तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेता झलनाथ खनालले समीकरण हेरफेरमा देखे ‘भूराजनीतिक प्रभाव’
पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा एकीकृत समाजवादीको ‘सम्मानित नेता’ पदमा छन्।
राष्ट्रपतिको चुनावलाई लिएर राजनीतिक ध्रुवीकरणको अन्तिम निर्णय हुँदा उनी देश बाहिर थिए।
उनी राष्ट्रपतिमा दलहरूको उम्मेदवारी दर्ता भएकै दिन बांग्लादेशबाट फर्किएका हुन्।
तर आफ्नो पार्टीको समेत सहभागितामा भएको सत्ता समीकरण फेरबदलप्रति उनी सन्तुष्ट छैनन्।
त्यसमा हालैका दिनहरूमा विदेशी पाहुनाको नेपाल भ्रमणको प्रभाव पनि रहेको आफूलाई लागेको भन्ने अभिव्यक्ति उनले दिएका छन्।
भारतीय विदेश सचिवको भ्रमणको प्रभाव?
नेपालको आन्तरिक राजनीतिमा चलखेल गरेको भनी निकै आलोचना खेप्ने गरेको भारतको भूमिकाबारे संविधान जारी भएयता निकै कम चर्चा हुने गरेको छ।
तर यस पटक केही दिनअघि भएको भारतीय विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमणलाई कतिपयले राष्ट्रपतिको चुनावसँग जोडेर हेरेका थिए।
सत्ता समीकरण हेरफेरमा भूराजनीतिक प्रभाव पनि रहेको ठान्ने नेता खनालले बीबीसीसँग भने, “जति बाक्लो विदेशीहरूको भ्रमण भयो, त्यसमा जो जोसँग भेटघाटहरू देखिए त्यसले पनि पक्कै काम गर्यो भन्ने देखिन्छ।”
बाक्लो भ्रमण भनेर उनले लगातार भएका अमेरिकी अधिकारीहरूको भ्रमण तर्फ सङ्केत गरेको ठानिएको छ।
संसारमा जहाँ पनि बाह्य शक्तिले प्रभाव विस्तार गर्न चाहने तर आफ्नो आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार भने त्यहाँका नेताहरूकै हातमा रहने बताउँदै उनले नेपालको सन्दर्भमा पनि दोष नेताहरूकै थाप्लोमा पर्ने बताए।
विदेशी दबावमा परेको हुनसक्ने उल्लेख गर्दै उनले भने, “जे परिस्थिति थियो त्यसको समग्रतालाई हेर्दा त्यस्तो पनि लक्षणहरू छन् भन्ने मलाई लाग्छ।”
नेकपा एमालेका कतिपय नेताहरूले राजनीतिक परिस्थितिमा आएको परिवर्तनमा बाह्य प्रभावले पनि काम गरेको आरोप लगाउने गरेका छन्।
भोट कसलाई?: ‘निश्चित छैन’
नेता खनालले वामपन्थी शक्तिबीचको सहकार्यको पक्षमा मत राख्दै आएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस लगायतका दलहरूसँगको गठबन्धन तोडेर एमालेको समेत समर्थनमा प्रधानमन्त्री बन्न जाँदा एकीकृत समाजवादी भने विपक्षमै रहन पुगेको थियो।
प्रचण्डले राष्ट्रपतिमा एमाले छाडेर कांग्रेसलाई साथ दिँदा एकीकृत समाजवादीले पनि साथ दिँदै कांग्रेसलाई मत दिने घोषणा गरेको छ।
तर नेता खनालले आफ्नो पार्टीले कसलाई भोट दिने भन्ने निर्णय नभएको बताए “पार्टीले कुनै निर्णय गरेको छैन। माधवजीले एक्लै निर्णय गरेको भए मलाई थाहा छैन। एक्लै निर्णय गर्ने कुरा हो जस्तो मलाई लाग्दैन।”
कुनै उम्मेदवारको समर्थक वा प्रस्तावक बस्दा पनि पार्टी निर्णय हुनुपर्ने तर त्यसो नभएको पनि उनको भनाइ छ।
‘माधव नेपालको फोन समेत आएको छैन’
आफूलाई पछिल्ला घटनाक्रमबारे पार्टी अध्यक्ष माधवकुमार नेपालले जानकारी समेत नगराएको नेता खनालले बताए।
उनले भने, “अहिलेसम्म उहाँले फोन पनि गर्नु भएको छैन, कुनै जानकारी पनि भएको छैन। बाहिर आएका कुरा मात्रै सुनिरहेको छु, कहिले बैठक बोलाइन्छ भनेर म त पर्खेर बसिरहेको छु।”
एकीकृत समाजवादीका कतिपय निर्णय प्रक्रियाप्रति अर्का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पनि बेला बखत असन्तुष्टि जनाउने गरेको पाइन्छ।
पार्टी नेताहरूलाई बेवास्ता गरिनुलाई नेता खनालले कतिपय नेताहरूको शैलीको परिणाम भन्दै अध्यक्ष नेपालप्रति साङ्केतिक असन्तुष्टि दर्साए।
उनले भने, “गयो, बातचित गर्यो, निर्णय गर्यो, आयो, पार्टी बिर्सिदियो, हर नेताले म पार्टी र कमिटीको नेता हुँ भन्ने बिर्सियो भने त्यसले समस्या खडा गर्न सक्छ।”
‘कुर्सी, सत्ता, समीकरण र साँठगाँठ’
एकीकृत समाजवादीका कतिपय नेताहरूले पनि कांग्रेसले जस्तै पुरानो गठबन्धन बिउँताउनु पर्ने बताउने गरेका थिए।
त्यसमा सफलता मिल्ने सङ्केत पछि खुसी हुनुपर्ने होइन?
नेता खनालले एक पछि अर्को समीकरण तोड्ने र बनाउने तर्फ आफ्नो रुचि नरहेको बताउँदै अलि बढी प्रगतिशील शक्तिहरू एकताबद्ध भई मुलुकको निम्ति नीति र कार्यक्रम आइदिए हुन्थ्यो भन्ने लाग्ने गरेको बताए।
उनले भने, “त्यता तिर कसैको ध्यानै नहुने तर कुर्सी, सत्ता, समीकरण र साँठगाँठ आदिमा मात्रै प्राथमिकता बढी भएको हुनाले यो चरण नेपालको लागी बडो दुःखद हो भन्ने मलाई लाग्छ।”
तर आफूले भनेको प्रगतिशीलबीचको एकताको निम्ति एमालेले राष्ट्रपतिमा सहयोग माग्दै पठाएको पत्र माध्यम हुन सक्नेमा उनलाई विश्वास छैन।
राष्ट्रपतिको चर्चा र चुनावको कार्यक्रम सुरु भएपछि दलहरूबीच छलफलको निम्ति पत्राचार भइदिएको भए परिणाम पनि जन्माउन सक्थ्यो भन्ने उनलाई लागेको छ।
खनालले भने, “तर आफ्नो उम्मेदवार खडा गर्ने अनि पत्राचार गर्नु त भोट माग्ने बाहेक केही होइन नि। सीमित विकल्प भयो, विकल्पहरूमा खेल्ने अवसर त भएन।”