तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
३८ वर्षअघि क्यानडाबाट उडेको भारतीय विमानमा कसले राखेको थियो बम
- Author, शरण्या हृषीकेश
- Role, बीबीसी न्यूज, दिल्ली
केही दिनयता भारत र क्यानडाबीचको सम्बन्धमा आएको चिसोपनाले सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको घातक विस्फोटनको घटना सम्झाइदिएको छ।
गत साता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उनको देशले एक पृथक्तावादी सिख नेताको हत्यासँग भारतको सम्बन्ध रहेको देखिने “विश्वसनीय आरोपहरू”बारे छानबिन गरिरहेको बताएका छन्। भारतभित्र छुट्टै खालिस्तान देश बनाउनुपर्ने मागको पैरवी गर्दै आएका हरदीप सिंह निज्जरको ब्रिटिश कोलम्बियामा गोली हानी हत्या भएको थियो।
भारतले ती आरोपहरूलाई “अर्थहीन” भन्दै तिनको खण्डन गरेको छ।
त्यसयता भारतका कैयौँ टिप्पणीकारहरूले सन् १९८५ को आक्रमणको विषय स्मरण गरेका छन्। हमलामा परेको बोइङ ७४७ विमानको नाम प्राचीनकालका सम्राट कनिष्कको नामबाट राखिएको थियो। उक्त घटनालाई 'कनिष्क विस्फोटन' पनि भनिएको थियो।
उक्त घटनापछि पनि त्यतिखेर दिल्ली-ओटावाबीचको सम्बन्ध बिग्रिएको थियो।
सन् १९८५ मा के भएको थियो?
सन् १९८५ को जुन २३ तारिख क्यानडाबाट लन्डन हुँदै भारत आइरहेको एअर एन्डियाको विमान फ्लाइट १८२ आयरल्यान्डको तटनिर आकाशमै विस्फोटन हुँदा त्यसमा सवार सबै ३२९ जनाको ज्यान गएको थियो।
उक्त विस्फोटन एउटा सुटकेसमा लुकाइएको बमबाट भएको थियो। टिकट लिएका एक जनाले उक्त सुटकेस विमानमा पठाए तर आफू चढेनन्।
मारिनेमध्ये २६८ जना क्यानडाका नागरिक थिए। तीमध्ये अधिकांश भारतीय मूलका थिए भने अन्य २४ जना भारतीय नागरिक पनि थिए।
समुद्रबाट जम्मा १३१ शव मात्र निकाल्न सकिएको थियो।
त्यो विमान आकाशमा रहेकै बखत जापानको राजधानी टोक्योस्थित नारिता विमानस्थलमा भएको अर्को विस्फोटनमा दुई जना ब्यागेज व्यवस्थापनमा संलग्न जापानी कर्मचारीको पनि ज्यान गयो।
पछि अनुसन्धानकर्ताहरूले उक्त विस्फोटन फ्लाइट १८२ मा भएको आक्रमणसँग सम्बन्धित भएको बताए।
त्यो बमले ब्याङ्कक उड्न लागेको एअर इन्डियाको अर्को उडानलाई लक्षित गरेको तर चाँडै पड्किएको उनीहरूले बताए।
कसले गराएको थियो आक्रमण?
