उपलब्ध गराउने गरेको छ।
नेपालमा ८० भन्दा धेरै यस्ता केन्द्रहरू रहेको र सबैमा महाशाखाले नै औषधि उपलब्ध गराउने गरेको अधिकारीहरू बताउँछन्।
नेपालमा अहिले एक वर्षलाई पुग्ने यस्तो औषधि रहेको पाण्डेले करिब एक महिनाअघि बीबीसीसँगको एउटा अन्तर्वार्तामा बताएका थिए।
अधिकारीहरूले दिएको जानकारी अनुसार नेपालले वार्षिक रूपमा ५० हजार भाइल बराबरको औषधि भारतबाट आयात गर्ने गरेको छ।
तर त्यहाँ पशु अधिकारवादीहरूले त्यसको व्यापक विरोध गरेपछि र मुद्दा परेपछि सन् २०१२ मा भारतको सर्वोच्च अदालतले अन्य देशमा उक्त औषधि निर्यात नगर्न आदेश दिइसकेको अधिकारीहरू बताउँछन्।
त्यसले गर्दा नेपालमा निकट भविष्यमा यसको अभाव हुनसक्ने अधिकारिहरूको चिन्ता छ। पाण्डेल पनि बीबीसीसँग त्यस्तै चिन्ता व्यक्त गरेका थिए।
उत्पादनको प्रयास
नेपालमा उक्त प्रतिष्ठानले भन्दा अघि नै सर्पदंशको उपचारका लागि औषधि उत्पादनको प्रयास भने भइसकेको अधिकारीहरू बताउँछन्।

औषधि व्यवस्था विभागबाट करिब पाँच वर्षअघि नै एउटा कम्पनीले सुनसरीमा सर्प पालेर औषधि उत्पादन सुरु गर्ने अनुमति लिएको विभागले जनाएको छ।
तर हालसम्म त्यसले उत्पादन सुरु गरिसकेको छैन।
उत्पादनका लागि पूर्वाधारहरू बनाउने क्रममा उक्त कम्पनी रहेको बुझिएको विभागका अधिकारीहरूले जानकारी दिए।
आलोचना
यसैबीच खनालको नाममा स्थापित प्रतिष्ठानलाई सरकारले रकम दिएको कुराको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।
पूर्वमुख्यसचिव तथा प्रशासनविज्ञ विमल कोइराला जुनसुकै उद्देश्यका लागि भए पनि नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई यसरी रकम बाँड्नु गलत भएको बताउँछन्।
उनले भने, "यो स्वस्थ प्रक्रिया होइन। यसले हाम्रो दुर्लभ स्रोत र साधनको सदुपयोग गर्नुको साटो दुरुपयोग बढाउने र स्रोतसाधनको राजनीतीकरण गर्छ। त्यसले गर्दा यस्ता संस्थाहरूले आफैँ स्रोतसाधन जुटाउन लाग्नुपर्छ। आफू सत्तामा हुँदा गरिने यस्ता गतिविधि भनेका दुरुपयोग नै हुन्।"

तस्बिर स्रोत, PA
"प्रतिष्ठान खोलिदियो, आफ्ना मान्छे भर्ना गर्यो र सरकारबाट पैसा लियो। त्यसले सत्तासीनलाई त मद्दत नै गर्ला तर सर्वसाधारणलाई मर्का नै पर्छ। राष्ट्रिय स्रोत र साधनको त्यो ढङ्गको दुरुपयोग वाञ्छित हुँदैन।"
तर प्रतिष्ठानका अध्यक्ष पन्त चाहिँ "यो अन्य प्रतिष्ठानजस्तो" नभएको बताउँछन्।
उनी भन्छन्, "प्रतिष्ठानहरूमा राजनीतीकरण र रकम दुरुपयोग नभएको होइन, तर हामी त्यस्तो गर्दैनौँ। यो विशुद्ध एउटा उद्देश्यका लागि स्थापना भएको हो र त्यो पूरा भएपछि उक्त प्रयोगशाला नै सरकारलाई हस्तान्तरण गर्ने हामीले सम्झौता गरिसकेका छौँ। त्यसैले यसमा कसैले शङ्का गर्नुपर्ने ठाउँ छैन।"
सर्पको टोकाइबाट मृत्यु
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले विवरण राख्न थालेको २०६८ साल वैशाखयताको करिब १० वर्षको अवधिमा सर्पदंशका १०६ वटा घटना भएको विवरण राखेको छ।
त्यसमध्ये ६० जनाको सर्पको टोकाइकै कारण निधन भएको केन्द्रको विवरणमा देखिन्छ।
सर्पदंशबाट ४९ जना घाइते भएका छन् भने १०६ परिवार प्रभावित भएको केन्द्रले जनाएको छ।
तर जानकारहरूका अनुसार यो सङ्ख्या एकदमै न्यून हो। किनभने कतिपय घटनाहरू रिपोर्ट नभएका पनि हुनसक्छन्।
नेपालमा हालसम्म फेला परेका ८१ प्रजातिका सर्प मध्ये १८ प्रजातिका सर्प विषालु छन्।
गोमन, करेत, मुगा सर्प र रुसी भाइपर चार प्रकृतिका सर्पहरू धेरै विषालु हुन्छन्।
विश्व स्वास्थ्य सङ्गठनले पनि सर्पदंशलाई "स्वास्थ्य प्राथमिकता" मा राखेको छ।
उसका अनुसार विश्वमा प्रत्येक वर्ष ८१,००० देखि १,३८,००० जनासम्मको ज्यान सर्पले टोकेका कारण हुने गरेको छ।
त्यसको तीनगुना मानिस जोगिए पनि उनीहरूमा शारीरिक समस्या र अपाङ्गता हुने गरेको छ।