भारतीय सेनाले सन् १९८४ मा पन्जाबस्थित स्वर्ण मन्दिरमा गरेको घातक हस्तक्षेपको प्रतिशोध लिन खालिस्तान राज्यको माग गर्ने सिख पृथक्तावादीहरूले ती विस्फोटनको योजना बनाएको क्यानडाका अनुसन्धानकर्ताहरूले आरोप लगाएका थिए।
विमानमा भएको आक्रमणको केही महिनापछि रोयल कनेडियन माउन्टेड पोलिस (आरसीएमपी)ले हाल भारत र क्यानडामा प्रतिबन्धित बबर खाल्सा नामक उग्रवादी समूहका नाइके तल्विन्दर सिंह पर्मार र एक जना बिजुली बनाउने मानिस इन्दरजीत सिंह रेयातलाई हातहतियार, विस्फोटक पदार्थ एवं घातक षड्यन्त्रका विभिन्न अभियोगमा गिरफ्तार गरेको थियो।
तर पर्मारविरुद्धका मुद्दा कमजोर थिए र उनी रिहा भए। भारतले त्यतिखेर उनको सुपुर्दगीको माग गरेको थियो।
अहिले आएर अनुसन्धानकर्ताहरू पर्मार नै ती आक्रमणका मुख्य योजनाकार भएको ठान्छन्। उनलाई भारतमा प्रहरीले सन् १९९२ मा मारिदिएको थियो।
सन् २००० मा प्रहरीले भ्यान्कुभरका एक सम्पन्न व्यापारी रिपुदमन सिंह मलिक र ब्रिटिश कोलम्बियाका एक मिलका कामदार अजैब सिंह बाग्रीलाई आमहत्या तथा षड्यन्त्रको अभियोगमा पक्राउ गरियो।
तर सन् २००५ मा दुई वर्षसम्म चलेको र निकै खर्च भएको अदालती सुनुवाइपश्चात् दुवै जनालाई सबै अभियोगबाट सफाइ दिइयो।
न्यायाधीशले ती दुई जनाविरुद्ध साक्षी बकेका मुख्य पात्रहरूको भनाइमा तथ्यगत त्रुटि रहेको अनि तिनको विश्वसनीयतामा प्रश्न उठेको ठहर गरेका थिए।
त्यतिखेर बीबीसीले प्रसारण गरेको समाचारमा फैसलाले स्तब्ध पारेको र मृतकका आफन्तहरू अदालतको कोठामै रोएको उल्लेख थियो।
विमानलाई लक्ष्य बनाएर गरिएको विश्वको सबैभन्दा घातकमध्येको उक्त आतङ्ककारी आक्रमणमा केवल रेयात दोषी ठहरिएका थिए।
जापानमा भएको विस्फोटनको मामिलामा उनलाई सन् १९९१ मा यूकेमा १० वर्ष जेल सजाय भयो।
सन् २००३ मा क्यानडाको एउटा अदालतसामु उडान १८२ को विस्फोटनमा पनि आफ्नो दोष स्वीकारेपछि उनलाई थप पाँच वर्षको जेल सजाय सुनाइएको थियो।
पछि मलिक र बाग्रीको अदालती सुनुवाइको बेला ढाँटेको अभियोगमा उनलाई थप जेल सजाय सुनाइयो।
अनुसन्धानको आलोचना किन?
क्यानडाका अधिकारीहरूले उक्त आक्रमण रोक्न पर्याप्त काम गर्न नसकेको अनि अनुसन्धान पनि गतिलो गरी गर्न नसकेको आरोप खेप्नुपरेको छ।
मलिक र बाग्री रिहा भएकोमा मृतकका आफन्तहरूले आक्रोश व्यक्त गरेपछि क्यानडा सरकारले सन् २००६ मा त्यहाँको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अगुवाइमा विस्फोटनको छानबिन गर्ने एक सार्वजनिक छानबिन समिति गठन गर्यो।
सन् २०१० उक्त समितिले “शृङ्खलाबद्ध गल्तीहरू”का कारण “क्यानडाको इतिहासमै सबभन्दा ठूलो नरसंहार” हुन पुगेको निष्कर्ष सुनायो।
परिचय नखुलाइएका एक साक्षीले हमला हुनुभन्दा महिनौँ अगाडि नै क्यानडाका प्रहरीलाई विमानलाई तारो बनाइ विस्फोटन गराउने षडयन्त्र भइरहेको सुराक दिएको जानकारी उक्त समितिले पाएको थियो।
आक्रमण हुनुभन्दा केही साताअगाडि क्यानडाको गुप्तचर निकायका सदस्यहरूले पार्मर र रेयातलाई पछ्याउँदै जाँदा भ्यान्कुभर आइल्यान्डको एउटा जङ्गलमा “कुनै ठूलो विस्फोटको आवाज” सुनेका थिए। तर तिनले त्यसलाई महत्त्वपूर्ण ठानेनन्।
सरकारी अभियोजनकर्ताहरूका मुख्य साक्षी ठानिएका दुई सिख पत्रकारहरूको सन् १९९०को दशकमा लन्डन र क्यानडामा भएका छुट्टाछुट्टै घटनामा हत्या गरियो। तीमध्ये एक जना त त्योभन्दा अगाडि भएको एउटा गोलीकाण्डमा घाइते भएकाले ह्वीलचेअर प्रयोग गर्थे।
सन् २००० क्यानडाका एक पूर्वगुप्तचरले एउटा पत्रिकासँगको कुराकानीमा उनले सिख सन्दिग्धहरूसँग गरेको १५० घण्टा लामो कुराकानीको टेप आरसीएमपीलाई दिनुको साटो आफूले नष्ट गरिदिएको बताएका थिए।
आफ्ना सुराकीहरूको पहिचान खुल्ने डरले त्यसो गरेको उनले बताएका थिए।
त्यसपछि के भयो?
सन् २०१० मा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि क्यानडाका तात्कालिक प्रधानमन्त्री स्टीभन हार्परले पीडित आफन्तहरूसमक्ष सार्वजनिक माफी मागेका थिए।
उनीहरूले जबाफ मागेका उचित प्रश्नहरूप्रति वर्षौँसम्म प्रशासकीय बेवास्ता गरिएको उनले स्वीकारे।
सन् २०१६ मा उनलाई तोकिएको नौ वर्षको जेल सजायको दुईतिहाइ समय बिताइसकेका रेयातलाई क्यानडाको जेलबाट रिहा गरियो।
अर्को वर्ष उनलाई स्वतन्त्रतापूर्वक जहाँसुकै गएर बस्न स्वीकृति दिइयो जसलाई केही विज्ञहरूले आलोचना गरे।
गत वर्ष रिपुदमन सिंह मलिकको ब्रिटिश कोलम्बियाको सरेमा हत्या भयो।
प्रहरीका अनुसार उनलाई नै लक्ष्य गरी घातक आक्रमण गरिएको थियो।
हत्या आरोपमा दुईजना पुरुष पक्राउ परे तर तिनको उद्देश्य स्पष्ट भएन।
विमान विस्फोटनको ३८औँ वार्षिकी पारेर एङ्गस रीड इन्स्टिट्यूटले यो वर्षको सुरुमा जारी गरेको एक अध्ययनले उक्त घटनालाई ‘क्यानडाको इतिहासमा थोरै मात्रै बुझ्न सकिएको’ घटना भनेको छ।
उसका अनुसार उक्त घटनाबारे प्रत्येक १० जना क्यानडेलीमध्ये नौ जनालाई थोरै थाहा भएको वा पटक्कै थाहा नभएको पाइएको छ।
भारतमा कस्तो प्रतिक्रिया?
एअर इन्डियाको विमानमा भएको विस्फोटनले भारतमा पीडादायक स्मरण बल्झिन्छ।
मारिएका अधिकांश मानिस क्यानडाका नागरिक भए पनि धेरै जना भारतीय मूलका थिए र उनीहरूका आफन्त भारतमा थिए।
यो मुद्दामा पीडितहरूलाई न्याय भएको छैन भन्ने धेरैलाई लाग्छ।
सन् २००६ मा क्यानडाका वकिल रिचर्ड क्वान्स केही पीडितका आफन्तलाई भेट्न भारत गएका थिए।
उनले भारतमा रहेका परिवारहरूले आफूलाई न्यायप्रक्रियामै संलग्न नगराइएको अनुभूति गरेको आफूले पाएको बीबीसीलाई बताएका थिए।
उनीहरूले मलिक र बाग्रीले पाएको सफाइको प्रक्रियामा पनि प्रश्न उठाएका थिए।
त्यतिबेला बीबीसीसँग कुरा गर्दै आक्रमणमा परेको विमानका सहचालककी पत्नी अमरजित भिन्द्राले सो विस्फोटनका कारण पीडित परिवारहरूले ‘बेवास्ता गरिएको’ अनुभव गरिरहेको बताएकी थिइन्।
अहिले भारत र क्यानडाबीच उत्पन्न तनावले उक्त दुःखद घटनालाई भारतमा पुन: चर्चाको केन्द्रमा ल्याइदिएको छ।
भारतमा एक केन्द्रीय मन्त्रीले हालै त्यसबारे ट्वीट गर्दै उक्त विस्फोटनलाई “भारतविरुद्ध लक्षित सबभन्दा घृणापूर्ण हवाई आतङ्क” भनेका छन्। त्यस्तो घटनालाई सहने वा माफी दिने कार्यको पनि उनले आलोचना गरे। कैयौँ समाचार तथा टिप्पणीहरूमा विस्फोटन हुनुभन्दा अगाडि र पछाडि क्यानडका अधिकारीहरूको कमजोरीहरूको चर्चा गरिएको छ।
वर्षौँदेखि मृतकका परिवारहरूले आफूले खेप्नुपरेको पीडाबारे बोल्दै आएका छन्।
“म अझै पनि उक्त विमान विस्फोटनको घटनासँग कुनै रूपले प्रभावित मानिसहरू भेट्ने गर्छु – शिशुकक्षामा पढ्ने मेरी छोरीका शिक्षक एक पीडितको स्कूले साथी रहेछन्। क्यानडेलीहरूलाई यसले कति व्यापक असर गर्यो भन्ने पनि आश्चर्यपूर्ण छ,” १२ वर्षको हुँदा आफ्नी आमा गुमाएका सुशील गुप्ताले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।